रुघा लाग्यो। दिनरात रट्दा पनि याद नहुने सामान्य ज्ञान र सामान्य रुघाखोकी उस्तै रहेछ। नामको सामान्य, हुन्छ सब असामान्य!
जिउ दुखेर रातभर सुत्न भएको छैन। नाकका दुइटा प्वाल किस्ता किस्तामा सास फेर्छन्। निधारको नसा टाइम-बम जस्तो गर्छ। छट्! छट्! छट्! छट्! कुन बेला पड्किएर टाउको फुटाउने हो। उफ्!
सुँक्सुकाउँदै हाकिमलाई फोन गर्नुभयो, 'मेडम, रुघाले ग्रस्त पार्यो। उठ्नै सकिरा' छैन भन्या। आज अफिस आउदिँनँ कि क्या हो।'
तपाईंको बोली सकिएकै थिएन, उताबाट उर्दी आइहाल्यो, 'काँ जाबो रुघाखोकीले उठ्न सकिन भनिरा'? मौसम बदलिँदैछ, नियमित प्रक्रिया हो नि यो त। हाम्रो घरमा त कसैलाई त्यस्तो अफिसै जान नसक्ने हुन्न त रुघाले! यसो बाफ लिएर आउनु खुरुखुरु। नाटक्।'
झनन्न रिस उठ्छ होइन? रिसकै तातोले अब रुघामा ज्वरो पनि थपिएला जस्तो। उनलाई हुँदैन होला रे गाह्रो, तर यो त तपाईंको जिउ हो नि यार! एउटै रोगले पनि कति थलाउने, रोग पकडेको जिउअनुसार फरक पर्ला नि।
'यसै त अफिस छोड्न कसलाई रहर हुन्छ र? आफ्नो सजिलो हेरेर अरूको अप्ठ्यारोलाई नाटक भन्दिने?'
मनमनै रन्थनिनु हुन्छ नि?
महिनावारीको कथा ठ्याक्कै यही हो।
केही दिनअघिको कुरा हो, काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफ्ना एजेन्डाहरू सुनाउने क्रममा महिनावारीमा चाहिने बिदाको प्रसंग निकालिन्।
'महिनावारी समयमा धेरै महिलालाई कार्यालय जान गाह्रो हुन्छ। यो गाह्रो महिलाले बाहेक पुरुषले सायद कमै मात्रै बुझ्नुहुन्छ होला। विशेषगरी महिनावारीको समयमा हामीले बिदाको प्रबन्ध कसरी मिलाउन सक्छौं, त्यसका लागि पनि नीति-कार्यक्रमहरू अगाडि सार्ने छौं।'
डंगोलले यति बोली सक्दानसक्दै यो चुनावी भाषण एकाएक सामाजिक बहसमा परिणत बन्यो। उनको एउटा वाक्यले अरू हजार वाक्य जन्माउने गरी खैलाबैला मच्चाइदियो।
जिन्दगीमै कहिल्यै महिनावारी नभोगेकाहरूले खिल्ली उडाउने बाटो पाए- अनि सुरूसुरूमा त कोहीकोहीलाई महिनामा दुईचोटि हुन्छ रे त, के गर्ने अनि?
यसै पनि समानताका विरोधीलाई झन् च्वास्स लाग्ने नयाँ मसाला भेटियो- समान छौं पनि भन्ने, अनि फेरि विशेष बिदा पनि चाहिने? गाउँका महिलाहरू डोको बोकेर हिँड्छन्, कुर्सीमा बसेर काम गर्नेको चटक!
अनि एकथरी, वर्षौंदेखि औषधि खाँदै, दुखाइ सहँदै कार्यालय जाने, जानै नसक्दा ज्वरो आयो भन्दै बहाना पारिरहेकाहरूलाई साँच्चै डर लाग्यो– यसै पनि महिलालाई बाहिर काम पाउन, काममा टिक्न कति अप्ठ्यारो छ। यसरी बिदा दिनुपर्छ भन्दा, त्यही डरले महिला कर्मचारी नै राख्न छाडे भने? भो, अलि दह्रो हुनुपर्छ, दुखे पनि दबाएर काम गर्नुपर्छ।
यो खिल्ली, मसला र डरको बीचमा, सबभन्दा धेरै सुनिएको बिदाविरोधी पुलिंग तर्क चाहिँ– हाम्री आमा त उहिले महिनावारी सैनावारी केही नभनी घाँस दाउरा गर्थिन् त! अहिले दिदी, श्रीमती पनि काममा गइरहेकै छन्। किन चाहियो बिदा?
अनि केही उस्तै स्त्रीलिंग तर्क– हामीलाई नि हुन्छ हौ महिनावारी। अलिअलि गाह्रो हुन्छ त अब। भ्याटभुट औषधि खाने, उठ्ने हो। दुखाइ भनेको जिउमा कम टाउकोमा बढी हुन्छ। कमजोर छु सोचेपछि झन् कमजोर भइन्छ।
यस्ता तर्क दिने जो जो थिए, यी सबैले एउटा साधारण तथ्य चाहिँ बिर्सिए। या सायद याद आयो, मतलब भएन। त्यो के भन्दा, प्रत्येक महिलाको महिनावारी पीडा एकै दुरुस्तै हुनु त धेरै टाढाको कुरा, एउटै महिलाको महिनावारी पीडा पनि महिनापिच्छे फरक हुन सक्छ।
१६ वर्ष हुन्जेल मेरा लागि महिनावारी भनेको टालो लगाउनुपर्ने गिजमिज मात्रै थियो। भान्सा छुन नहुने, अलग्गै बिस्तारा लगाउने, चार दिनपछि भएभरका कपडा धुने झन्झट पनि हो। तर कसैले 'पिरियड हुँदा बिरामी पर्छु' भन्दा चाहिँ म साँच्चै अचम्म पर्थेँ। झन् आमा पनि त्यस्तै, महिनावारी हुँदा एकपटक ऐया नि नभनी, खुरूखुरू भान्सा बाहिरको सब काम गरिदिने देखेर होला, लाग्थ्यो, 'कसरी कोही जाबो छोइँदैमा थला पर्छ?'
तर ११ पढ्न थालेपछि एक्कासि महिनावारीले मेरो माया मारिदियो। अब मेरा लागि महिनावारी भनेको आफ्नो रातो रगत मात्रै रहेन। कलेज रजिस्टरमा हरेक महिना मेरो नामको छेउमा लाग्ने रातो थोप्लो पनि महिनावारीकै हिस्सा बन्यो।
केही गरी कलेजमै हुँदा महिनावारी भयो भने? अत्तालिँदै होस्टल जाऊ, गएर ह्वालह्वाल वान्ता गर। बेहोस होउँला कि भन्दै डराउँदै दिनभर पेट च्यापेर छट्पटिऊ। केही खान सक्दिनथेँ, सासै रोकिएला जस्तो। औषधि, 'हट ब्याग' ले थोरै त बिसेक हुन्थ्यो, तर औषधि निलेरै पनि महिनावारीको दिन खाटबाट निक्लेर काम गर्ने त सपनामा पनि नसोचे भयो। महिनावारी हुँदा थला पर्नु के हो, मैले थाहा पाएँ।
अहिले म महिनावारी हुन थालेको बाह्र वर्ष भयो। यस बीचमा म कुनै महिना बीच सडकमा चक्कर लागेर थचक्क बसेकी पनि छु। कुनै महिनावारीमा जुरुक्क उठेर दौडधुप गर्दै छमछमी नाचेकी पनि छु। कुनै बेला अलिअलि अप्ठ्यारो हुन्छ, सहन सक्छु। कुनै बेला, दाँयाबाट बाँया फर्किन पनि सक्दिनँ।
'मेरा सबै महिनावारी सधैं ठ्याक्क यति सह्य हुनेवाला छन्' भनेर जसको महिनावारी हो उसैलाई समेत ठोकुवा गर्न मुश्किल पर्छ। अझ महिनावारी नै नहुने पुरुष, जसको महिनावारी हो ऊबाहेक अरू महिला, यी त झन् अन्दाजका खेलाडी।
होला, तपाईंलाई/तपाईंकी आमालाई महिनावारीले सधैं नरम सूतिजसरी सुम्सुम्याइरह्यो होला। तर कसैको लागि त्यही महिनावारी आखाँको नानीमा जुटको बोराले रगडेजस्तो हुन्छ। अझ खासमा तपाईं पुरुष हुनुहुन्छ भने त 'मेरी आमालाई कहिल्यै गाह्रो भएन' भनिहाल्नुअघि फेरि एकपटक सोच्नुहोस्। आमालाई फेरि सोध्नुहोस्। हाम्रा कति आमालाई महिनावारी हुँदा पीडा भएन किनकि उहाँहरूलाई महिनावारी हुँदाको पीडालाई पीडा भन्न पाइन्छ भन्ने थाहा नै थिएन।
मलाई महिनावारीका बेला कसैले यत्तिकै जिस्क्यायो, चलायो, निउँ खोज्यो भने अलि चाँडै झिँजो लाग्छ। घर गएका बेला पहिल्यै भन्छु, 'पिरियडका बेला मलाई रिस उठ्छ, चिडचिड हुन्छ, नजिस्किनु है।'
मेरो कुरा सुनेर बालाई, दादालाई अचम्म लाग्थ्यो होला। किनकि आमाले त त्यस्तो गुनासो कहिल्यै गर्नु भएन।
तर पोहोर घर गएका बेला हो, एकदिन आमाले कपडा धुँदै गर्दा सुनाउनुभयो, 'तिमीले भन्छ्यौ नि कान्छी चिडिचिड, हो त्यस्तै हुन्छ मलाई। कोही नबोलिदियोस् जस्तो। निउँ खोज्ने जति सबलाई पिट्दिऊँ जस्तो।'
आमालाई सायद महिनावारीमा यो अप्ठ्यारो पहिले पनि हुन्थ्यो। तर छोरीले महिनावारीको अप्ठ्यारोलाई अप्ठ्यारो भन्न पाइन्छ भनेपछि मात्रै आमालाई आफ्नो अप्ठ्यारो सुनाउने आँट आयो। आँटले यति काम गर्यो कि, अब त बालाई समेत थाहा छ, आमालाई महिनावारी नजिक हुँदै अलि चिडचिड हुन्छ। त्यसैले यस्तो बेला आमासगँ बेमतलबमा निउँ खोज्नु हुन्न। बरू ज्ञानी बनेर भनेको मान्दिनु ठीक!
बालाई थाहा भयो, आमालाई सजिलो भयो, किनकि घरमा महिनावारीबारे कुरा भयो।
देशमा, बल्ल कुरा हुँदैछ।
आजसम्म हामीले महिनावारीबारे वर्षभरि बोल्यौं। तर प्रायः सुनाउने वारि अनि सुन्ने पारि बसेर।
'महिलालाई चार दिन विश्राम गर्न छुट्टी दिएको हो नि' भन्दै आफ्नो रूढिवादी चलनलाई पुष्ट्याइँ समेत गर्यौं। तर कस्तो गाह्रो हुन्छ, कस्तो विश्राम चाहिन्छ, यो चाहिँ नसोधेर। सफा प्याडबारे अलिअलि सुन्यौं अनि लाग्यो प्याड नै महिनावारीका सब दुखाइको औषधि हो।
प्याडले रगत सोस्छ, दुखाइ होइन। जिउ त प्याड लगाए पनि दुख्न सक्छ। भान्साभित्र पस्न पाए पनि दुख्न सक्छ। मन्दिरमा गएर टीका थापे पनि दुखिरहन सक्छ।
छाउगोठ, भान्सा, मन्दिर, टीका, सबै महिनावारीकै लडाइँ हुन्। तर यीभन्दा पनि पहिले महिनावारी, महिनावारी भइरहेको शरीरको कथा हो। हामीले सधैं गहिराइमा नसुनी सतह मात्रै वाचन गरिरहेको कथा।
अहिले माग भइरहेको महिनावारी बिदा खासमा हाम्रै दयालु संस्कृतिले दिएको चारदिने छुट्टीकै निरन्तरता हो। फरक यत्ति, यो छुट्टीको चाबी चाहिँ 'पाप' सँग होइन, जसलाई छुट्टी चाहिएको हो, उसैसँग हुन्छ। प्रायःलाई दुई दिनको छुट्टीले पुग्न सक्छ। कसैलाई चाहिँदै नचाहिन सक्छ। अनि यो छुट्टी अँध्यारो कुच्रुक्क कोठामा होइन, न्यानो बिस्तारामा, तातो खाँदै मनाउन मिल्छ।
महिनावारी बिदाको माग हरकोही महिलाले महिनावारी भयो कि झटपट कामबाट सुख पाइहाल्नु पर्छ भनेर होइन। जो महिलालाई महिनावारीमा गाह्रो हुन्छ, उनीहरूले आफ्नो आवश्यकताअनुसार बिदा, घरबाटै काम गर्ने सुविधा माग्दा चाहिँ त्यो हक पहिल्यै रहिरहोस् भनेर हो।
कुनै महिनावारीमा मलाई अफिसमा सफा ट्वाइलेट भइदिए मात्रै पुग्ला, बिदा लिन्नँ। फेरि मेरै अर्को महिनावारीले सिरक ओढेर छुपुक्क निदाउन खोज्ला, तब बिदा लिन्छु। कुनै महिनावारीले 'हिँड्न सक्दिनँ, तर घरमा हट-ब्यागसँग ठीक हुन्छु' भन्ला। त्यो बेला घरमै बस्छु, घरबाटै काम गर्छु।
आज खुलेर महिनावारी पीडाबारे बहस भयो, नीतिगत तहमै महिनावारी बिदाको व्यवस्था भयो भने भोलि कुनै पनि महिलाले महिनावारीमा बिश्राम चाहिँदा 'मलाई साँच्चै असह्य गाह्रो हुन्छ, यो बिदा नभई नहुने हो' भन्दै प्रमाणित गरिरहनु पर्दैन। अर्कै बिमारीको बहाना पारेर झुटो बोल्दै बिदा माग्नु पर्दैन। बल्लतल्त अफिस आएर अडिन पनि नसकेका बेला, कसैले आफूलाई 'अल्छी' भन्ला कि भन्ने डरले जबर्जस्ती उभिइरहनु पर्दैन।
एकथरी जागिर दिनेहरू तर्क गर्छन्- यसरी बिदा बढाउने हो भने कार्य प्रभावकारिता घट्छ, बिदाको दुरुपयोग हुन सक्छ।
तर यो डर कुटुकुटु मन मात्रै खाने बाघ हो। महिनावारी बिदा अपनाउनु भनेको सबभन्दा पहिले त, महिला या पारलैंगिक पुरुषलाई उनीहरूको शरीरकै कारण अरूलाई भन्दा थप अप्ठ्यारो छ भन्ने कुरा स्वीकार्नु हो। उनीहरूको दुःख देख्नु हो। कसैले आफ्नो दुःख देखिरहेको छ भन्ने थाहा हुनुले मान्छेलाई कृतज्ञ बनाउँछ, कामचोर होइन।
महिनावारीको दुखाइले महिनैपिच्छे कलेज छुटे पनि त्यो बेला मेरो पढाइ खस्किएको थिएन। एक दिन आराम गर्थेँ, निको हुँदा थप पढ्थेँ। त्यही बीचमै हो म कक्षाका महिनावारी हुँदै नहुनेहरूलाई पनि जितेर वार्षिक परीक्षामा प्रथम भएको। जुन महिनावारी बिदाले म विद्यार्थी हुँदा पढाइ बिगार्न सकेन, त्यसले म जागिरे हुँदा काम कसरी बिगार्छ?
अहिले नेपालभित्रकै केही गैरसरकारी संस्थाले महिनावारी बिदालाई स्वीकारिसकेका छन्। यदि उनीहरूले सामाजिक सञ्जालमा सुनाएको अनुभवलाई मान्ने हो भने, महिनावारी बिदा हुनुले उनीहरूको कार्यालय सुस्ताएको छैन, बरू सुन्दर भएको छ।
बिदा कसरी दिँदा सजिलो हुन्छ, कति दिँदा सही हुन्छ, अनुसन्धान, सही नीति, प्रणाली सब आवश्यक छ, पक्का हो। तर त्यहाँ पुग्ने बाटो, अन्दाजको भरमा गरेको विरोध होइन। खिसिट्युरी त झन् हुँदै होइन।
सन् १९९२ को कुरा हो। हाम्रै छिमेकी देश भारतको विहार राज्यमा करिब दुई लाख बढी महिलाले दुई महिना बढी विद्रोह गरे। त्यो बेला सरकार प्रमुख लालुप्रसाद यादव थिए जो तुलनात्मक रूपमा महिला मुद्दामा अलि अनुदार मानिन्छन्। तर उनकै सरकार हुँदा महिलाहरूले घरबाट, सडकबाट, कागजबाट, निरन्तर आवाज उठाए र अन्ततः बिहार सरकारले महिनावारी बिदाको औचित्य स्वीकार्यो। ४५ वर्ष मुनिका सबै महिला सरकारी कर्मचारीलाई महिनामा दुई दिन महिनावारी बिदा दिने व्यवस्था भयो।
शासक अनुदार छ भन्ने थाहा हुँदा पनि दुई महिनासम्म त्यहाँका महिलाहरू किन निरन्तर लडिरहे होलान्?
उनीहरूलाई महिनावारी बिदा किन त्यति जरूरी लाग्यो होला?
अहिले सन् २०२२ हो, यो घटना भएको ३० वर्ष भइसक्यो।
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt