नेकपा (माओवादी केन्द्र) ले योङ कम्युनिस्ट लिग (वाइसिएल) का ५ जना पूर्वउपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ।
पार्टी स्थायी समिति बैठकको निर्णय शुक्रबार सर्कुलर गर्दै माओवादी केन्द्रले वाइसिएलमा यसअघि उपाध्यक्ष रहेका र उमेरहदलगायत कारणले बिदा भएकाहरूको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रको सर्कुलरअनुसार सुजीत ढुंगाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम र केहरसिंह गुरूङ वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन्।
अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकाहरूलाई सोही रूपमा यथावत कायम राख्ने निर्णय माओवादी केन्द्रले गरेको छ।
विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरुको हकमा प्रदेश समितिमा यथावत राख्ने र प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रुपमा जिम्मेवारी दिने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ।
‘पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान रहेको छ। तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिवेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ। वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरूको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ,’ सर्कुलरमा भनिएको छ।