मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार टुंगो लगाएका छन्।
यहाँ अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।
तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो। गच्छदार कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।
पछिल्लो राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन पार्टीकै भेलामा अचेत भई लडेका उनको असार ३ गते उपचारकै क्रममा निधन भएको थियो।
उपनिर्वाचनका लागि कांग्रेसले बलराम सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको सभापति डिगबहादुर लिम्बूले बताए।
साथै माओवादीले अध्यक्ष पदमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादीले भने नमोनारायण माझीलाई ग्रामथानको उम्मेदवार घोषणा गरिसकेको छ। माझी केही समयअघि माओवादी प्रवेश गरेका थिए।
नेकपा (एमाले) ले अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन। एमालेले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
जिल्ला इन्चार्ज जीवन घिमिरेले दिएको जानकारी अनुसार कृष्णकुमार माझी, तुलसी विश्वास र निर्मला अधिकारीको नाम जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई सिफारिस गरेका छन्। ‘अब कात्तिक २४ मा केन्द्रले निधो दिने कुरा छ’, घिमिरेले भने।