(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं)
उनले दोस्रो घन्टीमै फोन उठाइन् र मसिनो स्वरमा भनिन्, 'हेलो!'
'हेलो,' मैले सोधेँ, 'शिबाकुमारी शाही बोल्नुभएको हो?'
'हो, बोल्दैछु!'
'तपाईं बखतबहादुर मल्लको को पर्नुहुन्छ दिदी?'
'मेरो बूढा हो,' उनले भनिन्, 'हजुर को बोल्नुभएको?'
मैले आफ्नो परिचय दिएँ।
म पत्रकार हुँ भन्ने थाहा पाउनेबित्तिकै शिबाकुमारीले अत्तालिँदै सोधिन्, 'हजुरले मेरो बूढाको केही खबर पाउनुभएको हो र?'
उनको यो प्रश्नले नै एकछिन त मेरो मुटु चिसो भयो। के भन्ने, के भन्ने भएर चुप्प लागेँ।
'हेलो... हेलो...' कुनै जबाफ नसुनेपछि उनले हड्बडाउँदै फेरि सोधिन्, 'हजुरले केही खबर पाउनुभयो मेरो बूढाको?'
यसपालि उनको सोधाइमा अत्यास र छट्पटीको मात्रा कयौं गुणा बढी सुनियो।
मैले आफ्नो मनको वेग थामेँ र उनलाई सम्झाउँदै भनेँ, 'दिदी मैले उहाँको खबर त पाएको छैन, तपाईंको खबर चाहिँ के छ भनेर सोध्न फोन गरेकी।'
उनी केही बोलिनन्।
निराशाको लामो श्वास मैले यताबाट प्रस्टै सुनेँ।
'खै के हुनू,' उनले दिक्क मान्दै भनिन्, 'फोन आएपिच्छे बूढाको खबर आयो कि भनेर हड्बडाउँदै उठाउँछु। उहाँको बारेमा सोध्नेहरू त टन्नै आउँछन्, तर उहाँको बारेमा सुनाउनेहरू कोही आएनन्।'
'कति दिन भयो दिदी सम्पर्क नभएको?'
'आज ठ्याक्कै ६४ दिन भयो,' उनले भनिन्।
'अन्तिमचोटि सम्पर्क हुँदा के भन्नुभएको थियो?'
उनी फेरि केही बोलिनन्।
निराशाको लामो श्वास फेरि सुनियो।
मैले प्रश्न दोहोर्याएँ, 'अन्तिमचोटि सम्पर्क हुँदा के भन्नुभएको थियो दिदी?'
'१५-२० दिन कुराकानी हुँदैन है भन्नुभएको थियो,' शिबाले श्रीमानको अन्तिम भनाइ यस्तरी सुनाइन्, मानौं ६४ दिनदेखि उनको चित्तमा त्यही घुमिरहेको छ।
'मैले सम्पर्क नगरे पनि सुर्ता नमान्नू, फुर्सद पाउनेबित्तिकै तिमीलाई मेसेज वा फोन गरिहाल्छु भन्नुभएको थियो,' उनले अगाडि भनिन्, 'दुई महिना बितिसक्यो, न उहाँको मेसेज आयो, न फोन। खबरखाबर केही छैन। मेरो त सासै अड्केलाजस्तो भइसक्यो बहिनी!'
त्यसपछि न उनले केही बोलिन्, न मैले केही सोधेँ।
लगभग पाँच सेकेन्डको मौनपछि मैले बिस्तारै सोधेँ, 'उहाँ रूसी लडाइँमा जाँदै हुनुहुन्छ भनेर तपाईंलाई पहिल्यै थाहा थियो कि पछि थाहा पाउनुभयो?'
मेरो मुखबाट 'रूसी लडाइँ' सुनेर उनको मुटु स्याइँय्य गर्यो सायद!
लामो सुस्केरा हालिन् र सुस्तरी भनिन् —
'त्यो त पहिल्यै थाहा थियो। उहाँले फोनमा पनि लडाइँमा जान लागेकै भन्नुभएको थियो।'
शिबाकुमारी शाही सँग मेरो सम्पर्क सामाजिक सञ्जालको एउटा च्याट ग्रुपमार्फत् भएको थियो।
'रसियामा फस्नुभएका नेपालीलाई छिटो उद्धार गरौं' भन्ने यो च्याट ग्रुप सामाजिक अभियन्ता कृति भण्डारीले बनाएकी हुन्। खाडी मुलुकमा दु:ख पाएका महिलाको उद्धार गर्न पहल गरेकी कृति अहिले रूसमा फसेकाहरूलाई घर फर्काउने अभियानमा छिन्।
रूसी सेनामा भर्ती भएर सम्पर्कविहीन नेपालीका परिवारलाई एकजुट गराउन उनले ११ दिनअघि यो ग्रुप बनाएकी हुन्। एकपछि अर्को गर्दै मंगलबारसम्म २ सय ८१ जना जोडिएका छन्। आफन्त मात्र होइन, रूसी सेनामा भर्ती भएका केही नेपालीसमेत ग्रुपमा छन्।
तिनैमध्ये एक आफन्तका माध्यमबाट म पनि यो ग्रुपमा जोडिएकी छु र उनीहरूबीच हुने कुराकानी नजिकबाट नियाल्दै छु।
ग्रुपका सदस्य निकै सक्रिय छन्। उनीहरू रूसी सेनामा कार्यरत आफन्तका फोटो सेयर गर्छन् र कसैलाई केही जानकारी छ कि भनेर सोध्छन्। कुराकानीबाट युद्धग्रस्त क्षेत्रमा हराइरहेका आफन्तप्रति चासो, छट्पटी र बेचैनी प्रस्ट झल्किन्छ। उनीहरू आफ्नो दु:ख, पीडा र वियोग कहिले शब्दमा व्यक्त गर्छन्, कहिले अश्रुपूर्ण इमोजी पठाउँछन्।
चार दिनअघि ग्रुपमा जोडिएर उनीहरूका कुराकानी पढ्न/सुन्न थालेपछि मलाई रूसमा सम्पर्कविहीन नेपालीका परिवारसँग प्रत्यक्ष कुरा गर्न मन लाग्यो।
उनीहरू को हुन्? परिवारको सदस्य जीवन-मृत्युसँग जुध्दैछ भन्ने थाहा पाउँदा उनीहरूको मनमा के बित्दै छ? आफन्तसँग सम्पर्क टुटेको कति भयो?
यस्ता यस्तै प्रश्न मनमा लिएर सम्पर्कविहीनका परिवारसँग सम्पर्क गर्न मैले आइतबार बिहानै ग्रुपमा मेसेज पठाएँ — रूसी सेनामा भर्ती भई सम्पर्कविहीन हुनुभएका व्यक्तिहरूको नाम, ठेगाना र फोन नम्बर कसैले दिन सक्नुहुन्छ!
दुई मिनेटसम्म मेसेज कसैले हेरेनन्।
तेस्रो मिनेटपछि भने मेरो मोबाइलमा ट्वाङ, ट्वाङ, ट्वाङ गर्दै मेसेजको ओइरो नै लाग्यो।
कसैले आफैं अघि सरेर नाम र ठेगाना टिपाए, कसैले चिनेजानेका व्यक्तिको नम्बर दिए।
त्यसै आधारमा २७ जनाको नाम, ठेगाना र परिवारको फोन नम्बर फेला पारेँ। मैले ती सबैसँग सम्पर्क गरेँ, उनीहरूको भोगाइ सुनेँ। केहीले लामै कुरा गरे, केहीले छोटकरीमा परिचय मात्र दिए।
यो स्टोरी तिनै २७ जना सम्पर्कविहीन भएका युवाको परिवारको चिनारी हो।
अधिकांशले मसँग एउटै प्रश्न गरेका थिए — तपाईंले केही खबर थाहा पाउनुभएको हो र?
कतिले यो पनि भने — तपाईंहरू त पत्रकार, देश-विदेशमा मान्छे होलान्, हाम्रो मान्छेको खोजखबर गर्दिन सक्नुहुन्न? सरकारसम्म हाम्रो कुरा पुर्याइदिन सक्नुहुन्न?
मसँग उनीहरूका प्रश्नको जबाफ थिएन, उनीहरूलाई सोध्ने प्रश्न मात्र थिए!
सबभन्दा पहिला शिबाकुमारी शाहीकै कुरा गरौं, जोसँग मेरो पहिलो सम्पर्क भयो।
श्रीमान बखतबहादुर मल्लसँग सम्पर्क टुटेको पछिल्लो दुई महिनामा त्यस्तो कुनै दिन छैन, जब शिबाकुमारीले आफ्ना श्रीमानको नम्बर डायल नगरेकी होस्!
हरेकचोटि डायल गर्दा यसपालि त फोन उठिहाल्छ कि भन्ने आशले उनको मुटुको धड्कन बढ्छ। उनी हरेकचोटि निराश हुन्छिन्।
त्यस्तो कुनै दिन छैन, जब शिबाकुमारीले श्रीमानसँगको च्याट-बक्स नखोलेकी होस् र ६४ दिनअघिसम्म आदानप्रदान भएका सन्देश दोहोर्याइ-तेहर्याइ नपढेकी होस्!
श्रीमानका पुराना फोटा र मायाका इमोजी हेर्दै मुसुमुसु नहाँसेकी होस्, आँखाबाट सम्झनाका आँसु नझारेकी होस्!
'आँसु बगाउनु र प्रतीक्षा गर्नुबाहेक अरू म के गर्न सक्छु! जतिसक्दो कोसिस गरिरहेकै छु। भगवान छ नि हेर्ने!' यसो भन्दै गर्दा सायद शिबाका आँखा माथि आकाशतिर फर्किएका थिए!
शिबाकुमारीको घर दैलेखको दुल्लु नगरपालिका, वडा नम्बर १३ हो। उनका श्रीमान बखतबहादुर ४० वर्षका भए। गत असोज २७ गते दुबई हुँदै रूस गएका थिए। आठ लाख रूपैयाँ खर्च गरेर गएका उनीसँग मंसिर १८ गते अन्तिम कुराकानी भएको शिबा सुनाउँछिन्।
'रूसी सेनामा जागिर खान लागेको भन्नेसम्म थाहा थियो,' उनले भनिन्, 'लडाइँमा जानुपर्छ भन्ने पत्तो थिएन। लडाइँमा होमिनुहोला र अहिलेजस्तो लापता नै हुनुहोला भन्ने थाहा पाएको भए कहाँ जान दिन्थेँ र!'
श्रीमानसँग सम्पर्क टुटेपछि वैदेशिक रोजगार विभागदेखि कन्सुलर विभाग र परराष्ट्र मन्त्रालयमा समेत तारन्तार निवेदन दिएको उनले बताइन्।
सबैले खबर आएपछि भन्छु भनेका छन्, 'भनेका चाहिँ कसैले छैनन्,' उनले भनिन्।
शिबाकुमारीसँग कुराकानीपछि मैले च्याट ग्रुपमा नम्बर पाएका बाँकी २६ जनाका आफन्तलाई पालैपालो सम्पर्क गरेँ। उनीहरूको हाल यस्तो रहेछ —
पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन छन् — यो सन्देश उदयपुरकी टिना घिमिरेले त्यही च्याट ग्रुपमा लेखेकी थिइन्। साथमा आफ्नो नम्बर पनि पठाएकी थिइन्।
मैले टिनालाई सम्पर्क गरेँ।
उनी पदमकी पत्नी रहिछन्। लगभग दुई महिनादेखि टेलिफोन कुराकानी बन्द भएको उनले सुनाइन्।
टिनाका अनुसार पदम नेपाली सेनामा कार्यरत थिए। रूसमा महिनाकै साढे तीन लाख रूपैयाँ तलब पाउने थाहा पाएपछि उनी नेपाली सेनाको जागिर छाडेर रूसी सेनामा भर्ती हुन गए।
पदमले नेपाल छाडेको तीन महिना मात्र भयो। रूस गएको एक महिनापछि नै परिवारसँग उनको सम्पर्क टुटेको थियो।
'रूस जाने चाँजो कसरी मिलाउनुभयो त?'
जबाफमा टिनाले भनिन्, 'सब कुरा त मलाई थाहा छैन। नेपाली सेनाभन्दा रूसी सेनामा तलब धेरै हुन्छ, काम चाहिँ उस्तै उस्तै हो भन्नुहुन्थ्यो। रूस पठाउने कुनै दलालसँग उहाँको सम्पर्क भएको थियो। त्यही दलाललाई आठ लाख बुझाएर भिसा आएपछि उहाँले यहाँको जागिर छाड्नुभयो।'
'रूस पुगेपछि के कुराकानी भयो त?'
'सुरूमा त केही भन्नुभएन,' टिनाले जबाफ दिइन्, 'पछि युद्धमै जानुपर्ने रहेछ भनेर दिक्क मान्नुभयो। उहाँको कुरा सुनेर म पनि झसंग भएँ। बन्दुक बोकेर युद्धमै होमिनुपर्छ भने त यस्तो जागिर नगर्नुस् भो भनेर सम्झाएँ। खतरा छ भने जसरी भए पनि घर फर्किहाल्नुस् भनेर बिन्ती नै गरेँ। तर एकचोटि रूसी सेनामा भर्ती भएपछि सजिलै उम्किन नपाइँदो रहेछ!'
उनका अनुसार पदमले दुईचोटि फौजबाट भाग्ने प्रयास गरेका थिए। दुवैचोटि पक्राउ परे।
पक्राउ परेपछि उनले शारीरिक र मानसिक रूपमा आफू युद्धका लागि तयार नभएकाले स्वदेश फर्काइदिन आग्रह गरेका थिए। रूसी सेनाले उनको कुरा सुनेन। उनलाई पक्राउ परेलगत्तै युद्धको अर्को मोर्चामा खटाइयो।
'सायद भाग्न खोजेको भएर सजायस्वरूप घरिघरि युद्धमा खटाएको हो कि!' टिनाले शंका व्यक्त गरिन्।
उनले पदमको अन्तिम सन्देश पनि सुनाइन्, जसमा लेखिएको थियो —
'मलाई फेरि लड्न पठाउँदै छन्, जति बेला पनि ज्यान जानसक्छ!'
टिना दिनकै दर्जनचोटि यो सन्देश पढ्छिन्। हरेकचोटि पढ्दा उनको हिक्का छुट्छ। मलाई पढेर सुनाउँदा पनि उनको स्वर भास्सिएको थियो।
'त्यसपछि उहाँलाई कुन मोर्चामा खटायो! के भयो! केही अत्तोपत्तो छैन,' टिनाले सुक्सुकाउँदै भनिन्, 'मैले लाखचोटि प्रयास गरिसकेँ होला, कसैगरी पनि सम्पर्क हुन सकेन।'
टिना चार वर्षको बालखा छोरा च्यापेर श्रीमानको उद्धार गराइदिन सरकार गुहार्दै हिँडिरहेकी छन्। उता त सम्पर्क टुट्यो टुट्यो, यता सरकारले कुनै जबाफ नदिँदा उनको भरोसा पनि टुट्दैछ।
'जबर्जस्ती युद्धमा जानुपरेको मान्छे! त्यसमाथि दुई महिनादेखि खबरै नभएपछि मेरो हंसले ठाउँ छाडिसक्यो,' उनले भनिन्, 'नराम्रो नराम्रो खयाल मात्र मनमा आइरहन्छ। केही खबर पाइन्छ कि भनेर यताउता भौंतारिँदै छु। अहिलेसम्म कसैलाई केही सुइँको छैन।'
'तपाईंहरूले केही थाहा पाउनुभयो भने भन्नुस् है बहिनी!' टिनाले आग्रह गरिन्।
विपिन विक सम्पर्कमा छैनन्, उनलाई खोज्न मद्दत गर्नुहोस् — एक नवयुवकको फोटोमुनि यस्तो सन्देश पढेपछि मैले सन्देश पठाउनेको नाम हेरेँ।
सन्देश लेख्ने रामकुमार विक थिए। पछि थाहा भयो, उनी विपिनका काका रहेछन्।
मैले फोन सम्पर्क गरेपछि विपिनबारे थोरै कुरा बताउन रामकुमार राजी भए।
उनीहरूको घर बुटवलको सैनामैना नगरपालिका हो। तीन महिनाअघि रूसी सेनामा भर्ती हुन गएका विपिन ६५ दिनदेखि परिवारको सम्पर्कमा छैनन्।
'कसरी गए त रूस?' मैले सोधेँ।
'खोई कसरी गयो भन्नू, साथीको लहलहैमा लागेर गयो,' रामकुमारले भने, 'घरमा हत्ते हालेर ७ लाख खर्च गरेर गएको रहेछ, अहिले रूवाबासी छ।'
'अन्तिम सम्पर्कमा के भन्नुहुन्थ्यो?'
'त्यति बेला ऊ युद्धमा गइसकेको थिएन,' रामकुमारले भने, 'तालिममै छु भन्थ्यो। तालिम ठिकठिकै भइरहेको छ, केही दिनपछि युद्धमा जानुपर्ने हुनसक्छ भनेर परिवारलाई सुनाएको थियो।'
'त्यही नै अन्तिम कुराकानी हो। त्यसपछि ऊ कहिल्यै अनलाइन देखिएन। तालिममै छ कि युद्धमा गइसक्यो, अत्तोपत्तो छैन।'
म चुपचाप उनको कुरा सुन्दै थिएँ।
'तालिममा भए त सम्पर्क गरिहाल्थ्यो! युद्धमै गइसक्यो होला! युद्धमा गएर फोन गर्ने, मेसेज पठाउने तारतम्य मिलेन होला! नभए किन यस्तो गर्थ्यो र! वा, तालिममै नेटवर्कको समस्या परेर पो खबर गर्न नपाएको हो कि! के बेर!'
रामकुमारले योभन्दा बढ्ता केही भनेनन्।
उनको भनाइमा आशा र निराशा, विस्मात् र वेदनाको लहर एकपछि अर्को उर्लिएको सुनिन्थ्यो।
बुतासिंह तामाङ गत असोज २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूसका लागि उडेका थिए। उनी १८ घन्टा दुबईमा रोकिए र त्यहाँबाट सिधै रूस पुगे।
माघ ६ देखि सम्पर्कविहीन छन्।
मैले बुतासिंहकी पत्नी मीनमाया तामाङलाई तीनकुनेको एउटा भेलामा भेटेकी थिएँ। उनी च्याट ग्रुपमा जोडिएका अरू पीडितहरूसँग सरसल्लाह गर्न तीनकुने आएकी थिइन्। रूसमा हराइरहेका आफन्तको खोजखबर राखिदिन सरकारलाई कसरी दबाब दिने भन्नेमा उनीहरूको सल्लाह केन्द्रित थियो।
भीडमा टोलाएर बसिरहेकी मीनमायाको आशातीत अनुहारले मेरो ध्यान खिच्यो।
'धेरै जनाको आफन्त आउने भनेपछि श्रीमानबारे केही जानकारी पाइन्छ कि भनेर आएँ, तर केही पाइनँ,' उनले भनिन्, 'उहाँको फोटो ग्रुपमा पठाएको छु। कसैले देखेको भए मेसेज गर्नुहुन्छ कि भन्ने आश छ।'
मैले तीनकुने चउरमा बसेर मीनमायासँग लामो कुराकानी गरेँ।
काभ्रे घर भई भक्तपुर बस्दै आएका २८ वर्षीय बुतासिंहले कहिले जागिर त कहिले ज्याला-मजदुरी गरेर जीविका चलाइरहेका थिए। त्यतिले दुई छाक टार्न र एक सन्तानलाई राम्रो शिक्षा दिन मुस्किल भएपछि उनी वैदेशिक रोजगारीको तयारीमा लागे। त्यसै क्रममा रूसी सेनामा भर्ती हुन पुगेको मीनमायाले बताइन्।
'चार-पाँच महिनाअघि केही साथीले रूसमा सुरक्षागार्डको जागिर छ, राम्रो कमाइ हुन्छ भन्ने खबर ल्याएछन्। त्यसपछि उहाँले कागजात मिलाउन थाल्नुभयो। कहाँ कसरी मिलाउनुभयो, त्यो चाहिँ मलाई थाहा भएन,' उनले भनिन्, 'रूस उड्दासम्म ७-८ लाख रूपैयाँ खर्च भएको थियो।'
'भनेपछि तपाईंहरूलाई रूसी युद्धमा भाग लिने हो भन्ने थाहा थिएन!'
'काँ पाएर थाहा हुनु!' मीनमायाले भनिन्, 'रूस र युक्रेनको युद्ध हुँदैछ भन्ने हामीलाई थाहा थियो, तर सेक्युरिटी गार्डमा जाने भनेपछि युद्धको कुरा त हामीले सोच्दै सोचेनौं। सेनामै भर्ती हुने हो भन्ने त हाम्रो कल्पनामा पनि आएन।'
कहिलेकाहीँ परिवन्धले मान्छेलाई कल्पना नगरेको परिस्थितिमा फसाइदिन्छ। बुतासिंहलाई त्यस्तै भयो।
रूस छिरिसकेपछि उनी त्यहाँबाट उम्किन पाएनन्। सेक्युरिटी गार्ड बन्न गएका उनी रूसी सिपाही हुन बाध्य भए।
'सुरूमा त मलाई पनि केही भन्नुभएन। तालिममा हुँदा हरियो पोसाकमा देखिनुहुन्थ्यो। मैले सोध्दा तालिमको ड्रेस हो भन्नुहुन्थ्यो, म पत्याउथेँ,' उनले भनिन्, 'तीन साताअघि उहाँले मसँग माफी माग्दै एक महिना युद्धमा जानुपर्ने भयो, अब सम्पर्क हुँदैन भन्दै मेसेज गरेपछि पो छाँगाबाट खसेजस्तो भएँ।'
उनका अनुसार बुतासिंहले ४० किलोमिटर टाढा लडाइँ लड्न जान लागेको र एक महिना सम्पर्क नहुने भन्दै भ्वाइस मेसेज गरेका थिए। त्यसपछि भने फोन-मेसेज केही आएको छैन।
श्रीमान बेखबर भएपछि उनले कन्सुलर सेवा विभाग, प्रहरी र परराष्ट्र मन्त्रालयमा जानकारी गराएकी छन्। तर कतैबाट खबर नआएको उनी बताउँछिन्।
'तीन महिनाअघि छिट्टै भेट्ने बाचा गर्दै बिदा हुनुभएको थियो,' उनले भनिन्, 'अहिले खबर केही छैन। स्वर पनि सुन्न पाएकी छैन।'
उनले अगाडि भनिन्, 'उहाँको मेसेज आउँछ कि, फोन आउँछ कि भनेर हातबाट मोबाइल छुट्दैन। मोबाइलमा पुराना मेसेज हेर्छु, फोटा हेर्छु। उहाँको अनुहार देखेर, पुराना मेसेज पढेर त्यसै त्यसै रून आइरहन्छ।'
'सेनामा काम गर्नुपरेपछि खुरूक्क फर्केर किन नआएको होला भन्ने तर्कनाले मुटु गाँठो पर्छ। दुई-चार पैसाको लोभमा त्यति टाढा जाने अनुमति मैले किन दिएँ भन्ने सोचाइ पनि मनमा आउँछ। मैले नजानू भनेको भए कुनै हालतमा जानुहुन्नथ्यो भन्ने लाग्छ, अनि झन् बढी पीडा हुन्छ। मैले नै उहाँलाई आगोको भुंग्रोमा झोसेँ कि भनेर कहालिन्छु। मुटुमा चस्का पस्छ।'
मीनमाया र बुताका १० वर्षका छोरा छन्। आमा रोएको देखेर छोरा सुर्ता मान्छ। के भयो भनेर सोध्छ।
मीनमायासँग छोरालाई दिने जबाफधरि छैन।
राजेन्द्रसिंह धोवाल कात्तिक २१ देखि परिवारको सम्पर्कमा छैनन् — च्याट ग्रुपमा मनिषा नगालले यो मेसेज लेखेकी थिइन्।
उनी राजेन्द्रसिंहकी आफन्त रहिछन्।
मैले आफ्नो परिचय दिएपछि उनी थप कुरा गर्न राजी भइन् र आफ्नो नम्बर पठाइन्।
उनीसँग त्यति लामो कुराकानी त भएन; तर जति भयो, त्यसबाट मैले रूसमा हराइरहेका राजेन्द्रसिंहबारे थोरबहुत जानकारी पाएँ।
राजेन्द्र भदौ दोस्रो साता भारतको बाटो हुँदै रूसी सेनामा भर्ती हुन गएका थिए। दार्चुलाको महाकाली नगरपालिका-६ का उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा थिए। त्यसै क्रममा रूस पठाउने कुनै म्यानपावर व्यवसायीसँग उनको सम्पर्क भयो।
महिनाको दुई लाखभन्दा बढी तलब पाइन्छ भन्ने थाहा पाएपछि उनले खाडीको सपना त्यागे र रूसी सैनिकको वर्दी लगाएर युद्धमोर्चामा खटिन तयार भए।
रूस पुगेको केही महिनासम्म उनको खबर आइरह्यो। उनी सब ठिकठाक छ भन्थे। सैन्य तालिममा केही कष्ट भए पनि खासै जोखिम नभएको बताउँथे।
'अहिले बेखबर छ,' मनिषाले भनिन्, 'तालिममै छ कि युद्ध लडिरहेको छ, केही पत्तो छैन।'
हेमकुमार मगर डेढ महिनादेखि सम्पर्कमा छैनन्। उनकी पत्नी नमिसा दर्लामी मगर श्रीमानको खोजखबर गर्दै सामाजिक सञ्जाल समूहदेखि सरकारी निकायसम्म तारन्तार धाइरहेकी छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-१ का ३८ वर्षीय हेमकुमार असोज ३१ गते रूस गएका थिए। यसका लागि साढे सात लाख खर्च भएको नमिसा बताउँछिन्।
'अन्तिम सम्पर्क कहिले भयो?'
जबाफमा नमिसाले भनिन्, 'पुस ६ गते उहाँको मेसेज आएको थियो।'
नमिसाले भावुक हुँदै मेसेस पढेर सुनाइन् —
'म युद्धमा जाँदैछु। युद्ध १५-२० दिनको हुन्छ। त्यहाँबाट फर्केपछि खबर गर्छु है!'
त्यसयता उनको एउटा पनि सन्देश आएको छैन। युद्धमै छन् कि कहाँ छन्, नमिसालाई थाहा छैन।
उनी मोबाइल सन्देश पढेर क्वाँक्वाँ रून थालिन्।
र, रूँदै रूँदै भनिन्, 'तपाईंले केही खबर पाउनुभएको हो र?'
मसँग जबाफ थिएन। उनको वेदना धेरै कोट्याउन पनि मन लागेन।
'केही खबर आए सम्पर्क गर्छु है' भन्दै मैले फोन राखिदिएँ।
नमिसाको आँसु अझै थामिएको छैन, सायद!
कर्णबहादुर विक असोज २७ गते भिजिट भिसामा रूस छिरेका थिए।
मैले च्याट ग्रुपमा बेपत्ताहरूको नाम र नम्बर सोधेपछि लक्ष्मी विकले त्यही ग्रुपमा उनकाबारे जानकारी दिएकी थिइन्। सुरूमा उनले सोधेकी थिइन्, 'तपाईं केका लागि यी विवरण संकलन गर्दै हुनुहुन्छ?'
मैले आफ्नो प्रयोजन बताएँ।
त्यसपछि उनले भनिन्, 'मेरो श्रीमान पनि २० दिनदेखि सम्पर्कमा आउनुभएको छैन।'
यति भनेर उनले आफ्नो मोबाइल नम्बर टिपाइन्। बाँकी कुरा फोनमा भयो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ का ३७ वर्षीय कर्णबहादुर ९ लाख रूपैयाँ खर्च गरेर रूस गएका रहेछन्। उनीसँग अन्तिम सम्पर्क माघ १ गते भएको थियो। उनले ह्वाट्सएपमा लक्ष्मीलाई भनेका थिए —
'म युद्धमा जान लागेको छु लक्ष्मी, केही दिन सम्पर्कमा रहँदिनँ है!'
'त्यो केही दिन २० दिन भइसक्यो, उहाँको खबर अझै आएको छैन,' लक्ष्मीले भनिन्, 'त्योभन्दा अगाडि उहाँको फोन वा मेसेज नआएको कुनै दिन हुन्थेन। दिनभरि तालिममा घोटिएर लखतरान हुँदा पनि उहाँ फोन गर्नुहुन्थ्यो। फोन गर्न नभ्याए एक-दुई लाइनको मेसेज र इमोजी त कहिल्यै टुट्थेन। तर २० दिनदेखि उहाँको मोबाइल लाग्दैन।'
यसबीच लक्ष्मीले कयौंचोटि कर्णको नम्बर डायल गरिसकिन्। हरेकचोटि नम्बर डायल गर्दा उनको मुटु भुइँचालो गएझैं हल्लिन्छ।
'फ्याट्टै फोन उठाइहाल्नुहुन्छ कि भनेर गरिरहन्छु, तर अहिलेसम्म सम्पर्क भएको छैन,' उनले भावुक हुँदै भनिन्, 'फोन नलागे पनि उहाँ सकुशल भइदिए हुन्थ्यो!'
'सकुशल हुनुहुन्छ भन्ने खबर मात्र एकचोटि सुन्न पाए मेरो आत्मालाई सन्चो हुन्थ्यो। संसार उज्यालो हुन्थ्यो।'
सोमबहादर ब्रामु माघ ९ देखि सम्पर्कविहीन भएपछि उनकी पत्नी बुद्धिमायाको दिनरात एक भएको छ।
ललितपुरका सोम असोज २९ गते दुबई हुँदै रूस गएका थिए। यसका लागि साढे ७ लाख रूपैयाँ म्यानपावरलाई बुझाएको बुद्धिमाया बताउँछिन्।
उनी रूस जानुअघि वैदेशिक रोजगारीको चाँजो मिलाउन विभिन्न म्यानपावर कम्पनी धाइरहेका थिए। त्यसै क्रममा रूसी कम्पनीबाट सुरक्षागार्डको माग आएको र तलब पनि राम्रो भएको खबर सुने।
'उहाँले मसँग सल्लाह गर्नुभएको थियो। राम्रो तलब र एक-डेढ वर्षमा परिवार लैजान पाउने कुरा सुनेपछि मैले हुन्छ भनेँ,' बुद्धिमायाले भनिन्, 'सुरक्षागार्ड भनेर सेनामा भर्ती गराउँछन् भन्ने त सोच्दै सोचिनँ। अहिले पछुतो भइरहेको छ। किन सहमति जनाएँ हुँला भनेर थकथकी लाग्छ।'
त्यति बेला बुद्धिमायालाई रूस र युक्रेनबीच वर्ष दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ भन्ने पनि थाहा थिएन। लेखपढ नजानेकाले र देशदुनियाँबारे थाहा नभएकाले नै आज यो दुःख भोग्नुपरेको भन्दै उनी आफैंलाई धिक्कार्छिन्।
'बित्थामै भीरबाट फाल हाल्न पठाएँ,' उनले खुइय्य गर्दै भनिन्, 'म लाटीलाई पनि त्यहाँ त्यस्तो भइरहेको छ भन्ने के थाहा! थाहा भएको भए जान दिन्थेँ र!'
'के उहाँलाई पनि रूसमा युद्ध भइरहेको छ र सेनामा भर्ती हुन जाने हो भन्ने थाहा थिएन?'
प्रश्न सुनेर बुद्धिमाया एकछिन चुप्प लागिन्। सायद आँखाको आँसुले गला अवरूद्ध भयो। घाँटी सफा गर्दै सुस्तरी भनिन्, 'उहाँलाई त थाहा रहेछ। तर सेनामा जान्छु भन्दा म मान्दिनँ भनेर ढाँट्नुभएछ। पछि मैले खुब गाली गरेँ। तर त्यति टाढा पुगिसकेको मान्छेलाई यताबाट गाली गरेर पनि के गर्नू!'
बुद्धिमायाले सोमको विवशता बुझेकी छन्।
'यहाँ रोजगार गरेर बाँच्न गाह्रो भएपछि जसरी हुन्छ दुई-चार पैसा कमाऊँ, परिवारलाई राम्ररी राखूँ भनेर नै उहाँ बिदेसिनुभएको हो,' उनले भनिन्, 'परिवारको भविष्यका लागि आफ्नो ज्यान नै दाउमा लगाउन तयार हुनुभएको हो।'
उनले भावुक हुँदै अगाडि भनिन्, 'बाँचे कमाउँछु भनेर गएको भन्दै उहाँका साथीहरू अहिले पनि सुनाउँछन्।'
सोमबहादुरलाई यसरी झूट बोली बोली ज्यान जोखिममा राखेर बिदेसिन बाध्य पारेको देशको भ्रष्ट संरचनाले हो भन्ने बुद्धिमायाको भनाइ छ, उनले भनिन्, 'यहीँ जागिर खाएर दुई-चार पैसा कमाउने बाटो पाइदिएको भए त्यसरी श्रीमतीलाई धरि ढाँटेर विदेश जानुपर्थ्यो र!'
मैले उनलाई सोमबहादुरसँगको अन्तिम कुराकानी के थियो भनेर सोधेँ।
उनले अन्तिम मेसेज पढेर सुनाइन् —
'म अब एक महिनालाई नयाँ ठाउँमा काम गर्न जाँदैछु। त्यहाँ मोबाइल लैजान पाइँदैन। त्यसैले केही दिन सम्पर्क हुँदैन। महिनौंसम्म पनि सम्पर्कमा आइनँ भने सरकारलाई हारगुहार गर्नू, बाँचे फर्किऊँला!'
बुद्धिमाया त्यही भएर केही पत्ता लागिहाल्छ कि भन्ने आशमा दौडधुप गरिरहेकी छन्।
भरत न्यौपाने ले आफू रूस पुगेको धेरै दिनसम्म घरपरिवारलाई 'म नेपालमै छु' भनेर ढाँटेका थिए।
उनी सम्पर्कविहीन भएको ४० दिन भयो। ग्रुप च्याटमा उनको सन्देश सुधा अधिकारीले पठाएकी थिइन्। पछि उनको नम्बर पत्ता लगाएर मैले फोन गरेँ।
एक घन्टीमै फोन उठ्यो।
मैले आफ्नो परिचय दिँदै 'भरतको बारेमा कुरा गर्न सकिन्छ?' भनेर सोधेँ।
उनले आत्तिँदै भनिन्, 'केही खबर आएको हो र?'
म निरूत्तर भएँ।
कुराकानीबाट थाहा भयो, सुधा भरतकी श्रीमती रहिछन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका- १३ का भरत कात्तिक अन्तिममा भारत हुँदै रूस पुगेको उनले बताइन्।
'मलाई त जाने बेला पनि रूस जाँदैछु भनेर भन्नुभएन,' सुधाले भनिन्।
म छक्क परेँ।
'अनि के भन्नुभयो त?'
'उहाँ इलेक्ट्रोनिक्सको काम गर्नुहुन्थ्यो। त्यही कामसम्बन्धी तालिम धनगढीमा हुँदैछ भन्नुभयो,' सुधाले भनिन्, 'धनगढीको तालिममा जाने भनेर घरबाट निस्कनुभएको थियो। त्यसैले लुगाफाटो पनि खासै धेरै लग्नुभएको थिएन। रूस पुगिसकेपछि पनि धनगढीमै छु भनेर मेसेज पठाइरहनुभयो।'
'उहाँ रूसमा हुनुहुन्छ भन्ने कहिले थाहा पाउनुभयो त?'
'सुरूमा त मलाई शंकै भएन,' उनले भनिन्, 'पुस १२ गतेबाट उहाँको मेसेज आउन बन्द भयो। फोन पनि आएन। मैले गर्दा पनि सम्पर्क हुन सकेन। त्यसपछि उहाँका साथीहरूसँग सोधपुछ गरेँ। अनि पो रूसी सेनामा भर्ती हुन गएको थाहा भयो।'
'जुन दिन मैले यो खबर थाहा पाएँ, मलाई त आकाशै खसेर थिचेजस्तो भयो। यतिसम्म झूट पनि कोही बोल्छ!' सुधाको बोलीमा थोरै रिस र त्योभन्दा कयौं गुणा धेरै चिन्ता मिसिएको थियो।
'अहिलेसम्म सम्पर्क हुन सकेको छैन,' उनले भनिन्, 'अब म कहाँ खोज्न जाऊँ उहाँलाई, रूस जाऊँ कि धनगढी जाऊँ!'
लक्ष्मण विष्ट जम्मा २४ वर्षका भए।
सुर्खेतको पञ्चपुरी नगरपालिका-४ का उनी ९० दिनदेखि सम्पर्कविहीन छन् भन्ने सन्देश उनको फोटोसहित च्याट ग्रुपमा आयो।
सन्देश पठाउने उनकी दिदी शान्ति विष्ट थिइन्। भाइका बारेमा केही जानकारी पाइन्छ कि भनेर ग्रुपमा जोडिएको उनले लेखेकी थिइन्।
सन्देश पढेर मैले उनीसँग कुराकानी अघि बढाएँ।
सुरूमा त उनले भाइप्रति रिस पोखिन् र भनिन्, 'दुई छाक खान पुगिरहेकै थियो। नजा नजा भनेर कत्ति सम्झाउँदा पनि मानेन। जानाजान मृत्युको मुखमा हाम्फाल्न गयो।'
उनको यो रिस धेरै समय टिकेन।
अलि बेरमै भावुक हुँदै भनिन्, 'असोज २७ गते दुबई जान्छु भनेर गएको थियो। हामीले दुबई त नजा भनेका थियौं, रूस जान त कुनै हालतमा दिँदैनौं भनेर थप कुरा केही भनेन।'
रूस पुगेको तीन सातासम्म उनले परिवारलाई सुइँको दिएका रहेनछन्। फोन गरिरहेका हुन्थे, मेसेज पठाइरहेका हुन्थे, तर आफू रूसमा छु भनेर भन्थेनन्।
मंसिर ५ गते उनको मेसेज आयो —
'म अहिले रूसमा छु। हामी युद्धमा जाने तयारीमा छौं। त्यसैले अब केही दिन सम्पर्क हुँदैन। पन्ध्र-बीस दिनपछि युद्धबाट फर्केर मेसेज गर्छु।'
उनको मेसेज पढेर परिवारका सबै खङरङ्ग भए। परिस्थिति स्वीकार गर्नु र भगवानसँग उनको सकुशल फिर्तीको कामना गर्नुबाहेक अरू विकल्प थिएन।
'हरेकचोटि मोबाइल बज्दा भाइकै फोन आयो कि भनेर हतारिँदै उठाउँछु, मेसेजको नोटिफिकेसन बज्दा पनि भाइकै हो कि भनेर हतारिँदै हेर्छु,' शान्तिले भनिन्, 'तर ९० दिन भइसक्यो, कुनै खबर छैन।
जितेन्द्र केसी को कथा लक्ष्मणसँग मिल्दोजुल्दो छ।
धादिङको गंगाजमुना गाउँपालिका-७ का उनी असोज २८ गते रूस गएका थिए र ९० दिनदेखि बेखबर छन्।
ग्रुप च्याटमा जोडिएकी उनका आफन्त उषा अधिकारीका अनुसार जितेन्द्रले पनि रूसी सेनामा भर्ती हुने कुरा परिवारलाई लुकाएका थिए। यहाँबाट हिँड्ने बेला उनले रूसी कम्पनीमा सुरक्षागार्डको जागिर खाने भनेका थिए। युद्धमा जानुपर्ने भएपछि मात्र सेनामा भर्ती भएको खबर सुनाए।
केही समयअघि मात्र मलेसियाबाट फर्किएका जितेन्द्र दोस्रोचोटि वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। यसपालि कतार जाने उनको सोचाइ थियो।
'कता कताबाट रूस पठाउने समूहको सम्पर्कमा पुगेछ,' उषाले भनिन्, 'नेपाली युवाहरूलाई रूसी सेनामा भर्ती गराउने समूह सक्रिय हुँदा पनि सरकारले किन केही गरिरहेको छैन?'
जितेन्द्रले मंसिर १३ यता परिवारलाई कुनै मेसेज पठाएका छैनन्। एक कल फोन पनि गरेका छैनन्। त्यसयता उषा उनको खोजखबर गर्दै सामाजिक सञ्जालदेखि हरेक ठाउँ धाइरहेकी छन्।
ललितसिंह डोबाल एक महिनादेखि परिवारको सम्पर्कमा छैनन्।
दार्चुलाको महाकाली नगरपालिका-२ का उनी चार महिनाअघि १० लाख रूपैयाँ खर्च गरेर रूस गएको उनकी पत्नी सरू डोबालले बताइन्।
'पहिले दिनहुँ मेसेज गर्नुहुन्थ्यो, ३३ दिन भयो केही खबर छैन,' उनले भनिन्।
ललितसिंहसँगै उनका केही साथीहरू पनि गएका थिए। अहिले ती सबैको फोन सम्पर्कविहीन रहेको सरू बताउँछिन्।
'सबैको फोन नलागेको सुन्दा केही भयो कि भनेर आत्तिएकी छु,' उनले भनिन्, 'कसरी खबर पाउने होला खोई! हामी त भगवान भाकेर बसेका छौं।'
घनश्याम परियार दाङमा पढ्दै थिए।
एकदिन अचानक उनी रूस जाने भन्दै गाउँ फर्के र केही दिनमै झोलातुम्ला बोकेर घरबाट हिँडिहाले।
के गर्न जान लागेको, कुन कम्पनीमा जान लागेको, कहिले फर्कने — यस्ता कुरा परिवारलाई भन्दै भनेनन्।
रूस जान ६-७ लाख रूपैयाँ खर्च गरेको परिवारले सुनेका छन्। तर त्यो पैसा कसरी जुटाए भन्ने पनि उनीहरूलाई थाहा छैन।
असोज अन्तिममा नेपाल छाडेका घनश्याम रूस गएर सेनामा भर्ती भए भन्ने खबर परिवारका सदस्यले पछि मात्र थाहा पाए।
शान्तिनगर गाउँपालिका-२ का ३० वर्षीय घनश्याम मंसिर ६ देखि सम्पर्कविहीन छन्। उनको खोजखबर राख्दै ग्रुप च्याटमा जोडिएकी दिदी लीला परियारले भनिन्, 'मेसेज आउन छाडेपछि साथीभाइसँग सोधपुछ गर्दा पो ऊ रूसी सेनामा भर्ती भएको थाहा भयो।'
'यहाँ राम्रै पढिरहेको थियो। खोई कसरी पैसा कमाउने लोभमा परेछ,' लीलाले भनिन्, 'त्यही लोभले ऊ ज्यानको जोखिम मोल्न तयार भयो।'
'नेपाल बसेर केही हुँदैन, मौका पाएको बेला विदेश गइहाल्नुपर्छ भन्ने पो लाग्यो कि!'
राजन राई रूसी सेनामा भर्ती भएर युद्ध लड्न गएका हुन् भन्ने उनकी पत्नी विमला राईले धेरै पछि मात्र थाहा पाइन्।
खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाका ३८ वर्षीया राजन तीन महिनाअघि रूस गएका थिए। साढे सात लाख रूपैयाँ खर्च भएको थियो।
अरू धेरैले जस्तै उनले पनि सुरक्षागार्डको काम हो भनेका थिए। विमलालाई न रूसमा युद्ध भइरहेको थाहा थियो, न सुरक्षागार्डको बहाना बनाएर उनका श्रीमान सिपाही बन्न जाँदै छन् भन्ने उनले शंका गरिन्।
'उहाँ युद्धमा जाँदै हुनुहुन्छ भन्नेबारे म पछिसम्मै अञ्जान थिएँ,' श्रीमान बेखबर भएपछि ग्रुप च्याटमा जोडिएकी उनले मसँगको टेलिफोन कुराकानीमा भनिन्, 'माघ २ गते मात्र उहाँले आफू सेनाको तालिममा जान लागेको बताउनुभयो र केही दिन सम्पर्कमा आउँदिनँ भनेर खबर पठाउनुभयो।'
'त्यसपछि कुनै खबर आएको छैन,' उनले भनिन्।
रामकृष्ण अधिकारी लाई पनि खोजिदिनुहोला है — ग्रुप च्याटमा सरिता बुढाथोकीले यस्तो मेसेज पठाइन्।
उनी रूसमा बेखबर रामकृष्णकी भाउजू रहिछन्। संखुवासभाको धर्मदेवी नगरपालिका-४ का रामकृष्ण तीन महिनादेखि सम्पर्कमा नरहेको उनले बताइन्।
दुबई प्रहरीमा काम गरिरहेका उनी धेरै तलब-सुविधा पाइन्छ भन्दै पाँच महिनाअघि उतैबाट रूस गएका थिए।
'स्वदेश फर्किने कुरा भइरहेको थियो। उहाँ त उतैबाट रूस जानुभएछ,' सरिताले भनिन्, 'यता परिवारमा रूवाबासी चलेको छ।'
उनका अनुसार रामकृष्ण दुबई गएको लामो समय भइसकेको थियो।
परिवारले निकै कर गरेपछि गएको दसैंमा घर फर्किने कुरा थियो, 'एक्कासि रूसतिर लागेको खबर पो आयो,' उनले भनिन्।
रामकृष्ण कात्तिक २५ देखि परिवारको सम्पर्कमा छैनन्। उनको जन्मथलो संखुवासभा भए पनि अहिले उनको परिवार नेपालगन्ज बस्छ।
रमेश सेढाईं मेरो भिनाजु हुनुहुन्छ, उहाँ डेढ महिनादेखि सम्पर्कमा हुनुहुन्न, कसैले चिन्नुहुन्छ भने खबर गरिदिनुहोला — सुजना धितालले लगातार तीन-चारपटक यस्तो मेसेज पठाएपछि मैले उनीसँग सम्पर्क गरेँ।
उनले आफ्ना भिनाजुको फोटो पनि ग्रुप च्याटमा राखेकी थिइन्।
'यहाँ त हराएका मान्छेहरूको सूचना आएको आयै गर्दो रहेछ। म मसेज पठाउँछु, अर्को मेसेजले तुरून्तै छोपिहाल्छ। त्यसैले तीन-चारपटक पठाएको,' सुजनाले मसँगको कुराकानीमा भनिन्, 'भिनाजुसँग सम्पर्क हुन छाडेपछि दिदीको बेहाल छ। उहाँ सरकारी निकायहरूमा गएर हारगुहार गर्ने अवस्थामा पनि हुनुहुन्न। त्यसैले म आफैं भिडिरहेकी छु।'
प्रहरी, वैदेशिक रोजगार विभाग र कन्सुलर विभागमा गएर आफैंले निवेदन दिएको उनले बताइन्।
उनका अनुसार काभ्रेको पाँचखाल नगरपालिका-१२ का रमेश कात्तिक २८ गते रूस जान भनेर घरबाट निस्केका थिए। दुई दिन काठमाडौं बसेर भारत हुँदै रूस गएको उनको भनाइ छ।
सात लाख रूपैयाँ खर्च गरेर रूस पुगेका रमेशले पुस ७ गते घरमा अन्तिम मेसेज पठाएका थिए, लेखेका थिए —
'म यहाँबाट ४० किलोमिटर टाढा युद्ध भइरहेको ठाउँमा जान लागेको छु। त्यसैले केही दिन सम्पर्क हुने छैन। फर्केपछि सम्पर्क गरूँला।'
'त्योभन्दा अगाडि भिनाजुले दिनैजसो दिदीलाई मेसेज र फोटोहरू पठाइरहनुहुन्थ्यो। उहाँले आफ्नो टोपीमा मोबाइल लुकाएर राख्नुहुन्थ्यो रे। तालिममा हुँदा पनि बीच बीचमा फोटो खिचेर पठाउनुहुन्थ्यो,' सुजनाले भनिन्।
'पुस ७ को त्यो मेसेजपछि भने उहाँको कुनै खबर आएको छैन।'
कुमार गुरूङ विदेश गएको यो दोस्रोचोटि हो।
उनी यसअघि कतार गएका थिए। दुई सन्तानको भविष्य सपार्ने सपना बोकेर कतार गएका उनी केही महिनामै बिरामी परे। त्यहाँको गर्मीमा टिकेर काम गर्न सकेनन्, फर्केर आए।
'कतार जाँदा लिएको ऋण तिर्न बाँकी नै थियो,' कुमारकी पत्नी मीना गुरूङले भनिन्, 'त्यही भएर फेरि विदेश जाने तयारीमा लाग्नुभयो।'
यसै क्रममा रूसी कम्पनीमा काम गर्ने भन्दै भदौ २३ गते उनी रूस हिँडे। त्यसपछि लगातार सम्पर्कमा रहेका गोरखाका कुमारले मंसिर १३ पछि कुनै खबर पठाएका छैनन्।
'हाम्रो पनि सुखका दिन आउँछन् भन्दै जानुभएको थियो,' मीनाले भनिन्, 'अहिले त उहाँ आफैं आउनुभएन! ऋणमाथि ऋण थपिएको छ, मान्छेको खबरखाबर केही छैन।'
'मान्छे जिउँदो भए जसरी पनि कमाइन्थ्यो!' यसो भन्दै गर्दा मीनाको स्वर थर्रर कामेको प्रस्ट सुनिन्थ्यो।
सुजन शर्मा दुई महिनादेखि बेखबर छन् भन्ने खबर उनकी आमा तीर्थकुमारी रिजालले ग्रुप च्याटमा पठाएकी थिइन्।
'म आफ्नो छोरा सम्पर्कविहीन भएको कुरा यहाँ पटक पटक भनिरहने अवस्थामा छैन,' उनले यति भनेर लगातार रूँदै गरेका इमोजी पठाउन थालिन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका सुजन घरमै बसेर स्नातक पढ्दै थिए। त्यही बेला रूस जाने कुरा चलेपछि उनले घरमा सल्लाह गरे।
आमा तीर्थकुमारीले सुरूमा छोराको प्रस्ताव मानिनन्, भनिन्, 'खुरूखुरू नपढी तँलाई किन विदेश जानुपर्यो।'
सुजनले कर गरे।
आमालाई सम्झाउँदै भने, 'राम्रो कमाइ हुन्छ आमा। एक-दुई वर्षपछि त परिवार पनि लैजान मिल्छ। अनि तपाईंलाई पनि लैजाऊँला नि रूस!'
'मलाई पनि लैजान्छु भन्दै गएको छोरो आफैं बेपत्ता भयो,' मंसिर २१ देखि सम्पर्कविहीन भएका छोरालाई सम्झिँदै तीर्थकुमारीले भनिन्, 'यहाँबाट गएको केही समयसम्म हाम्रो हरेक दिन कुरा हुन्थ्यो। म उसलाई अनलाइन देख्नासाथ फोन गर्थेँ। ऊ फुर्सद छ भने लामै कुरा गर्थ्यो, फुर्सद नभए पनि फोन उठाएर यत्तिकै छाडिदिन्थ्यो। म त्यहाँ उसको वरिपरि के चल्दैछ भनेर सुनीबस्थेँ।'
तीर्थकुमारी यति भनेर सुक्सुकाउन थालिन्।
'मंसिर २१ पछि न उसको फोन लाग्छ, न मेसेज आउँछ,' उनले भनिन्, 'सँगै गएका साथीहरू पनि सम्पर्कमा छैनन्। के भयो होला, के हालतमा होला, केही थाहा छैन।'
'यताउता गर्यो, घरिघरि उसैको याद आइरहन्छ। उसले पहिले पठाएका फोटोहरू हेर्छु। कल गर्छु, कुनै जबाफ नआउँदा मन एकतमासको भएर आउँछ। तपाईंले कुनै खबर पाउनुभयो भने मलाई फोन गर्नू है नानी,' तीर्थकुमारीले भनिन्।
हिराबहादुर गुरूङ नुवाकोटको म्यागङ गाउँपालिका- ३ का हुन्।
कात्तिक २ गते रूस जान भनी घरबाट हिँडेका उनी मंसिर १३ देखि परिवारको सम्पर्कमा छैनन्।
दिदी मेखमाया तामाङका अनुसार उनले आफू युद्धमा जान लागेको भन्दै अन्तिमचोटि फोनमा कुरा गरेका थिए।
'बूढा भएका आमाबा र बुहारी सुर्तै सुर्ताले सकिन लागिसके,' उनले भनिन्, 'भए ज्यान, नभए लास भए पनि ल्याइदिए हुन्थ्यो!'
मेखमाया अचेल रूसमा जारी युद्धका भिडिओ र समाचार हेरिरहन्छिन्। त्यहाँका विदारक दृश्य देख्दा भाइ सकुशल होला भन्ने विश्वास कम हुँदै गए पनि उनले आश मारिसकेकी छैनन्।
'परिवारलाई थाहा नदिई त्यस्तो ठाउँमा हामफल्यो,' उनले भनिन्, 'भोकले जे पनि गराउने रहेछ! कतै अल्झेर, फसेर पो बसेको छ कि!'
हिराबहादुरसँगै रूस गएका गाउँका अर्का व्यक्ति पनि अहिले सम्पर्कविहीन रहेको मेखमायाले सुनाइन्।
रोशन तामाङ तिनै व्यक्ति हुन्, जो हिराबहादुरसँगै गएका थिए। उनी नुवाकोटको म्यागङ गाउँपालिका-२ कै हुन्।
उनी पनि मंसिर १३ देखि सम्पर्कमा छैनन्।
'हिरा र रोशन सँगसँगै गएका थिए,' मेखमायाले भनिन्, 'उनीहरूबीच खुब मिल्ती थियो। मलाई रोशन आफ्नै भाइजस्तो लाग्छ। अहिले दुवैको अत्तोपत्तो छैन।'
यी दुवै जना साथी वैदेशिक रोजगारीमा जाने तयारी गर्दागर्दै रूस पठाउने व्यक्तिहरूको सम्पर्कमा पुगेको मेखमायाले बताइन्।
'गाउँमा काम नपाएर धेरै समयदेखि बेरोजगार बसेका थिए। नेपाल बसेर केही गर्न सकिएन, अब विदेश जानुपर्यो भनेर दुवैले सल्लाह गरे र सँगसँगै रूस गए,' उनले भनिन्।
'यहीँ बस्ने वातावरण भइदिएको भए ज्यान फाल्न को जान्थ्यो र!'
भीमबहादुर नेगी भने नेपालमा काम नपाएर रूस गएका होइनन्।
कैलालीका उनी नेपाल प्रहरीमा कार्यरत थिए। दुई वर्षअघि दुबई प्रहरीमा जागिर खान गए। त्यहाँ काम गर्दागर्दै रूसी सेनामा भर्ती खुलेको खबर पाए र दुबईबाट उतै लागे।
पत्नी निलम नेगीका अनुसार उनले रूस पुगेको झन्डै डेढ महिनासम्म कुनै खबर गरेका थिएनन्।
'उहाँ असोज ७ गते नै पुगिसक्नुभएको रहेछ। तर हामीलाई केही भन्नुभएन,' निलमले भनिन्, 'म त दुबईमै हुनुहुन्छ भनेर सोच्दै थिएँ।'
'उहाँले दुबई छाडेको कसरी थाहा पाउनुभयो त?'
'रूस पुगेर तालिम सुरू भएपछि मलाई सुनाउनुभयो,' उनले भनिन्, 'खबरै नगरी त्यति टाढा जाने भनेर म झोक्किएँ पनि, तर झोक्किएर मात्र के गर्नू। हुने भए त उहाँलाई टपक्क टिपेर ल्याउनुहुन्थ्यो नि! सकिँदैन, के गर्नू!'
'अन्तिमचोटि सम्पर्क हुँदा के भन्नुभएको थियो त?'
निलमले कात्तिक २१ गते पाएको श्रीमानको अन्तिम सन्देश सुनाइन् —
'जंगलमा तालिम गर्न लग्दै छन्। तीन महिनासम्म मोबाइल राख्न पाइँदैन। त्यसैले सम्पर्क हुँदैन।'
'तीन महिनाभन्दा बढी भइसक्यो, उहाँको कुनै खबर आएको छैन,' उनले भनिन्।
मीनराज गुरूङ पाँच महिनाअघि रूस गएका थिए।
तेह्रथुमका उनी दुई महिनादेखि परिवारको सम्पर्कमा नरहेको खबर उनका साथी रामकुमार विकले सुनाए।
'घरपरिवारको बेहाल छ। कहाँ होला, कस्तो होला, कसैगरी खबर पाइन्छ कि भनेर उहाँहरू भनेको भन्यै हुनुहुन्छ,' रामकुमारले भने, 'त्यही भएर साथी कतै फेला परिहाल्छ कि भनेर यो ग्रुप च्याटमा जोडिएको हुँ।'
'यहाँ पनि धेरैचोटि सोधिसकेँ, उनको बारेमा कसैलाई केही खबर छैन,' उनले दिक्क मान्दै भने।
सागर भण्डारी बेपत्ता भएपछि उनकी पत्नी अञ्जु जिसी १६ दिनदेखि विभिन्न कार्यालय धाइरहेकी छन्।
नवलपरासी (बर्दिया सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-२ का सागर असोज १३ गते रूस गएका थिए। सेनामा भर्ती हुन गएका उनलाई युद्ध लड्नुपर्छ भन्ने थाहा थियो, तर परिवारलाई साँचो कुरा बताएका थिएनन्।
पहिले नियमित सन्देश पठाइरहने श्रीमान अचानक अलप भएपछि अञ्जुको बेहाल छ। उनी हराएका श्रीमानको खबर बुझ्न पछिल्लो १६ दिनमा दुईचोटि काठमाडौं आइसकिन्।
हरेकचोटि आउँदा फरक फरक कार्यालय गइन्। कहिले वैदेशिक रोजगार विभाग पुगिन्, कहिले प्रहरीकहाँ गएर गुनासो सुनाइन्। श्रीमानको अवस्था पत्ता लगाइदिन निवेदन पनि लेखेर दिइन्।
'सरकार गुहार्दा पनि केही थाहा भएको छैन,' उनले भनिन्।
'मैले त पहिले नै नजानू भनेकी थिएँ। पैसाको धेरै मुख हेर्नुपर्दैन, दु:खसुख गरेर यहीँ बसौंला भनेर सम्झाएकी थिएँ, मान्नुभएन,' उनले भनिन्।
'अरू धेरै जना मान्छे उहाँजस्तै रूसमा बेपत्ता रहेछन्,' उनले अगाडि भनिन्, 'कम्तीमा यो घटनाले पैसाको मुख हेरेर जोखिम मोली मोली विदेश जान खुट्टा उचालिरहेकाहरूको आँखा खुले हुन्थ्यो।'
'पैसाको धेरै लोभ गरेर के गर्नू, परिवारसँगै जिन्दगी बिताउन पाए पो त्यसको कुनै अर्थ हुन्छ। परिवारलाई चिन्तै चिन्तामा डुबाएर जति धन कमाए पनि केही हुन्न। फेरि यहाँ त धनभन्दा ज्यानकै कुरा आइसक्यो!'
उनले यति भनेर चिन्ताको लामो श्वास छाडिन्।
गणेश कुमाल की पत्नी मैयामाया रातबिरात झस्किरहन्छिन्। निद्रामा पनि हड्बडाउँदै ब्युँझिन्छिन् र हत्तपत्त खाटछेउको मोबाइल तानेर हेर्छिन्।
मोबाइल खोल्नेबित्तिकै उनको हात त्यही च्याट बक्समा जान्छ, जहाँ मंसिर १३ भन्दा अगाडिसम्म उनका श्रीमान गणेशसँग कुराकानी हुने गर्थ्यो।
जब उनी च्याट बक्समा नयाँ मेसेज देख्दिनन्, उनको मन स्याइँय्य गर्छ।
'उहाँ एकचोटि अनलाइन आएर म सुरक्षित छु है मैया भनेर मेसेज मात्र गरिदिए मलाई संसारै जितेजस्तो हुन्थ्यो,' मैयामाया कुमालले मसँग भनिन्।
गोरखा नगरपालिका-७ का गणेश कात्तिक ३ गते रूस गएका थिए। छिट्टै फर्किने बाचा गर्दै परिवारलाई मनाएर रूस पसेका उनी मंसिर १३ देखि सम्पर्कविहीन छन्।
उनका अनुसार गणेश सुरूमा कतार जाने भनेर म्यानपावर कम्पनीमा बुझ्न काठमाडौं आएका थिए। पछि रूस जाने तयारी गरेर घर फर्किए।
'मलाई त रूस जाने कुरा सुनेदेखि कस्तो कस्तो लागेको थियो। मन चिसो भएको थियो। त्यहाँ युद्ध चल्दैछ, खतरा छ भन्ने थाहा थिएन। तैपनि त्यति टाढाको देश नगइदिए हुन्थ्यो भन्ने मनमा थियो,' उनले भनिन्, 'उहाँ कसैगरी पनि मान्नुभएन। कमाइ राम्रो छ, खतरा केही छैन, धेरै नेपाली गइरहेका छन् भनेर ढिपी गर्नुभयो र गएरै छाड्नुभयो।'
रूस गएपछि गणेश प्रायः अनलाइन नै रहन्थे। काममा हुँदा पनि भिडिओ र फोटोहरू पठाइरहन्थे। जतिखेर मेसेज पठाए पनि तुरून्तै जबाफ आउँथ्यो, मैयामायाले भनिन्, 'अहिले त च्याट बक्स सुनसान देख्दा पनि सुन्ने लागेर आउँछ। मन खल्लो हुन्छ।'
काजी बस्नेत भदौ २६ गते रूस गएका थिए। कात्तिक पहिलो सातादेखि परिवारको सम्पर्कमा छैनन्।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ का काजी सम्पर्कविहीन भएपछि उनका दाइ अशोक बस्नेत खोजी र उद्धारको पहलमा जुटेका छन्।
'रूस गएका जसलाई सोधे पनि कसैले देखेको छ भन्दैन,' अशोकले भने, 'कहाँ थियो भन्नेसम्म थाहा भएको छैन।'
अशोक धेरै समयदेखि काठमाडौंमै छन्। उनले भाइ काजीलाई आफूसँगै काठमाडौं बसेर पढ्न डाकेका डाक्यै थिए। काजी भने एक्कासि रूसतिर लागे।
उनीसँगै रूस गएका खोटाङका अर्का युवा पनि सम्पर्कविहीन छन्।
क्षितिज बस्नेत खोटाङका उनै युवा हुन्, जो काजीसँगै गएका थिए। फरक के भने, उनी काठमाडौंबाट होइन, दुबईबाटै रूसतिर लागेका थिए।
ग्रुप च्याटमार्फत् जोडिएका भिनाजु चिरञ्जीवी आचार्यका अनुसार उनी पहिले सशस्त्र प्रहरीको जागिर खान्थे। एक्कासि जागिर छाडेर सेक्युरिटी गार्ड बन्न दुबई गए र त्यहीँबाट रूसी सेनामा भर्ती भए। उनकी पत्नी अहिले पनि यहाँ सशस्त्र प्रहरी छन्।
'रूस गएको एक महिनासम्म परिवारको नियमित सम्पर्कमै थिए,' भिनाजु चिरञ्जीवीले भने, 'तीन महिनादेखि कुनै खबर छैन।'
'मरिसके कि जिउँदै छन् भन्ने पनि पत्ता लगाउन सकिएन,' उनले यसो भन्दै रूँदै गरेको इमोजी पठाए।
विमलकुमार गजमेर की बहिनी अञ्जु चौबीसै घन्टा सामाजिक सञ्जाल हेरिरहन्छिन्। सञ्जालमा कसैले रूसमा बेपत्ता नेपालीहरूको खबर हाल्छन् कि भनेर खोजिरहन्छिन्।
उनका दाजु विमल सम्पर्कमा नआएको चार महिना भयो। धनुषाको मिथिला नगरपालिका-७ का विमल वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। उतैबाट रूसी सेनामा भर्ती हुन गएको अञ्जुले बताइन्।
'असोज २० देखि सम्पर्कमा हुनुहुन्न,' उनले भनिन्, 'दाजुसहित शेर मगर, सन्दिप दाहाल, अभिषेक बूढा लगायत सात जना नेपाली एकैचोटि युद्धमा खटिएका थिए भन्ने सुनेकी छु। ती सबैका परिवारलाई मैले सम्पर्क गरिसकेँ। उनीहरूको पनि कुनै खबर छैन।'
यी त भए सामाजिक सञ्जालको ग्रुप च्याटमार्फत् हामीले सम्पर्क गरेका २७ जना बेखबर नेपालीका परिवारको संक्षिप्त चिनारी।
यसबाहेक सम्पर्कविहीन अन्य केही नाम पनि हामीलाई प्राप्त भएको छ। तर परिवारका सदस्य वा आफन्तसँग कुरा हुन नसक्दा हामीले ती नाम यहाँ समेटेनौं।
यी २७ जना बेखबरका परिवारसँगको कुराकानीबाट हामीले के बुझ्यौं भने —
रूसी सेनामा भर्ती हुने उद्देश्यले गएको ठूलो टोलीले असोज अन्तिमतिर नेपाल छाडेको रहेछ।
धेरैजसोले महिनाको साढे तीन लाख रूपैयाँ हाराहारी तलब पाइन्छ भनेर परिवारलाई सुनाएका थिए।
सेनामा भर्ती हुने कुरा आफूलाई थाहा भए पनि उनीहरूले परिवारलाई सुरक्षागार्डको काम गर्न जान लागेको भनेर हिँडेको बुझिन्छ।
अधिकांश नेपाली ७ देखि १० लाख रूपैयाँ खर्च गरेर रूस गएको र केही महिनाको तालिमपछि युद्धमोर्चामा खटिएको पनि हामीले थाहा पायौं।
यो पनि थाहा पायौं — रूसी लडाइँमा खटिएका नेपालीमध्ये कतिले भाग्ने कोसिस पनि गरेका छन्। तर मौका नपाएर लडाइँको मोर्चामा भिड्न बाध्य छन्। एकचोटि भर्ती भएपछि बीचमा छाड्न पाइँदैन भनेर सम्झौतामै लेखिएको हुने एक पीडितले बताए।
त्यही ग्रुप च्याटमार्फत् रूसी सेनाबाट भागेर आएका एक व्यक्तिसँग हाम्रो कुराकानी भयो।
उनी हुन् — रमाधीर लिम्बू।
तेह्रथुमका रमाधीर सात लाख रूपैयाँ खर्चिएर रूसबाट भागेर आएको बताउँछन्।
'तालिम सकेर युद्धमा जाने तयारी हुँदै थियो। म एक दिनअघि नै भाग्न सफल भएँ,' उनले भने, 'रूसी फौजमा रहेका नेपालीहरूको अवस्था दर्दनाक छ। सरकारले छिटोभन्दा छिटो उद्धारको पहल गरिदिए हुन्थ्यो।'
यसका लागि उनी आफैं पनि सक्रिय छन्। उनकै पहलमा गत बिहीबार तीनकुनेमा पीडित परिवारजनको भेटघाट भएको थियो।
यसबाहेक काठमाडौंको बालुवाटारस्थित रूसी दूतावासअगाडि धर्ना दिने, युद्धमा घाइतेहरूको उपचार निम्ति दबाब दिने र मारिएकाहरूलाई क्षतिपूर्ति माग गर्दै आन्दोलन पनि गरिरहेका छन्।
रूसमा सम्पर्कविहीन रहेका तथा उद्धार माग गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा अहिलेसम्म १ सय ७० जनाभन्दा बढी आफन्तको निवेदन परेको छ। सरकारले रूसी लडाइँमा नेपालीहरूको मृत्युको खबर आउन थालेपछि पुस १९ देखि रूस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ। तर त्यसअघि कति जना नेपाली रूस गएका थिए भन्ने तथ्यांक सरकारसँग छैन।
ग्रुप च्याटको कुराकानीबाट एक जना यस्ता व्यक्तिसँग पनि हाम्रो सम्पर्क भयो, जो रूसी फौजमै छन्।
उनी हुन् — सुकपति गुरूङ।
उनले त्यहाँको अवस्थाबारे लेखे, 'हामीलाई छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्यो, यहाँ बसिरहनुपरे बाँच्न सकिँदैन।'
उनले अगाडि लेखे —
'यहाँ त लास गन्ने स्थिति पनि छैन। घाइतेहरूलाई कसैले उठाउँदैन। नेपालीहरू कति बाँचेका छन्, कति मरे; केही थाहा छैन। सबैलाई छुट्टाछुट्टै शिविरमा राखिन्छ। आफ्नै साथी पनि मरे-बाँचेको थाहा हुँदैन। सबैले मिलेर जतिसक्दो छिटो हाम्रो उद्धार गरिदिनुहोला भन्ने आशा राखेको छु।'
उनले आफ्नो मेसेजको आखिरीमा आठवटा अश्रुपूर्ण इमोजी पठाएका थिए।
***