पाटनका मल्लराजा सिद्धिनरसिंहको कृष्णभक्ति जगजाहेर छ। उनले नै आफ्नो दरबारसामु कलात्मक ढाँचाको कृष्ण मन्दिर बनाएका थिए।
कृष्ण मन्दिर र राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएका सम्पदा, मन्दिर र स्मारकबारे चर्चा गर्नुअघि उनी कस्ता राजा थिए, त्यसबारे कुरा गरौं।
सिद्धिनरसिंह मल्ललाई 'राजर्षी' भनिन्छ। उनलाई यो उपाधि तत्कालीन जनताले दिएका हुन्। तत्कालीन शिलालेखहरूमै सिद्धिनरसिंहलाई 'राजऋषीश्वर' भनिएको पाइन्छ। नेपालको मिथिला क्षेत्र जनकपुरका राजा जनकलाई पनि राजर्षी भनिन्छ।
सिद्धिनरसिंह ललितपुरका एक प्रसिद्ध धार्मिक राजा थिए। भगवान कृष्ण र मत्स्येन्द्रनाथका अनन्य भक्त उनले करिब ४० वर्ष नेपाल तथा भारतका विभिन्न तीर्थ स्थलमा यात्रा गरेका थिए। भारतका राजा हर्षवर्द्धनजस्तै उनी एक साधु राजा थिए।
कान्तिपुरको राजकुमार भई ललितपुर आएर यहाँको राज्यभार थामेका राजा हरिहरसिंह र रानी लालमतीको छोराका रूपमा उनी विक्रम सम्बत् १६६३ असार महिनामा पशुपति क्षेत्रमा जन्मेका थिए। यस हिसाबले असार १९ गते शनिबार उनको ४१८औं जन्मजयन्ती पर्छ।
उनी १४ वर्ष उमेरमा ललितपुरका राजा भएका थिए। पैंतीस वर्ष उमेरमा उनले आफ्ना छोरा श्रीनिवास मल्ललाई ललितपुर राज्यको उपराजा बनाई शासन चलाएका थिए। बयालीस वर्ष उमेरमा उनकी रानी भानुमती र ४६ वर्ष उमेरमा कान्छा छोरा ज्योतिनरसिंहको मृत्युपछि उनी पाँच वर्षसम्म त्रिशूल गंगा, बद्रीनाथ, केदारनाथ, हरिद्वार, दिल्ली, आगरा र मथुरा क्षेत्रमा तीर्थयात्रा गर्न गए।
तीर्थयात्राबाट फर्कंदा उनलाई यहाँका जनता तथा भारदारले थानकोटदेखि ललितपुर दरबारसम्म आ-आफ्नो पगडीको कपडा ओछ्याएर त्यसमाथि हिँडाएर स्वागत गरेका थिए।
सिद्धिनरसिंह मातृभक्त थिए। उनले जावलाखेलमा आफ्नी आमाको नाममा पोखरी बनाए। तीर्थयात्राबाट फर्के पनि राजकाजबाट विरक्त भएका उनले ५२ वर्ष उमेरमा श्रीनिवास मल्ललाई राज्यभार सुम्पे र आफू राजर्षी कहलाई फेरि तीर्थयात्रामै हिँडे।
तीर्थयात्राबाट फर्केपछि उनले भण्डारखाल पोखरी बनाए र त्यहाँको नियम बाँधेर शिलालेख राखे। त्यहाँ भूगोल मण्डप बनाए। हाल भूगोलको कुनै आकृति भने देखिँदैन।
कान्तिपुरका राजा प्रताप मल्लले पनि मोहनचोकमा धातुको गोलो-चेप्टो भूगोल बनाएर प्रदर्शित गरेका थिए। सिद्धिनरसिंह मल्लको भूगोल कस्तो थियो भन्ने हामीलाई जानकारी छैन। तर पोखरीको बीचमा सुनको कमलको स्थापनाले काठमाडौं उपत्यका परापूर्वकालमा एक तलाउ थियो र त्यसमा कमलको फूल उम्रेर स्वयम्भूज्योतिको प्रादुर्भाव भयो भन्ने पौराणिक भूगोल त्यहाँ दर्शाइएको देखिन्छ। त्यसपछि उनी फेरि तीर्थयात्रामा हिँडेका थिए।
सानै उमेरदेखि धर्मात्मा प्रवृत्तिका राजा सिद्धिनरसिंह चन्द्रायन व्रत बस्थे। महिनाभर चन्द्रमाको कला घटबढ भएअनुसार एक मुठी अन्नबाट बढाउँदै, घटाउँदै एक पाथीसम्मको दैनिक भोजन गर्ने व्रतलाई चन्द्रायण व्रत भनिन्छ।
उनी जाडो मौसममा चिसो ढुंगेखाटमा सुत्थे। गर्मी याममा पञ्चाग्नि तापेर तपस्या गर्थे। पच्चीसौं वर्षको उमेरमा उनले चौकोट दरबार (पाटन दरबार) मा नेपालभरका सारा जोगी, संन्यासीहरूलाई बोलाएर भोज गराएका थिए। यस्ता भोज उनी बारम्बार गराउँथे। जनताले नखाई आफू खाँदैनथे।
यिनले आफ्नो राज्यको आर्थिक विकास गर्न तिब्बतसँग व्यापार बन्दोबस्त बढाए। गोर्खा राज्यमा व्यापार बढाउन २४ कोठी महाजन बसाए। वैदेशिक सम्बन्ध बढाए। अरबी अक्षरसहित चाँदीका मोहर तथा सुकी चलाए।
उनले राजपरिवारका महिलालाई सुनको गहना लगाउन नदिई साधारण जीवन बिताउन लाउँथे। आफू पनि सामान्य जीवन विताउँथे। फिजुल खर्चमा उनको विश्वास थिएन। उनले ललितपुरको अर्थ व्यवस्था उन्नत बनाए।
यिनै राजा सिद्धिनरसिंहले पाटन दरबार बनाएका हुन्। सुन्दरी चोकको द्वारमा सिद्धिगणेश, नरसिंह र हनुमानका मूर्ति स्थापना गरी आफ्नो नामको स्मृति चिह्न राखेका हुन्। उनले ललितपुर दरबारमा भगवती तलेजुको स्थापना गरेका थिए। पोखरी बनाउनुका साथै देवीलाई फूल चढाउन बगैंचा पनि बनाएका थिए।
उनले दरबारमा बौद्घशास्त्र गुण्डकारण्डव्यूह अनुसार सृष्टिकान्ता लोकेश्वरको मूर्तिसहित सुनको झ्याल राखेका थिए। यसमा ब्रह्मा, विष्णु र महेश्वर लगायतका देवता पनि कुँदिएका छन्। उनी भगवान् कृष्णलाई पद्मपाणि लोकेश्वरका रूपमा देख्थे भने लोकेश्वरलाई श्रीकृष्णका रूपमा। उनको यो दर्शनले हिन्दु तथा बौद्घ धर्म समन्वयको आदर्श झल्काउँछ। उनले दरबारमा पाँचतले देगुतलेजुको मन्दिर पनि बनाए।
उनले विक्रम सम्बत् १६९४ सालमा भारतबाट कलाकारहरू ल्याई राजपुत–मुगलशैलीमा मंगलबजारमा ढुंगाको प्रसिद्ध कृष्ण मन्दिर बनाएका थिए। शिखर शैलीको यस मन्दिरमा फलामको क्लिप प्रयोग गरी ढुंगालाई आपसमा जोडिएको छ। फलामलाई ढालेर ढोका बनाइएको छ।
यो मन्दिरमा उनले रामायण महाभारतका चित्रकथा तथा नेपाल र भारतका शिवलिंगहरूका आकृति कुँदाएका थिए, जुन विश्वप्रसिद्घ छ। त्यस बेला त्यहाँ कोट्याहुती यज्ञ गरी ब्राह्मण, बज्राचार्य तथा गरिब–गुरूवाहरूका लागि उनले यथेष्ट दान गरेका थिए।
उनको शत्रुता कान्तिपुरका राजा प्रताप मल्लसँग थियो। प्रताप मल्लले ललितपुरमा आक्रमण पनि गरेका थिए, जसमाथि सिद्धिनरसिंह मल्लले विजय प्राप्त गरे।
सिद्धिनरसिंहले कृष्णलीलासम्बन्धी गीतिकाव्य रचना गरेका थिए। त्यसमध्ये विभिन्न रागमा गाइने उनका ३१ वटा भजन गीतलाई बिलंपौ (कपडामा बनाइएका चित्र) मा चित्रित गरेर ती चित्रमुनि भजन गीत लेखाएर कृष्ण मन्दिरमा चढाएका थिए। यो चित्रकलामा मुगल शैलीको प्रभाव देखिन्छ। यसलाई ज्येष्ठ पूर्णिमाको दिन त्यहाँ प्रदर्शन गर्ने र गाउने प्रचलन चलिआएको छ।
त्यस्तै, कृष्णभक्तिमा समर्पित रही मंगलबजारमा प्रसिद्ध कात्तिक नाच नचाउने चलन पनि उनले नै चलाए। ललितपुरको संगीतप्रधान मतयाः/श्रृंगभेरी जात्रा सुव्यवस्थित गरे। ललितपुरको सांगीतिक विकासमा उनको योगदान उल्लेखनीय छ।
उनी भगवान् शिवका पनि भक्त थिए। उनले दरबारअगाडि विश्वेश्वर महादेवको मन्दिर बनाएका थिए। प्रसिद्ध कृष्ण मन्दिरको माथिल्लो तलामा उनले काशी विश्वनाथको शिवलिंग स्थापना गरेका थिए। सुन्दरी चोकमा नेपाल र भारतवर्षका शिवलिंगहरूका आकृति काठमा कुँदाएका थिए।
जनसुविधाका लागि तीन तलाभन्दा अग्लो घर बनाउन स्वीकृति दिने पनि सिद्धिनरसिंह नै हुन्। त्यसअघि त्यस्तो घर बनाउन पाइन्नथ्यो। उनले देशभर पाटी, सत्तल, धारा, पोखरी बनाए। उनकी रानी भानुमतीले मंगलबजारको प्रसिद्घ ढुंगेधारा जीर्णोद्घार गरेकी थिइन्।
राजा सिद्धिनरसिंह मल्लले आफ्नो शासनकालमा जनजीवन नियमबद्ध गरेका थिए। जनताले कसरी सुतक बार्ने, गुरूपुरोहित कुन कुलबाट बनाउने तथा जाति व्यवस्था सुव्यवस्थित गरेर पतिया दिने प्रथा पनि चलाए। बौद्ध विहार र बहिलाई संगठित पारेर छुट्टै नियमको व्यवस्था गराए।
सिद्धिनरसिंह मल्लको मृत्यु १०४ वर्ष उमेरमा तीर्थयात्रा क्रममा भारतको काशीमा भएको थियो। विक्रम सम्बत् १७६७ ज्येष्ठ पूर्णिमा बुधबारको दिन उनको अग्निसंस्कार ललितपुरको शंखमूलमा गरिएको थियो। त्यस बेला पलंग उठाइएको थिएन, उनको चिनो मात्रै जलाएर अग्निसंस्कारको रित पुर्याइएको थियो। नेपालका कुनै पनि राजा यति लामो १०४ वर्षसम्म बाँचेको पाइँदैन।
राजर्षी सिद्धिनरसिंह मल्लबारे यति जानकारीपछि उनी पनि राजर्षी जनकजस्तै नेपालका विभूतिमा गणना गर्न योग्य छन् भन्ने चर्चा हुनु आजको आवश्यकता देखिन्छ।
(लेखक संस्कृति अनुसन्धाता हुन्।)