सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि रूपन्देही कारागारमा राखेपछि यो कारागारभित्रको स्थितिबारे हिजोआज चर्चा भइरहेको छ।
२५० जना कैदीबन्दी राख्न सक्ने क्षमता भएको कारागारमा ६४० हाराहारी कैदीबन्दी राखिएको छ। क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिँदा अनेक समस्या र अप्ठेरा देखिएका छन्। कारागारको भौतिक संरचनासमेत जीर्ण छन्।
रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री लामिछाने तीन महिनाभन्दा बढी समयदेखि रूपन्देही कारागारमा छन्। लामिछानेलाई कारागारभित्र छुट्टै कोठामा राखिएको छ। उक्त कोठा ४२० स्क्वायर फिटको छ भने कोठाभित्रै शौचालय पनि छ तर हल्का गारो उठाए पनि शौचालय बन्द गर्न ढोका छैन।
यो कारागारमा उच्च ओहदाको राजनीतिज्ञ परेको पहिलो घटना भने होइन।
यसअघि राजकाजसम्बन्धी विभिन्न मुद्दामा वामपन्थी राजनीतिबाट उदायका नेताहरू र नेपाली कांग्रेससम्बद्ध नेताहरू पनि सोही जेलमा परेका थिए।
त्यसबेला पञ्चायतविरूद्ध गतिविधि गरेको भनेर मोदनाथ प्रश्रित, विष्णु पौडेललगायत नेताहरूलाई रूपन्देही कारागारमा राखिएको थियो।
प्रश्रितका छोरा डा. विजय पौडेलका अनुसार मोदनाथलगायत त्यतिबेलाका जल्दाबल्दा वामपन्थी नेताहरूलाई कडा यातना दिँदै रूपन्देही कारागारभित्र राखिएको थियो।
‘रूपन्देही कारागारमा हाम्रा बुवा मोदनाथ, अहिलेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत थुप्रै वामपन्थी तथा त्यसबेाल पञ्चायत विरोधमा लागेका नेताहरूलाई कारागारमा राखिएको थियो,’ उनले भने, ‘उहाँहरूलाई जेलभित्र राखेपछि त्यसको असर पार्टी आन्दोलन विस्तारमा पर्यो। पछि २०३७ साल जेठमा उहाँहरूले रूपन्देही कारागार ब्रेक गर्नुभयो।’
त्यसबेला प्रश्रितसहित नेताले डोरी प्रयोग गरी कारागारको पर्खाल नाघेका थिए।
उनकाअनुसार मोदनाथलगायत नेताहरू नेपाल-भारत सीमा हुँदै रूपन्देही प्रवेश गर्दा पक्राउ परेका थिए। त्यसबेला धेरैजसो नेताहरू भारत प्रवासमा रहेर नेपालमा राजनीतिक गतिविधि चलाउने गर्थे र प्रशासनको आँखा छलेर कार्यक्रमहरू गर्थे। उनीहरू पनि कार्यक्रमकै सिलसिलामा नेपाल प्रवेश गर्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ परेका थिए।
रूपन्देही कारागारमै अहिले नेकपा (एकीकृत समाजवादी) का महासचिव रहेका घनश्याम भूसाललाई पनि राखिएको थियो।
भूसाल भने २०४२ को बमकाण्डपछि राजकाजसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।
२०४२ जेठ १० गतेबाट नेपाली कांग्रेसले सत्याग्रह सुरू गरेको थियो। त्यसलगत्तै २०४२ असार ६ गते सिंहदरबारको ग्यालरी बैठक, काठमाडौं, पोखरा र जनकपुरमा एकसाथ बम विस्फोटका घटना भए। सिंहदरबारभित्रको विस्फोटमा एक जना राष्ट्रिय पञ्चायत सदस्य पनि मारिएका थिए। उक्त घटनापछि प्रशासनले व्यापक रूपमा धरपकड सुरू गरेको थियो। त्यही क्रममा आफू पक्राउ परेको भूसालले बताए।
‘उक्त बमकाण्डपछि मलगायत थुप्रै वामपन्थी र नेपाली कांग्रेसका साथीहरूलाई पक्राउ गरेर रूपन्देही कारागार लगिएको थियो,’ भूसालले सेतोपाटीसँग भने, ‘कारागार लगिनेमा नवलपरासीका एक जना नेपाली कांग्रेस नेता तिलक सापकोटा र त्यसबेलाका राजनीतिज्ञ श्यामसुन्दर गुप्ता पनि हुनुहुन्थ्यो। हामीलाई राजकाजकै अभियोग थियो।’
भूसालले आफू रूपन्देही कारागारमा करिब ६ महिना बसेको बताए।
उनले केही समय अहिले रवि लामिछानेलाई राखेकै कारागारभित्रको कोठामा बिताएका थिए।
‘अहिले रवि लामिछाने राखेको भनिएको कोठामै हामीलाई राखिएको थियो। अलि ठूलो कोठा भएकोले त्यसमा हामी १०/१२ जनालाई राखिएको थियो। एउटै शौचालय प्रयोग गर्थ्यौं, शौचालयको ढोका पनि अहिले चर्चा गरेजस्तै हो,’ भूसालले भने।
४२० स्क्वायर फिटको उक्त कोठाभित्रै शौचालय भए पनि हल्का गारो मात्र उठाइएको छ, ढोका छैन। त्यहीकारण दुर्गन्ध फैलिएर असुविधा भएको राष्ट्रिय मानव अधिकार आयोगले पनि औंल्याउँदै भनेको थियो।
यो कारागारमा त्यसबेला परिघटनाबाट राजबन्दीहरू ल्याइएका थिए।
एउटा, झापा विद्रोहका हर्ताकर्ताहरू पनि त्यहाँ थिए। त्यसमध्ये राधाकृष्ण मैनाली एक जना हुन्। रूपन्देही कारागार बसाइँबारे मैनालीले आफ्नो किताबमै अनुभव लेखेका छन्।
त्यसपछि नेपाली कांग्रेसले सुरू गरेको सत्याग्रह र २०४२ कै बमकाण्डपछि समातिएकाहरूलाई यो कारागारमा पुर्याइएको थियो। बमकाण्डपछि रूपन्देही कारागारमा कांग्रेस रूपन्देहीका निवर्तमान सभापति रामचन्द्र ढकाल पनि परेका थिए।
‘रामचन्द्र दाइ बम काण्डपछि रूपन्देही कारागारमा राखिएको थियो, अहिलेजस्तो छुट्टै नेताहरूलाई बस्ने सुविधा त्यसबेला थिएन, एकै कोठामा सबैलाई राखिन्थ्यो,’ कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाणले भने।
अहिले वामपन्थी राजनीतिमा निस्क्रियजस्तो देखिएका राधाकृष्ण मैनाली २०४० देखि ०४२ सालसम्म रूपन्देही कारागारमै बसेका थिए। उनी रूपन्देही कारागारअघि ललतिपुरको नख्खु जेलमा थिए। राजकाजसम्बन्धी मुद्दा सकिँदै गएपछि बेग्लै ऐन प्रयोग गरेर रूपन्देही पुर्याएको उनले बताए।
‘त्यसबेला रूपन्देही कारागार नख्खुजत्तिकै राम्रो कारागार थियो, अहिलेको डिल्लीबजार कारागारसँग तुलना गर्न सकिन्छ, म बस्दा शौचालयको पनि राम्रो प्रबन्ध थियो, पत्रपत्रिका पढ्न पाइन्थ्यो, भेटघाटका लागि समय पाइन्थ्यो, खाना पकाउँदाको धुवाँ कोठाभित्र आउँदैनथ्यो,’ उनले भने।
आफूले जेल बसाइबारे 'नलेखिएको इतिहास' भन्ने किताबमा केही उल्लेख गरेको उनले बताए।
‘त्यसबेला झापातिरको म मात्रै थिएँ, पछि नवलपरासी कांग्रेसका सचिव तिलक सापकोटा थपिए, उनीमाथि ज्यानसम्बन्धी अभियोग थियो,’ उनले भने, ‘२०४२ तिर घनश्याम भूसाललगायत नेताहरू पनि आइपुगे।’
रूपन्देही कारागार राणाकालमै स्थापना भएको पुरानो कारागार मानिन्छ। यो कारागार वि.सं. १९९० सालमा स्थापना गरिएको थियो।
