अमेरिकी फोटोग्राफर चान चावलाई लाग्छ – संसारका सबै देश र सबै मानिस कुनै न कुनै तरिकाले एकअर्कासँग जोडिएका छन्।
उनीहरूको भाषा फरक होला, वेशभूषा फरक होला! जात, धर्म, संस्कृति लगायत यावत् कुरा फरक होलान्। तर केही तार यस्ता छन्, जसले संसारका सबै देशलाई एकअर्कासँग जोड्छ।
सारा संसारलाई आपसमा बाँधेर राख्ने त्यो तार के होला?
चान चावले यसको उत्तर खोजेका छन् — आप्रवासी कामदार।
यही खोजीमा उनी केही साताअघि नेपाल आएका थिए। यहाँको छोटो बसाइमा उनले काठमाडौं र वरपरका गाउँघर घुमेर थुप्रै नेपाली अप्रवासी कामदारको फोटो खिचे र तिनै फोटोहरूको चिनो बोकेर अमेरिका फर्किए।
हुन त उनले नेपालबारे सुनेको धेरै अगाडि हो। यहाँका विशाल हिमशृंखलाहरूले अरू धेरै विदेशीलाई जस्तै चावलाई पनि आकर्षित गरेको थियो। यति हुँदाहुँदै उनले नेपाल आएर फोटो खिच्ने योजना बुनेको एक वर्ष पनि भएको छैन।
'अहिले थुप्रै नेपाली रोजगारको सिलसिलामा विदेश गएका छन्। मैले त्यस्ता कामदारको विषयमा काम गर्न थालेपछि नेपाल आउने साइत जुर्यो,' पहिलोपटक नेपाल आएका चावले भने।
चावलाई यो विषयमा काम गर्ने रूचि जाग्नुका पछाडि विशेष कारण छ — उनी स्वयं आप्रवासी हुन्।

सन् १९९८ मा बर्माको आन्तरिक द्वन्द्व छल्दै उनको परिवार अमेरिका पुगेको थियो। त्यति बेला उनी १२ वर्षका थिए। उनी अमेरिकामै हुर्किए, उतै पढे।
उमेरसँगै फोटोग्राफीमा उनको रूचि बढ्यो। उनले यही क्षेत्रमा आफ्नो करिअर बनाए।
'मलाई मान्छे भेट्न मन लाग्थ्यो। पत्रपत्रिकामा आफ्नो नाम आएको देख्न मन लाग्थ्यो। फोटोग्राफर भएपछि कन्सर्ट र कार्यक्रमहरूमा सित्तैमा जान पाइन्छ भन्ने लोभले पनि मलाई यो क्षेत्रमा लाग्न आकर्षित गर्यो,' २० वर्ष उमेरमा फोटोग्राफी थाल्दाका दिन सम्झेर हाँस्दै चावले भने, 'मैले फोटोग्राफीको कखरा पनि जानेको थिइनँ। साथीहरूसँग प्राविधिक कुरा सिक्दै यो क्षेत्रमा लागेको हुँ।'
सुरूआती दिनमा चावले कलेजकै पत्रिकामा आफूले खिचेका फोटोहरू छपाएका थिए। बिस्तारै व्यावसायिक फोटोग्राफीमा उनको झुकाव बढ्न थाल्यो।
उनले फोटोग्राफीको एउटा गुण बुझेका थिए – फोटोले मान्छेसँग जोडिन सहज बनाउँछ।
यही बुझाइले फोटोग्राफीमा खुरन्धार लागेका चावले राष्ट्रिय पत्रिकादेखि इटाली र क्यानडाका पत्रिकामा समेत आफूले खिचेका फोटोहरू छपाए। तर बिस्तारै उनलाई पत्रिकामा छापिएका फोटाको आयु सीमित हुन्छ भन्ने सोच आयो।
'पत्रपत्रिकामा एक प्रकारको हतार हुन्छ। त्यहाँ छापिएका फोटाको चर्चा दुई–चार दिन मात्र हुन्छ। त्यसपछि फेरि अर्को काममा लागिहाल्नुपर्छ। मलाई भने कुनै खास विषयमा समय दिएर काम गर्न मन थियो। मलाई त्यस्तो फोटो खिच्न मन थियो, जसको आयु लामो हुन्छ,' चावले भने।
लामो आयु भएका फोटा खिच्ने क्रममा उनले अहिलेसम्म चारवटा किताब निकालिसकेका छन् — बर्माः सम्थिङ वेन्ट रङ, लेटर फ्रम पिएलएफ, इको र टू प्लेसेस अन अर्थ।
यीमध्ये 'बर्माः सम्थिङ वेन्ट रङ' र 'लेटर फ्रम पिएलएफ' उनले बर्मा पुगेर खिचेका फोटोहरूको संगालो हो। उनलाई ३० वर्ष हुँदा आफन्त भेट्न बर्मा जान मन भयो। दुईपटक प्रयास गर्दा पनि उनले भिसा पाएनन्। त्यसपछि अवैध तरिकाले थाइल्यान्डको बाटो हुँदै बर्मा पुगे।
'त्यहाँ जाँदा मेरो दिमागमा फोटोग्राफीको कुनै प्रोजेक्ट थिएन। मलाई त्यहाँ बसोबास गर्ने आफ्ना भाइ–भतिज र अंकल–आन्टीसँग भेट्न मन थियो। मसँग क्यामरा थियो, त्यही भएर म फोटोहरू पनि खिच्थेँ,' चावले भने, 'म बिहान र साँझ फोटो खिच्दै हिँड्थेँ र दिउँसोभरि त्यहाँका शिविरमा घुमेर बर्माको राजनीति र इतिहासबारे कुराकानी गर्थेँ।'
उनले अगाडि भने, 'पछि मलाई आफूले खिचेका फोटा राम्रो लाग्यो। मैले यसलाई प्रोजेक्टका रूपमा काम अघि बढाउने निधो गरेँ।'
चावले थाइल्यान्ड सीमाबाट दुईपटक बर्मा यात्रा गरेका थिए। तेस्रोपटक उनी भारतको सीमाबाट गए। पहिलेको अनुभवले उनलाई दोस्रो यात्रामा सहज भयो। अघिल्ला यात्रामा खिचेका १२ वटा 'पोट्रेट' फोटा लिएर उनी शिविरका नेताहरूलाई देखाउन गए।
'आफू के काम गरिरहेको छु भनेर राम्ररी बुझाउन मलाई मान्छेको आकृतिले सहज बनायो। नभए उनीहरूलाई बुझाउन गाह्रो हुन्थ्यो होला,' उनले भने।
जब उनले शिविरका नेताहरूलाई हेर्न दिएका फोटा फिर्ता मागे, ती नेताले भने, 'पर्ख! हामीलाई हेर्न पुगेकै छैन।'
यसले चावलाई पोट्रेट फोटोको महत्त्व थाहा भयो।
'त्यो अनुभवबाट मैले मान्छेका आँखाको, अनुहारका भावभंगीको महत्त्व कति धेरै हुन्छ भन्ने बुझेँ। मानिसहरूले मुहारचित्रमा कसरी अन्तरसम्बन्ध भेट्छन् भन्ने महसुस गरेँ,' उनले भने, 'मैले के कथा भन्न खोजिरहेको छु भन्ने मानिसको आकृतिबाटै व्यक्त होस् भनेर पोट्रेट फोटोग्राफी गर्ने निर्णय गरेको हुँ। मैले कुनै अपरिचित व्यक्तिको फोटो खिचेँ भने पनि जो–कोहीले त्यसलाई बुझ्छन्। पोट्रेट फोटोग्राफी मलाई युनिर्भसल भाषाजस्तै लाग्छ।'
त्यसपछि नै चावले आफ्नो पहिलो किताब 'बर्माः सम्थिङ वेन्ट रङ' निकालेका हुन्।

उनको दोस्रो किताब 'लेटर फ्रम पिएलएफ' पनि बर्माको शिविरमै भेटिएका एक मान्छेका कारण बनेको हो।
उनी शिविरमा बस्दा राति लस्करै सुत्नुपर्थ्यो। जसको छेउमा सुत्थे, ती मान्छेसँग धेरै कुराकानी हुन्थ्यो। शिविरबाट अमेरिका फर्केपछि पनि चिठीमार्फत कुराकानी जारी रह्यो। तिनै चिठी र त्यहाँ खिचेका फोटा संकलन गरेर चावले दोस्रो किताब निकालेका हुन्।
बर्माका यी प्रोजेक्टबाट चावले निकै चर्चा कमाए। त्यही चर्चाका कारण उनले एउटा प्रोजेक्टको काम पाए, जुन 'न्यूड फोटोग्राफी' मा केन्द्रित थियो। त्यसबाट उनले 'इको' नामको किताब निकाले।
अर्को किताब 'टू प्लेसेस अन अर्थ' साइप्रसमा खटिएका राष्ट्रसंघीय शान्ति सैनिक र पेरूका महिला कैदीको फोटोमा केन्द्रित छ। साइप्रसमा १७ देशका मानिस द्वन्द्व र शान्तिका कारण जोडिएका थिए भने पेरूमा युरोप, अमेरिका र एसियाका महिला कैदीहरू कोकिन तस्करीका कारण जोडिएका थिए।
यी सबै कामबाट चावले मानवीय अन्तरसम्बन्धलाई कति महत्त्व दिन्छन् भन्ने थाहा हुन्छ। उनले आफ्ना सबै काममा पोट्रेट फोटोग्राफीलाई प्राथमिकतामा राखेका छन्। पोट्रेट फोटो खिच्नु भनेको एउटा मान्छेको अनुहार, भावभंगी र वेशभूष क्यामरामा कैद गर्नु हो। त्यसो गर्दा कहिलेकाहीँ वरपर के भइरहेको छ भन्ने घटनाक्रमको अभाव महसुस हुनसक्छ।
यसबारे उनी भन्छन्, 'बर्मा जाँदा त्यहाँ भइरहेका गतिविधि पनि खिच्नुपर्ने थियो भन्ने भएको थियो। तर फोटोग्राफरले म यस्तो धारमा काम गर्छु भनेर पहिल्यै निर्णय गर्नुपर्छ। गतिविधि कैद गर्ने मोसन फोटोग्राफी गर्दा तपाईंको विषय मानिसभन्दा त्यो घटना हुन्छ। यस्तोमा तपाईंले त्यो मानिसलाई राम्ररी चिन्नुहुन्न वा चिनाउन सक्नुहुन्न जस्तो लाग्छ।'
करिब ३० वर्ष पोट्रट फोटोग्राफी गरेका चावले भने, 'मोसन फोटोग्राफी र पोट्रेट फोटोग्राफी दुवैका केही न केही कमजोरी छन्। कहिलेकाहीँ मलाई दुवै गर्न सकेको भए हुन्थ्यो जस्तो लाग्छ। तर फोटोग्राफरका रूपमा मैले आफ्नो मूलधार बनाउनुपर्छ। अनि मलाई पोट्रेटहरू मसँग सिधा संवाद गर्छन् जस्तो लाग्छ। त्यही भएर म यसमा रमाएको छु।'
जब मान्छेहरू फोटो खिचाउन क्यामराअगाडि उभिन्छन्, उनीहरू प्रायः हाँसिरहेकै फोटो खिचाउन चाहन्छन्। मनमा जतिसुकै दुःख भए पनि त्यो बाहिर नओस् वा नदेखियोस् भन्ने नै चाहन्छन्। चावलाई भने मान्छेले जे महसुस गरिरहेको हुन्छ, त्यही खिच्न मन लाग्छ।
यस्तो कसरी सम्भव छ?
जबाफमा उनले आफ्नो एक अनुभव सुनाए, 'एकपटक मैले कैदी महिलाको फोटो खिच्दा ती महिलालाई नहाँस्न अनुरोध गरेँ। जस्तो अनुभव गरिरहेको छ, त्यस्तै भाव व्यक्त गर्न भनेँ। सुरूमा त उनलाई मेरो कुरा चित्त बुझेको थिएन। तर जब मैले फोटो देखाएँ, आफ्नो भावना अनुहारमा छचल्किएको देखेर उनी खुसी भइन्।'
चावको अर्को विशेषता भनेको उनी डिजिटल फोटोग्राफीभन्दा एनालग (फिल्म) फोटोग्राफी रूचाउँछन्। चार–पाँच वर्षयता भने उनले एनालग क्यामरा बेचेका छन् र डिजिटलमै काम गरिरहेका छन्।
'एनालग महँगो हुन्छ। त्यसबाट फोटो निकाल्न समय लाग्छ। तैपनि मलाई यो मनपर्छ, किनभने यसबाट निस्कने फोटो डिजिटलमा जस्तो उस्तै हुन्न। एनालगबाट फोटो निकाल्दा कुन केमिकल हालेको छ र कस्तो समयमा धुलाएको छ भन्नेले धेरै फरक पार्छ। यो हेर्नु निकै रमाइलो प्रक्रिया हो,' उनले भने, 'अहिले तपाईंले एनालगबाट फोटो खिचे पनि त्यसलाई स्क्यान गर्नुपर्छ र डिजिटाइज गर्नुपर्छ। अन्तिममा डिजिटल फाइल नै पाउने भएकाले मैले डिजिटल नै गर्न थालेको हुँ।'
एनालगबाट डिजिटलतर्फ लागेका भए पनि चाव आफ्ना विद्यार्थीलाई एनालग फोटोग्राफी नै सिकाउँछन्। अहिले उनी अमेरिकाको जर्ज वासिङ्टन र अमेरिकन विश्वविद्यालयमा पढाउँछन्।

उनलाई मैले एआई फोटोग्राफीबारे पनि सोधेकी थिएँ। चावलाई एआईले फोटोग्राफरको काम गर्नसक्छ भन्ने लाग्दैन। एआई र मान्छेले खिचेको फोटो सजिलै छुट्याउन सकिने उनी बताउँछन्।
'एआईले मान्छेको फोटो बनाउन सक्ला, तर मान्छेको जस्तो छाला बनाउन सक्दैन। मान्छेको शरीरमा केही न केही उबडखाबड वा छालाको अनियमित रङ हुन्छ। एआईले भने सबै उस्तै खालको बनाउँछ। मान्छेका स–साना विवरण एआई फोटोग्राफीमा हुन्न,' उनले भने।
अब हामी चावको नेपाल यात्राबारे कुरा गरौं।
दुई साताअघि नेपाल आउँदा चावको सम्पर्क नेपालका पत्रकार जनकराज सापकोटासँग भएको थियो। उनलाई चावले काठमाडौं नजिकका ठाउँहरू गएर अप्रवासी कामदारको फोटो खिच्न मन भएको बताएका थिए।
त्यसको दोस्रो दिन बिहान ६ बजे नै उनीहरू मेलम्ची गए। त्यहाँ केही फोटा खिचेर अर्को दिन नगरकोट गए।
नगरकोट बसेको अर्को बिहानको घटना चाव अझै सम्झन्छन्।
उनले आफ्नो होटलको बार्दलीबाट मोबाइलमा खिचेको ल्यान्डस्केप फोटो देखाउँदै भने, 'त्यहाँबाट जुन दृश्य देखेँ, त्यसले म आश्चर्यचकित भएँ। त्यस्तो दृश्य मैले पहिला देखेकै थिइनँ। म आफ्नो परिवारलाई सामान्यतया आफूले खिचेको फोटो पठाउँदिनँ। तर नगरकोटमा जुन दृश्य देखेँ, मैले आफूलाई रोक्नै सकिनँ। त्यो फोटो हेरेर मेरी छोरीले 'मलाई पनि यहाँ लग्नुपर्थ्यो नि' भनेकी थिइन्।'
मेलम्ची र नगरकोटमा अप्रवासी कामदारहरूको फोटो खिचेपछि काठमाडौं विमानस्थल पुगेर चावले विदेश उड्न लागेका नेपाली कामदारको फोटो खिचे।
त्यसपछि उनी श्रम विभाग पुगे र त्यहाँ वैदेशिक रोजगारमा जान लस्कर लागेका नेपालीहरूको फोटो खिचे।
यसबाहेक केही फोटोग्राफी वर्कसपमा आफ्ना अनुभव साटेर उनी स्वदेश फर्किए।
आप्रवासी कामदारहरूको यो प्रोजेक्टलाई चाव बहुराष्ट्रिय बनाउन चाहन्छन्। त्यही भएर उनी रोजगारका लागि विदेश जाने चलन भएका अन्य देश पनि जान चाहन्छन्। अब उनको योजना हङकङ गएर त्यहाँका फिलिपिनो कामदारहरूको फोटो खिच्ने हो।
'एकपटक हङकङ जाँदा मैले बाटो, भर्याङ, पोखरी सबैतिर फिलिपिनोहरू मात्र देखेको थिएँ। बुझ्दाखेरि आइतबारको छुट्टी भएकाले कामदारहरू भेला हुन आएका रहेछन् भन्ने थाहा भयो। म उनीहरूलाई भेटेर फोटो खिच्न चाहन्छु,' उनले भने।
उनी दक्षिण अमेरिका, निकारागुआ लगायतका देश पनि जान चाहन्छन्। यसअघि बर्मा, पेरू लगायत देश गइसकेका चावलाई मैले सोधेँ, 'तपाईंको रोजाइमा प्रायः अविकसित देशहरू नै किन?'
यो प्रश्नमा हाँस्दै चावले गम्भीर उत्तर दिए, 'मलाई लाग्छ धनी देशका मानिस वास्तविक संसारमा बाँच्दैनन्। उनीहरू भौतिक संसारमा बाँच्छन्। आफ्नो वरपर के भइरहेको छ भनेर देख्दैनन्। वा, देखे पनि अनदेखा गर्छन्। त्यही भएर मलाई यस्ता देश जान मन लाग्छ, जहाँको समुदाय, मानिस र जीवनशैली कृत्रिम हुँदैन। मलाई उनीहरूको कथा क्यामरामा कैद गर्न मन छ।'
चावलाई संसार र मानिसहरूलाई आपसमा जोड्ने विषयमा थप काम गर्न मन छ। यसमा धर्म, संस्कृति, व्यापार लगायत पर्छन्। तर कुन विषयमा काम गर्ने भनेर निधो गरिसकेका छैनन्।
'अब कहिले नेपाल आउनुहुन्छ त?'
मैले छुट्टिने बेला सोधेको यो प्रश्नको जबाफमा उनले भने, 'मलाई यहाँका मान्छे, संरचना, संस्कृति र मौसम खुब मन पर्यो। यहाँ विविध समुदायका मानिस भेटिने भएकाले कहिलेकाहीँ त मलाई एसियाको कुनै देशमा छु भन्ने महसुस नै भएन। मेरो पहिलो नेपाल अनुभव सन्तोषजनक रह्यो। तर म फेरि यहाँ फोटो खिच्न आउँदिन होला। यो प्रोजेक्टका लागि जति फोटो खिच्नुपर्ने हो, त्यो खिचिसकेको छु। अब नेपाल आएँ भने फोटोग्राफर भन्दा पर्यटकका रूपमा मात्र आउनेछु।'
***