घरघरमा दीपावली आरम्भ हुँदै थियो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई बेग्लै चटारोले छोएको थियो।
मोरङ २ (२) बाट प्रदेश सभामा निर्वाचित अधिकारीको चटारो मन्त्रालयसँग सम्बन्धित थिएन। न आफ्नो निर्वाचन क्षेत्रसँगै सम्बन्धित थियो।
उनी जापान उड्ने तरखरमा थिए। त्यसको चाँजोपाँजो पनि मिलाइसकेका थिए।
मुख्यमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार अधिकारीले कात्तिक १२ गते मात्रै जापान उड्न लागेको जानकारी गराएका थिए। त्यो पनि मुख्यमन्त्री हिक्मत कार्कीलाई मोबाइलमा फोन गरेर।
'म जापान जान लागेको छु, त्यही जानकारी गराउन खोजेको हुँ,' भन्दै अधिकारीले फोन गरेपछि मुख्यमन्त्री कार्की आश्चर्यमा परेका थिए।
त्यसपछि कार्कीले 'तपाईंले जापान जान लागेको भन्नुभएको कि, झापा?' भन्दै प्रतिप्रश्न गरेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो।
अधिकारीले 'निजी कामको सिलसिलामा जापान जान लागेको' बताएपछि मुख्यमन्त्रीले 'तपाईं कानुनसम्बन्धी जानकार, क्याबिनेट मन्त्री विदेश भ्रमण जाने प्रक्रिया हुन्छ,' भन्दै विधिको जानकारी गराएका थिए।
प्रदेशका कर्मचारी, पदाधिकारीहरूले विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्नेछ।
'निजी कामकै लागि जान लागेको' भन्दै टेलिफोन राखेका अधिकारी भोलिपल्टै, १३ कात्तिकमा जापान उडेका थिए।
मन्त्रीले स्वीकृति नलिई, टेलिफोनबाट मात्रै जानकारी गराएर जापान उडेकोबारे मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यतिबेलै जानकारी गराएका थिए।
'मुख्यमन्त्रीले मन्त्रीले बिनास्वीकृति जापान गएको कुरा प्रधानमन्त्रीलाई त्यतिबेलै जानकारी गराउनुभएको हो,' प्रधानमन्त्री ओलीको सचिवालयले सेतोपाटीसँग भन्यो, 'प्रधानमन्त्रीले स्वीकृति नलिई जापान गएको विषय उतिबेलै गम्भीर रूपमा लिनुभएको थियो।'
अधिकारी मानव तस्करसँग जोडिएर जापान पुगेका थिए। उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई पनि जापानको अध्यागमनले डिपोर्ट गरिदियो।
त्यसको खबर पाउनेबित्तिकै मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओलीलाई पुनः जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले 'त्यस्तो व्यक्तिलाई मन्त्रिपरिषदमा राख्नुहुँदैन, राजीनामा मागिहाल्नुस्' भनेर निर्देशन दिएको उनको सचिवालयको दाबी छ।
लगत्तै मुख्यमन्त्री कार्कीले अधिकारीलाई राजीनामा दिन लगाएका थिए। अधिकारीले मानव तस्करले उपयोग गर्न खोजेको थाहा पाएपछि जापानबाट फर्किएको र अनुसन्धानमा सघाउ पुगोस् भनेर राजीनामा दिएको बताएका थिए।
मुख्यमन्त्री कार्कीले भने अधिकारीले विधि, प्रक्रिया उल्लंघन गरेर जापान गएपछि तुरून्तै राजीनामा मागिएको बताए।
'अहिले राजीनामा दिन लगाएको प्रक्रिया उल्लंघन गएर जापान गएकैले हो। विधि मिचेर साथीभाइलाई कतै जाँदैछु भनेजसरी सामान्य जानकारी गराएर उहाँ जापान जानुभयो,' मुख्यमन्त्री कार्कीले भने, 'उहाँ जापानबाट फर्किएको विषय र अरू उठेका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानबाट जे जे तथ्य बाहिर आउँछ, त्यहीअनुसार प्रक्रिया अगाडि बढ्छ।'
अधिकारी जापान गएको र मानव तस्करीसँग जोडिएको विषयमा पार्टीका विधान पनि आकर्षित हुने हुँदा अनुशासन आयोगले यसबारे छानबिन गर्ने उनले बताए।
'पार्टीले कारबाही गर्ने विषयमा अनुशासन आयोग छँदैछ। उसले आफ्नो हिसाबले छानबिन गर्छ,' उनले भने, 'राज्यका निकायले पनि छानबिन गरिरहेकै छन्। प्रदेश सरकारले थप केही गर्नुपर्यो भने हामी छलफल गर्छौं।'
मुख्यमन्त्री कार्की अहिले काठमाडौंमा छन्। उनी बिहीबार साँझ पाँच बजेतिर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री ओली भाइरल ज्वरोका कारण स्वास्थ्य लाभ गरिरहेकाले मुख्यमन्त्रीसँग भेट नभएको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए।
उनका अनुसार अरू प्रदेशका मुख्यमन्त्रीहरू पनि काठमाडौं आएका छन्। मुख्यमन्त्री कार्की लिलाबल्लभ अधिकारीकै विषयमा कुराकानी गर्न प्रधानमन्त्रीलाई भेट्न नखोजेको र योजना आयोगसँग सम्बन्धित विषयमा छलफल गर्न आएको पनि बजगाईंले बताए।
'प्रधानमन्त्रीज्यूलाई चिकित्सकले भेटघाटमा रोक लगाएकाले उहाँले आज मुख्यमन्त्रीहरूलाई भेट्नुभएन,' बजगाईंले भने।
यो पनिः
मानव तस्कर गिरोहसँगै जापान पुगेका थिए कोशीका मन्त्री अधिकारी
मानव तस्करीमा जोडिएका ६ जना हिरासतमा, मुख्यकर्ता मन्त्रीलाई छुट किन?
मन्त्रीसँगै जापानबाट फर्किएकाहरूको बयान: १० देखि १३ लाखसम्म बुझायौं