नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दसपटक फोन र म्यासेज गर्दा पनि महाधिवेशनको उद्घाटन सत्रमा नआएको बताएका छन्।
आइतबार सुरू भएको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली गएनन्। एमालेले प्रतिनिधिसमेत पठाएन।
अध्यक्ष नेपालले त्यसको प्रष्टीकरण उद्घाटन सत्रको मन्तव्यमा दिए।
‘बिरामी भएकाले नारायणमान विजुक्छेजी आउन सक्नुभएन। हामीले आशा गरेका थियौं, राप्रपाबाट आउने भन्नुभएको थियो, आउनुभएन। तपाईंहरूको मनमा जिज्ञासा होला, नेकपा एमाले किन आएन भन्ने होला? मैले आफैले दसौंपटक फोन गरेको छु। फोन नलागेपछि पिएहरूलाई पनि लगातार फोन गरेको छु, एउटा पिएले भएन, अर्को पिएलाई गरेको छु,’ उनले भने, ‘कस्तो फोन! प्रधानमन्त्रीज्यू! तपाईंको टेलिकम्युनिकेसनलाई सुधार गर्नुपर्यो। म्यासेज पठाइदिएको छु डिटेलमा। म्यासेज पाएको सूचना पनि भएको छ,’ उनले भने।
उनले पार्टी विभाजनको घाउ आलै भएकाले त्यसको असर बाँकी भएको हुन सक्ने बताए।
‘भर्खर तीन वर्षको घाउ, अझै पनि आलो छ, त्यसैको असर बाँकी होला, राजनीतिमा यस्ता कुरा पचाएर जान सक्नुपर्छ। नआएकाप्रति धेरै गुनासो नगरौं। सबैप्रति सद्भाव राखेर जान सक्नुपर्छ। कुनै घृणाभाव राख्न जरूरी छैन। यो यात्रामा यस्तो भइरहन्छ। अगाडि बढिन्छ। लक्ष्यमा पुगिन्छ,’ उनले भने।
आजदेखि सुरू भएको एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म चल्नेछ।