संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।
मन्त्रिपरिषदले गरेका अन्य निर्णयबारे सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने उनको भनाइ छ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए।
संसदको हिउँदे अधिवेशनमा भाषण कम र कानुन धेरै बन्ने वातावरण बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई तत्काल हिउँदे अधिवेशन बोलाउन दबाब दिएका थिए।
सरकारले हालै पाँच वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो।