प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले दुई ठूला पार्टीले सरकार बनाउँदा गरेका प्रतिबद्धताअनुसारका काम नगरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै सापकोटाले सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले संविधान संशोधनबारे अहिलेसम्म छलफल नगरी रास्वपालाई गाली गरेर बसेको बताएका हुन्।
उनले रास्वपा प्रियतावादी दल भएको र त्यसलाई गाली गर्नुको कुनै औचित्य नभएको पनि बताए।
'गिरीबन्धुमा स्मेल नै आउने गरी, लिचीबारीमा रमाइलो गर्ने। सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले आजका दिनसम्म संविधान संशोधनबारे एक मिनेट कसैसँग छलफल नगर्ने? अनी प्रियतावादीहरूलाई गाली गरेर के उपलब्धी छ?,' उनले भने।
उनले राम्रो काम गर्नका लागि प्रमुख प्रतिपक्षी दल राम्रो काम गर्ने कुराका लागि समर्थन गर्न तयार भएको बताए।
'कहाँ ल्याप्चे हान्न पर्यो? ब्ल्यांक पेपरमा सिग्नेचर गर्नपर्छ भने पनि प्रतिपक्षी तयार छ,' उनले भने।
उनले रास्वपा र राप्रपाले जे विरोध गरेको पनि ठीक नभएको बताए।
'तर लोकतन्त्र त्यो पनि होइन जहाँ महिना दिनसम्म चौथो र पाँचौं दलले बहिस्कार गर्दा केहो भनेर छलफल नगर्ने अनी ठूला डाँकाले गाली गर्ने अनी बाहिर जनताले पत्याइदिन्छन् भन्ठानेको? कसैले पत्याउँदैन? बोलाउनुस्, छलफल गर्नुस् मानेनन् भने के कुराले मानेनन् यहाँ आएर संसदमा भन्नुस्। त्यसबेला तपाईहरू जिम्मेवार हुनुभएको ठहर हुन्छ,' उनले भने।