राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शुक्रबारको केन्द्रीय समिति बैठकमा आफूले व्यक्तिको नभइ सह–महामन्त्री छान्ने विधिको विरोध गरेको बताएकी छन्।
बैठकमा दीपक बोहरालाई सह–महामन्त्री प्रस्ताव गरिएपछि उनले त्यसमा असहमति राखेकी थिइन्।
त्यस सन्दर्भमा शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रष्टीकरण दिँदै उनले केन्द्रीय समितिमा आफूले विधिमा प्रश्न उठाएको र व्यक्तिको विरोध नगरेको बताएकी हुन्।
'साथै, रिक्त सह–महामन्त्रीमा मेरो दाबी होइन हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौं। पार्टीले रिक्त रहेको सह–महामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक–योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो,' उनले भनेकी छन्।
केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरूरी नरहेको उनले बताइन्।
'पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरूरी पनि छ। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा मलाई जोडेर खबरहरू जसरी आयो, त्यसमा मैले पार्टी पंक्ति र आम शुभेच्छुकहरूलाई स्पष्ट पार्नुपर्छ भन्ने लाग्छ। मैले सह–महामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन,' उनले भनेकी छन्।
केन्द्रीय समितिमा एजेन्डा अनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको पनि उनको भनाइ छ।
'राम्रो कुरो, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ। यस कारण पनि मैले गर्वका साथ भन्ने गरेकी छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो,' उनले भनेकी छन्।
कसैले पनि गलत भाष्य बनाएर आफूलाई पदलोलुप जस्तो नदेखाउन उनको आग्रह छ।
'यो सह–महामन्त्री पदमा मेरो कुनै दाबी छैन। म आमजनता समक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएकी हुँ। पार्टीभित्र पनि अधिवेशनमा पदाधिकारीहरू निर्वाचित भएरै आउनुपर्छ भन्ने नीति/निर्णय स्थापित गर्न विधान संशोधनमा मैले खेलेको भूमिकाबारे यहाँहरू जानकार नै हुनुहुन्छ। त्यसैले मैले कुनै पदमा दाबी गर्नुपरे म चुनावमार्फत नै आउनेछु,' उनले भनेकी छन्।
शुक्रबारको बैठकमा उनले र केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले असहमति जनाएपछि सह–महामन्त्री दीपक बोहरालाई बनाउने प्रस्ताव फिर्ता लिइएको थियो। सांसद सुमना श्रेष्ठले राजीनामा दिएपछि दुई सह–महामन्त्री पदमध्ये एक रिक्त छ।