यस वर्षको अमेरिकी आम निर्वाचनमा मतदानको अघिल्लो दिनसम्म सर्वेक्षणहरूले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा टक्कर भएको देखाइरहेका थिए।
देशव्यापी र नतिजा निर्धारित गर्ने सात 'स्विङ' राज्यहरूमा दुवैबीच एकाधको मतान्तर वा बराबरीको अवस्था देखाउँदै थिए सर्वेक्षणहरूले। ट्रम्प र ह्यारिसमध्ये जसले जिते पनि यसअघि जो बाइडेन र ट्रम्पबीच सन् २०२० मा भएको निर्वाचनमा झैं अन्तिम नतिजा आउन कैयौं दिन लाग्न सक्ने धेरैको अनुमान थियो।
तर निर्वाचनकै रातिको मतगणना सकिँदै गर्दा डोनाल्ड ट्रम्पले व्यवहारतः चुनाव जितिसकेका छन्। अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा समेत ट्रम्पको रिपब्लिकन पार्टीले आफ्नो बहुमत कायम गरेको छ। केही दिनपछि मात्रै टुंगो हुने तल्लो सदनमा यसअघिको बहुमतलाई रिपब्लिकन पार्टीले अझ बलियो बनाउने वा साधारण बहुमत कायम राख्ने सम्भावना छ।
जसरी सन् २०२० को आमचुनाव र सिनेटका दुई सिटका लागि लगत्तै भएको उपचुनावपछि अमेरिकी सरकारका तीन शक्ति केन्द्र (राष्ट्रपति, सिनेट र हाउस) मध्ये तिनैमा डेमोक्र्याटहरूको नियन्त्रण कायम भएको थियो, यो चुनावपछि रिपब्लिकनहरूको त्यस्तो नियन्त्रण हुने देखिएको छ।
मलाई लाग्छ — यो नतिजापछि अमेरिका सधैंका लागि बदलिनेछ। यसअघि सन् २०१६ मा डोनाल्ड ट्रम्प निर्वाचित भएर उनको चार वर्षे कार्यकालमा भएभन्दा पनि बढी।
अनि सिंगो विश्वलाई धेरै क्षेत्रमा नेतृत्व गर्ने अमेरिका बदलिएसँगै विश्वमा अब धेरै कुराहरू पहिलेजस्तो रहने छैनन्। अबका वर्षहरूमा हुने अभूतपूर्व उलटपुलटहरूमा यो चुनावी नतिजाको हस्ताक्षर देख्न सकिनेछ।
चार वर्ष अगाडि डेमोक्र्याटहरू बलियोसँग सत्तामा आउँदा नफेरिएको अमेरिका अहिले रिपब्लिकनहरू उसरी नै आउँदा कसरी सदाका लागि फेरियो त? हरेकजसो चुनावलाई 'जिन्दगीकै सबैभन्दा महत्वपूर्ण चुनाव' भनिने गरेकोमा यो चुनावले कसरी साँच्चिकै अमेरिका र विश्वको भूराजनीतिका लागि ऐतिहासिक पानीढलोका रूपमा काम गर्नेछ?
प्रस्तुत छ, अमेरिकाका विभिन्न राज्यहरूमा बचेखुचेका राष्ट्रपतीय, सिनेट र हाउसका सिटहरूको नतिजा आउँदै गर्दा यी विषयमा मैले गरेको बुँदागत विश्लेषण जसले यी पाँच प्रश्नको जबाफ खोज्नेछ —
१. यो चुनावमा झन्डै निर्णायक जस्तो बनेको अमेरिकी सीमा सुरक्षा र आप्रवासन नीति ट्रम्पको दोस्रो कार्यकालमा कस्तो रहनेछ? त्यसले वैध-अवैध बाटोबाट जसरी पनि अमेरिका पुग्ने करोडौं एसियाली र अफ्रिकालीहरूको सपनालाई कति र कसरी कुठाराघात गर्नेछ?
२. युक्रनमाथिको जारी रूसी अतिक्रमण र प्यालेस्टाइनमाथिको इजरायली हमला लगायतका भूराजनीतिक विकासक्रम अब कसरी अघि बढ्लान्?
३. अमेरिकाभित्र न्याय र समावेशिता अनि विधिको शासनका एजेन्डा अब कति जीवित रहलान्?
४. धर्मराउँदा परम्परागत मिडिया प्रणाली र उदाउँदो 'पोडकास्ट पत्रकारिता' का बीच ट्रम्पको जीतले सत्तालाई जबाफदेही बनाउने मिडियाको क्षमतालाई अझ कति क्षीण बनाउला?
५. लोकतन्त्र र जलवायु परिवर्तनका एजेन्डामा यो चुनावी नतिजाले कस्तो प्रभाव पार्ला? त्यस्तो प्रभावले मानव सभ्यताको अन्तलाई कति अघि सार्ला?