रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन र भारतसहित पाँच देशका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्धबारे छलफल गरेका छन्।
शुक्रबार पुटिनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले युक्रेन युद्धबारे अमेरिकासँगको वार्ताको तयारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफसँग भएको कुराकानीबारे छलफल गरेका थिए।
पुटिनले गत बुधबार मस्कोमा विटकोफसँग युक्रेन युद्धबारे तीन घन्टा छलफल गरेका थिए। त्यसपछि अमेरिकासँग भएको कुराकानीबारे पुटिनले पाँचै देशका राष्ट्रप्रमुखहरूसँग टेलिफोन संवादमा छलफल गरेका हुन्।
टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी चिनफिङले रूस र अमेरिकाबीच निरन्तर छलफल भएको विषयलाई सकारात्मक भनेका छन्।
‘रुस र अमेरिकाबीच निरन्तर सम्पर्क कायम रहनु र सम्बन्ध सुधार हुनु युक्रेन संकटको राजनीतिक समाधानका लागि सकारात्मक कुरा हो,’ सीले पुटिनसँग भनेको चीनको सरकारी समाचार संस्था सिसीटिभीलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
सीसँग पुटिनको अरू के-के कुराकानी भयो भनेर खुलाइएको छैन। पुटिन आगामी सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वार्षिक समारोहमा सहभागी हुन चीन जाने कार्यक्रम छ।
भारत र पूर्व सोभियत मुलुकका तीन राष्ट्रप्रमुखहरूसँगको कुराकानीको विस्तृत पनि सार्वजनिक भएको छैन।
पुटिन र ट्रम्पबीच अलास्कामा आगामी अगस्ट १५ मा भेटवार्ता हुने तय भइसकेको छ।
भेटमा युद्धविरामबारे छलफल हुनेछ।
भेटवार्ता तय भइसकेकाले चाँडै युक्रेनमा युद्धविराम हुने विश्वास ट्रम्पले लिएका छन्। युद्धविराममा सहमति नगरेको भनेर ट्रम्पले रूसलाई एक सय प्रतिशत भन्सार लगाउने चेतावनी दिएका थिए।
त्यतिमात्रै होइन रूसबाट तेल किन्ने भारत, चीन र अन्य मुलुकलाई पनि सय प्रतिशत भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका थिए।
भारतलाई २५ प्रतिशत भन्सार लगाइसकेका छन्। रूसी तेल किन्न नछाडे चाँडै नै थप २५ प्रतिशत भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका छन्।
युद्धविराम सहमति भए रूसी तेल किनेकै आधारमा अमेरिकाले लगाएको भन्सार पनि फिर्ता हुनसक्नेछ।