जनमत पार्टीका अध्यक्ष सिके राउतले समाजवाद भन्ने शब्द आफूलाई निकै गह्रँगो लाग्ने बताएका छन्।
एकीकृत समाजवादीको दसौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष राउतले समाजवादी हुन चाहिने मापदण्ड समाजवादी नेताहरूले पालना गरेका छन् कि छैनन् भन्ने प्रश्न रहेको बताएका हुन्।
‘सुन्दा अनौठो लाग्ला मलाई तपाईंहरूको पार्टीको नाम निकै मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी पनि धेरै प्रिय र पवित्र लाग्छ। समाजवादी शब्द पनि उत्तिकै प्रिय लाग्छ। जति पवित्र र प्रिय लाग्छ, उत्तिकै डर पनि लाग्छ।
मलाई समाजवादहरू भन्ने शब्द निकै गह्रुँगो लागे पनि एकीकृत समाजवादीका नेता कार्यकर्ता निकै खारिएर आएकाले बोक्न सक्षम हुनुहुन्छ कि भन्ने लाग्छ,’ उनले भने।
महिनामा १५ दिन तारे होटलमा गएर खाने तर त्यही देशमा ४० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेका छन् भने नेताहरूले आफूलाई समाजवादी भन्ने कि नभन्ने पनि प्रश्न गरे।
‘जुन ठाउँमा कर्णालीका अस्पतालहरूमा मानिस बिरामी हुँदा नुन पाइरहेका छैनन्, सिटोमोल पाइरहेका छैनन्, र मचाहिँ महँगो अस्पतालमा उपचार गराउन जान्छु, त्यस्तै परे विदेशै उपचार जान्छु भने म समाजवादी हो कि होइन? म एकातिर रोजगारी दिने कुरा गर्छु, अर्कोतिर युवालाई कसरी विदेश पठाउने भनेर लाखौंको संख्यामा पठाउने भनेर त्यहाँ सम्झौ ता गर्छु भने म समाजवादी हो कि होइन? म आफ्नो छोराछोरीलाई महँगो स्कुलमा भर्ना गर्छु, जहाँका विद्यार्थीहरू ४८ प्रतिशत मुस्किलले पास हुन्छन्? म समाजवादी हो कि होइन?,’ उनको प्रश्न थियो।
उनले समाजवादी हुन चाहिने मापदण्ड आधारभूत आवश्यताहरू पालना गर्न सकेका छौं कि आदर्शमा मात्रै छाँटिरहेका छौं भन्ने प्रश्न पनि गरे।