मेरो किताब 'नुन-तेल: विगततिर पदयात्रा' को सुरूआती अध्यायको केही मात्रामा सम्पादित संस्करण। सांग्रिला प्रकाशनद्वारा प्रकाशित यो किताब आगामी वैशाख १६ गते ३ बजे काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ। किताब मूलतः मेरो परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ–सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। मैले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत–बाग्लुङ–गुल्मी–पाल्पा–रूपन्देही 'नुन–तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि म हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ। २०७७ र २०७८ सालमा मैले फेरि गरेका दुई गाउँ यात्राहरूमा आधारित नेपालका गाउँहरूको वर्तमान र भविष्य समेट्ने दुई लामा निबन्धहरू जलवायु संकटले नेपालमा ल्याउन सक्ने विपत्तिहरूमा केन्द्रित छन्।
१.
साढे चार अर्ब वर्षअघिको कुरा।
'मिल्की वे' नामक आकाशगंगाको एक छेउमा तैरिइरहेको धूलो र ग्यास एकाएक एकै ठाउँमा अँठिन र कसिलो पिण्ड बनाउन थाल्यो। त्यसका लागि आवश्यक ऊर्जा नजिकैको सुपरनोभा भनिने ताराहरू विस्फोट हुने प्रक्रियाले दिएको मानिन्छ। त्यो पिण्डलाई अहिले हामी सूर्य नामले पुकार्छौं। ब्रह्माण्डका अरू अनगिन्ती ताराहरूले झैं सूर्यले पनि जन्मिनासाथ चारैतिर प्रकाश छर्न थाल्यो।
विज्ञानले प्रमाणित गरिसकेको छ— हाइड्रोजन ग्यासका दुइटा परमाणु जोडिएर हेलियम ग्यास बन्दा ताप र प्रकाशका रूपमा ऊर्जा निस्कन्छ।
वैज्ञानिक भन्छन्— त्यही प्रक्रियाअन्तर्गत आफूसित भएको हाइड्रोजन ऊर्जाको विशाल भण्डार प्रयोग गरेर सूर्य अहिलेसम्म चम्किरहेको छ।
सुरूआती सुपरनोभाको त्यही ऊर्जा प्रयोग गरेर बनेका अनगिन्ती अरू साना पिण्डहरूमध्ये सूर्यको नजिक हुनेहरू उसमै विलीन भए।
न्युटनीय विज्ञान भन्छ— सूर्यबाट अलि टाढा रहने पिण्डहरू, जो त्यसरी विलीन हुनबाट बचे, ती गुरूत्वबलका कारण सूर्यको वरिपरि अण्डाकार मार्गमा घुमिरहे। तिनमा सूर्यको केन्द्रमा झैं उच्च दबाब र ऊर्जा भने पुगेन। त्यसैले उनीहरूमा हाइड्रोजनलाई हेलियममा परिणत गरेर ताप र प्रकाश सिर्जना गर्ने रासायनिक प्रतिक्रिया पनि चलेन। र ती सूर्य झैं तारा बनेनन्।
त्यस्ता विभिन्न आकारका खर्बौं पत्थरिला पिण्डहरू सूर्य वरिपरिको अन्तरिक्षमा तैरिन र अण्डाकार मार्गमा फन्को मार्न पुगे। तिनीहरूमध्ये केही ठूला पिण्डहरूले सानाहरूलाई आफ्नै गुरूत्वाकर्षणको बलमा तान्दै र आफूमा मिलाउँदै गए र आकार बढाउँदै गए। आकार बढेपछि तिनको आफ्नो गुरूत्वबल पनि बढ्न थाल्यो र अझ धेरै पिण्डलाई आफूमा मिलाउँदै गए। कालान्तरमा त्यसरी बढ्दै गएका ठूला पिण्डहरूबाट पृथ्वी लगायत आठ वटा ग्रहहरू बने। तिनका त्यस्तै तर अलि साना उपग्रहहरूले ती ग्रहलाई परिक्रमा गर्न थाले।
यसरी अहिले हामीले देख्ने सौर्यमण्डल सिर्जना भयो।
अरू पिण्डहरूसितको निरन्तर टकरावले शिशुकालको पृथ्वीमा भीषण तापशक्ति उत्पन्न गर्यो। त्यसले गर्दा पृथ्वीको सतह उम्लिँदो लाभाजस्तो तरल पदार्थले ढाकिन पुग्यो। तर विस्तारै ठोक्किनका लागि सौर्यमण्डलमा उल्का पिण्डहरू कम हुँदै गए, ताप उत्सर्जन कम हुँदै गयो र अन्तरिक्षको चिसोमा हुत्तिँदै गर्दा पृथ्वीको सतह सेलाउँदै गयो। आखिर एक दिन पृथ्वीको सतहले जमेर ठोस आकार लिन पुग्यो। सतहमुनिको उम्लिँदो तरल लाभा भने कायमै रह्यो।
त्यो तरलमा फलाम र निकेलजस्ता गह्रौं तत्वहरू केन्द्रमा थिग्रिँदै गएर पृथ्वीको 'कोर' बनाए जसमा फलामको ठूलो हिस्सा भएका कारण उत्तर–दक्षिण भएर बसेको विशाल चुम्बकको सिर्जना भयो। त्यसले पृथ्वीको फन्को चालका मदतले यो ग्रहको वरिपरि विशाल विद्युत–चुम्बकीय क्षेत्र सिर्जना गर्न पुग्यो। त्यसले सूर्य लगायत अन्तरिक्षबाट निरन्तर आउने र निमेषभरमा यहाँको जीवनलाई अस्तव्यस्त पार्न सक्ने घातक कण र ऊर्जाहरूलाई रोक्न थाल्यो।
त्यस्तै पृथ्वीको केन्द्रतिर निरन्तर हुने रेडियोधर्मी प्रतिक्रियाहरूले उत्पन्न गरिरहने ताप 'कन्भेक्सन' भनिने प्रक्रियामार्फत सतहतिर आएर पृथ्वीको 'म्यान्टल' भनिने बीचको तहलाई तताइरह्यो। सतहझैं चिसिएर जम्न दिएन। र यसरी बन्न पुग्यो पृथ्वीको अचम्मको अण्डाजस्तो बनोट जहाँ सतहको पातलो ठोस तह भित्रपट्टिको उम्लिँदो तरल लाभाको माथि तैरिइरह्यो।
यस्तो संरचनाका कारण भूकम्प र ज्वालामुखी पृथ्वीको विकास क्रमका अभिन्न अंग बने। अहिले पनि पृथ्वीमा दैनिक १४ सय भूकम्प जान्छन्। कम्तीमा ३ हजार सक्रिय ज्वालामुखीमध्ये बर्सेनि ५० हाराहारी विस्फोट हुन्छन्। दुवैको मापन एक अंकभन्दा अर्को अंक १० गुणा बढी हुने 'लग' स्केलमा हुने हुँदा सानो मापनका भूकम्प र ज्वालामुखी दुवै हामीले महसुस गर्दैर्नौं र तिनबारे समाचार पनि बन्दैनन्।
खास गरी ज्वालामुखीहरूले जीवनका लागि अत्यावश्यक पर्ने अवयवहरुलाई पृथ्वीको म्यान्टलबाट सतहमा ल्याइरहे। सूर्यबाट न अति नजिक, न अति टाढा भएकाले पृथ्वी सेलाउँदै जाँदा एउटा यस्तो चरणमा आइपुग्यो जुन हामीले आज नाप्ने तापक्रमका हिसाबले सय डिग्री सेन्टिग्रेडभन्दा तल झर्यो। हो, त्यो बिन्दुमा गएर पृथ्वीमा अनेक खाले रासायनिक प्रक्रियाहरूद्वारा निर्मित पानीको बाफ तरल रूपमा परिणत हुन थाल्यो। उल्का पिण्डहरूले बनाएका खाडलहरूमा पानी जम्न थाल्यो।
पृथ्वी थप चिसिने र अरू पानी बन्ने प्रक्रिया जारी रहँदा अन्ततः पानीले पृथ्वीको अधिकांश भूभाग ढाक्न पुग्यो। चिसिने क्रम अझै जारी रहँदा पृथ्वीमा रहेको पानीको उल्लेख्य हिस्सा एन्टार्कटिका र ग्रिनल्यान्डजस्ता महादेश र टापूमा भीमकाय हिउँको पत्रमा विकसित भयो।
२.
पृथ्वीमा सतहमा पानी देखा परेदेखि नै यहाँ पानीको रासायनिक गुणका कारण अनेक खाले जटिल अणु र सुक्ष्म संरचनाहरू बन्न र भत्किन थाले। रासायनिक प्रतिक्रियाहरू हुन थाले। तीमध्ये केही यस्ता संरचना बने जसले विभाजन र वृद्धि–विकासका गुण विकसित गरे। जब तिनमा भण्डार भएका सूचनाका आधारमा नयाँ संरचनाहरू बन्न सम्भव भयो। रासायनिक प्रतिक्रियाहरू जैविक प्रक्रियामा बदलिन पुगे।
पहिले एउटा ढुंगा भौतिक रूपमा फुटेर दुइटा बन्न सक्थे। तिनमा सयौं वर्षसम्म बालुवाको पत्र थपिएर आकार बढ्न पनि सक्थ्यो। कुनै रासायनिक प्रतिक्रियाले ढुंगालाई पगाल्न पनि सक्थ्यो। तर ती कुनै पनि प्रक्रिया ढुंगाको चरित्र वा संरचनामा निर्भर थिएनन्। तर अब एउटा एक कोषीय जीव विभाजन भएर दुई, दुईबाट चार, चारबाट आठ हुँदै जाने मात्रै होइन, हरेक नयाँ जीवन बढेर निश्चित आकार पुग्ने अनि त्यहाँभन्दा बढी चाहिँ नबढ्ने अवस्था बन्यो। त्यसको नियन्त्रण बाह्य होइन आन्तरिक हुन थाल्यो।
त्यही प्रक्रियाबाट आधारभूत एक कोषीय जीवन विकास हुँदै गयो।
तर ठूला बहुकोषीय प्राणीहरूको विकासका लागि थप दुई शर्त बाँकी थिए— एउटा, वायुमण्डलमा छ्यालब्याल भएको तर अजैविक रूपको नाइट्रोजनलाई एमिनो एसिडजस्तो जैविक रूपमा बदल्ने। अर्को, वायुमण्डलमा असाध्यै कम रहेको वा हुँदै नभएको अक्सिजन छ्यालब्याल उत्पादन हुने।
पृथ्वीको पुरातात्विक अभिलेख भन्छ— जीवन विकासको सुरूआती चरणमा विकसित भएका 'सायनोब्याक्टेरिया' प्रजातिका जीवाणुहरूले ती दुवै काम गरे। तिनले आफूमा नाइट्रोजिनेज नामक इन्जाइम विकास गरेर जैविक नाइट्रोजन उत्पादन सम्भव बनाए। त्यस्तै सूर्यका किरणमा रहेको ऊर्जा सदुपयोग गर्दै पानी र कार्बनडाइअक्साइड ग्यास प्रयोग गरेर हाइड्रोजन र अक्सिजन बनाए।
तिनले त्यसो गरे भन्ने प्रमाण— आजका दिनमा पनि तिनीहरूको त्यस्तो सेवाबिना पृथ्वीमा मानिस लगायत बहुकोषीय प्राणीहरूको अस्तित्व सम्भव छैन।
बिस्तारै फोटोसिन्थेसिस भनिने उल्लिखित दोस्रो प्रक्रियालाई उपयोग गर्दै सौर्य ऊर्जा र कार्बनडाइअक्साइड प्रयोग गरेर पोषण लिने र वायुमण्डलमा अक्सिजन छाड्ने वनस्पतिहरू विकास हुन सम्भव भयो।
दुइटा परमाणु मिलेर बन्ने त्यही साधारण अक्सिजनलाई खास किसिमका सूर्यका किरणहरुले तीनटा परमाणु मिलेर बन्ने ओजोन बनाउन पुग्यो। त्यसले पछ्यौराले झैं पृथ्वीलाई सबैतिरबाट ढाकेर सूर्यबाट आउने घातक किरणहरूलाई रोक्न थाल्यो।
अर्थात, केही अर्ब वर्षको समयमा उम्लिँदो लाभाले ढाकिएको पृथ्वी सतहमा पानीले ढाकिएको र वायुमण्डलमा अक्सिजन रहेको जीवनदायी ग्रह बन्यो।
अक्सिजन र पानीले मात्रै पनि पृथ्वीमा मानिसजस्ता जटिल बनोटका प्राणीहरूको जीवन सम्भव थिएन। त्यसका लागि वायुमण्डलको निस्क्रिय नाइट्रोजनबाट अमोनिया हुँदै प्रोटिन अनि जमिनको फोस्फोरस मिलाएर फोस्फोलिपिड जस्ता जटिल अणुहरूको निर्माण हुन आवश्यक थियो। त्यसले बहुकोषीय जीवनको संरचना बनाउन सम्भव हुन्थ्यो।
तीमध्ये ब्याक्टेरियाहरूले आफ्नै आवश्यकताले विभिन्न खाले प्रोटिन विकसित गर्दै गए। पत्थरमा पलाउने काइ प्रजातिका सुक्ष्म वनस्पतिहरूले चट्टानबाट फोस्फोरस लगायत गह्रौं तत्वहरू तानेर उपयोग गर्न थाले। अनि प्राणीहरूको जीवनचक्रमा गह्रौं तत्वहरू समेटिँदै गए।
मानिसको विकासमा सुक्ष्म जीवहरूको कतिसम्म प्रत्यक्ष भूमिका छ भने, आज पनि हाम्रो डिएनएमा ८ प्रतिशत अर्थात एक लाख भाइरसका जिनहरू विद्यमान छन्। तीमध्ये सिन्साइटिन नामक जिनले पहिले ठूला जीवका संक्रमित कोषहरूलाई एकअर्कासित जोडेर भाइरसको आवतजावत र वृद्धि–विकासलाई सहज बनाउँथ्यो।
पछि गएर उन्नत जीवहरूको डिएनएमा एकीकृत भएको त्यही भाइरल जिनले बच्चाका कोषलाई आमाका कोषसित जोडिएर पोषण लिन सक्ने सालनालको जटिल संरचना विकासमा केन्द्रीय भूमिका खेल्यो।
परिणाम— मानिसजस्ता सालनालमार्फत पोषण लिएर पेटभित्र निकै विकास भएपछि जन्मिने स्तनधारी जीवहरूको विकास सम्भव भयो।
यसरी जमिनमुनिको म्यान्टल तहदेखि वायुमण्डलसम्मका विभिन्न तत्वहरू मिलाएर अनगिन्ती किसिमका जीवाणु, वनस्पति र ससाना प्राणीहरूले अर्बौं वर्ष लगाएर क्रमशः थप जटिल बनावट हुने जीव र वनस्पतिहरूको विकास सम्भव बनाए। मानिस लगायतका स्तनधारी जीवहरू त त्यो क्रममा निकै ढिलो विकास भएका हुन्।
त्यस क्रममा सिर्जना भएका अनेक पदार्थहरूमध्ये पृथ्वीको सतह र वायुमडलको तापक्रम नियन्त्रणमा दुई ग्यासले मुख्य भूमिका खेल्न थाले।
कार्बनडाइअक्साइडले सूर्यबाट आउने तापलाई पृथ्वीबाट अन्तरिक्षतिर फर्कनबाट रोकेर यसलाई न्यानो राख्न मद्दत गर्यो। वैज्ञानिकहरूले हिसाब गरेअनुसार पृथ्वीले सूर्यबाट जति ऊर्जा लिन्छ र अन्तरिक्षतिरै फर्काउँछ, त्यसको मात्रै हिसाब गर्दा पृथ्वीको तापक्रम साविकभन्दा झन्डै ३० डिग्री सेन्टिग्रेड कम हुने देखिन्छ। त्यसैले हरित गृह ग्यासबिना पृथ्वीमा अहिलेको जस्तो समृद्ध जीवन सम्भव छैन।
त्यसलाई पुष्टि गर्ने अर्को तथ्य— वायुमण्डलमा मुख्यतः कार्बनडाइअक्साइड हुने शुक्र ग्रहको तापक्रम ४७५ डिग्री सेल्सियस छ। जबकि सूर्यबाट त्यसभन्दा पनि नजिक हुने बुध ग्रहको वायुमण्डल नभएका कारण उसको दिनको तापक्रम ४३० डिग्रीसम्म र रातको माइनस १८० डिग्री सेन्टिग्रेडसम्म पुग्छ।
अर्कोतिर माथि भनिए झैं कार्बनडाइअक्साइड प्रयोग गरेर अक्सिजन बनाउने प्रतिक्रिया चल्दै जाँदा अक्सिजनले उही काम गरेन र पृथ्वीलाई चिस्याउन मद्दत गर्यो।
भूविज्ञान भन्छ— पृथ्वीमा कम्तीमा तीनपटक यस्ता क्षणहरू आए जब वायुमण्डलमा अधिक अक्सिजन र न्यून कार्बनडाइअक्साइडका भएका कारण पृथ्वी चिसिएर एक किलोमिटरसम्म बाक्लो हिउँले ढाकिएको चिसो, पानीरहित डल्लो बन्न पुग्यो। विशाल ज्वालामुखीजस्ता घटनाले ठूलो मात्रामा हरितगृह ग्यासहरू उत्सर्जन गरेपछि मात्रै करोडौं वर्ष चलेको त्यो युगको अन्त भयो।
अनि यहाँ कार्बनडाइअक्साइड अधिक र अक्सिजन न्यून भएका यस्ता क्षणहरू पनि आए जब दुइटा ध्रुवमा समेत हिउँ रहेन। समुद्रको सतह अहिलेभन्दा धेरै माथि पुग्यो र पानीबाहिरको जमिनको हिस्सा निकै खुम्चियो।
ती अतिबिन्दुको बीचमा यहाँ असंख्य प्राणी र वनस्पतिहरू विकास भए जसले बिस्तारै एउटा सन्तुलनको अवस्था सिर्जना गरे— प्राणी अक्सिजन लिने कार्बनडाइअक्साइड फाल्ने, वनस्पति अक्सिजन फाल्ने कार्बनडाइअक्साइड लिने। यो सन्तुलनसँगै असंख्य प्रकारका जीवित प्राणीहरू एकअर्कामा निर्भर हुँदै विकास हुँदै गए।
यहाँ जीवनको विकास हुँदैमा पृथ्वीको शिशुकालमा हुने गरेका अन्तरिक्षका अरू पिण्डहरूसितका टक्कर रोकिनेवाला थिएनन्। समय बित्दै जाँदा तिनको बारम्बारता मात्रै कम भएको थियो। त्यसैले डायनासोरजस्ता पृथ्वीमा रजगज गरेका प्राणीहरूको उन्मूलन नै हुने गरी यहाँ पिण्डहरू ठोक्किइरहे। ठूला भूकम्पहरू आइरहे। तिनले समुद्रमा विशाल सुनामीहरू ल्याइरहे। जलवायु नै परिवर्तन हुने गरी ठूला ज्वालामुखीहरू फुटिरहे।
करोडौं प्रजाति नष्ट हुने गरी पृथ्वीको जलवायु एउटा अतिबाट अर्को अतिसम्म कुदिरह्यो। तर परिस्थिति फेरिँदै गर्दा त्यसमा मौलाउन सक्ने नयाँ प्रजातिहरू विकसित हुँदै गए र पृथ्वीमा जीवनलाई गुलजार बनाइरहे। वायुमण्डलको बाहिरी भागमा ओजोन अनि भित्री तहमा नाइट्रोजन, अक्सिजन र कार्बनडाइअक्साइडको सन्तुलित मात्रा र सतहको पानीले पृथ्वीमा जीवनको निरन्तरता सम्भव पारे।
यसरी सतहमुनि उम्लिँदो लाभा, त्यसका कारण हरपल आइरहने भूकम्प र ज्वालामुखी अनि वायुमण्डल बाहिर ब्रह्माण्डका सूर्यजस्ता अनगिन्ती ताराहरूबाट आउने शक्तिशाली र घातक कण, ऊर्जा र विकिरणहरूका बीचको पृथ्वीको एउटा साँघुरो पत्रमा विचित्रको संयोगका कारण जीवन फलिफाप भयो।
त्यसरी विकसित अनेक जीवहरूमध्ये मानिस नामक एउटा जनावरले चेतनाको विकास गर्यो र ब्रह्माण्डका रहस्यहरू खोतल्न प्रयास गर्यो।
३.
पृथ्वीमा जीवन विकासका विभिन्न आधारभूत अवयवहरूको जोहो कसरी भयो भन्ने यो चर्चापछि एउटा अवयवको थप विस्तारमा चर्चा गरौं— पानी।
पृथ्वीमा उन्नत जीवन विकास हुन समुद्रको नुनिलो र अनेक खाले लवणहरू घुलेको पानी पर्याप्त थिएन। नुनरहित ताजा पानीको स्रोतका रूपमा रहेका नेपालका जस्ता नदीहरूको विकास नभई पृथ्वीमा थलचर जीवहरूको अहिलेको जस्तो विकास सम्भव थिएन।
अब हेरौं त्यस्ता स्रोतहरूको निर्माण कसरी भयो।
जुन बेला कालीगण्डकीको धारले अहिले उसका दुई किनारामा देखिने सुन्दर पहराहरूलाई काट्न सुरू पनि गरेको थिएन, त्यो बेला अहिलेका महादेशहरू जन्मेकै थिएनन्। ऊबेलाका लाउरेसिया र गोन्ड्वाना महादेशबीच टेथिस सागरको पानी बग्थ्यो।
तर अहिले बारम्बार टक्राएर भूकम्प ल्याइरहने भारतीय र तिब्बती प्लेटहरूजस्तै ऊबेलाका भारतीय र युरेसियन प्लेटहरूको निरन्तरको बेमेल र टकरावका कारण समुद्रको पिँधबाट चुचुराहरू पलाउन र हुर्कन थाले। पुराना महादेशहरूको संरचना बदलिएर अहिलेका महादेशहरू जन्मे। हिमशृंखला जन्मे। समुद्रको पानी सापेक्षतः गहिरो क्षेत्रतिर गएर थिग्रिँदै जाँदा अहिलेका महासागरहरू बने।
अग्लिँदै जाँदा चिसिँदै गएका चुचुराहरूमा खास बिन्दुबाट माथि लागेपछि हिउँ बनेर जम्न थाल्यो। हिउँ थपिँदै गएपछि हिमालको पुछारतिर हिमनदीहरू बने। कालान्तरमा तिनबाट वर्षभर पानी बगिरहने नदीहरूको जन्म भयो।
एसियाको हिमालय शृंखला दुइखाले भौगोलिक संयोगका कारण भारतीय उपमहाद्वीपमा अनगिन्ती जीवहरूको विकास सम्भव गराउने पानीको स्रोत बन्यो— हिमरेखाभन्दा निकै माथिसम्म पुग्ने, आकाशै चुमेर हावाको दक्षिण–उत्तर बहाव नै छेक्ने चुचुराहरू अनि बंगालको खाडी र अरब खाडीजस्ता समुद्रका हिस्सासितको तिनको निकटता।
उत्तरी गोलार्द्धमा हावा यो तस्बिरमा झैं तीन विशाल बेलनाकार चक्रमा घुम्ने गर्छ। तीमध्ये पहिलो भूमध्यरेखामा सुरू हुन्छ।
भूमध्यरेखामा सिधै पर्ने घामको तापले ठूलो मात्रामा बाफ सिर्जना गर्छ र हावालाई तताउँछ पनि। त्यो तातो हावा हल्का हुने हुँदा माथितिर तैरिन्छ। त्यसको ठाउँ उत्तरतिरको चिसो हावाले लिन्छ जसले गर्दा समुद्रको सतहमा हावाको उत्तर–दक्षिण बहाव सिर्जना हुन्छ भने भूमध्यरेखामा तलदेखि माथि।
माथि पुगेर चिसिएको हावा उत्तरतिर बग्न पुग्छ। अनि ३० डिग्री अक्षांशको हाराहारी उत्तर पुगेपछि बेगले चिसो हावा जमिनतिर आउने गर्छ र बहावको चक्र पूरा गर्छ।
परिणाम— भूमध्यरेखामा माथितिर बग्ने हावा र पानीको बाफले त्यहाँ भीषण वर्षा गराउँछ। त्यसैले अफ्रिकाको कंगो, युगान्डा र ग्याबोनदेखि दक्षिण अमेरिकाको ब्राजिल, पेरू र इक्वेडरसम्म घना जंगल र तिनमा हुर्केका विश्वकै उन्नत पर्यातन्त्रहरू पाइन्छन्।
उता भूमध्यरेखादेखि ३० डिग्री उत्तरी अक्षांशमा पर्ने देशहरूमा माथिबाट तल बग्ने हावाका कारण पानीको बाफ भूमध्यरेखामा झैं माथि जानै पाउँदैन। त्यसैले अरब उपमहाद्वीपका सबै देश लगायत उत्तरी अफ्रिकाका देशहरू (इजिप्ट, लिबिया, ट्युनिसिया, अल्जेरियो र मोरक्को) तीनतिरबाट समुद्रले घेरिँदा पनि त्यहाँ संसारकै ठूला मरूभूमि सिर्जना भएका छन्।
तर अक्षांशका हिसाबले सहारा मरूभूमिकै बीचको हिस्सा सरहको भौगोलिक अवस्थिति हुने नेपालमा मरूभूमि छैन।
कारण— हिमालय शृंखलाका कारण यहाँ बर्सेनि मनसुन आउँछ। बर्खायाममा बंगालको खाडीबाट उत्तरतिर बग्ने बाफिलो हावालाई हिमालका चुचुराले छेकेर र चिस्याएर दक्षिणपट्टि वर्षा हुन्छ। हिमालमा हिमपात हुन्छ। अनि उत्तरपट्टि मरूभूमिकै जस्तो हावापानी सिर्जना हुन्छ।
परिणाम— हिमालको उत्तरपट्टिभन्दा दक्षिणपट्टि सरदर २०–३० गुणा बढी पानी पर्छ। त्यसको उल्लेख्य हिस्सा हिउँ परेर हिमालमा अडिन्छ, हिमनदी बनाउँछ र वर्षभरि बग्ने नदीलाई जन्म दिन्छ।
अहिलेको दक्षिण एसियाका सबैजसो ठूला नदीमा चल्ने चक्र यही हो।
४.
उबडखाबड भएको हिमालयमा बनेका नदीहरू गहिरो ठाउँ खोजेर बगेनन् मात्र, बग्दै जाँदा आफूमुनिको धरातल खियाएर निरन्तर आफ्नो पिँधलाई झनै गहिरो बनाउँदै लगे। यसरी संसारकै गहिरा खोंचहरू निर्माण भए। त्यस क्रममा अर्बौं टन ढुंगा र बालुवा माथिबाट तल सर्दै गयो। पहाडको गेग्र्यानी भूभागमा वनस्पतिहरू हुर्कन थालेपछि ढुंगा र बालुवा माथि माटोको पत्र बन्ने क्रम तीव्र भयो। बर्खायामको भेलमा त्यो माटो बगेर सिनित्त दक्षिणतिरको होचो भूभागको मैदानमा गएर फैलिएर बस्न थाल्यो।
पहाडबाट गड्गडाउँदै बग्ने नदीहरूले ढुंगा र बालुवासँगै बर्सेनि लाखौं टन माटो बगाएर गंगाको विशाल मैदानलाई मलिलो र जीवनदायी बनाए। पर्याप्त पानी र माटोको उपस्थितिसँगै त्यहाँ वनस्पति र प्राणीहरूको विकास थप घनीभुत हुन पुग्यो। हिमालय शृंखलाबाट पश्चिमदेखि पूर्वसम्म क्रमशः इन्डस, गंगा र ब्रह्मपुत्र गरी तीन विशाल नदी प्रणालीहरू विकसित भए।
हिमालय पर्वतका खोंचहरूमा बनेका विशाल हिमनदीहरूमा जन्मेपछि ती नदीहरू महाभारत शृंखलाका पत्रहरू छिचोल्दै दक्षिणतिर बग्छन्। अनि गंगाको विशाल मैदान पार गरेर समुद्रमा गएर मिल्छन्। ती तीन नदी प्रणालीले विकसित गरेको मलिलो फाँटमध्ये मानव जातिको विकास छिटपुट रूपमा धेरैतिर भएको हुनुपर्छ किनकि नियन्डरथल प्रजातिको पालादेखि नै हाम्रा पुर्खाहरू जीविकाका नयाँ उपाय खोज्दै पृथ्वीका सबै कुनामा पुगिसकेको मानिन्छ।
तर पुरातत्वविदहरूले फेला पारेका यस क्षेत्रका प्राचीन विकसित सभ्यताहरूमध्ये प्रमुख हरप्पाली सभ्यता मानिन्छ जुन हिमालयको पश्चिम छेउबाट दक्षिणतिर बग्ने इन्डस नदीले बनाएको उर्वर फाँटमा विकसित भएको थियो।
त्यो सभ्यता कसरी नास भयो भन्ने यकिन प्रमाण अझै फेला परेको छैन। तर खडेरी, मरूभूमीकरण र जलवायु परिवर्तन लगायत कारणले त्यो सभ्यता नास भएको र त्यस क्रममा इन्डस उपत्यका छाड्ने मानिसहरू पूर्वतिर गएर गंगाको मैदानमा नयाँ सभ्यता सुरू गरेको मानिन्छ।
अद्यापि त्यो सभ्यता पृथ्वीमा कायम छ र हामी त्यसैका सदस्य छौं।
हरप्पा सभ्यतामा लाखमा गन्न सकिने मानिस थिए भने आज भारतीय उपमहाद्वीपमा रहेको गंगाको विशाल फाँटमा हामी डेढ अर्बभन्दा बढी मानिसहरू छौं। सभ्यताले धान्न सक्ने मानिसको संख्यालाई मूल्यांकनको आधार बनाउने हो भने हाम्रो गंगा नदीको सभ्यता हरप्पाली सभ्यताभन्दा निकै उन्नत छ।
तर हरप्पा ढलनिकास सहितको सहरी विकास गर्ने पुराना सभ्यताहरूमध्ये एक मानिन्छ भने आज इन्डस, गंगा र ब्रह्मपुत्र तीनै नदीहरू जीवनदायी नदीभन्दा पनि विषाक्त पानीको लेदो बग्ने ढलजस्तो अवस्थामा पुगेका छन्। तिनमा करोडौं वर्ष लगाएर विकसित भएका लाखौं प्रजातिका वनस्पति र प्राणीहरूसहितका पर्यातन्त्रहरू लोप भएर गएका छन्।
कारण— मानिसले आफूमा विकसित चेतनालाई यसबीचमा निर्माणमा भन्दा बढी ध्वंशमा लगाएको छ।
जब औद्योगिक क्रान्ति सुरू भयो र खनिज ऊर्जाको प्रयोग व्यापक भयो, पृथ्वीमा करोडौं वर्ष लगाएर बनेको माथि उल्लिखित तापक्रमको सन्तुलन मानिस जातिका कारण खलबलियो।
कसरी त?
कुनै कालखण्डमा भएको ठूलो भौगर्भिक उथलपुथलका कारण जमिनमुनि लुकेका विशाल खनिज ऊर्जाका भण्डारहरूमा सञ्चित कार्बन एकाएक मानिसको प्रयोगसँगै वायुमण्डलमा पुग्न थाल्यो। अर्कोतिर त्यो कार्बन सोसेर सञ्चित गर्ने वनजंगलको फँडानी उत्तिकै तीव्र भयो।
दुवै कारणले कार्बनडाइअक्साइडको उत्पादन खपतभन्दा निकै बढी हुन थाल्यो। वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा आजसम्म आउँदा बढेर औद्योगिक युग अघिभन्दा डेढ गुणा पुगिसकेको छ र निरन्तर बढिरहेको छ। स्वभावतः त्यही रफ्तारमा पृथ्वीको वायुमण्डलको तापक्रम पनि बढ्दो छ। हामीले नै उत्सर्जन गरेका मिथेन, नाइट्रसअक्साइड र हाइड्रोफ्लोरोकार्बनजस्ता अरू हरितगृह ग्यासले हाम्रो वायुमण्डल तताउने आगोमा घ्यु थपिरहेका छन्।
परिणाम— अहिले नै पृथ्वीको तापक्रम पूर्वऔद्योगिक युगभन्दा कम्तीमा १.२ डिग्री सेल्सियसले बढिसकेको छ। त्यसरी तात्ने दर हिमालय र आर्कटिक सागरजस्ता संवेदनशील हिमभण्डारहरू भएको क्षेत्रमा औसतभन्दा दुईदेखि चार गुणासम्म बढी छ।
त्यस्तो तापक्रम वृद्धिले ध्रुवीय हिमभन्डारमा पारिरहेको नाटकीय परिणाम हेर्नुहोस् यो भिडिओमा।
पछिल्लो सवा शताब्दीको समयमा पृथ्वीको विभिन्न भागमा भएको तापक्रम वृद्धिका लागि नासाको यो भिडिओ पनि हेर्नुहोस्।
जलवायु वैज्ञानिकहरू भन्छन्— औसत तापक्रम वृद्धिको त्यो अंकले १.५ डिग्री कट्यो भने प्रलयसरहको अनर्थ हुन्छ।
यसरी वायुमण्डल तातिरहँदा दक्षिण एसियामा झन्डै डेढ अर्ब जनसंख्यालाई धान्ने तीनै नदी प्रणालीका मूलमा रहेका हिमनदीहरू यस्तो रफ्तारमा अलप हुँदै छन् कि सुख्खा याममा यी जीवनदायी नदी चिप्रिक्क सुक्ने अवस्था अब धेरै टाढा छैन। तीनमध्ये इन्डस नदी यसअगाडि नै केही वर्षहरूमा सुख्खा याममा समुद्रमा पुग्नुअगाडि नै पूर्ण रूपमा सुकिसकेको छ।
यसरी युगौंदेखि बंगाल र अरब खाडीको नुनिलो पानीबाट सूर्यको तापले बाफ निकालिदिने, त्यो हिमालमा गएर चिसिएर हिउँ पर्ने, हिउँबाट हिमनदी बन्ने र त्यहाँबाट वर्षभर ताजा पानी बगिरहने जीवनदायी चक्र अहिले अवरुद्ध हुने संघारमा छ।
हिमनदीहरूले ढाक्ने गरेका ठाउँहरूमा गेग्र्यानको चाङ लागेको छ। कुनै बेला वर्षभर सेतै टल्किने हिमाल अहिले धेरै महिनासम्म कालो पहरा बन्न थालिसकेका छन्। पिउने र सिँचाइको पानीका लागि हाम्रा पुर्खाहरू हजारौं वर्षसम्म जुन स्रोतमा भर पर्थे, ती अब क्रमशः सुक्ने क्रममा छन्।
पिउने पानीको अभाव संघारमै छ भने सास फेर्न मिल्ने हावाको अभाव हाम्रो दैनिक जीवनको पाटो बनिसकेको छ। सुख्खा मौसमका छदेखि आठ महिनासम्म दक्षिण एसियाभर हामी सबैजसो मानिसहरू अचाक्ली प्रदूषित हावामा सास फेरेर अकाल मृत्युदेखि क्यान्सरको पीडादायी मृत्युसम्म स्वीकार गर्न बाध्य छौं।
रसायन र विषादीहरूको प्रयोगले जमिनको माटो यस्तो रफ्तारमा मर्दैछ कि उत्तिकै अन्न उत्पादनका लागि बर्सेनि अझ धेरै रसायन र विषादी प्रयोग गर्नुपर्ने दुष्चक्रमा हाम्रो कृषि भासिइसकेको छ। सन् १९९० मा प्रतिहेक्टर ६ किलो विषादी प्रयोग गरेर अन्न उब्जाउने गरेको चीनले २०१९ यता उत्तिकै जमिनका लागि १३ किलोभन्दा बढी विषादी प्रयोग गर्ने अवस्था आइसकेको छ।
संसारका झन्डै आधा मानिसहरू प्रोटिनका लागि भरपर्ने र सबै प्राणीहरुलाई चाहिने अक्सिजनमध्ये आधा आपूर्ति गर्ने समुद्री पर्यातन्त्रहरू यसरी धराशायी हुँदै छन् कि जीविकाका लागि तिनमा भरपर्ने करोडौं मानिसहरू बेरोजगार हुँदैछन्।
एट्लान्टिक सागरको सतहमा हुने तातो पानीलाई भूमध्यरेखाबाट उत्तरतिर ठेलेर युरोपलाई बस्नयोग्य तुल्याउने 'गल्फ स्ट्रिम' (एट्लान्टिक मेरिडिओनल ओभर्टर्निङ सर्कुलेसन) अहिले नै खुकुलो हुँदै गइरहेको छ। वायुमण्डल तातेर भूमध्यरेखा र ध्रुवबीचको तापक्रम अन्तर कम भएसँगै आउँदा केही दशकमै त्यो निकै कमजोर हुने र कुनै दिन ठप्पै हुने जोखिम बढ्दै गएको छ।
त्यो अवस्थामा विश्वव्यापी औसत तापक्रम उच्च रहँदा रहँदै पनि उत्तर अमेरिका र युरोपलगायत उत्तरी गोलार्द्धको ठूलो भूभागमा जीवनै असम्भव हुने जस्तो ठन्डी मौसम आउन र करोडौं मानिसहरूलाई त्यहाँबाट विस्थापित गर्न सक्नेछ।
पृथ्वीमा जीवनको लामो इतिहास अध्ययन गरेका वैज्ञानिकहरू भन्छन्— विगतमा वायुमण्डलको यस्तै खालको तीव्र तताइले समुद्रका त्यस्ता जटिल प्रणालीहरूलाई उलटपुलट गरेर असाध्यै छोटो समयमा पृथ्वीमा हिउँको वर्चस्व भएको हिमयुगलाई निम्तो दिएका छन्।
त्यति मात्र नभई समुद्रमा आउने त्यस्तो परिवर्तनले अफ्रिकाको यसै कमजोर मनसुन प्रणालीलाई थप अवरूद्ध बनाउने र थप करोडौं मानिसहरू भोकै पर्ने, विस्थापित हुने र त्यसले ठूलो द्वन्द्वलाई निम्ता दिने चेतावनी दिइरहेका छन् अहिले वैज्ञानिकहरूले।
मानिसले पृथ्वीमा मच्चाइरहेको ताण्डवबाट सामुद्रिकजस्तै वायुमण्डलीय प्रणालीहरू पनि अस्थिर र अस्तव्यस्त बन्न पुगेका छन्।
वायुमण्डल तातिएसँगै भूमध्यरेखादेखि ध्रुवसम्म तीनवटा चक्रीय प्रणालीमा चल्ने बेलनाकार हावाको बहाव प्रभावित हुन थालिसकेको छ। त्यसले संसारमै बढी जनघनत्व सम्भव बनाएको दक्षिण एसियाको नियमित मनसुनलाई प्रभावित गर्दै यहाँको खाद्य सुरक्षालाई जोखिममा पारेको छ।
वायुमण्डल तातेसँगै हावाका त्यस्ता तीन उत्तर–दक्षिण बेलनाकार बहावहरूको बीचमा पृथ्वीलाई घेरेर चल्ने 'जेट स्ट्रिम' भनिने हावाको पश्चिम–पूर्व बहाव अवरूद्ध हुनु सामान्य भइसकेको छ। त्यसले पछिल्ला वर्षहरूमा केही अभूतपूर्व ताप लहरहरू ल्याएको छ जसमा हप्तौंसम्म अस्वाभाविक रूपले उच्च तापक्रम कायम हुन पुग्दा आगलागी लगायतका कारण धनजनको ठूलो क्षति भएको छ।
अर्थात् जमिन, जल र वायुमण्डलका जुन प्राकृतिक प्रक्रियाहरूले भारतीय उपमहाद्वीपलगायत संसारभर अनगिन्ती खालका जीवनहरू सम्भव बनाएका हुन्, तिनका सबै आधारहरू अहिले निरन्तर खण्डित भइरहेका छन्।
५.
यो पुस्तक टुंग्याउँदै गर्दा (सन् २०२२ मा) एकैसाथ चीनमा याङत्जे नदी सुक्ने गरी आइलागेको महाखडेरी र पाकिस्तानलाई डुबाएको महाबाढीले भविष्यको तातो पृथ्वीमा निरन्तरजस्तो आइरहने प्राकृतिक विपत्तिको स्वाद हामीलाई चखाइसकेका छन्।
त्यस्तै २०२२ को क्रिसमसको छेक पारेर उत्तर अमेरिकामा आएको 'बम साइक्लोन' ले केही सहरहरूमा एकै दिनमा ३७ डिग्री सेल्सियससम्मले तापक्रम घट्ने अवस्था सिर्जना गरेको छ। त्यो विपत्तिले माथि उल्लेख भएझैं एट्लान्टिक महासागरको दक्षिण–उत्तर बहाव अवरूद्ध भयो भने उत्तर अमेरिका र युरोपका अधिकांश भूभागमा वर्षैभर जस्तो कस्तो मौसम हावी हुन सक्नेछ भन्ने छनक दिएको छ।
त्यही समयमा दक्षिण अमेरिकाको चिलीमा खडेरी र तुफानबीच फैलिएको भीषण जंगली आगलागीले ठूलो धनजनको क्षति गरेको छ।
अर्थात् पृथ्वीको औसत वर्षा वा तापक्रमको आँकडामा खासै प्रभाव नपार्ने गरी अहिले नै यस्ता भयावह विपत्तिहरू आइरहेका छन् जसलाई झेल्न हामीलाई हम्मे परिरहेको छ।
जलवायु वैज्ञानिकहरू भन्छन्— पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्रीभन्दा उकालो लाग्यो भने त्यसका दुई खाले जटिलता हुन सक्नेछन्।
एक, अहिलेसम्म पृथ्वीभर जसरी मौसम वा जलवायु प्रणाली सापेक्षतः स्थिर वा पूर्वानुमान गर्न सकिने थियो। अब त्यो अवस्था बदलिनेछ। बढी तापक्रममा धेरै निस्किने बाफले समग्रमा वर्षाको मात्रा बढाउनेछ तर त्यसको लय मानिसले लगाउँदै आएका बालीहरूको जीवनचक्रसित नमिल्ने सम्भावना प्रशस्त हुनेछ। बाढी र खडेरीहरू पालैपालो आउने सम्भावना बढेर जानेछ।
दुई, वायुमण्डलको कार्बनको मात्रा र तापक्रमको वृद्धिदर बिस्तारै मानिसको नियन्त्रणभन्दा बाहिर जानेछन्
कारण— तापक्रम बढेर करोडौं वर्षको सन्तुलन खलबलिएसँगै हालसम्म जमिन र समुद्रमा रोकिइबसेको विशाल कार्बन भण्डारबाट आफैं भारी मात्रामा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यासहरू निस्कनेछन्।
त्यसपछि हामीले कार्बन उत्सर्जन शून्य वा ऋणात्मक गरे पनि पृथ्वीलाई चिस्याएर पहिलेको अवस्थामा पुर्याउन असम्भव हुनेछ। त्यस क्रममा त्यस्ता धेरै 'टिपिङ प्वाइन्ट' हरू हामीले पार गर्नेर्छौं जसबाट पछि फर्किन सम्भव हुने छैन।
जस्तो कि, एक, वायुमण्डलको कार्बनडाइअक्साइडले समुद्रको पनि तापक्रम बढायो। तापक्रम बढेकै कारण समुद्रको अक्सिजन र कार्बनडाइअक्साइड सोस्ने र भण्डारण गर्ने क्षमता घट्यो। अक्सिजन कम भएपछि माछा र अरू जीव घटे भने समुद्रले कम कार्बन सोसेका कारण वायुमण्डलमा झन् कार्बन डाइअक्साइड थपियो र पृथ्वी झनै तात्यो। अनि त्यो चक्र फेरि दोहोरियो।
दुई, अमेजनलगायतका विशाल जंगलमा फँडानी सुरू भयो। त्यसका कारण त्यहाँको हावामा ओसिलोपन कम भयो। त्यसले आगलागीको जोखिम बढायो। आगलागीले ओसिलोपन झनै सिध्याइदियो। सुख्खा यामको आगलागी झन् व्यापक र तीव्र भयो। जुन जंगल यो सुख्खा याममा जल्न भ्याएन, त्यहाँको पनि ओसिलो कायम राख्ने प्रक्रिया अवरूद्ध भयो र अर्को साल अझ ठूलो आगलागी भयो। अनि वर्षौंसम्म यो चक्र दोहोरिइरह्यो।
तीन, आर्कटिक ध्रुव र ग्रिनल्यान्डको छेउछाउको हिउँ पग्लिँदै जाँदा पहिले हिउँले ढाकिएको सतह अब पानीले ढाक्न थाल्यो। सेतो टल्किने हिउँले अन्तरिक्षतिर फर्काउने गरेको सूर्यबाट आउने तापको अधिक हिस्सा पानीले सोस्न र तापक्रम बढाउन थाल्यो। त्यसले झन् तीव्र गतिमा हिउँ पगाल्न थाल्यो र उही चक्र फेरि दोहोरिन थाल्यो।
पछिल्ला वर्षहरूमा साइबेरियाजस्ता वर्षभर हिउँ जम्नुपर्ने भूगोलमा भएको भीषण आगलागीले त्यताको 'पर्माफ्रस्ट' मा पनि यस्तो चौथो भयावह दुश्चक्र सुरू भइसकेको हो कि भन्ने आशंका उत्पन्न गराएको छ- तापक्रम बढ्यो, जमिनको हिउँ पग्लियो, खुला हुन पुगेको माटोबाट ब्याक्टेरियाले मिथेन र कार्बनडाइअक्सइड उत्सर्जन गर्न थाले, त्यसले तापक्रम बढाएर थप हिउँ पगाल्यो। र चक्र जारी रह्यो।
जब यसरी पृथ्वीमा कार्बन उत्सर्जन हाम्रो नियन्त्रणबाट बाहिर जानेछ, हामीसित कुनै बेला आफैंले निम्त्याएको तर अब आफ्नो काबुबाट बाहिर पुगिसकेको बर्बादीलाई तमासे बनेर हेर्नेबाहेक अरू विकल्प रहने छैन।
जलवायु संकटको विकासक्रमलाई दशकौंदेखि निकटबाट अवलोकन गरेका अध्येताहरू भन्छन्— त्यस्तो अवस्थामा सन् २०२२ मा चीन र पाकिस्तानमा एकसाथ आएका जस्ता महाविपत्तिहरू संसारैभरि वर्षभर र वर्षैपिच्छे जसो आउन सक्नेछन्।
एकाध दशकमा पृथ्वीमा विपत्तिहरू यति बारम्बार र भीषण हुनेछन् कि मानव जातिको दैनिकी आपतकालीन उद्धारमै सीमित हुनेछ।
६.
चेतनशील प्राणी भएको नाताले त्यस्तो अवस्था रोक्न अहिले मानिस जातिले के गर्दैछ त?
संसारभरका देशहरूले अहिले कार्बन उत्सर्जनसम्बन्धी जस्तो व्यवहार देखाइरहेका छन्, त्यो एकाध वर्ष वा बढीमा एक दशकभित्र १८० डिग्रीले नबदलिने हो भने यहाँको तापक्रम वृद्धि २.५–३ डिग्रीले बढ्ने निश्चितप्रायः छ।
१.५ डिग्रीको लक्ष्मणरेखा त अब एकाध वर्षमै पार हुने निश्चितप्रायः छ।
यो अवस्थामा एकतिर तत्कालीन नाफाका लागि मानव सभ्यताको अन्त निश्चित गर्ने खनिज ऊर्जा कम्पनीहरूले सन् २०२० मा करदाताहरूले तिरेको करबाट ५९ खर्ब अमेरिकी डलरको अनुदान पाएका छन् (अन्तर्राष्ट्रिय मुद्रा कोषको आँकडा)। त्यही वर्ष संसारको ऊर्जा आवश्यकतामध्ये कोइला, तेल र ग्यासले झन्डै ८० प्रतिशत योगदान पुर्याएका छन्। जसमध्ये झन्डै एक तिहाइ योगदान पुर्याउने कोइला बाल्दा निस्कनेलगायत धुवाँले गर्ने वायु प्रदूषणका कारण मात्रै बर्सेनि सत्तरी लाख मानिसको ज्यान जाने गर्छ (विश्व स्वास्थ्य संगठनको आँकडा)।
संसारभर खनिज ऊर्जा उत्खनन गर्ने र उपभोग गर्नेहरूबीचको बढ्दो आर्थिक दुरीका लागि अर्को एउटा आँकडा हेरौं— २०१६ मा ६ अर्ब डलर बराबर रहेको संसारका ठूला ६ तेल कम्पनीको नाफा २०२२ मा झन्डै २२० अर्ब डलर पुगेको छ। जबकि यसबीच युक्रेनमाथिको रूसी आक्रमणलगत्तै अकासिएको ऊर्जाको मूल्यका कारण संसारभर करोडौं मानिस गरिबी र भोकमरीको चपेटामा परेका छन्।
अर्कोतिर अहिले विश्वमा बर्सेनि झन्डै २६ खर्ब अमेरिकी डलर बराबरको खाद्यान्न हामी मानिसहरूले खेर फाल्ने गरेका छौं। त्यो कुहिँदा निस्किने मिथेन ग्यासले पृथ्वीलाई अल्पकालमा कार्बनडाइअक्साइडले भन्दा ६२ गुणा बढी तताउँछ।
अर्थात् अहिले हामी मानिस जातिको अवस्था एउटा त्यस्तो बसका यात्रुहरूको जस्तो छ जुन सयौं मिटर अग्लो भिरमाथिको ढिकतिर तीव्र गतिमा कुदिरहेको छ। अनि यात्रुहरू चाहिँ को कुन सिटमा बस्नेजस्ता विवादमा भुलेर बसेका छन्। त्यसमा ब्रेक लगाउन सक्ने ठाउँमा भएकाहरू खनिज ऊर्जाको कारोबारले दिने खर्बौं डलरको नसामा लठ्ठिएर अचेत छन्।
लाखौंको हरप्पाली सभ्यताले विगतमा जुन हविगत भोग्यो, मानिसका अहिलेसम्मका गतिविधि हेर्दा अर्बौंको गंगा नदीको सभ्यतालगायत पृथ्वीका ६ वटै महादेशहरूमा फस्टाएका अनेक सभ्यताहरूमध्ये कुनै पनि त्यस्तो नियतिबाट बच्ने देखिँदैन।
इतिहासका यी दुई कालखण्डका परिघटनाहरू फरक चाहिँ के भने, हरप्पाबाट उठेको जनसंख्यालाई अर्को नदी किनारमा पुगेर बाँच्ने र नयाँ सभ्यता विकास गर्ने विकल्प थियो, हामीसित त्यस्तो विकल्प छैन।
हिमालयको उत्तरपट्टिको चीन होस् वा छिमेकी महादेश अफ्रिका, ती सबै ठाउँका मानिस र सभ्यताहरू अहिले आआफ्नै अस्तित्वको संघर्षमा छन्। युरोपजस्तो दशकौंसम्म भोकमरी, अभाव र द्वन्द्वबाट पार पाइसकेको महादेशलाई सन् २०२२ मा आएका केही प्राकृतिक र मानव–सिर्जित विपत्तिहरूले अस्तव्यस्त बनाएका छन्।
विश्वभर जलवायु परिवर्तनका कारण सिर्जित अभूतपूर्व प्राकृतिक विपत्तिहरूले अहिले नै करोडौं मानिसहरू विस्थापित भइसकेका छन्।
महासागरहरूको बीचमा रहेका ससाना टापू देशहरूको त अस्तित्व नै बढ्दो समुद्रको सतहमुनि गायब हुने संघारमा छ। पश्चिम एसियाका इरानजस्ता देशहरूको सिंगो जनसंख्यालाई धान्ने जलाधार सुक्ने अवस्थामा छ।
अध्येताहरू भन्छन्— आगामी एकाध दशकमा ओभानो जमिन, पिउने पानी र पेट भर्ने अन्नको खोजीमा अर्बभन्दा बढी मानिसहरू आफ्नो थातथलोबाट विस्थापित हुन सक्नेछन्। त्यस क्रममा सिर्जना हुने द्वन्द्वले व्यापक अस्थिरता र हिंसालाई जन्म दिनेछ।
७.
यो विपत्तिको मूल कारण— प्रकृतिलाई जितिसकेको मानिस जातिको भ्रम।
कुनै बेला सायनोब्याक्टेरियाले वायुमण्डलको नाइट्रोजनलाई जैविक नबनाइदिएको भए, अक्सिजन उत्सर्जन नगरेको भए, काइका प्रजातिहरूले जमिनको फोस्फोरस उत्खनन नगरिदिएको भए र सबै वनस्पतिहरूले निरन्तर अक्सिजन उत्सर्जन नगरिदिएको भए पृथ्वीमा हाम्रो जीवन असम्भव थियो।
जल, जमिन र वायुका तिनै प्रणालीहरूबीचको जटिल अन्तर्क्रियाले हिमालय क्षेत्रको मनसुन र एट्लान्टिक सागरको 'गल्फ स्ट्रिम' जस्ता ठूला जलवायु चक्रहरू सुरू नभइदिएको भए उत्तरी गोलार्द्धमा अहिलेको जस्तो समृद्ध जीवन असम्भव नै थियो।
तर आज 'चेतनशील' मानिसले यस्तो गतिमा जंगल मास्दैछ अनि जमिनमुनिबाट तेल, ग्यास र धातुहरू उत्खनन गर्दैछ, कार्बनडाइअक्साइडलगायत पृथ्वीलाई प्रदूषित गर्ने र तताउने ग्यासहरू उत्सर्जन गर्दैछ कि त्यसले हिमालयमा बर्सेनि समुद्रको नुनपानीबाट निस्कने बाफलाई अटुट रूपमा खर्बौं लिटर ताजा पानीमा परिणत गर्ने प्रक्रिया अवरूद्ध गरिसकेको छ।
अनि अहिले नै खुकुलो हुँदै गइरहेको युरोप र उत्तर अमेरिकामा जीवन सम्भव तुल्याउने 'गल्फ स्ट्रिम' अवरूद्ध हुने क्रममा छ।
हाम्रो जीवन सम्भव बनाउने करोडौं प्रजातिका प्राणी र वनस्पतिहरू त सदाका लागि पृथ्वीबाट लोप नै भइसकेका छन्।
आफैंले हावालाई सास फेर्नै नमिल्ने गरी प्रदूषित गरेपछि त्यसलाई सफा गर्न हामीले वायुमण्डल चिस्याउने रूखहरू रोपिरहेका छैनौं। बरू हाइड्रोफ्लोरोकार्बन प्रयोग गरेर 'एसी' हरू चलाएका छौं जसले पृथ्वीलाई उही मात्राको कार्बनडाइअक्साइडले भन्दा हजारौं गुणा बढी तताइरहेका छन्।
पिउने ताजा पानीका स्रोतहरू सुकाएपछि अहिले संसारका धेरै देशहरू समुद्रको पानीमा निर्भर हुँदैछन् जसलाई ताजा पार्न अत्यधिक ऊर्जा खपत हुन्छ, अचाक्ली धेरै कार्बन उत्सर्जन हुन्छ र पृथ्वीको तात्ने क्रम र पानीको अभावलाई झनै बढाउँछ।
जहाँ नदीहरू सुक्दै छन्, ती नदीसँगै सुक्दै गरेका भूमिगत जलाधारबाट हामी यसरी पानी निकाल्दै छौं कि तलको पानी रित्तिँदैछ र माथिको जमिन तल धसिँदैछ।
इन्डोनेसियाको जाकार्ताजस्ता सहरमा बर्सेनि मिलिमिटरको हिसाबले समुद्र सतह बढ्दा सेन्टिमिटरको हिसाबले सहरको जमिन तल धसिँदैछ। फलस्वरूप करोडौं मानिस घरबार बिहीन भएर विस्थापित हुने संघारमा छन्।
पृथ्वी जीवनदायी बन्न अर्बौं वर्षको समय र करोडौं प्रजातिहरूको मेहनत लागेको थियो। तर यसलाई उजाड मरूभूमि बनाउन एकाध शताब्दीको समय र मानिस नामक जनावरहरूको एउटा प्रजाति काफी हुने देखिँदैछ।
८.
पृथ्वीको हराभरा युगका अन्तिम वर्षहरूमा बाँचेका मानिसका केही पुस्ताले के सोच्थे? कस्ता यात्रा गर्थे? के सपना देख्थे?
जलवायु संकटका कारण अवश्यम्भावी बनेको प्रलयको अर्कोपट्टि जुन युग आउनेछ, त्यसमा चेतनशील मानिस प्रजातिकै अर्को सभ्यता विकसित भयो भने उनीहरूको खोज सायद यिनै प्रश्नहरूको जवाफ भेट्नमा केन्द्रित हुनेछ।
अहिलेको युगमा हामीले पृथ्वीमा जे गर्दैर्छौं, त्यसबारे यकिन यथार्थ थाहा पाए भने उनीहरूले बिलखबन्दमा पर्दै हामीबारे सोच्नेछन्— कस्ता लम्पट र अदूरदर्शी थिए ती मानिसहरू जसले क्षणिक सुखसुविधाका लागि आफ्नै वासस्थानलाई जानाजान नष्ट पार्न सके?
कति निर्दयी र अमानवीय थिए उनीहरू जसले आफ्नो मोजमस्तीका लागि आफ्नै निर्दोष सन्तानहरूलाई बाढी, आगलागी, आँधी र भोकमरीको अन्तहीन शृंखलाको भूमरीमा झोसिदिए?
अनि सोध्नेछन्— चेतनशील प्राणीको उन्नत भनिएको सभ्यताले किन आत्महत्याको बाटो रोज्यो?
त्यही आत्महत्याको मार्गमा छलाङ लगाइरहेको मानिस जातिका आखिरी केही पुस्ताहरूको सानो विवरण हो यो पुस्तक।
यहाँ कुनै चेतनालाई जागृत पार्ने, संवेदनालाई झंकृत पार्ने र सम्भावनाहरूको बाटो खोल्ने खास पात्र, प्रवृत्ति र क्षणहरू कमै भेटिनेछन्। यहाँको चर्चा उतिविधि रोचक र चाखलाग्दो पनि हुने छैन। त्यस्तो चर्चाका लागि सम्भवतः यो युगमा लेखिएका आख्यानहरू सुरक्षित रहनेछन्।
तर यो गैरआख्यानले एउटा कुरा भने देखाउनेछ— सामुन्नेबाट अजंगको संकट आफूतिर आउँदै गर्दा यो युगका मानिसहरूले कसरी बालुवामा टाउको धसाएको चराले झैं त्यसलाई नदेखेझैं र त्यसबारे केही थाहै नपाएझैं गरेका थिए।
किताबभर कथा भन्ने जो पात्र छ, उसको कथा गंगा नदीको किनारमा स्थित बनारस सहरबाट सुरू हुन्छ। त्यसैले आउनोस्, मूल विषयमा प्रवेश गर्नुअगाडि एकछिन उतै शयर गरौं।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)