एउटा बिहेमा 'लत्ताकपडा' शीर्षकमा सरदर कति खर्च हुन्छ?
होइन, एउटा बिहेमा कपडा फेरिरहनुपर्ने सरदर कति शीर्षक हुन्छन्? बेहुला-बेहुली मात्र होइन, त्यही एउटा बिहेका लागि नयाँ कपडा सिलाउने निम्तालुहरू पनि सम्झौं।
१. स्वयंवर– बेहुलीलाई नै छायामा पारिदिने वजनदार लेहेंगाहरू।
२. 'ब्राइड टु बी'– बेहुलीको अलग र अरू सबै साथीको उस्तै रङका 'म्याचिङ नाइट ड्रेस'
३. हल्दी– माहोल नै पहेँलो हुन्छ। केटीहरूले पहेँलो रङको सारी या गाउन, केटाहरूले पहेँलै कुर्ता, पहेँलै सर्ट।
४. मेहन्दी– हरियो रङका झिलिमिली कपडा।
५. संगीत– लगाउँदा चम्किलो अनि नाच्न सजिलो हुने अर्को नयाँ पहिरन।
६. बिहे– सबभन्दा शानदार सारी/ गाउन/ दौरा सुरुवाल/सुट
७. प्रिती भोज- हिजोको कपडा दोहोर्याउनु त भएन। फेरि नयाँ कपडा सेट!
बिहेका यी सब चलनहरू कति हाम्रा मौलिक हुन्, कति होइनन्, कुन भेगका मौलिक हुन्, केलाई मौलिक भन्ने, केलाई नभन्ने, अहिले ती तर्कहरू गुटुमुटु सिरानीभित्र खाँदेर आनन्दले पल्टिऊँ।
चलन मौलिक होस् या नहोस्, आइसक्यो। कपडाहरू बनिसके।
एउटा 'ब्राइड टु बी' का लागि बनाएको 'म्याचिङ नाइट ड्रेस' अर्की साथीको समूहमा म्याचिङ भइदिन्न। हल्दी, संगीत, मेहन्दीका कपडाहरू दोहोर्याउन त मिल्छ तर फेरि अर्को बिहे आइन्जेल अघिल्लो बिहेमा बनाएको कपडाको चलन गइसक्छ।
निम्तालु मात्रै बन्दा पनि एउटा मान्छेले, प्रत्येक बिहे निम्ताको हरेक उत्सवमा नयाँ कपडा बनाउँदा बनाउँदै आफ्नै बाउको बिहे देख्छ।
बिहेको दिन हुलमै हराउने निम्तालुको त यो हाल छ, बेहुलीको हुलिया त अझ हुलभरिमै चिटिक्क हुनुपर्यो। यही चक्करमा, कहिलेकाहीँ त बेहुलीको एउटै सारीलाई तोला सुनभन्दा महँगो परिदिन्छ। अनि सारी यति भव्य हुन्छ कि, बेहुली हुँदाको दिनबाहेक अर्कोपल्ट कहिल्यै लगाउन मिल्दैन।
बेहुलाको डिजाइनर दौरा सुरुवालको कथा पनि लगभग यही हो।
यी त विशेष श्रेणीका कपडाहरू हुन्। हामीले हरेक दिन लगाउने टिसर्ट, प्यान्ट, वनपिस, कुर्ता पनि यो बाकसभन्दा धेरै टाढा छैनन्। अब त यिनलाई लत्ताकपडा होइन, लत्तोकपडा भन्दा ठीक हुन्छ होला। हाम्रो कपडा बदल्ने दर अनि यी कपडाको भाउले लत्तो जो छोडिसक्यो।
झट्ट सोच्दा के लाग्छ? यी ढाड सेक्ने मूल्यका तर कहिलेकाहीँ ढाड समेत नढाक्ने कपडाहरूको यात्रा कति हो? किन्नेको रहरबाट सुरू, बेच्नेको आम्दानीमा अन्त्य, यति नै?
अहँ।
एउटा कपडाको असली यात्रा कसैले उसलाई किनेपछि बल्ल सुरू हुन्छ। अनि यो यात्रा बाह्रहाते पटुकीभन्दा लामो हुन्छ। कपडा केही समय किन्नेको दराजमा बस्छ। त्यसपछि पालैपालो अलग अलग हातमा पर्दै अन्ततः माटोमा पुगेपछि मात्र, उसको यात्रा सकिन्छ।
अफशोस! कपडा लगाउने मान्छेको शरीरजसरी कपडा चाहिँ माटोमा मिसिएर माटोमै बिलाई हाल्दैन। गजधम्म पसारिन्छ माटोमाथि। बग्छ, समुद्र तटमा अल्झिन्छ। जमिनमा फनफनी बेरिन्छ। अनि पृथ्वीलाई निमोठ्दै, मैलाउँदै बसिरहन्छ।
लुगा मैलिए त साबुनले धुन मिल्छ। लुगाले मैलाएको पृथ्वी केले धुनु?
आजको समयमा, हामीले लगाउने कपडा, जुत्ताका कारण निस्किने फोहोर विश्वभरकै वातावरण बिगार्ने प्रमुख विषमध्ये एक हो। विश्वभर प्रत्येक वर्ष करिब एक सय २० अर्ब नयाँ गार्मेन्ट उत्पादन हुन्छ। कुल जनसंख्याको १२ गुणाभन्दा बढी।
सन् २००० यता, नयाँ कपडाको खरिद दर दोब्बर बढेको छ। 'ग्रीन पिस स्टडी' को एक रिपोर्टअनुसार, त्यसरी किनिएकामध्ये ४० प्रतिशत लुगा कहिल्यै लगाइँदा समेत लगाइँदैनन्। बस् किनिन्छन्, राखिन्छन्, फालिन्छन्। कुल हरितगृह ग्यास उत्सर्जनको ८ देखि १० प्रतिशतका लागि फेसन उद्योग एक्लै जिम्मेवार छ। फेसनको जलवा, उपहारमा जलवायु परिवर्तन।
हामी यस्तो अवस्थामा छौं जहाँ थरीथरीका नयाँ कपडा, जुत्ता हाम्रा लागि जरूरत होइन, सौख बनिसके। अनि त्यही सौखले खाएर पृथ्वी यसरी खिइँदैछ कि अब उसलाई हाम्रा जरूरत मात्रै धान्न समेत धौधौ छ।
हुन त सोझो हिसाब गर्दा पृथ्वीलाई यति पिर परेको कारण हामी होइनौं। बिगारेको त युरोपेली, अमेरिकी राष्ट्रहरूले हो जस्तो लाग्छ। हो पनि। मुख्य दोषी उनीहरू नै हुन्।
तर हामीले पनि त ट्रेन्डको टोकसो सुन्नुपर्ने डरले हरेक महिना नयाँ कपडा किन्न थालेको वर्षौं भइसक्यो।
'फेसबुकमा एउटा फोटो हाल्यो। फेरि अर्को फोटोमा पनि उही लुगा देखिएपछि त दुइटा फोटोमा के फरक रह्यो र?'
थाहै नपाई फोटोकै चित्त बुझाइदिन फेरीफेरी कपडा लगाउने नशा लागिसक्यो। 'सपिङ' मुड ताजा बनाउने औषधि जस्तो लाग्छ। कतै कपडाको 'सेल' लागेको देखेर पनि केही नकिन्नु अपराध जस्तो लाग्छ। हाम्रै पनि कति ज्याकेट, प्यान्ट, गाउन, डिजाइनर दौरा सुरुवाल, एकपटक हाम्रो जिउ छुनै नपाई दराजमै थन्किएका छन्। रङरङका जुत्ता, हिल, चप्पलहरू अझै किन्ने बेलाका डब्बाभित्रै निसास्सिएर बसिरहेका छन्।
पृथ्वी पिर्ने बाटोमा अब हामी पनि त्यति पर छैनौं।
आजसम्म त लुगाको फोहोर हाम्रा लागि त्यति बडेमानको हाउगुजी थिएन होला। हामी दयालु छौं। आफ्नो रहर मेटिए, किन्न नसक्ने अर्को कसैलाई दान गर्छौं। हामी मितव्ययी छौं। जब कपडा पुराना हुन्छन्, खाँदेर नयाँ गद्दा, डसना बनाउँछौं। तर गद्दा, डसना पनि कति बन्लान्? हरेक दोस्रो महिना बदलिने ट्रेन्डसँगै थोत्रा हुने लुगा बिस्तारै त गद्दाबाहिर उछिट्टिन थाल्छन्। अन्ततः ती उछिट्टिएका कपडा पहिरिने फोहोर उठाउने गाडीले नै हो। अनि त्यहाँबाट ती कपडा जाने माटो मैलाउन नै हो।
यतिन्जेल अमेरिका, युरोपको घाँटी चुसिरहेको प्रदूषण नाग बिस्तारै नेपाली तिघ्रामा बटारिन थालिसकेको छ। पश्चिमीले त गरिब अफ्रिकी मुलुकलाई 'डम्पिङ साइट' बनाएर आफ्ना पुराना कपडाजति त्यहीँ थुपारिदिन्छन्। लगाउनै नसकिने कपडा बेचिदिन्छन्। जुन कपडा बेचिँदैनन्, ती घाना, नाइजेरियाका मान्छेको स्वास्थ्य बिगार्दै चौरमा लम्पसार परिदिन्छन्। तर हामीलाई त त्यसरी अर्को गरिब मुलुकलाई दुःख दिएर पन्छिने सुविधा समेत छैन।
घरमा सत्यनारायणको पूजा छ। छ न त दराजभरि लुगा छन्, तर यस्तै बेलामौकामा त हो नि! दिदीबहिनीले एकथरी, दाजुभाइ बगालले एकथरी गरेर 'म्याचिङ' लुगा त लगाउनु पर्यो। कति राम्रो फोटो पो आउँछ त!
सुन्दर कुरा हो।
तर यसरी एक दिन लगाएर थन्किने लुगाले पूजाको पुण्यलाई चाहिँ के गर्छ खै! सत्यनारायण त मन्त्र सुनेर खुसी होलान् तर वस्त्र देखेर सायद प्रकृति रिसाउँछिन्। सिंगै गोवर्धन पहाड उचालेका प्रकृति पूजा सिकाउने कृष्ण रिसाउँछन्। म्याचिङ कपडाको फोहोर थुपार्दै हामीले कति गोवर्धन पहाडलाई ल्यान्डफिल साइट बनाइसक्यौं। यो देखेर कृष्ण कति दुखी हुँदा हुन्! कृष्णलाई दुखाएर सत्यनारायण के खुसी होलान् र खै!
सायद साउनमा शिवजीलाई पनि वर्षैपिच्छे फेरिने हाम्रो हरियो सारीले भन्दा हरियो पृथ्वीले बढी प्रफुल्ल बनाउँछ।
हुन त कसैलाई पृथ्वीको माया नै नलाग्न सक्छ। माया नलाग्नेलाई जबरजस्ती गर्न सकिँदैन। गर्न हुँदैन पनि। तर माटोको माया नहुनेलाई पनि जमिनको माया त हुन्छ होला। पृथ्वी फोहोरमा डुबेको वास्तै नलाग्नेलाई पनि देश ऋणमा डुब्ने कुराले त अत्याउँछ होला।
बिहे मात्र होइन, गुन्युचोलो, 'बेबी सावर', वैवाहिक वर्षगाँठ, यहाँसम्म कि जन्मदिन पनि, हाम्रा हरेक विशेष दिन अचेल शानदार कपडाले ढकमक्क हुन्छन्। यी सबथोक भव्य मनाउनेहरूले पक्कै अरूको चोरेर, कसैको पाप चिताएर बेफ्वाँकमा पैसा उडाएका होइनन्। आफ्नो, परिवारको खुसीका लागि आफूले मेहनत गरेर कमाएको पैसा नै खर्चेका हुन्। सायद यो सब उनीहरूको घाँटीले आनन्दले निल्न सक्ने हाड नै हो।
तर हामी नेपालीले निल्न रहर गर्ने प्रायः हाड हाम्रा हुँदैनन्, आयातित हाड हुन्छन्। हामीले आफ्नो घाँटीले ढुक्कले सक्छ भन्दै भयंकर हाड आँखा लगाइरहँदा देश चाहिँ 'मेरो घाँटी पनि हेर्दिन्छन् कि' भन्दै पुलुक्क हामीतिर हेरिरहेको हुँदो हो।
एकपटक आफ्नो घाँटीलाई थपथपाएर देशतिर हेर्ने हो भने देखिन्छ, अहिले देशको घाँटी खुम्चिएर परेवाको जस्तै भएको छ। चारो खोज्न चारैतिर घुमाउन त सक्छ तर अत्ति सानो छ। हामीले यसैगरी आवश्यकता बिनाका आयातित लुगा कपाकप निलिरह्यौं भने चाँडै हाम्रो घाँटीले चामल पनि निल्न सक्ने छैन। किन्नलाई चामल नै रहेन भने 'मेरो पैसा मेरो मर्जी' भन्दै जति पैसा उडाए पनि भोक मेटिँदैन।
हो, जिन्दगीमा आफू जे गर्दा खुसी भइन्छ त्यही नै गर्ने हो। खुलेर गर्ने हो। तर कपडाले किनेको खुसी पुरिन कपडा पुरानो समेत हुनु पर्दैन भनेजस्तो डिजाइन नहुनेबित्तिकै खुसीजति सब चिडचिडमा बदलिन थाल्छ।
फेरि नेपाल जुन जमिनमा छ, यो अध्यात्मको स्वर्ग हो। अध्यात्म, आफैंभित्रको परम सुख भेट्टाउने मार्ग। एक दिनमा एक लाख उडाउँदा पनि शान्ति नभेट्ने मान्छेहरू आफूभित्रको आनन्द खोज्न आउने भूमि। यस्तो दिव्य ऊर्जाले घेरिएका हामीलाई भव्य उत्सव नमनाई, भयंकर खर्च नगरी, सिनेमाका जस्ता तस्बिर नखिची खुसी नै नलाग्ने कहिलेदेखि भयो?
हामी आफ्नो सभ्यताबाट यति टाढा कहिले आइपुग्यौं?
थेग्ने प्रकृति, किन्ने स्थिति सबै रोइरहँदा पनि खुसी किनेर मात्रै खुसी हुनसक्ने यो कहाँ आइपुग्यौं?
अहिले पनि हाम्रो आत्मालाई सोध्ने हो भने हामी कसैलाई पनि प्रकृतिको कमलो छाला प्रदूषणले पोल्ने रहर छैन। हाम्रो नियत त्यो हुँदै होइन। हामी त वातावरण सेनानी हौं।
चर्चित सिनेमा 'ब्याटम्यान बिगिन्स' मा एक लाइन छ नि- 'तिमी भित्र के छौ, त्यसले होइन, तिमीले के गर्छौ त्यसले तिमी को हौ भनेर चिनाउँछ।'
हामीभित्र पनि प्रकृतिका लागि, पृथ्वीका लागि प्रेम नै प्रेम छ। तर हामी जे गरिरहेका छौं, के यसले हामीलाई प्रेमी भनेर चिनाउँछ?
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt