रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध चयन भएका छन्।
नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि जगत घर्ती निर्विरोध भएका हुन्।
वडाध्यक्षका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको थियो। दुई जनाले फिर्ता लिएसँगै माओवादी उम्मेदवार निर्विरोध चयन भएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिए।
त्यहाँ एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेर कांग्रेसले आफ्नो उम्मेदवारी दिएको थिएन।
कांग्रेस-एमालेका साझा उम्मेदवार रहेका जीवन रोकाले विज्ञप्ती नै जारी गरेर उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका छन्। उनले योग्य ठानेर टिकट दिएप्रति पार्टीलाई धन्यवाद दिँदै वडाध्यक्षका लागि माओवादी उम्मेदवार जगत घर्ती निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।
जगत घर्ती पुरानो तथा स्थापित नेता, हामी सबैको अभिभाभक हुनुहुन्छ। हाम्रो वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक, सामाजिक र नैतिक दृष्टीले पनि उपयुक्त नहुने भएकाले मैले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीलाई समर्थन गरी राजी खुशीबाट उम्मेदवारी फिर्ता लिएको छु,' रोकाले वक्तव्यमा लेखेका छन्।
उपनिर्वाचनका लागि बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। तीन बजेपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै आजै चुनाव चिह्न दिने कार्यतालिका छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि घर्ती निर्वाचित भएको घोषणा गरेको छ।
वडाध्यक्ष पदका लागि दाखिल भएकामध्ये माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको मात्र उम्मदवारी कायम रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा कार्यालयले गरेको छ।
यो पनिः रूकुमपूर्वमा कांग्रेस-एमालेबीच अचम्मको गठबन्धन