कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले हालका मुख्यमन्त्री यामलाल कँडेललाई इतिहास बिर्सिएर दललाई घोचपेच गरेको गुनासो गरेका छन्।
माओवादीको प्रदेश सभा दलका नेता रहेका शर्माले मुख्यमन्त्रीले दलहरूलाई लाञ्छाना लगाएर बोल्ने गरेको गुनासो गरे।
सोमबार बसेको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा बोल्दै शर्माले दलहरूलाई ‘जेठो, कान्छो’ भनेर तुलना गर्नु गलत भएको बताए।
मुख्यमन्त्री कँडेलले रूकुम पश्चिमको सहिद पार्क अनुगमन गर्न गएको प्रसंग जोडेर उनले इतिहास बिर्सिएर माओवादीलाई हेपेको आरोप लगाए।
‘उहाँले रूकुमको एउटा सहिद पार्कमा पुगेर मरेका मान्छेले जीवित मानिसलाई दु:ख दिन थाले भन्नुभएछ, साँचो के हो थाहा छैन। मलाई त्यहाँको जनसमुदायले त्यही सुनाए,’ शर्माले भने, ‘यदि साँचो हो भने मुख्यमन्त्रीज्यू आकाशबाट खस्नुभयो या धर्तीबाट उम्रिनुभयो मलाई थाहा छैन, म यही गणतन्त्रको उपजको रूपमा अहिले सांसद छु। इतिहासमा बलिदान भयो, विद्रोह थियो, जनयुद्ध थियो या आतंक थियो, त्यतिबेला सरकारमा को थियो भनेर म पनि म स्मरण गराउन चाहन्छु।’
उनले सशस्त्र संघर्षमा हुँदाको आफ्नो समय कुनै पनि दलले बिर्सन नहुने औंल्याए।