बाइस वर्षको भर्भराउँदो युवक साधारण थकानको समस्या लिएर अस्पताल पुग्यो। रगतको जाँच गर्दा गम्भीर खाले रक्त क्यान्सर देखियो। थप जाँचका रूपमा हड्डीभित्रको मासी परीक्षण गर्नुपर्यो।
डाक्टरले त्यो जाँचका लागि लठ्याउने सुई दिनुअगाडि भन्यो — सुई भित्र जाने बेला अलिकति दुख्छ है!
आफ्नो रोगबारे अझै अनभिज्ञ रहेको युवकले भन्यो — ओहो, मैले त अहिलेसम्म एउटा सुई पनि लगाएको छैन, नदुखाउनुस् है!
त्यसअगाडि नै युवकले भनेको थियो — मेरो फुटसल खेल्न जाने बेला भइसक्यो, छिटो यो जाँच सकेर जानुपर्छ!
डाक्टरलाई थाहा छ — युवकलाई भएजस्तो खास किसिमको रक्त क्यान्सर हुने मानिसहरूमध्ये राम्रो उपचार हुने विकसित मुलुकमा पनि तीनमध्ये दुईको पाँच वर्षभित्रै मृत्यु भइसक्छ। त्यसैले युवकका लागि अब दीर्घ जीवन टाढाको र मृत्यु नजिकको कुरा भइसकेको छ।
युवक भाग्यमानी ठहरिएर त्यसखाले क्यान्सर जित्ने अल्पसंख्यकमा परे पनि अबका दिनमा उसले भोग्नुपर्ने कहालीलाग्दो उपचार र त्यस क्रममा हुने पीडाबारे पनि डाक्टरलाई राम्रोसँग थाहा छ। त्यो पीडाका अगाडि परीक्षणको सुईको पीडा केही होइन भन्ने पनि उसलाई थाहा छ।
डाक्टरले जानाजान बिरामीलाई रोगबारे त्यस दिन केही भन्दैन।
आफन्तलाई यत्ति भन्छ — रगतमा अलि नराम्रो रोगको शंका छ तर मासीको जाँचपछि मात्रै यकिन हुन्छ। अब भोलि आउनुहोला।
डाक्टर सोच्छ — त्यो रात युवकको घरमा वर्षौंका लागि सुखचयनको अन्तिम रात हुनेछ। भोलिबाट त पीडाको आहालमा डुब्नु छ, रोइकराइ गर्नु छ। आत्तिनु छ, खर्च जुटाउन र उपचार गराउन दौडधुप गर्नु छ। घरमा कसैको शिक्षा अवरूद्ध हुनु छ, कसैले व्यवसाय छाडेर कुद्नु छ, कसैले करिअरको माया मार्नु छ।
परिवार विपन्न छ भने हुन सक्छ, कसैले सडकमा बसेर हात थाप्नु छ। साहुकहाँ गएर चर्को दरमा ऋण खोज्नु छ। भएको टुक्रा जमिन बेच्नु छ।
डाक्टरलाई लाग्छ — आजको अन्तिम रात आफन्तले घुइरो घुइरोमा 'भोलि राम्रो रिपोर्ट आओस्' भन्ने प्रार्थना गरेर बिताऊन्। अनि युवकले सदाका लागि टुंगिन लागेको 'साधारण' जीवनको अन्तिम रात बिताओस्!
यो कथा कुनै एक जना बिरामीको हकमा दुरूस्तै भएको होइन तर झन्डै यस्ता किस्सा हप्तैजसो हुने गर्छन् अस्पतालहरूमा।
कतै मस्तिष्कको जटिल क्यान्सर भएको बिरामीले कतिखेर टाउको दुख्न कम होला र जागिरमा फर्किन सकिएला भनेर चिन्ता गर्दै हुन्छ, कतै चौथो चरणको क्यान्सरको बिरामीले घर फर्किने बस छुट्ने चिन्ता गरिराखेको हुन्छ।
मलाई अहिले पृथ्वीका सबै जसो मानिसहरू यस्तै लाग्न थालेका छन्।
होमो सेपियन्स विकास भएयता जस्तो जलवायुमा हाम्रा पुर्खा बाँचेका हुन्, पृथ्वीको त्यो कालखण्ड हाम्रै आँखाअगाडि सधैंका लागि बिदा हुँदैछ।
जमिन अहिले नै ६० डिग्री सेल्सियससम्म तात्दैछ र तीव्र गतिमा मरूभूमिकरण हुँदैछ। समुद्र त्यहाँका सिंगा पर्यातन्त्रहरू ध्वस्त हुने गरी तात्दैछ। हावा सासै फेर्न कठिन हुने गरी विषाक्त बन्दैछ।
वर्षभरि गनेर नसकिने आँधीबेहरी र चक्रवात आउँदैछन्। डढेलोले संसारकै ठूलो बहुमहादेशीय 'बोरियल' जंगल निमिट्यान्न पार्ने दिशामा छ। एउटै देशमा एकसाथ ताप लहर र बाढीपहिरोले सयौंको ज्यान लिँदैछन्।
तर हाम्रो चिन्ता के छ त?
गाडी भएन, घर भएन, घडेरी भएन। केटाकेटीलाई राम्रो पढाउन सकिएन, जागिर दिलाउन सकिएन। शरीरको वजन धेरै भयो, मनमा बेचैनी धेरै भयो। छिमेकीकी छोरीले विदेश गएर आफ्नो छोराले भन्दा धेरै कमाई। साथीले बनाएको टिकटक 'भाइरल' भयो, आफ्नो भएन!
जसरी 'अहिलेसम्म सुई लगाएको छैन' भन्ने युवकले ढुक्कैसँग छिटोछिटो परीक्षण सकेर गएर फुटसल खेल्ने योजना बनाउँदैछ, हामीले अझै पनि उसै गरी बच्चा जन्माउने र हुर्काउने योजना बनाउँदैछौं।
जसरी युवकलाई अब अनिवार्य बनिसकेको पीडादायी केमोथेरापीको अत्तोपत्तो छैन, त्यसै गरी हामीलाई पनि आजको समयमा आफूले जन्माएकै कारण हाम्रा बालबच्चाले जीवनकालमा भोग्नुपर्ने भयावह पीडाको अत्तोपत्तो छैन।
हामीलाई थाहा छ, गरिब भए पनि हजुरबा–हजुरआमाले बाआमालाई हुर्काए। आमाबाले हामीलाई हुर्काएनन् मात्रै, गरिबीबाट बाहिर पनि निकाले। हामी त गरिब पनि रहेनौं। त्यसैले हाम्रो केटाकेटी सुखसुविधासहित हुर्किन्छन्।
तर हामी के बिर्सिँदैछौं भने हजुरबा–हजुरआमा र आमाबाका पालामा सास फेर्न मिल्ने हावा थियो। पानीका मूल थिए, अन्न फल्ने जमिन थियो।
हामीले देख्यौं — सहरीकरणसँगै धारा र मूलको पानीले नपुगेर के भयो त, जार र बोतलमा पानी त आइहाल्यो!
तर के बिर्सिँदैछौं भने विकसित देशमा व्यापक भइसकेको घरघरमा हावा शुद्धीकरण गर्ने मेसिन राख्नु पानीको फिल्टर राख्नु जति सहज छैन। संघारमै आइसकेको सफा हावालाई सिलिन्डरमा राखेर गरिने किनबेच पानीका बोतल वा जारको किनबेचजस्तो सहज हुने छैन।
पृथ्वीमा पाल्नुपर्ने पेटहरू आठ अर्बभन्दा बढी छन्। सास लिनुपर्ने उति नै जोडी फोक्सोहरु छन्। यीमध्ये वातावरणको विनाशमा एसिया र अफ्रिकाका झन्डै चार अर्ब मानिसको भूमिका न्यून छ। बाँच्नका लागि नगरी नहुने बाहेकको अतिरिक्त कार्बन उत्सर्जन त शून्यप्रायः छ। तर जलवायु संकटको सबभन्दा ठूलो मारमा पर्ने तिनै छन्।
तीमध्ये एक अर्बभन्दा बढी मानिसहरू एकाध दशकमा यस्तो हावापानी भएका ठाउँमा हुनेछन् जहाँ दिगो मानव जीवन निरपेक्ष रूपमा असम्भव छ।
अमेरिका, क्यानाडा, पश्चिम युरोप, अस्ट्रेलिया र पूर्वी एसियाका अधिकांश मानिस तथा नेपाल, चीन र भारत लगायतका देशका सम्भ्रान्तहरू, जसको दोहनका कारण पृथ्वी अहिलेको हालतमा पुगेको हो, आपतकालमा लामो समय बाँच्ने संशाधन पनि तिनैसँग छन्। तिनले पृथ्वीको पर्यावरण ध्वस्त हुने गरी हिजो गरेको अपराधका लागि क्षतिपूर्ति गर्नु त कता कता, आजका दिनमा साधारण असुविधा खेपेर कार्बन उत्सर्जन कम गर्न पनि तयार छैनन्।
यस्तो अवस्थामा एउटा कुरा स्वतः हुन्छ — तावाको माछा बाँच्ने आशमा उछिट्टिन्छ। कहाँ खसिएला भन्ने समेत नसोची उसले छलाङ लगाउँछ।
त्यस्तो छलाङको परिणाम के हुन्छ, एउटा उदाहरण हेरौं।
एक महिना पनि बितेको छैन। एड्रियाना नामक माछा मार्न प्रयोग हुने तीनतले डुंगामा सात सयभन्दा बढी मानिसहरू खाँदिएर अफ्रिका र युरोपबीचको समुद्रमा सवार थिए।
क्षमताभन्दा धेरै वजनले लैश डुंगाको इञ्जिन बारम्बार बिग्रिन र बन्द हुन थाल्यो। डुंगाको त्यो स्थितिबारे बनेका समाचार संसारभर पुगे। मानिसले चासोपूर्वक डुंगाको अवस्था नियाले। ग्रीसले आफ्नो तर्फबाट जनशक्ति खटायो।
सिंगो संसारले थाहा पाएर चासोपूर्वक हेर्न थालेको १३ घन्टापछि एड्रियाना डुब्यो। त्यसमा सवारमध्ये झन्डै ६ सय मानिस मरे। तीमध्ये झन्डै आधा पाकिस्तानी थिए।
डुंगा नाजुक अवस्थामा छ भन्ने थाहा भएको त्यति लामो समयपछि किन डुब्यो? बेलैमा किन उद्धार भएन?
किनकि सिंगो संसारले त्यो त्रासदीको साक्षी बन्न रूचायो, मानिसको उद्धारको प्रयास नै भएन। नजिकैको ग्रीसले उद्धार सामग्री र राहतको सट्टा सशस्त्र कमान्डोको दस्ता खटायो।
डुंगाको पिँध तहमा पाकिस्तानी युवाहरू थिए जो देशको डुब्दो अर्थतन्त्र छलेर सम्मानजनक जीविका खोज्दै युरोप जान चाहन्थे। देशजस्तै उनीहरू आफू पनि गरिब थिए। तस्करलाई कम डलर तिर्न सक्थे। त्यसैले पिँधमा भेडाबाख्राझैं खाँदिएका थिए।
बीचको तलामा महिला र बालबालिकाहरू थिए — जीवनभर भोगेको अभाव र हिंसाको अध्याय अन्त गरेर सन्तानलाई उज्यालो भविष्य दिन चाहने आमा र उनीहरूका बच्चाहरू।
अनि माथिल्लो तलामा थिए सिरियाली, इजिप्सियन र प्यालेस्टिनी आप्रवासीहरू र तस्करका कारिन्दाहरू।
डुंगाको इञ्जिन बारम्बार बिग्रेर अलपत्र पर्ने छाँट देखेपछि त्यहाँ रोइकराइ र तनाव सुरू भयो। आप्रवासीहरू जसले भए पनि ज्यान जोगाइदियोस् भन्ने चाहन्थे। तर मानव तस्करको प्राथमिकता फरक थियो। लाखौं डलर असुलेका तस्करका नाइकेले डुंगा चालकलाई इटाली पुग्ने आदेश दिएका थिए। सम्भवतः चालकको पारिश्रमिक नै इटाली पुगेपछि पाउने शर्त थियो। नजिकैको ग्रीसतिर जहाज मोड्ने वा त्यता सहयोगका लागि आग्रह गर्ने काम उनले गरेनन्।
त्यसैले डुंगा डुब्नु अगाडिका घन्टाहरूमा त्यहाँ रोइकराइ र तनाव भयो, मारपिट भयो। आवाज उठाउने आप्रवासीहरूलाई तस्करका कामदारहरूले थला पर्ने गरी कुटे। नजिकैबाट जाँदै गरेको एउटा जहाजले रोकिएर केही पानी पनि दियो। त्यता हाम फाल्ने प्रयासमा केही मानिसहरू समुद्रमा समेत खसे।
जब सिंगो संसारका देशहरूका आँखैअगाडि डुंगा डुब्यो, पिँधमा हुने पाकिस्तानी र बीचमा हुने महिला-बालबालिका डुंगासँगै पिँधतिर डुबे। पौडिन सक्ने युवाहरू समेत निस्केर बाँच्न सकेनन्। तीन सय पाकिस्तानीमध्ये १५ जना मात्रै बचेको मानिन्छ। जबकि सबभन्दा माथि हुने सय जना हाराहारी मानिसहरू बाँचे।
जलवायु संकटबीच अबका केही दशकमा मानव सभ्यता जस्तो हालतमा पुग्दैछ, त्यसको राम्रो प्रतिनिधित्व एड्रियानाको वियोगान्त कथाले गर्छ जस्तो लाग्छ।
जीवनभर विषमता र अन्याय भोगेका मानिसहरूले मर्ने बेलामा समेत कस्तो विभेद र अन्याय भोग्नुपर्नेछ भन्ने पनि त्यो घटनाले फेरि एकपल्ट देखाएको छ।
के उसो भए अब यस्तै हुने भयो भनेर हात बाँधेर बस्ने त?
यो प्रश्न नै वास्तवमा गलत छ किनकि जीवन र मरणबीचको छनौटमा मानिसले सधैंजसो जीवन नै छान्छ। व्यक्तिगत रूपमा पनि र सामूहिक रूपमा पनि। संकट यत्रो छ भन्ने थाहा पाएपछि कोही हात बाँधेर बस्नै सक्दैन। त्यसैगरी, जसरी क्यान्सर भइसक्यो भन्ने थाहा भएपछि असीम पीडा हुने भए पनि व्यक्ति शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीजस्ता पीडादायी उपचारका लागि पनि तयार हुन्छ, घरखेत बेच्नु परे बेचेर पनि उपचार गर्छ।
जबसम्म त्यस्तो सूचना र खतराको बोध हुँदैन, तबसम्म कुरा भने बेग्लै हो। त्यस्तो समयमा रगतको क्यान्सर हुने युवाले फुटसलको खेल छुट्ने चिन्ता गरिरहन्छ, मस्तिष्कको क्यान्सरका कारण एकाध महिना उमेर बाँकी रहेको व्यक्ति अफिस समयमा पुग्न नसकेको चिन्ता गरिबस्छ।
त्यसैले पृथ्वीमा अहिलेसम्म जति पर्यावरण विनाश भयो, भइसक्यो। कार्बन जति उत्सर्जन भयो, भइसक्यो। अहिले १.२ डिग्रीले तातिसकेको पृथ्वी कम्तीमा २ डिग्रीले तात्ने पनि अब निश्चित भइसक्यो। बीसौं करोड मानिसले एकाध दशकमा थातथलो छाड्नुपर्ने पनि निश्चित भइसक्यो।
तर माथिको तस्बिर उद्धृत गरिएको जर्नलका वैज्ञानिकहरूले आकलन गरेअनुसार अब हामीले प्रदूषण र कार्बन उत्सर्जन गर्न जति कम गर्न सक्छौं, त्यसका कारण रोकिने ०.१ डिग्री सेल्सियसको तताइ बराबर १४ करोड मानिसको थातथलो बच्नेछ र तिनले विस्थापित भएर शरणार्थीको जीवन बाँच्नुपर्ने छैन। अनि तीमध्ये दसौं हजारले एड्रियानामा कोचाकोच भएका ६ सय मानिसझैं कहाली लाग्दो मृत्यु मर्नुपर्दैन।
त्यसैले पीडादायी भए पनि आज जसरी क्यान्सरको उपचारले बर्सेनि संसारभर करोडौं मानिसको ज्यान बचाउँछ, प्रदूषण र कार्बन उत्सर्जन रोक्न अहिले हामीले चाल्ने हरेक कदमले हाम्रो र हाम्रा सन्तानका पुस्ताका करोडौं मानिसको ज्यान बचाउन सघाउँछ।
त्यसैले समस्याको गम्भीरतालाई बोध गरेर त्योसँग जुध्न लागिपर्नुको अब कुनै विकल्प छैन।
यो कुरा पढिरहँदा नेपालका अधिकांश पाठकहरूलाई लाग्नेछ — प्रकृतिको दोहन गरेर विकास जति अमेरिका र युरोपले गर्ने, हामीले किन कार्बन उत्सर्जन कम गरेर आफ्नो विकास अवरूद्ध पार्ने? मेरो पुस्तक 'नुन-तेलः विगततिर पदयात्रा' माथि विमर्श गर्न देश दौडाहामा जाँदा सबैतिर मैले यो प्रश्नको सामना गरेको छु।
जवाफमा मैले सधैं भन्दै आएको छु — कार्बन उत्सर्जनको विषयलाई नेपालजस्तो सानो र गरिब देशले पूर्ण रूपमा बिर्से पनि हुन्छ। कम्तीमा अहिलेका लागि हाम्रो क्यान्सर तातेको पर्यावरण होइन, प्रदूषण हो। त्यसमध्ये वायु प्रदूषणले त क्यान्सर लगायतका रोग लगाएर नेपालमा अहिले नै बर्सेनि ४० हजारभन्दा बढी मानिसको अकालमा ज्यान लिने गरेको तथ्यांक छ।
अब हामीले सफा ऊर्जातिर संक्रमण गरेर ४० हजारको ज्यान जोगाउने गरी हावा सफा पार्नतिर लाग्ने कि युरोप–अमेरिकाले त्यसै गरेर विकास गरेका हुन् भनेर कोइला किनेर बालेर बिजुली निकाल्न थाल्ने?
त्यस्तै, हामीले चुरे र तराइको वनजंगल जोगाएर भित्री मधेस र तराइको मरूभूमिकरण रोक्ने हो भने त्यसले भविष्यमा खर्बौंको क्षति रोक्ने पनि हाम्रै हो, कार्बन उत्सर्जन घटाउन त्यसले खेल्ने भूमिका त हाम्रा लागि तपसीलको कुरा हो।
त्यसैले यी मुद्दाहरूमा विषयवस्तुको सही बोध अनिवार्य छ। जलवायुको मुद्दामा नेपालीका रूपमा अब तपाईं हामीले जेजे गर्छौं, त्यसको प्रस्थानबिन्दु पनि यही हुनुपर्छ। समस्यालाई छोपछाप वा विषयान्तर मात्रै गर्ने हो भने त्यो क्यान्सर पालेर बस्नुजत्तिकै घातक हुनेछ।
थप ढिलो नहुँदै आँखा खोलेर हेरौं, समस्याको गम्भीरता स्वीकार गरौं र युद्धस्तरमा त्यसको सामना गरौं। त्यसो नगर्नु हाम्रो पुस्ताको आफ्नै सन्तानहरूप्रतिको धोका र गद्दारी हुनेछ।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)