नयाँ संसद भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरूले आपत्ति जनाएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन्।
थपिएको म्यादमा पनि जुलाई महिनामा लक्ष्यअनुसार काम हुन नसकेको सांसदहरूको गुनासो छ।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ? भन्ने कुरा बन्दै गरेको संसद भवनको उदाहरणबाट स्पष्ट हुने बताइन्।
उनले लिएको लक्ष्यअनुसार थपिएको म्यादमा पनि कार्यप्रगति हुन नसकेको बताइन्। म्याद थप गर्दा बिलम्व शुल्क किन लागेन? भन्दै प्रश्न उनले गरिन्।
उनले भनिन्, ‘हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भन्दा संसद भवन हेर्नुस् भन्ने गर्दछन्। यसमा हामी गम्भीर बन्नुपर्छ। वित्तीय प्रगतिको विवरण पेस गर्दा ०.८९ प्रतिशतले हामीले यो समयसीमाभित्र सक्छौं भन्नेमा संशय त स्पष्ट देखियो। हामीलाई संशय नहुने गरी बताउनुपर्छ। कागजमा दिएको जनशक्ति परिचालन, प्रगति विवरणहरू के छ? हामी पटक पटक निरीक्षण गर्न जाँदा त्यहाँ देखिएको कामदारहरूको संख्या असाध्यै कम छ। म्याद थपमा किन बिलम्व शुल्क लगाएनौँ?’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए।
उनले नयाँ संसद भवनको म्याद पटक पटक थप गरे पनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थालाई गिज्याउने जिकिर गरे।
अबको म्यादमा सकिने गरी काम हुनुपर्ने उनले बताए।
उनले भने, ‘पटक पटक संसद भवनको म्याद थप्ने तर काम पूरा नहुने स्थिति छ। यो चासोको विषय भएर नै पटक पटक अनुगमन गरिएको छ। तर प्रगति लाजमर्दो छ। देश कसरी पछि पर्यो, वास्तवमा निर्माण कार्यहरू समयमै सुसम्पन्न नभएर हो। सिंहदरबारमै यो अवस्था छ भने देशभरमा भौतिक पूर्वाधारको अवस्था के होला? अहिलेको भनेको मितिमा आगामी अधिवेशन गर्ने गरी कसरी काम गराउनुहुन्छ? अब कुनै बहाना हुँदैन।’
नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमार साहले साउन १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति रहेको बताए।
उनले यही तरिकाले काम हुने हो भने दुई वर्षमा पनि काम सकिने स्थिति नरहेको बताए।
जुलाई महिनामा ३.३ प्रतिशत काम हुनुपर्नेमा जम्मा १ प्रतिशत पनि नहुनु दुःखद् पक्ष भएको बताए।
उनले भने, ‘हामी १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति छ। त्यस्तो अनुभूति भयो। यही तरिकाले यो डिसेम्बरमा त होइन दुई वर्षमा पनि सकिँदैन। त्यो लक्ष्य हासिल गर्न जुलाई महिनामा ३.३ प्रतिशत काम हुनुपर्नेमा जम्मा १ प्रतिशत पनि नभएको ०.८९ प्रतिशत मात्रै भएको भनेर यहाँहरू स्वयं रिपोर्ट दिनुभएको छ। यो काम समयमा सम्पन्न हुँदैन। हामी चाहने हो भने असम्भव छैन।’
नेकपा एमाले सांसद सरस्वती सुब्बाले संसद भवन अनुगमनका क्रममा कामदारहरुको संख्या कम रहेको पाएको बताइन्। हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट सुरू गर्नसक्छौँ त? उनको प्रश्न छ।
उनले भनिन, ‘हामीले अनुगमन गर्दा खाजा खाने समयमा बोलाउनु भयो। ताकि त्यहाँ धेरै ठाउँ घुम्दा वायरिङ गर्ने एक जना मात्रै थिए। कामदारहरूको संख्या एक जना मात्रै भेटेपछि के काम गरोस्। अन्तिम पटक म्याद थपिएको बारेमा चर्चा गरिरहेका छौँ। हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट सुरू गर्नसक्छौँ त ? इमानदारिताका साथ भनौँ।’ —न्युज एजेन्सी नेपाल