महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरूले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन्।
शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरूको अडिटलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनका अनुसार लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चार वटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए।
संघीय निकायहरूको बेरूजु बढ्नेक्रम जारी छ। यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ। रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरूजु देखिनु राम्रो नभएको बताउँदै बेरूजुलाई शून्यमा झर्ने गरी कामकारबाही अघि बढाउनुपर्नेमा जोड दिए।
रायाले भने, ‘केही समय अघिसम्म १ सय बढी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न इकाइहरूको अडिट हुन सकेको रहेनछ। गत असार मसान्तभित्रै अहिले अडिट सकिएको छ। आगामी दिनमा सबै निकाय, इकाइहरूको लेखा परीक्षण गरिनेछ।’
महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरू लेखासमितिमा छलफल हुनुपर्ने बताए।
उनकाअनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरूअरू वर्षको प्रतिवेदनमा पनि केके थियो भन्ने छुटिरहेको छ। त्यसैले ती विषयमा गहन रूपमा छलफल गर्नुपर्छ। रायाले वार्षिक प्रतिवेदन बनाउँदै गर्दा सचिवहरूसँग राय सुझाव मागिने गरिएको भए पनि त्यसको रेस्पोन्स नआउने गरेको गुनासो गरे।
समिति बैठकमा रायाले मन्त्रालयहरूमा सरूवा भएर सचिवहरू जाँदा बेरूजुका बारेमा चासो देखाउनुपर्छ।
सचिवहरूले डेटा मागेर बेरूजु फर्छ्यौटमा गम्भीरतापूर्वक लाग्नुपर्ने रायाको भनाइ छ। —न्युज एजेन्सी नेपाल