हिजो २०२४ कात्तिक २८ गते एउटा युट्युब च्यानलले 'कांग्रेस-एमालेप्रति प्रचण्डको यो कटाक्ष' शीर्षकमा उनको एउटा छोटो सार्वजनिक अभिव्यक्ति प्रसारण गर्यो, जसले सम्पूर्ण दलित उत्पीडित समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको छ।
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस र एमालेलाई लक्ष्य गर्दै धेरै क्यामरासामु भनेका छन्, 'त्यो कुजातसँग संसर्ग गर्दा हामीलाई पनि त्यो रोग सर्यो, हामी पनि थोरै-धेरै मैलाधैला बिग्रिया बिग्रिया जस्ता भयौं ...।'
यति मात्र होइन, उनले विपक्षीहरूलाई संगतै गर्न नहुने 'जात' पनि भनेका छन्।
उनले यहाँ 'जात' भन्ने शब्द यस्तरी प्रयोग गरेका छन्, जसरी समाजका कथित उपल्ला जातिका मानिसले दलितहरूलाई हेलाहोचो गर्दा, तिरस्कार र बहिष्कार गर्दा प्रयोग गर्छन्।
लोकतन्त्रमा प्रचण्डले विपक्षी दललाई गाली गर्न पाउँछन्, आरोप लगाउन पाउँछन्। फरक विचार र दृष्टिकोण प्रस्तुत गर्ने अधिकार सबैलाई छ। तर दलित, जनजाति लगायत तमाम उत्पीडितको मुक्तिका लागि भनेर देशभर रक्तपात मच्चाउँदै शक्ति आर्जन गरेका र पटक पटक प्रधानमन्त्री बनिसकेका नेतालाई सुहाउने भाषा हो त्यो?
एक जिम्मेवार नेताले विपक्षी दलसँग कटाक्ष गर्ने सिलसिलामा दलितलाई अपमान गर्ने, घृणा गर्ने, हेलाहोचो गर्ने शब्दावली प्रयोग गर्दा समाजमा अत्यन्तै नकारात्मक, अत्यन्तै जातिवादी र अत्यन्तै रूढिवादी सन्देश सम्प्रेषण भएको छ।
प्रचण्डको अभिव्यक्तिको असर कस्तो पर्यो भन्ने कुराको प्रत्यक्ष प्रमाण उक्त भिडिओको पहिलो कमेन्टमै देख्न सकिन्छ। एक दर्शकले आफ्नो प्रतिक्रिया यसरी लेखेका छन्, 'सही हो, बाहुन दमाई उस्तै त हो, फरक केही छैन एउटै हो जय जनता।'
यो घटनाले के देखायो भने बाहुन परिवारमा जन्मेका प्रचण्डले मुखले जे-जे भने पनि, ज-जसको नाममा क्रान्ति गरेर सत्ताको स्वाद लिए पनि अन्तरमनमा जातीय अहंकार र दलितप्रति घृणाभाव त्यागेका रहेनछन्। उनी पनि खाँटी मनुवादी नै रहेछन्। सायद व्यवहारमा पनि छुवाछुत गर्छन् होला र दलितलाई चुह्लो र पूजाकोठाबाट बाहिरै राख्छन् होला भन्ने अनुमान गर्न सकिन्छ।
२०७५ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका सांसद तथा प्रसिद्ध लोकगायिका कोमल वलीले एक टेलिभिजन अन्तर्वार्तामा 'आफू मरे डुमै राजा' भन्ने शब्दावली प्रयोग गरेर दलितको अपमान गरेकी थिइन्। दलित समुदायको चर्को विरोधपछि त्यस वर्ष फागुन २४ गते वलीले संसदमै माफी मागेकी थिइन्।
प्रचण्ड त झन् पूर्वप्रधानमन्त्री हुन्, एउटा ठूलो दलका नेता हुन्, जसलाई सत्ताको सिंहासनमा पुर्याउन धेरै उत्पीडितहरूले रगत-पसिना र आँशु बगाएका छन्। जसप्रति अझै पनि कतिपय दलितको आशा र भरोसा छ। यस्ता नेताले विपक्षी दललाई बदनाम गराउने प्रयत्नमा प्रत्यक्ष वा परोक्ष रूपमा जात व्यवस्थालाई मलजल गर्ने, जातीय घृणा फैलाउने, दलितको आत्मसम्मान गिराउने शब्दावली प्रयोग गर्नु घोर आपत्तिजनक छ।
तसर्थ, हामी प्रचण्डजीलाई यथाशीघ्र सार्वजानिक रूपमा दलितसामु माफी माग्न माग गर्छौं। शासक वर्गको दिमाग नै यति उग्र जातिवादी भएपछि देशमा नागरिक स्वतन्त्रता, जातीय समानता र सामाजिक न्यायको कल्पना गर्न सकिँदैन।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar