पढिरहेको स्कुल घरभन्दा अलि धेरै पर थियो। चर्को घाममा दुई किलोको झोला बोक्दै दुई किलोमिटर हिँडेर घर आइपुग्दा, खुट्टा पानीले भिजेका पानाजस्तै हुन्थे। गलेर फतक्क।
त्यसैले तीन कक्षा सकेर चारमा पुगेपछि, नजिकैको नयाँ स्कुलमा सरूवा भयो। नयाँ ड्रेस, नयाँ रिबन अनि बुवाको पालिस दलेर पुरानै भए पनि टिलिक्क पारेका जुत्ता। म उज्याली भएर नयाँ स्कुल पुगेँ।
पुगेकै दिन नयाँ स्कुलमा नयाँ कुरा सिकियो।
त्यसअघि मलाई थाहा भएको, स्कुल कि सरकारी हुन्छ कि बोर्डिङ। तर बोर्डिङ स्कुलकै पनि अरू थुप्रै हाँगाबिँगा हुने रहेछन्। मोटो हाँगामा अग्लो भवन ठड्याउने एउटा, मसिना हाँगामा भाडाको भवनभित्र जेनतेन झुन्डिने अर्को। थरीथरीका। जति धेरै महँगो, जति धेरै स्कुल बस, जति चौडा चउर अनि जति धेरै सेक्सन, स्कुल उति ठूलो हुने रहेछ।
गएको दिन नै नयाँ स्कुलका नयाँ साथीहरूले सुनाइहालेः
पहिलो - 'त्यो भ्याली टप हो कि भालु टपमा त इङ्ग्लिस बोल्न नि सिकाएको छैन होला नि?'
अर्की - 'हाहाहा। सरकारी स्कुल हो?'
'थर्ड ब्वाइ' ले अलि लामै दियो, 'तिमीहरूको सानो स्कुलमा फर्स्ट भएजस्तो होइन यहाँ। हाम्रो फर्स्ट ब्वाइ त चुरोट भन्या पनि बुझ्दैन, सिगरेट मात्रै बुझ्छ। हाम्रोमा त ए सेक्सनमा पढ्न पाइरहेकी छौ, त्यही ठूलो कुरा हो। यहीँ टिक्न गाह्रो छ।'
अन्त्यमा सबै सँगै - हाहाहा।
अहिले सम्झिन्छु र लाग्छ, जाबो 'सिगरेटलाई नेपालीमा चुरोट भनिन्छ' भन्नेसम्म थाहा नपाउने कस्तो फर्स्ट ब्वाइ!
तर यो जवाफ अहिले आएको हो। त्यो बेला त म केही बोल्न सकिनँ। घाँटीमा सानो गाँठो पर्यो, बोली फुटेन।
यत्ति थाहा भयो, म सानो स्कुलबाट ठूलो स्कुलमा आएकी रहेछु, अब एक्लै भएँ।
अब स्कुल नजिकै थियो। हिँड्न सजिलो भयो। तर म भने पहिलेभन्दा झन् बढी थाक्न थालेँ। लाग्न थाल्यो, स्कुल गएर रुन्चे अनुहार लाउनुभन्दा त बरू घरमै रुन्चे अनुहार देखाएर स्कुलै नजानु जाती। स्कुलमा हार्नुभन्दा त घरमै हराउनु जाती।
म 'पेट दुख्यो', 'टाउको दुख्यो' भन्दै अनेक बहाना गरेर स्कुलबाट पन्छिन थालेँ। मेरा झुटा बहाना सुन्दा-सुन्दा बिस्तारै जिउलाई पनि रिस उठ्न थालेछ। केही महिनामा जिउ हप्तैपिच्छे तात्न थाल्यो। टाउको हरेक दोस्रो दिन दुख्न थाल्यो। रोगकै पनि बानी लागेपछि स्कुल नजाने बहाना सकियो।
अब म स्कुल जान त थालेँ तर मेरो 'पढ्ने मन' स्कुल जाने जिउबाट अलग्गिएछ। मन म स्कुल पुग्दा घरमै छुट्थ्यो। अनि म घरमा हुँदा, स्कुलमा एक्लै डुलिरहेको हुन्थ्यो। मैले आफ्नै उमेरका सँगै पढ्ने कसैलाई साथी देख्नै सकिनँ। सबैलाई मैले 'हेप्ने धनीहरू' मात्रै देखेँ। आफ्नो कमाइको नाममा दक्षिणाबाहेक केही नभएका अनि आमाबाबुको मासिक कमाइसम्म थाहा नपाएका साथीले, म सस्तो स्कुलबाट आएको भन्ने चाहिँ मलाई थाहा दिइरहे।
पहिलो वार्षिक परीक्षा आयो। पढ्ने मन र पढ्ने मान्छे वर्षभरी अलग बसेपछि नतिजा के गतिलो हुन्थ्यो। अघिल्लो स्कुलमा, पूरै स्कुलबाट दोस्रो नम्बरमा आएकी मान्छे, नयाँ स्कुलमा आफ्नै कक्षाभित्र यादै नहुने नम्बरमा पुगेँ।
एक वर्ष बितिसक्दा पनि मभित्रको पढ्ने, बोल्ने, प्रश्न गर्ने मान्छे पुरानो स्कुलतिरै हल्लिरह्यो। यो ठूलो स्कुल आउने हिम्मतै गरेन।
एकदिन गणित कक्षामा, अलजेब्रा पढ्दै थियौं। सर ब्ल्याकबोर्डमा पाँचौं प्रश्न लेख्दै हुनुहुन्थ्यो। मेरो दिमाग पहिलो प्रश्नबाट अगाडि बढ्नै सकेन। अब यो अन्तिम प्रश्नपछि क्लासवर्क पाइनेवाला थियो। त्यहाँ गल्ती गरे गाली खाइनेवाला थियो। ढुकढुक हुन थाल्यो। अनि बल्लतल्ल आँट बटुलेर भनेँ , 'बुझिनँ सर।'
मेरो 'बुझिनँ सर', सरभन्दा पहिले जान्ने साथीको कानमा पुगेछ। साथी प्वाक्क बोलिदियो, 'यत्ति जाबो पनि नबुझेको?'
बुझाइदिनु पर्ने सरसहित सबजना फेरि गलल हाँसे।
मेरो डराएका ओठले कति गरेर मनसँग आँट सापटी मागेको थियो। उनीहरूले मेरो आँटलाई सामूहिक नंग्याए। त्यसपछि हातमा समाएको पेन्सिलले काठको डेस्कमा बेस्सरी प्वाल नपार्दासम्म मेरा टिलपिल भएका आँखा ब्ल्याकबोर्डतिर पर्न सकेनन्।
कक्षा ६ पुगेपछि भने आफैं आँखा उठे। सायद डेस्कमा प्वाल पार्ने ठाउँ सकिएर होला, एकाएक मेरो लघुताभाषलाई रिसले जित्न थाल्यो।
रिसले जितेपछि बल्ल याद आयो- म स्कुलमा हुँदा, 'पढ्ने मन' पो घर छुट्ने हो त। यो मन त नाच्छ पनि। गाउँछ पनि। यी जान्नेहरूसँग डराए पनि स्टेजमा त म निर्धक्क बोल्न सक्छु। यी जान्नेहरूले तर्साए पनि चउरमा त म निर्धक्क दौडिन सक्छु। पेन्सिलले डेस्कमा प्वाल पार्न मात्रै होइन, कापीमा कविता लेख्न पनि त सक्छ।
उनीहरूले मलाई जित्ने त्यही एउटा पढाइ हो। म थप पाँच विधामा यी जान्नेलाई जितेर देखाइदिन्छु!
विस्तारै मभित्रको घमन्ड नै सही, त्यसैले मलाई बचायो। हरेस खानुभन्दा चरेस खानु बेस् हो रे। सोचेँ, चरेस खानुभन्दा बरू घमन्ड खानु बेस् होला।
मैले हेपिन छाडिदिएँ। हेपिन छाडेपछि हेप्ने पनि अकमक्क पर्ने रहेछन्। एक्कासि के गर्नु, के गर्नु हुन्छ होला। उनीहरूले पनि हेप्न छाडिदिए। विस्तारै पढ्ने मन पनि फर्केर मसँगै बस्न आयो।
आजभन्दा १२ वर्षअघिको कुरा हो यो।
आज १२ वर्षका १२ वटा पर्दा खोलेर हेरेपछि देखेँ, म कति भाग्यमानी रहेछु। सबैले हेपेर दुखी हुँदा, आफैंलाई फकाइदिने गीत थिए, गीतले बहुलाउनबाट जोगायो। नाच्ने ऊर्जा थियो, ऊर्जाले ढल्नबाट जोगायो। कविता लेख्न कलम थियो, कलमले भाँचिनबाट जोगायो। बोल्ने सीप थियो, वादविवादका तर्क बनेरै सही, हेप्ने साथीसँग उठेको रिस, कहीँ न कहीँ पोखिन पायो।
तर यो सब हुँदैनथ्यो भने?
मसँग केही कला नहुनु, म कम मान्छे हुनु त होइन। यी केही सीप नभएको भए पनि मेरो मन त उस्तै हुन्थ्यो होला। मन त फकाइदिने कोही नहुँदा पनि उस्तै दुख्छ। उठाइदिने कोही नहुँदा पनि उसैगरी ढल्छ। बोल्ने हिम्मतै नहुँदा पनि भन्नुपर्ने कुरा त उति नै हुन्छ।
मलाई कलाले बचायो। मजस्तै अरू कतिलाई क्रिकेट ब्याटले, कतिलाई फुटबलले, कतिलाई टेनिस सटले बचायो होला। हामी त जसोतसो बच्यौं।
तर केही यस्ता पनि थिए होला है, जो पढ्नकै लागि जन्मिएका थिए। वैज्ञानिक हुन, शिक्षक हुन, इञ्जिनियर, डाक्टर हुन जन्मिएका थिए। उनीहरूले आफूलाई कसरी बचाए होला?
आफूलाई बचाउने केही नभएर कुनै वैज्ञानिक अन्तिम बेन्चबाटै त हराएन होला है? हौस्याउने कोही नभएर, कुनै डाक्टर कुनाको सिटबाटै गायब त भएन होला है?
कोही थियो होला, म्याथम्याटिसियन हुनलाई नै जन्मिएको। उसले पनि गणित कक्षामा मैले जसरी, 'यति जाबो पनि नजानेको?' भन्ने सुन्नुपर्यो होला कि नाइँ? कतिपल्ट हेपिएपछि उभित्रको म्याथम्याटिसियन मर्यो होला?
हाम्रा स्कुलका काठका डेस्कहरूमा कति धेरै प्वाल होलान्!
कुनै कुनै सर हुन्थे, क्लास टेस्टमा कम अंक आउँदा मसिनो बाँसको लठ्ठीले पिट्थे। पिटेको ठाउँमा रातो डाम बस्थ्यो। हेप्ने, होच्याउने, खिस्याउने बोलीले पिट्दा पनि यदि लठ्ठीले पिटेजस्तै डाम बस्थ्यो भने?
हरेक दिन छोराछोरीको रातो जिउ देखेर हाम्रा आमाबुवाको के हाल हुन्थ्यो होला? सरहरू आफूले छुँदै नछोएका विद्यार्थीको जिउमा राता-राता सुम्ला देखेर कति तर्सिनुहुन्थ्यो होला? अनि साथीको जिउमा आफैंले पारिदिएको रातो डाम देखेर हामी के गर्दा हौं?
फेसबुकमा मिमहरू देख्छु- 'सबैको क्लासमा एउटा न एउटा साथीको नाम कौवा हुन्थ्यो। त्यो साथीलाई मेन्सन गरौं त।'
'नोस्टाल्जिक' बनाउनुपर्ने यस्ता मिमले अचेल 'गिल्टी' बनाउँछन्। सँगै स्कुल पढेको त्यही 'कौवा' साथीलाई सम्झिन्छु। ती मिम हेरेर त्यो साथी कत्तिको नोस्टाल्जिक हुँदो हो!
अरू यस्ता थुप्रै साथी थिए। हात्ती, गैंडा, लामखुट्टे, मरन्च्याँसे!
स्कुल हुँदाको 'कौवा' साथीलाई आजभोलि त्यो कौवाले कति ठुङ्ग्छ होला! गैंडा, हात्ती, भैंसी नामको साथी घर गएर आफूलाई ऐनामा हेर्दै उसका मोटा खुट्टाले धान्नै नसक्नेगरी पो लड्थ्यो कि! त्यसपछि कहिल्यै पेटभरी खानै पो छोडिदियो कि!
उनीहरूको जिउको रातो डाम, अहिले कस्तो छ होला!
स्कुलमा हुने यस्ता दुर्व्यवहार (बुलिङ) ले शरीरमा राता डाम पार्न पाउँदैनन्। त्यसैले बदला लिनलाई होला आत्माभित्र गएर आत्मविश्वास गिराउने रहेछन्।
आजकाल त विद्यार्थीलाई लठ्ठीले हान्न पाइँदैन। कानुन छ। सुरूमा त लठ्ठीको रातो डाम बस्नै नदिन कानुन छ। केहीगरी बसिहाले पनि मलम लगाइदिन कानुन छ। तर यो आत्मविश्वास दुखाउने बोलीको डाम चाहिँ कानुनले छुन सक्दैन। यसलाई छुन पहिले हामी आफैंले आँखा चिम्लेर आफ्नो छाती छुनुपर्छ।
अनि आफैंलाई सोध्नुपर्छः अर्काको घाउ छुनलाई के हामीसँग ओखती भएको हात छ?
आफैंलाई सोध्नुपर्छः एकैछिन कसैको खिल्ली उडाउँदा अर्कोले जिन्दगीमा जे गुमाउँछ, के हामी जिन्दगीभर कमाएर त्यो तिर्न सक्छौं?
कति देशमा ट्राफिक नियम मिचिएको पाइए पुलिसले लाइसेन्समा प्वाल पारिदिन्छ। लाइसेन्समा प्वालका संख्या बढेपछि त्यो लाइसेन्स 'लाइसेन्स' रहन्न। प्वाल भएको काम नलाग्ने कागजको टुक्रा मात्रै हुन्छ।
स्कुलमा अर्कालाई बुली गर्ने हरेक बोली बोलेपछि जिब्रोमा आफैं प्वाल पर्ने भए, आजसम्म हाम्रो जिब्रोमा कतिवटा प्वाल परिसकेका हुन्थे होला? कतै हामी मुखभित्र प्वालैप्वाल भएको काम नलाग्ने मासुको टुक्रो बोकेर हिँडिरहेका त छैनौं?
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt