रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा गर्ने भएका छन्।
कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले असार १५ गते शनिबार सामूहिक यात्रा गर्न लागेका हुन्।
उनले यो यात्रामा सहयोग गर्न काठमाडौंबासीलाई आह्वान गरेका छन्।
पौडेलका अनुसार शनिबार बिहान ७ बजेदेखि कलंकीबाट दबाब यात्रा सुरू हुनेछ। बिहान करिब १०:३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।
‘रिङरोडको कलंकी-धोबीखोलालगायत क्षेत्रका बासिन्दालाई यो दबाब यात्रामा साथ दिन मैले आह्वान पनि गरेको छु,’ उनले सेतोपाटीसँग भने।
कलंकी-धोबीखोला करिब १३ किमी सडक विस्तार गर्ने भने पनि काम अघि बढ्न सकेको छैन। सडक छेउका रूख कटान गरिएको थियो।
‘रिङरोडको यस खण्ड समयमै नबनेकोले यस क्षेत्रका मानिस पीडित छन्। पानी परेका बेला हिलाम्मे र घाम लागेका बेला धुलोले स्थानीय बासिन्दालाई सास्ती दिएको छ,’ उनले भने, ‘अब बर्खा लाग्यो, रिङरोडमा खेत रोपिदिए हुन्छ, हिलाम्मे छ।’
यस खण्डमा छ हजारभन्दा बढी सटर छन्। धुलो र हिलोका कारण व्यापार छैन। ‘चार वर्षदेखि यस क्षेत्रका बासिन्दाले दु:ख पाएका छन्। प्रदूषणले गर्दा स्वास्थ्य बिग्रेको छ,’ उनले भने, ‘यो सडक विस्तारमा दबाब दिन नागरिक यात्रा गर्न लागेको हो।’
पौडेलसहित कांग्रेस र रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा यसअघि रिङरोडको यो खण्ड तत्काल निर्माण अघि बढाउन माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्तावसमेत छलफलका लागि दर्ता गरेका थिए।
रिङरोडको कलंकी-धोबीखोला खण्ड चिनियाँ लगानीमा बनाउने भने पनि अन्यौलमा परेको छ। सांसदहरूले चीनले नबनाउने हो भने आफ्नै स्रोतबाट नेपाल सरकारले यो सडक बनाउनुपर्ने बताइरहेका छन्।