प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद सचिवालयबाट पछिल्लो समय गम्भीर प्रकृतिको लापरबाही भइरहेको बताएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका सांसदहरूले आर्थिक विधेयक २०८१ मा राखेको संशोधनबारे उल्लेख नै नगरिएको बताए।
उनकाअनुसार सांसदहरू आरजु राणा, दिलेन्द्रप्रसाद बडू, प्रकाशशरण महत र श्यामकुमार घिमिरेले आर्थिक विधेयक २०८१ मा संशोधन राखेको र उक्त संशोधन कांग्रेसका तर्फबाट संघीय संसद सचिवालयमा दर्ता भइसकेको थियो।
‘गत असार १४ गते ती संशोधन राखिएको र दर्ता नम्बर ८ मा यो दर्ता भएको छ,’ लेखकले भने, ‘तर आज कार्यसूची हेरेँ। विधेयकमा प्राप्त संशोधनहरू पनि हेरेँ। हाम्रा माननीयहरूको संशोधन नै यहाँ छैन। यस्तो हुन्छ र? बैठक स्थगित गरेर यो संशोधन छ कि छैन, छैन भने किन छैन यकिन गरेर बैठक चलाउनुपर्यो सभामुख महोदय।’
सभामुख देवराज घिमिरेले लेखकले उठाएका विषय ध्यानाकर्षण भएको पनि बताए। कांग्रेस सांसदहरूले लगानी सहजीकरणसम्बन्धी विधेयकका लागि आएको भन्ने सूचना आफूले पाएको सभामुख घिमिरेले बताए।
यसपछि पुन: लेखक बसेको ठाउँबाट उठे।
‘नेपाली कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरणबीचको अन्तर थाहा नहोला र सभामुख महोदय?,’ उनले भने। सभामुख घिमिरे आफूलाई आएको सूचना मात्रै संप्रेषण गरेको जबाफ दिएका थिए।
सांसदहरूले राखेका संशोधन नै छुट्नु गम्भीर त्रुटि भएको र यस्तो हुन हुन्न भनेर आफूले ध्यानाकर्षण गराएको लेखकको भनाइ छ।
यसपछि सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले बोल्न समय मागे। उनले केही समय प्रतिनिधि सभा बैठक रोकेर संशोधन दर्ता हेर्नुपर्ने बताए।
‘यदि उहाँहरूले आजकै विधेयकमा दर्ता गराएको हो भने त्यो छलफलमा आउनुपर्छ। यदि आर्थिक विधेयकमा होइन भने हाउस अघि जान्छ,’ उनले भने, ‘उहाँहरूको लिखतलाई चेक गरेर अघि बढ्नु उपयुक्त हुन्छ।’
यसपछि सभामुख घिमिरेले आर्थिक विधेयकमा संशोधन राखेका सांसदहरू छलफलमा सहभागी हुन सक्ने बताएका थिए। संशोधन प्रस्ताव राखेका सांसद बडूले आर्थिक विधेयकमा दर्ता गरेको संशोधन प्रस्ताव आफ्नो हातमा रहेको बताए।
गत असार १४ मा समयभित्रै संशोधन दर्ता गरिएको उनको भनाइ छ। ‘दर्ता भइसकेको डकुमेन्ट यसरी हराउँछ?,’ बडूले प्रश्न गरे। सभामुख घिमिरेले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए।
सभामुख घिमिरेले संशोधनकर्ता आरजु राणा देउवालाई बोल्न समय दिएका थिए। उनी बैठकमा उपस्थित थिइनन्। यसपछि सांसद प्रकाशशरण महत बोलेका थिए। महत रोस्टममा पुगेर आफूहरूले राखेका संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।