गण्डकी प्रदेश सभाका सांसद राजिब गुरूङ ‘दीपक मनाङे’ सम्पर्कबिहीन भएका छन्।
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेदेखि उनी सम्पर्कमा छैनन्।
उनका स्वकीय सचिव सन्तोष अधिकारीले पनि फैसला आएको दिन मंगलबार काठमाडौंमै रहेको जानकारी गराएका थिए। तर त्यसदिनपछि भने कुराकानी नभएको जानकारी दिए।
‘फैसला भएको दिन उहाँ काठमाडौंमै हुनुहुन्थ्यो। त्यसदिन कुरा भयो तर त्यसपछि मेरो कुराकानी भएको छैन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘अहिले मोबाइल अफ छ।’
मनाङेको मोबाइल पनि अहिले अफ गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत)को फैसलालाई सदर गर्दै मनाङेलाई चक्रे मिलन भनिने मिलन गुरूङको हात छिनालिने गरी तरबारले आक्रमण गरेको घटनामा दोषी ठहर गरेको हो।
दोषी ठहर गरेपनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन। फैसला संक्षिप्तमा आउने हो वा पूर्णपाठ नै आउने हो भन्ने अझै यकिन भइसकेको छैन।
प्रहरीले पनि सर्वोच्च अदालतको फैसलालाई कुरिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।
‘हामी कहाँ सर्वोच्चको प्रारम्भिक पाठ आउला। अहिले नै पूर्णपाठ नआउला, त्यसको लागि समय लाग्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो नियमित काम त गर्छ नै। अदालतबाट पाठ आएपछि कानुनी पाटो अगाडि बढ्छ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंसहित विभिन्न निकायको प्रहरीले उनको खोजी भने थालिसकेको प्रहरी स्रोतले जानकारी दियो।
मनाङले चलाउँदै आएका सबै नम्बर अफ गरेर बसेको भएपनि प्रहरीले उनलाई ‘लोकेट’ गर्ने प्रयास गरिरहेको स्रोतको भनाइ छ।
‘उच्चको आदेश सदर भएपछि हामीले उनलाई लोकेट गर्ने प्रयास गरिरहेका छौं। उनले चलाउँदै आएका फोन अफ छन्,’ स्रोतले भन्यो, ‘देशबाहिर जान सक्नेबारे पनि सचेत छौं।’
हाल फरार रहेका मनाङेलाई उच्च अदालतले पाँच वर्षको जेल सजाय तोकेको थियो। तर उनले त्यसको आधा सजाय काटिसकेका छन्।
फैसलाको खबरसँगै अब मनाङे कति वर्ष जेल बस्नुपर्ला त भन्ने चासो पनि छ।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन्। अब त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ। अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ।
कतिपयले उनले जेलबापतको पैसा तिरेर निस्किहाल्छन् भन्ने तर्क गरिरहेका छन्। त्यो सुविधा उनले पाउने छैनन्। त्यस्तो सुविधा एक वर्षसम्म कैद सजाय हुनेले मात्र पाउँछन्।
२०६१ वैशाख ३१ गते ‘चक्रे’ मिलन गुरूङ आफ्ना साथीहरू जि शेर्पा, यादव डंगोल, विनय शाक्यसँग महाराजगंजमा रहेको चुफाङ रेष्टुरेन्टमा खाना खाँदै थिए। त्यसबेलामा दीपक मनाङेसहित केही व्यक्तिहरूले उनीमाथि धारिलो हतियार प्रहार गरेका थिए।
मनाङेलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो।
मनाङेले तरबार प्रहार गर्दा चक्रे मिलनको बायाँ हात छिनालिएको थियो। पछि उनको हात जोडियो। घटनामा मनाङे सहितलाई विपक्षी बनाएर चक्रेकी श्रीमती इन्दिरा गुरूङले प्रहरीमा जाहेरी दिएकी थिइन्।
मनाङेले भने आफू २०६१ साल वैशाख २७ गते काठमाडौंबाट वीरगन्ज गएको प्रहरी र अदालतसमक्ष बताएका थिए। त्यहीँ आफू करिब एक महिना बसेर जेठ २१ गते काठमाडौं पुगेको बयानमा उल्लेख छ। चक्रे मिलनको हात काटिएको खबर पनि समाचारबाटै सुनेको उनको दाबी थियो।
काठमाडौं जिल्ला अदालतले उनको दाबी नपुग्ने भन्दै २ वर्ष कैद सजाय ठहर गरेको थियो। २०६३ साल माघ ७ गते जिल्ला अदालतबाट फैसला आउँदा उनी २२ महिना जेल बसिसकेका थिए। २०६३ साल चैत १८ गते दुई वर्ष कैद भुक्तान गरी छुटे।
जिल्ला अदालतको फैसलाविरूद्ध पुनरावेदन अदालत पाटन (अहिले उच्च अदालत) मा पुनरावेदन परेको थियो। त्यस अदालतले २०६९ साउन २८ गते ज्यान मार्ने उद्योग कसुर ठहर गर्दै ५ वर्ष कैद हुने ठहर गरेको थियो।
पुनरावेदन अदालतको आदेशपछि २०७५ वैशाख ६ गतेदेखि २०७५ पुस ६ गतेसम्म ८ महिना कैद भुक्तान गरेका थिए। बाँकी कैद नबसी पुनरावेदन गर्न २७ हजार ३७५ रुपैयाँ नगद जमानत राखेर मनाङेले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।
२०७१ मंसिर १७ मा पुनरावेदनको म्याद नाघेको भन्ने सूचना गोरखापत्रमा प्रकाशन भएको थियो।
यसबीच २०७५ मा मनाङेले पुनरावेदन दिँदा जेठ १० गते दरपीठ भएको थियो। सो दरपीठमाथि निवेदन परी मंसिर २८ गते बसेको संयुक्त इजलासले गोरखापत्रमा प्रकाशित सूचना बदर गरेको थियो भने दरपीठको आदेश पनि बदर भएको थियो।
अदालतले १० वर्षभन्दा कम सजाय भएको मुद्दामा अदालत बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिएसँगै सर्वोच्चमा मुद्दा चलिरहेको थियो।
सम्बन्धित समाचार: दुई वर्ष ८ महिना जेल बसिसके मनाङे, अब कति बस्न पर्छ?
दीपक मनाङे अब कति वर्ष जेल बस्नुपर्छ? सांसद पद के हुन्छ?
गण्डकीका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर