सन् १९७७ मा अमेरिकाको बेभेर्ली हिल सपर क्लबमा भएको आगलागीमा १६५ जना मानिसको मृत्यु भयो।
विषाक्त धुवाँ र पीडादायी जलनका कारण त्यति धेरै मानिस तड्पीतड्पी मर्नुभन्दा पाँच मिनेट अगाडिसम्म त्यो क्लबमा रहेका १२०० जनामध्ये धेरैले जीवनकै उत्कृष्ट समय बिताइरहेका थिए।
त्यहाँ चलिरहेको ‘गाला डिनर’ मा त्यो बेलाको अमेरिकाकै उत्कृष्ट खानपिन चलिरहेको थियो। दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने व्यंग्यकार र गायकहरू मञ्चमा गएर प्रस्तुति दिँदै थिए। मानिसहरू आफ्ना उत्कृष्ट लुगामा सजिएर अनि महँगो टिकट काटेर त्यहाँ पुगेका थिए।
त्यस्तो बेलामा जब एउटा वेटर किशोर एक्कासि मञ्चमा गएर होटलको अर्को छेउमा आगलागी सुरू भएको सूचना दियो, दर्शकहरूले उसले भने झैं दायाँ, बायाँ र पछिका निकास ढोकाहरूतिर हेरे। तर आरामदायी सिटहरूबाट उठी चाहिं हालेनन्। बरू आआफ्ना छेउका दर्शकहरूलाई हेरे। आफूले टिकटका लागि तिरेको महँगो शुल्क सम्झे। मञ्चमा निरन्तर चलिरहेको बेजोड प्रस्तुति याद गरे।
जब छेउको कोही उठ्ने र चलमलाउने गरेन, तिनको ढुक्क पारा हेरेर एकाध होसियार मानिसबाहेक सबै आफैंलाई आश्वस्त पार्दै सिटमै बसिरहे।
सोचे— कतै किशोरले कुनै झुर व्यंग्यसहितको अभिनय गरेको पो थियो कि?
होटलको अर्को छेउमा लागेको आगोले चार मिनेटपछि विद्युत अवरूद्ध पारेर अन्धकार बनायो। लगत्तै पिरो धुवाँ हलमा पस्यो। अब आगोले मर्नुभन्दा अगाडि ढोकाहरूनेर अरूबाट कुल्चिएर मानिसहरू मर्न थाले। आगोको लप्का हलमा पुगिसकेपछि धेरै मानिसको असाध्य पीडादायी मृत्यु भयो। एकै छिन अगाडिको उत्सव शोकमा बदलियो।
जलवायु संकटलाई त्यो आगलागीसित तुलना गर्ने हो भने त्यहाँको किशोर वेटरको भूमिकामा देखिने केही मानिसहरू मेरो मस्तिष्कमा आउँछन्— अमेरिकी वैज्ञानिकहरू राचेल कार्सन र कार्ल सेगन। ब्रिटिस वैज्ञानिक तथा चिम्पान्जीविज्ञ जेन गुडाल, जोखिमविज्ञ बिल म्याकगायर र टेलिभिजन प्रस्तोता डेभिड एटेनबोरो। क्यानाडेली वैज्ञानिक र प्रस्तोता डेभिड सुजुकी। अमेरिकी र क्यानडेली लेखक तथा अभियन्ता क्रमशः बिल म्याककिबेन र नाओमी क्लेन। अनि नयाँ पुस्ताकी स्वेडिस अभियन्ता ग्रेटा थनबर्ग।
(बेभेर्ली हिल्स सपर क्लबको आगलागीबारे विश्लेषक टिम हाफोर्डको रोचक पोडकास्ट सुन्नुहोस् यहाँ)
अहिले त्यस्तै एक पत्रकार डेभिड वालेस–वेल्सको किताब पढिरहेको छु मैले— द अनइन्ह्याबिटेबल अर्थः अ स्टोरी अफ द फ्युचर।
अनि संयोग कस्तो परेको छ भने नेपालको काठमाडौंले दिनदिनै जसो विश्व वायु प्रदूषणको राजधानीको ताज पहिरिइरहेको छ। साथै ती सबै वैज्ञानिक र अभियन्ताहरूबाट प्रेरित र यसै विषयमा केन्द्रित मेरो आफ्नै पुस्तक बजारमा आउने संघारमा छ।
केही दिनअघि सेतोपाटीमा प्रकाशित मेरो किताबको पहिलो अध्यायमा जलवायु संकटको गम्भीरताबारे पढेर धेरै साथीहरूले भनेका छन्— अवस्था यतिविधि खराब भएको त पत्तै थिएन।
अरूले भनेका छन्— यो पढ्दा स्कुलमा पढेको विजय मल्लको कथा ‘अन्तिम भोज’ को झल्को आयो।
त्यसो भन्ने लगायत यो लेख पढ्ने सबै साथीहरूसित मेरो एउटा जिज्ञासा छ— सुरूमा उल्लिखित बेभेर्ली सपर क्लबमा आगलागी सुरू भएपछि पनि चार मिनेटसम्म कमेडीको आनन्द लिएर अरू एकछिनमा भयंकर पीडादायी मृत्यु भोगेका १६५ जनामा आफ्नो अनुहार देख्नुभयो कि नाइँ?
काठमाडौंको नारकीय ट्राफिकबीच धुवाँ फाल्ने नयाँ सवारी साधन किन्दा कहिल्यै सोच्नुभयो यसले पनि वायु प्रदुषण थप्न योगदान दिन्छ भनेर? घर वरपरका प्लास्टिक जम्मा पारेर जलाउँदा? घाँस पलाउँछ भनेर पाखामा आगो झोसिँदिँदा? केराका कोसा वा प्लास्टिककै दूधको प्याकेटलाई अर्को प्लास्टिकमा हालेर झुन्ड्याउँदै हिँड्दा कहिल्यै सोच्नुभयो यसले वायुमण्डलको आधा अक्सिजन दिने समुद्री पर्यातन्त्रहरूलाई धराशायी बनाउन सक्छ भनेर?
अनि सन्तान जन्माउँदा कहिल्यै सोच्नुभयो उसलाई राम्रा खेलौना र राम्रो स्कुलको जोहो गर्दै गर्दा सासै फेर्न नमिल्ने संसारमा प्रवेश गराउनुको जिम्मेवारी मेरो हुन्छ भनेर?
यी सब कुरा सायद अहिलेसम्म तपाईंका मनमा पनि आएनन्। किनकि तपाईं त आरामदायी कुर्सीमा बसेर मन्चमा चलिरहेको कमेडीमा मस्त हुनुहुन्थ्यो। होटलको अर्को छेउमा सुरू भएको आगोले सुरूमा उतै बस्ने अरूलाई जलाउन सक्थ्यो, जसरी जमिनको मरूभूमीकरण, खडेरी र भोकमरीले सुरूमा अरू विपन्नहरूको ज्यान लिन्थे, पहिरोले सुरूमा भिरमा घर हुनेको वंश नाश गर्थ्यो। वा कसैलाई जलाउनुअगाडि नै कसैले आगो निभाउन पनि सक्थ्यो।
तपाईंलाई त्यसो लाग्नुको मुख्य कारण— तपाईंको वरपर जो थिए ती सबैलाई पनि त्यस्तै लाग्थ्यो। सबैलाई लाग्थ्यो सबै सँगै छौं, सुरक्षित छौं।
अहिलेको काठमाडौंमा उकुसमुकुस महशुस गर्ने साथीहरूका लागि भने अहिले मसित एउटा खराब समाचार छ— आजको दस वर्षमा पछाडि फर्केर हेर्दा यी धमिला दिनहरू उज्याला र सफा प्रतीत हुनेछन्। अहिले काठमाडौंवासीहरूले भोगिरहेका स्वास्थ्य समस्या साधारण प्रतीत हुनेछन्।
जसरी गत वर्ष युरोप र चीनभर तापक्रमका सयौं नयाँ रेकर्ड बनाएको ताप लहर आउँदा वर्षहरूको तुलनामा साधारण प्रतीत हुनेछ। गत जुलाई १८ मा द गार्डियन पत्रिकामा वैज्ञानिक बिल म्याकगायरले लेखेको लेखको शीर्षक नै थियो— द टेरिफाइङ ट्रुथः ब्रिटेन इज अ हटहाउस बट वन डे फोर्टी सेल्सियस विल सिम कुल।
सम्भावित यथार्थको विवरण सुनेर तपाईंलाई यकिन हुँदैन भने मानिस जातिले आफ्ना लागि सिर्जना गर्दै गइरहेको भविष्यबारे थोरै मात्रै कल्पनाशीलता थपेर बनाइएको यो छोटो सिनेमा हेर्नुहोस्।
अर्थात कोइला, तेल र ग्यास बालेर हामी जुन भविष्यतिर तीव्र गतिमा जाँदैछौं, त्यहाँ सास फेर्ने अक्सिजन किन्नुपर्नेछ। जसरी अहिले पिउने पानी बोतलमा किन्नुपर्छ, अक्सिजन किन्न पैसा नपुग्ने गरिबी त्यो अवस्थामा मृत्युदण्ड सरह हुनेछ।
पत्याउन मुश्किल भयो?
‘अक्सिजन क्याफे इन दिल्ली’ भनेर गुगलमा खोज्नुहोस्। सन् २०१९ को समाचारअनुसार त्यहाँ १५ मिनेटसम्म ८०–९० प्रतिशत अक्सिजनमा सास फेर्न भारू २९९ तिर्नुपर्छ। अहिलेको गुगल म्यापले दिल्लीमा त्यस्ता दुई क्याफे देखाउँछ। त्यसबाहेक अहिले नै दक्षिण एसियाका धेरै देशका अस्पतालले कठिनाइमा पर्ने मानिसहरूलाई अक्सिजन दिएर ज्यान बचाउने काम गरिरहेका छन्।
डेभिड वालेस वेल्सको किताबले मलाई किन काठमाडौंको भविष्यबारे साविकभन्दा पनि निराश बनायो?
सन् २०१९ मा प्रकाशित उनको किताबबाट केही कुरा उदधृत गरी हेरौं।
पृथ्वीको औसत तापक्रम दुई डिग्रीले बढेमा ध्रुव र ग्रिनल्यान्डमा रहेका हिउँका विशाल ढिक्काहरू खन्डित हुनेछन्। चालीस करोड मानिस पानीको चरम अभावमा बाँच्नेछन्। भूमध्यरेखा छेउका कुनै पनि मुख्य सहरहरू बस्नलायक रहने छैनन्। हरेक गर्मी मौसममा ताप लहरका कारण हजारौंको मृत्यु हुनेछ। भारतमा अहिलेभन्दा ३२ गुणा बढी ताप लहर चल्नेछन्। हालभन्दा पाँच गुणा बढी समय रहनेछन्। अहिलेभन्दा ९३ गुणा बढी मानिसलाई प्रभावित गर्नेछन्।
दुईको ठाउँमा तीन डिग्रीले तापक्रम बढेमा दक्षिण युरोपमा सदाकालीन खडेरी पर्नेछ। मध्य अमेरिकाको औसत खडेरी हालभन्दा १९ महिना बढी चल्नेछ। उत्तर अफ्रिकामा हालभन्दा पाँच वर्ष बढी चल्नेछ। हरेक वर्ष जंगलमा डढेलो लाग्ने क्षेत्र मेडिटेरानियन क्षेत्रमा दोब्बर हुनेछ भने अमेरिकामा कम्तीमा छ गुणाले बढ्नेछ।
चार डिग्रीले तापक्रम बढ्दा नदीमा बाढीले पुर्याउने क्षति भारतमा २० गुणा, बंगलादेशमा ३० गुणा र बेलायतमा ६० गुणाले बढ्नेछ। कुनै कुनै ठाउँमा छ वटासम्म जलवायु संकटजन्य प्राकृतिक विपत्तिहरु एकैसाथ आउन सक्नेछन्। द्वन्द्व र युद्धहरू दोब्बर हुन सक्नेछन्। र, विश्वमा ६ हजार खर्ब डलरको क्षति हुन सक्नेछ जुन भनेको आज संसारमा अस्तित्वमा रहेको सम्पत्तिको दोब्बर हो।
स्मरण रहोस्— पृथ्वीको औसत तापक्रम अहिले नै १.२ डिग्रीले बढिसकेको छ। एकाध वर्षमा १.५ डिग्रीको संघार काट्दैछ। 'क्लाइमेट एक्सन ट्रयाकर' का अनुसार अहिलेकै दरमा कार्बन उत्सर्जन हुने हो भने सन् २१०० मा विश्वव्यापी औसत तापक्रम झन्डै चार डिग्रीसम्मले बढ्न सक्नेछ (२.१-३.९, औसत: २.९ डिग्री)। संसारका सबै देशहरूले जलवायु सम्मेलनका बेला गरेका वाचाअनुसार कार्बन उत्सर्जन घटाए भने पनि ३.४ डिग्रीसम्मले तापक्रम बढ्न सक्नेछ (२.२-३.४, औसत २.७)।
औद्योगिक युगभन्दा अगाडि २८० पिपिएम रहेको वायुमण्डलीय कार्बनडाइअक्साइडले अहिले नै ४२० पिपिएम नाघिसकेको छ। एकाध दशकमै त्यसले ५०० नाघ्ने सम्भावना छ।
डेढ करोड वर्षपहिले जब पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा त्यति थियो, त्यो बेला पृथ्वीको तापक्रम अहिलेको भन्दा ५–८ डिग्री सेल्सियसले बढेको थियो। समुद्रको सतह १३० फिटले बढेको थियो र अमेरिकाको पूर्वी तटको समुद्रले आइ–९५ राजमार्गसम्मको जमिनलाई डुबाएको थियो।
सयौं अध्ययनहरूबाट यस्ता हजारौं तथ्यांक उद्धृत गर्दै पुस्तकमा वालेस–वेल्सले लेखेका छन्— पृथ्वीमा फेरि कहिल्यै पनि अवस्था सामान्य हुने छैन। मानिसलाई प्राणीका रूपमा विकास र विस्तार हुन जुन हावापानीले सम्भव बनाएको हो, त्यसबाट हामी अब बाहिर निस्किसकेका छौं। यो प्राणीले कस्तोसम्म अवस्था सहन सक्दोरहेछ भन्ने अब परीक्षण हुँदैछ। त्यो हावापानी जसले हामीलाई हुर्कायो, बढायो, संस्कृति र सभ्यताको निर्माण गर्न सम्भव बनायो, त्यो अब दिवंगत बाबुआमाजस्तै बनिसकेको छ- प्रेमपूर्वक सम्झिन सकिने तर कसै गरे पनि फर्काउन नसकिने।
उसो भए त्यस्तो भविष्यमा हामी बाँच्नेछौं कसरी? हाम्रो दैनिक जीवन कस्तो हुनेछ?
मेरो पुस्तकको यो अंशसँगै यो लेखलाई पनि बिट मारेँ।
► २०७८ भदौ १८ गते शुक्रबार। दोस्रो गाउँ यात्राको पाँच महिनापछिको समय। गाउँमा काका बितेको दसौं दिन। म र भान्जा किरियापुत्री भेट्न भरतपुरदेखि बाग्लुङ जाँदै थियौं।
६ किलोमिटर टाढा रहेको जुगेडी पुग्दा हामी जाममा फस्यौं। अगाडि पहिरोले बाटो थुनेछ। डेढ घन्टासम्म रोकिँदा मन बेचैन भयो। त्यही दिन गाउँ पुगेर भोलिपल्ट फर्किहाल्ने योजना थियो। साताको अन्तबाहेक अरू दिन कामबाट बिदा मिलाउन झन्डै असम्भव थियो।
त्यही बेचैनीबीच मैले केही पोडकास्टहरू सुनेँ। बेचैनीका कारण कुनैमा पनि खास मन लागेन।
तीमध्ये एउटा पोडकास्टको सुरूमा ३७ वर्षे प्रस्तोताले वक्तालाई सोधे— अब तीन वर्षमा मैले बच्चा पाएँ भने ऊ ३० वर्षको हुँदा संसार कस्तो हुनेछ?
थ्रीफिफ्टी डट ओआरजी नामक वातावरणवादी संस्थाका संस्थापक बिल म्याककिबेनले त्यो प्रश्नको उत्तरमा जस्तो भविष्यवाणी गरे, त्यसले मलाई निकै सोचमग्न बनायो। संयोगवश भान्जा र मैले त्यही दिनभरमा म्याककिबेनले प्रक्षेपण गरेको भविष्यको स्वाद पायौं।
म्याककिबेनले त्यहाँ भनेका छन्— सन् २०५० हाराहारीको विश्वका लागि अब दुई विकल्प छन्।
पहिलो, जलवायु संकटसित जुध्न मानिस जातिले अहिलेको जस्तै टालटुले रवैया अपनायो भने अवस्था धेरै खराब भइसकेको हुनेछ। त्यतिखेर जलवायु परिवर्तनले सिर्जना गरेका प्राकृतिक विपत्तिहरू यति भीषण हुनेछन् र यति ठूलो संख्यामा आउनेछन् कि तपाईंको बच्चा जुनसुकै शिक्षा र रोजगारका लागि तालिम लिएको भए पनि उसको काम आपतकालीन उद्धार हुनेछ। किनकि मानव जातिले त्यसबाट वर्षभर कुनै पनि समय फुर्सद पाउने छैन।
यति भनिसकेपछि उनले एउटा स्पष्टीकरण दिए— त्यस्तो खालको भविष्य संसारका केही ठाउँहरूमा वर्तमान भइसकेको छ र मानव सभ्यता तहसनहस भइसकेको छ।
पछिल्लो समय इतिहासकै भीषण आँधी भोगेको दक्षिण अमेरिकी मुलुक होन्डुरसको उदाहरण दिँदै म्याककिबेन भन्छन्— पछिल्लो एउटै आँधीले त्यहाँ कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत बराबर क्षति गर्यो। पछिल्ला दुई ठूला आँधी त्यही क्षेत्रमा आए। केही वर्ष बिराएर त्यत्रो विपत्ति आउनु सामान्य बन्यो भने कहिले त्यसबाट बाहिर आउने? कहिले पुनर्निर्माण गर्ने?
यसलाई हाम्रो सन्दर्भअनुसार बुझ्न एउटा काल्पनिक उदाहरण लिऊँ— ०७२ को जस्तो विनाशकारी भूकम्प बर्सेनि वा एकाध वर्षको अन्तरमा नेपालमा आउन थाल्यो भने के होला?
उनले सुझाएको दोस्रो अलि बिसेक विकल्पमा जान चाहिँ संसारभरका नीति निर्माता र राज्यहरूले एउटा कुरा सुनिश्चित गर्नुपर्थ्यो— सूर्यबाहेक केही नबलोस्।
अर्थात् जति सक्दो छिटो सोलार र वायु ऊर्जा जस्ता कार्बन उत्सर्जन नगर्ने साधनहरुले हाम्रो सारा ऊर्जाको आवश्यकता पूरा गरून्। कोइला, दाउरा, तेल र ग्यासको उत्खनन र प्रयोग शून्यमा झरोस्।
हामीले अहिलेसम्म नै यति धेरै कार्बन उत्सर्जन गरिसकेका छौं कि त्यति गर्दा पनि हाम्रा सन्ततिको सहज जीवनयापन हुने छैन। खाली उनीहरूले वर्षको केही समय भए पनि राहतको सास फेर्न पाउनेछन्।
जीवन क्षेत्रीको किताब 'नुन-तेल: विगततिर पदयात्रा' को अंश। सांग्रिला प्रकाशनद्वारा प्रकाशित यो किताब आगामी वैशाख १६ गते ३ बजे काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ। किताब मूलतः क्षेत्रीको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ–सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। क्षेत्रीले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत–बाग्लुङ–गुल्मी–पाल्पा–रूपन्देही 'नुन–तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ। २०७७ र २०७८ सालमा क्षेत्रीले फेरि गरेका दुई गाउँ यात्राहरूमा आधारित नेपालका गाउँहरूको वर्तमान र भविष्य समेट्ने दुई लामा निबन्धहरू जलवायु संकटले नेपालमा ल्याउन सक्ने विपत्तिहरूमा केन्द्रित छन्।
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)