पर्दा पछाडिको हिरो
भरत कँडेलले डेढ दशकभन्दा लामो समय भारतको मुम्बईमा बिताए। त्यहाँ बसेर थुप्रै दक्षिण भारतीय सिनेमाको हिन्दी डबिङ र मिक्सिङको काम गरे। धेरै हिन्दी सिरियलमा समेत कामको अनुभव लिए।
अहिले फर्किएर उनले काठमाडौंमै फिल्मको डबिङ र साउन्डको काम गर्ने स्टुडिओ खोलेका छन्।
अनामनगरमा उनको 'सम्राट फिल्म स्टुडिओ' छ। यहाँ एकपछि अर्को सिनेमाको डबिङ तथा मिक्सिङ भइरहेको छ। हालै रिलिज भएका 'ह्रस्व दीर्घ' र 'तेल भिसा' यहीँ डबिङ भएका हुन्।
'अहिले फिल्म मायावीको डबिङ अन्तिम चरणमा छ। यसपछि के घर के डेराः घर नम्बर २ को काम हुनेछ,' आफूलाई साउन्ड इन्जिनियरका रूपमा चिनाउने भरतले भने, 'काम राम्रै भइरहेको छ। डेढ वर्षमा स्टुडिओले लिएको रफ्तार देखेर खुसी छु।'
यसबीच उनले 'परदेशी २', 'ए साथी सुन', 'अन्जिला' लगायत फिल्ममा साउन्डको काम गरेका छन्।
कतिलाई जानकारी नहुन सक्छ — डबिङ भनेको स्वरांकन वा आवाज रेकर्ड गर्नु हो। फिल्म छायांकन सकिएपछि कलाकारहरू स्टुडिओ पुगेर डबिङ गर्छन्। अनि त्यसलाई सिनेमाको दृश्य अनुसार हालेर बोलेका कुरा मिलाइन्छ।

त्यस्तै दृश्य अनुसार कलाकारको, पृष्ठभूमिको आवाज, संगीत लगायत संयोजन मिलाउने कामलाई मिक्सिङ भनिन्छ। फोली, एमेन्स, एसेफेक्सको काम पनि भरतको स्टुडिओमा हुन्छ। यसमा फिल्महरूमा प्रयोग हुने ताली बजाएको, जनावर कराएको, खोलानाला सुसाएको, गाडी गुडेको जस्ता आवाज पर्छन्। यस्ता आवाज कतिपय रेकर्ड गरेर राखिएको हुन्छ भने कति इन्टरनेटको माध्यमबाट किनेर प्रयोग गर्नुपर्ने हुन्छ।
सिनेमा क्षेत्रमा पर्दा पछाडि रहेर महत्त्वपूर्ण काम गरिरहेका भरत यही काम गर्छु भनेर मुम्बई पुगेका भने थिएनन्।
कपिलवस्तुका उनी माओवादी द्वन्द्वकालको समयमा स्कुल पढ्दै थिए। बिना कुनै योजना एकाएक मुम्बई हानिए। त्यहाँ उनका मामा भारतीय सिनेमा क्षेत्रमा आबद्ध थिए।
उनी मुम्बईको अँधेरीमा बस्थे। सुरूमा अरूको घरमा सरसफाइ गर्ने, खाजा बनाउने लगायत काम गर्न थाले। पछि होटलमा काम गरे।
'नयाँ काममा जोडिने, छोड्ने चलिरह्यो। त्यही क्रममा दक्षिण भारतीय फिल्म हिन्दीमा डब हुने स्टुडिओमा जोडिएँ,' भरतले सम्झिए, 'त्यहाँ अफिस सरसफाइ गर्ने, चिया बनाउने, खाना पकाउने काम गर्थेँ। डबिङको काम देखेपछि सिक्न मन लाग्यो।'
सामान्य ज्ञान लिएपछि उनी एक जना भ्वाइस आर्टिस्टको माध्यमबाट महेन्द्र बोहराको स्टुडिओमा काम गर्न पुगे। त्यहाँ उनले असिसटेन्ट साउन्ड इन्जिनियरका रूपमा काम गरे। त्यहाँबाट फेरि भाइब्रेसन स्टुडिओ गए जहाँ अन्य च्यानलका कार्यक्रमहरूको पनि काम हुन्थ्यो। यहाँ उनले साउन्ड इन्जिनियरकै रूपमा काम गरे। त्यसपछि प्रोडक्सन हाउस स्पेयर ओरिजनमा काम गरे।
यसरी उनले फरक फरक स्टुडिओमा नयाँ नयाँ कुरा सिके।
'त्यहाँ बालिका बधु, सातफेरे, तेरे मेरे सपने, गुलाल लगायत चर्चित हिन्दी सिरियलमा जोडिएर प्राविधिक काम गर्न पाएँ,' उनले भने।
यसपछि उनले राज श्री शर्मा र तरूण शर्माको अडिओ म्याजिक स्टुडिओमा निरन्तर १० वर्ष काम गरे। यहाँ धेरै दक्षिण भारतीय फिल्मको डबिङ गरे। डिस्कभरी, हिस्ट्री, जी फाइभ, डिज्नी च्यानलका कार्यक्रमहरूमा पनि काम गरेको उनले बताए।


'त्यो स्टुडिओबाट धेरै कुरा सिक्न पाएँ,' भरतले भने।
त्यहाँ फिल्म डबको काम गरिरहँदा उनलाई नेपाल आएर नेपाली फिल्ममा काम गर्न पाए हुन्थ्यो भने लाग्न थालिसकेको थियो। बिदाको समयमा आउँदा उनले केही फिल्मकर्मीसँग भेटे। स्टुडिओ हेर्न पनि गए। तर चटक्क मुम्बई छाडेर आइहाल्ने बन्दोबस्त मिलिरहेको थिएन।
जब कोरोना महामारी फैलियो तब भने यतै बस्ने चाँजो मिल्यो।
'परिवार यता, म उता एक्लै। कोरोनाले मानिसहरूको ज्यान गइरहेको थियो। काम गर्न पनि मन लागिरहेको थिएन,' भरतले भने, 'त्यसपछि सञ्चालकलाई मनाएर घर फर्किएँ।'
सुरूमा उनी नेपालबाट सोही स्टुडिओका लागि काम गर्ने गरी फर्किएका थिए। पछि सो काम छाडे। काठमाडौं आएर आँट गरेर उनले २४ लाख रूपैयाँ लगानी जुटाएर स्टुडिओ खोलेका हुन्।
उनले मुम्बई र यहाँको काममा धेरै अन्तर पाएका छन्। कतिपय निर्माता/निर्देशकले साउन्डलाई जति महत्त्व दिनुपर्ने हो, त्यति नदिएको हो कि भन्ने अनुभव उनलाई भएको छ।
'फिल्म निर्माणमा भिडिओको जति महत्त्व हुन्छ, डबिङ र साउन्डको उत्तिकै हुन्छ। यसमा पनि पर्याप्त समय दिनुपर्छ,' उनले भने, 'पोस्ट प्रोडक्सनमा एक महिना पनि समय नछुट्ट्याई हतारमा काम हुँदा धेरै फिल्ममा साउन्ड बिग्रिरहेको हुन्छ।'
डबिङ क्रममा उनी आफैले पनि कतिपय निर्माता/निर्देशकलाई साउन्डको महत्त्वबारे भनिरहेका हुन्छन्।
'माइक कति दुरीमा राखेर डबिङ गर्ने भन्ने पनि बुझ्नुपर्छ। भिडिओमा जुन भाव छ, त्यही अनुसार डब गर्न सक्नुपर्छ,' उनले भने।
कतिपय निर्देशकहरू भने भरतको पहिलो कामबाटै प्रभावित भएका छन्। त्यसैमध्येका एक हुन् दीपेन्द्र के. खनाल।
उनको फिल्म 'मेयर' को केही महिनाअघि भरतको स्टुडिओमा डबिङ भयो। त्यस बेला भरतको काम हेरेपछि प्रभावित दीपेन्द्रले आफ्नो अर्को फिल्म 'के घर के डेराः घर नम्बर २' डबिङको काम पनि भरतलाई सुम्पिए। अभिनेता विपिन कार्की, किरण केसी लगायतले पनि डबिङमा नयाँ अनुभव भएको बताएको भरतले सुनाए।

भरत नेपालमै बसेर कहिलेकाहीँ भारतीय कार्यक्रमहरूमा पनि काम गर्छन्। उताका भ्वाइस आर्टिस्टहरूसँग पनि निरन्तर कुरा भइरहने उनले बताए।
उनी अहिले सबभन्दा धेरै सबस्क्राइबर भएका विश्व चर्चित युट्युबर मिस्टर बिस्टको भिडिओका लागि काम गरिरहेका छन्। एक जना भारतीय भ्वाइस आर्टिस्ट मार्फत नै उनी यो काममा जोडिएका हुन्।
केही समयअघि मिस्टर बिस्ट नेपाल पनि आएका थिए। उनका युट्युब भिडिओहरू नेपाली भाषामा पनि हेर्न मिल्ने बनाउन थालिएको हो।
'मिस्टर बिस्टको नेपाली कन्टेन्टको सर्ट्स डबिङ र मिक्सिङसँगै त्यसको चेकिङ भइरहेको छ,' भरतले भने, 'केही भिडिओ मिस्टर बिस्टको युट्युब सर्ट्समा आइसकेका छन्।'
भरतको योजना अब नेपालमै बस्ने र नेपाली फिल्ममै काम गर्ने छ। नेपाली फिल्मलाई विश्व बजारमा लैजान हिन्दीमा पनि डब गर्न आवश्यक रहेको उनी बताउँछन्।
'अहिलेकै अवस्थामा हामी सिधै विदेशका थिएटरमा जान सक्दैनौं। सुरूआती चरणबाटै काम गर्दै जानुपर्छ,' भरतले भने, 'युट्युबमै आधारित भएर काम गर्नेले पनि एउटा/दुइटा फिल्म हिन्दीमा डब गरेर मात्र हुँदैन कि भन्ने लाग्छ। सय/डेढ सय वटा फिल्म डब गर्न सकियो भने दर्शकलाई यस्ता फिल्म हुन्छन् भनेर हेर्ने बानी पर्न सक्छ। हेर्ने बानी परेपछि भोलिका दिनमा थिएटरमा जान पनि सजिलो हुन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
