कुनै पनि पेशाको आफ्नो पेशागत जिम्मेवारी, मर्यादा र आदर्श हुने गदर्छ। एउटा चिकित्सकको पेशागत जिम्मेवारी मुख्य रूपमा बिरामीको रोगको परीक्षण, उपचार र सेवा गर्नु नै हो। चिकित्सा क्षेत्र बिरामीको रोग, पीडा, स्वास्थ्य र जीवनसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो। तसर्थ, कुनै पनि चिकित्सकले आफ्नो पेशागत मर्यादा वहन गर्दा बिरामीको उपचार एवं सेवामा अत्यन्त इमान्दार, जिम्मेवार एवं संवेदनशील हुनुपर्दछ।
पछिल्ला केही समययता चिकित्सा क्षेत्रमा देखिएका समस्याहरू, जस्तैः चिकित्सक र बिरामीबीचको असहज सम्बन्ध, उपचारका क्रममा हुने गरेका गल्ती, त्रुटि वा लापरबाही, चिकित्सा क्षेत्रमा देखिएको व्यापारीकरणजस्ता विषयले अलिक बढी चर्चा पाउन थालेका छन्। स्वास्थ्यकर्मी अझ विशेष गरी चिकित्सकको लापरबाही वा त्रुटिका कारण बिरामीले पर्याप्त सेवा, सुविधा पाउन नसकेको, रोग निको हुन नसकेकोदेखि लिएर ज्यानै गएका घटनाहरू बग्रेल्ती सुनिएका छन्।
केही समयअघि नाकको सामान्य समस्याका कारण राजधानीको ओम अस्पतालमा उपचाररत बिरामीको चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको समाचार प्रकाशमा आएको थियो। त्यसो त आफ्नो पेशाप्रति इमान्दार, जिम्मेवार, कर्तव्यनिष्ठ र दक्ष चिकित्सकहरू पनि प्रशस्तै छन्। आफ्नो पेशाप्रति इमान्दार र मानवीय सेवाभावले ओतप्रोत भएका चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्दै चिकित्सा क्षेत्रमा भएका वा हुने गरेका त्रुटि कमीकमजोरी र सुधारको खाँचो रहेका अन्य विषयका बारेमा चर्चा गर्नु यस आलेखको उद्देश्य हो।
चिकित्सा क्षेत्र भनेकै मानव सेवा, कल्याण र उपचारको पर्यायवाची हो। स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसर्थ, स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरू सेवा, संवेदना र मानवीय भावनाले युक्त हुनुपर्दछ। मानवीय र सेवामुखी भावना यस क्षेत्रमा कार्य गर्न चाहने वा कार्य गरिरहेका स्वास्थ्यकर्मीमा हुनुपर्ने पहिलो र अनिवार्य शर्तका रूपमा लिइनुपर्छ। तर अपसोच! कतिपय चिकित्सक र स्वास्थ्य संस्थाका सञ्चालकमा सेवाभन्दा व्यापारमुखी भावना बढी भएका कारण स्वास्थ्य क्षेत्र नै सेवामुखी भन्दा व्यापारमुखी हुन पुगेको छ।
उदाहरणका लागि सरकारी अस्पतालमा कार्यरत चिकित्सकले बिरामीलाई पर्याप्त समय दिएर राम्रोसँग उपचार नगर्ने तर त्यही बिरामीलाई आफ्नो निजी अस्पतालमा समय दिएर राम्रोसँग जाँच गर्ने, सरकारी अस्पतालमा उपचार गर्दै गर्दा आफ्नो निजी अस्पतालमा आउन प्रेरित गर्ने जस्ता निकृष्ट व्यवहारहरू प्रशस्त भइरहेका छन्।
यसैगरी स्वास्थ्य सेवा संचालन गर्न आवश्यक पर्ने प्रमाणपत्र (लाइसेन्स) बिना प्राइभेट अस्पताल, नर्सिङ्ग होम संचालन गर्ने, लाइसेन्स बिनाका नक्कली चिकित्सकहरूद्वारा उपचार गर्ने गरेको घटनाहरू पनि हुने गरेका छन्। निजी अस्पतालहरूमा बिरामीको अवस्था सामान्य हुँदाहुँदै पनि विभिन्न थरिका अनावश्यक परीक्षण गर्न लगाएर बिरामीको टाउकामाथि झनै आर्थिक बोझ थपिदिने र सो परीक्षण गर्न सिफारिस गरे वापत चिकित्सकले कमिशन लिने गरेको समेत सुनिएको छ। अझ यतिसम्म कि शल्यक्रिया गर्नै नपर्ने सामान्य औषधिले ठिक हुने बिरामीलाई समेत आर्थिक प्रलोभनमा परी शल्यक्रिया गर्ने गैरजिम्मेवार व्यवहारसमेत देखिएको छ।
उदाहरणका लागि प्रसुतीसम्बन्धी समस्या लिएर निजी अस्पताल गएका महिलालाई प्रायः शल्यक्रिया गरेर बच्चा जन्माउने गरिएको पाइन्छ। जबकी प्रसुती गृहजस्ता सरकारी अस्पतालमा यस्तो अवस्थामा शल्यक्रिया अत्यन्त कम वा आवश्यकलाई मात्र गरिएको पाइन्छ। यसरी कतिपय अवस्थामा निजी अस्पताल वा स्वास्थ्यकर्मीको निहीत स्वार्थका कारण बिरामीले अनावश्यक दुःख, पीडा र आर्थिक बोझ व्यहोर्न बाध्य हुनुपरेको अवस्था छ।
हामीकहाँ आर्थिक रूपमा विपन्न तथा दुर्गम स्थानका मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित रहेको अवस्था छ। सामान्य रूघाखोकी, ज्वरो, टाइफाइड, झाडापखालाको औषधिसमेत नपाएर सयौंको ज्यान गएको घटनाको साक्षी हामी छौँ। ग्रामीण भेगमा गरिबी र स्वास्थ्य सेवाको पहुँच नभएका कारण असाध्य खतरनाक रोगका कारण वर्षौदेखि असह्य पीडा बोकी कारूणिक जीवन गुजारी रहन पर्नेहरूको संख्या उल्लेख्य छ। एकछिनका लागि झाडापखालाको औषधि समेत समयमा नपाएर जीवन गुमाउनु परेका वा गम्भीर प्रकृतिको रोग शरीरमा हुँदाहुँदै पैसाको अभावमा उपचार गर्न नसकेर अत्यन्त कष्टकर जीवन बिताइरहेका ती व्यक्तिहरूको स्थानमा हामीलाई राखेर सोचौं त! अवश्य नै त्यो क्रुर यथार्थता र पीडा सहन सक्ने सामर्थ्य हामीमा हुने छैन।
एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरेर चिकित्सक बन्ने लक्ष्य बोकेका कतिपय विद्यार्थीहरूद्वारा भविष्यमा के बन्ने भनेर संचार माध्यममा अन्तर्वार्ताका क्रममा सोधिँदा असल डाक्टर बनेर गरीब र दीन–दुःखी बिरामीको सेवा गर्ने भत्रे ती डाक्टरहरूले खोइ कहाँ गएर सेवा गरेका छन् अहिले? वास्तविक दुःखी र गरिबलाई सेवा प्रदान गर्न ग्रामीण र दुर्गम भेगमा गएर बिरामीहरूको सेवा गर्नुपर्नेमा चिकित्सक बनेपछि आफ्नै पुरानो प्रतिबद्धता र पेशाले बोकेको आदर्श बिर्सेर सुविधाभोगी र शहर केन्द्रीत भएका छन्।
दुर्गम स्थानका अस्पताल, स्वास्थ्यचौकी भएका ठाउँहरूमा समेत चिकित्साकर्मीको अभावमा बिरामीले स्वास्थ्य उपचार पाउन सकेका छैनन् । काममा खटाइएका चिकित्साकर्मी दुर्गम स्थानमा नजाने र सहरमा रहेको निजी स्वास्थ्य संस्थामा अधिक लाभ लिएर काम गर्ने गरेको पाइन्छ। सकेसम्म सुविधा भोग्न खोज्नु, शहर केन्द्रीत हुनु मानवीय स्वभाव स्वाभाविक पनि हुन सक्ला तर थोरै समय भए पनि ग्रामीण भेगमा गएर दीनःदुखीको सेवा गरूँ भन्ने भावनासम्म नदेखिनु स्वास्थ्यकर्मीजस्तो जीवनरक्षाको पेशा अपनाउनेहरूका लागि स्वभाविक मान्न सकिँदैन।
चिकित्सकले बिरामीसँग गर्ने बोलीवचन, व्यवहार बिरामी र चिकित्सकबीचको सम्बन्धको मुख्य आयाम हो। चिकित्सकले गर्ने मिठो बोलीवचन र राम्रो व्यवहारले बिरामीमा धेरै सकारात्मक प्रभाव पार्दछ, आत्मबल जागृत हुन्छ, सकारात्मक सोचाई आई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन जान्छ। तर हामीकहाँ यस्ता कुराहरूमा चिकित्सकले त्यति ध्यान दिएको पाइँदैन। चिकित्सकले बिरामीको रोगको बारेमा विस्तृत जानकारी लिने, धैर्यपूर्वक बिरामीको कुरा सुन्ने अनि समय दिएर रोगको बारेमा परीक्षण गर्ने प्रवृति धेरै नै कम छ।
बिरामीबाट रोगसम्बन्धी पूर्ण जानकारी नलिई हतार हतारमा परीक्षण गर्ने र ठम्याईका आधारमाभन्दा अनुमानका आधारमा औषधि सिफारिस गरिदिने प्रवृति रहेको पाइन्छ। हाम्रो गलत सामाजिक संस्कारका कारण पनि हुनसक्छ कि एउटा व्यक्ति चिकित्सक हुने बित्तिकै समाजका अन्य सामान्य व्यक्तिभन्दा तथाकथित उच्च, जानेबुझेको व्यक्ति हुँ भन्ने भावनाले ग्रस्त हुन्छ। जसले गर्दा उक्त चिकित्सक बिरामीबाट बढी सम्मान र आदरको अपेक्षा गर्छ तर आफूले बिरामीलाई सोहीअनुसार सम्मान र माया दर्साउनुपर्छ भन्ने कुरामा त्यति हेक्का राख्दैन। यस कारण बिरामीले धक फुकाएर आफ्नो रोगको बारेमा विस्तृत रूपमा जानकारी दिन सक्दैन।
सामान्यतया चिकित्सकले रोगको बारेमा बिरामीसँग जानकारी लिएर परीक्षण गरेपछि रोग लाग्नुका कारण, रोग न्यूनीकरण गर्न औषधि सेवनलगायत ध्यान दिनुपर्ने अन्य कुराहरू बिरामीलाई जानकारी गराउनु पर्नेमा यस्ता कुरा केही पनि नगरी औषधि लेखिदिएर यो औषधि यति समय खाएर आउनुस् भन्ने गरेको पाइन्छ। यसैगरी बिरामीको रोगको मनोवैज्ञानिक तवरले उपचार, रोगसँग लड्न बिरामीलाई आत्मबल प्रदान गर्ने जस्ता क्रियाकलाप पनि भएको पाइँदैन। यसरी बिरामीको रोग, व्यथा र पीडामा पर्याप्त संवेदना नदेखाउने र बिरामीलाई रोगसँग लड्न आत्मबल प्रदान नगर्ने कोरा र अवैज्ञानिक उपचार पद्धतिका कारण बिरामीले गुणस्तरीय एवं प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकेका छैनन्।
गल्ती, कमीकमजोरी र त्रुटि मानवीय स्वभाव हो। त्यसकारण स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तिहरूबाट पनि कहिलेकाहीँ गल्ती हुन सक्छ। तथापि स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा सानो गल्तीका कारण ठूलो दुर्घटना हुन सक्छ भन्ने कुरा हृदयंगम नगरी उच्च सतर्कताबिना गरिएको कामले निम्त्याएको दुर्घटना क्षम्य हुन सक्दैन। बिरामीलाई गलत औषधि दिने, एक ठाउँको शल्यक्रिया गर्नुपर्नेमा अर्को ठाउँको गर्ने, दिन नहुने वा नपर्ने इन्जेक्सन दिने, शल्यक्रिया गर्नुनपर्ने बिरामीलाई शल्यक्रिया गर्ने, शल्यक्रिया गरिएको ठाउँमा भएका शल्यक्रिया गर्न प्रयोग गरिएका उपकरण राम्रोसँग नझिकी घाउ सिलाइदिनेजस्ता लापरबाहीका कारण बिरामीको स्वास्थ्यमा प्रतिकूल असर परी मृत्युसम्म भएका घटनाहरू धेरै छन्।
यसरी स्वास्थ्यकर्मीमा देखिएको लापरबाहीका कारण रोग निवारणको अन्तिम विकल्पका रूपमा रहेको स्वास्थ्य संस्थाहरूमा जाँदा बिरामीले आफ्नो रोगको उपचार राम्रोसँग हुन्छ भनेर निश्चिन्त हुने अवस्था छैन। स्वास्थ्य मानिसको जन्मसिद्ध अधिकार हो। कल्याणकारी व्यवस्था भएका मुलुकहरूः जस्तै स्वीडेन, फिनल्याण्ड, डेनमार्क, नर्वेजस्ता मुलुकहरूमा प्रत्येक नागरिकको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको हुन्छ। जनताप्रति उत्तरदायी सरकार, जनप्रतिनिधि र राज्य निर्माण हुन नसकेको हाम्रो परिवेशमा राज्यबाट सबै अपेक्षा गर्नु निरर्थक हुन जान्छ। यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाहरूले जनता र राष्ट्रको सेवामा अझै सशक्त ढंगले समर्पित हुन संस्थागत सामाजिक दायित्वको जिम्मेवारी बहन गर्नु आवश्यक छ। यसका लागि अत्यन्त गरीब, असहाय र उपचार गर्ने हैसियत नभएका बिरामीलाई उपचारमा विशेष छुट वा निःशुल्क गरिदिने व्यस्था मिलाउनुपर्छ।
निजी स्वास्थ्य संस्थाहरू जस्तै क्लिनिक, नर्सिङ्ग होम आदिको उपचार तथा परीक्षण शुल्क अत्यन्त महँगो भएको, सेवाभन्दा व्यापारमुखी भएको भन्ने जनगुनासाका सन्दर्भमा यस्ता संस्थाहरूले उपचार शुल्क सस्तो र सर्वसुलभ बनाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्छ। यसर्थ बिरामीको दुःख, पीडा र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा पेशामा संलग्न चिकित्सक मानवीय संवेदना र करूणाले युक्त हुनैपर्छ। चिकित्साजस्तो कल्याणकारी पेशामा रहेर मानव सेवाभन्दा पैसामात्र कमाउने, सुख सुविधामात्र खोज्ने आकांक्षा राख्ने हो भने त्यस्ता चिकित्सकबाट बिरामीले उचित सेवा र गुणस्तरीय उपचार प्राप्त गर्न सक्दैनन्।
अतः कुनै पनि चिकित्सकले आफ्नो पेशाप्रतिको मर्यादा र आदर्श कायम राख्न विशुद्ध मानवीय सेवाको भावनाका साथ बिरामीको उपचारमा समर्पित हुनु जरूरी छ।