सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कुनै बेला अदालतको आदेशमा बिमति राख्नेमाथि खरो उत्रिने रास्वपाले अहिले त्यही तागत नराख्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले रास्वपा सभापति रवि लामिछानेप्रति लक्ष्य गर्दै 'पहिले केरे केरे! तिम्रो पिताजीको शासन हो' भन्नेहरू अहिले हस्ताक्षरमार्फत दबाब दिन खोजेको बताएका हुन्।
रवि लामिछानेले २०२१ जुलाइ १३ मा फेसबुकमा 'केरे केरे केरे अदालतको आदेश मान्दिनँ रे, तिम्रो बाको शासन हो र?' भन्ने पोस्ट गरेका थिए।
सोही कुरातर्फ लक्ष्य गर्दै महामन्त्री शर्माले बुधबारको प्रतिनिधि सभामा भने, ‘हिजो त्यसरी बोल्ने अनि आज हस्ताक्षरमार्फत केरे केरे कसलाई दबाब दिन खोजेको? हस्ताक्षरमार्फत यो देशमा अदालतहरुमा वा कसलाई दबाब दिन खोजेको? कुनै अस्पताललाई क्याम्पसलाई कि अदालतलाई?,'
उनले रास्वपा पनि आफूजस्तै नयाँ भएकाले सिक्न आग्रह गरे।
'हामी सिक्ने क्रममा छौं। सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसदले मान्नुपर्छ भन्ने मेरो गोरूको अठारै टक्का भन्ने कुरामा म जानुहुन्न र मजस्तै साथीहरूले जानु हुन्न। प्रश्न नयाँ पुरानो होइन प्रवृत्तीको हो,' उनले भने।
रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र भएको उनले बताए।
'साथीहरू बाहिर चाहिँ हुनुहुन्छ तर जेलको कैदीझैं आदेश मान्न बाध्य हुनुहुन्छ,' उनले भने।
केही नेताहरू कांग्रेसबाटै रास्वपामा गएको पनि बताए। तर बोल्ने तागत कांग्रेसमा हुँदा मात्रै हुने बताए।
'कांग्रेसभित्रै हुँदा मात्रै हो। यहाँबाट गएपछि त्यही तागत राख्नुहुन्छ भन्ने अपेक्षा गर्दिन,' उनले भने।