व्यवसायिक फुटबलमा नेपालका सबैभन्दा सफल फुटबलर हुन्, रोहित चन्द। चन्द २०१० देखि लगातार विदेशी लिगमा खेलिरहेका छन्।
हाल फुटबल खेलिरहेका नेपाली खेलाडीमध्ये अनुभवी मध्येका एक रोहितले सन् २००९ मा प्यालेस्टाइनविरूद्ध खेल्दै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
नेपालका लागि डिफेन्डरको भूमिकामा देखिने उनी विदेशी लिगमा मिडफिल्डरको रूपमा खेल्छन्।
रोहितले सन् २००९ देखि नेपालका लागि ९१ खेल खेले पनि गोल गर्न सफल भएनन्। शनिबार भने त्यो गोलको खडेरी रोहित तोडेका छन्।
शनिबार अफगानिस्तानविरूद्ध मैदान उत्रिदै ९२औं अन्तर्राष्ट्रिय क्याप जितेका रोहितले नेपालको २-० को जितमा दोस्रो गोल गरेका हुन्।
७८ मिनेटमा कर्नर बलमा अफगान डिफेन्डरले क्लियर नगरेको बलमा रोहितले डिबक्सबाट गोल गरेका थिए। त्यसअघि नेपालका लागि जिलेस्पीजंग कार्कीले ४६ मिनेटमा पहिलो गोल गरेको थियो।
यससँगै नेपालले अफगानिस्तानलाई १३ वर्षपछि पराजित गर्न सफल भयो। नेपालले पछिल्लो पटक अफगानिस्तानविरूद्ध सन् २०११ मा १-० गोलको जित निकालेको थियो। यस्तै पछिल्ला नौ खेलदेखि जितविहीन बनेको नेपालले दशौं खेलमा भने जित निकाल्न सफल भयो। नेपाल सन् २०२३ को अक्टोबरमा लाओसलाई पराजित गरेपछि जितविहीन थियो।
नेपालले अफगानिस्तानविरूद्ध साफ च्याम्पियनसिप २०११ र २०१३ को सेमिफाइनलमा हार ब्यहोरेको थियो। सन् २०११ मा दिल्लीमा पराजित भएको नेपाललाई सन् २०१३ मा अफगानिस्तानले दशरथ रंगशालामा हराएको थियो।
सन् २०१३ मा घरेलु मैदानका अफगानिस्तानविरूद्धको हार नेपाली फुटबलको पीडादायी हार मध्येको एक हो।
अफगानिस्तानले एक गोलको अग्रता लिएको अवस्थामा नेपालले खेलको अन्त्यतिर पेनाल्टी पाएको थियो। सो पेनाल्टी रोहित चन्दले हानेका थिए। तर उनले दाहिने कर्नर च्याप्दै हानेको प्रहारलाई अफगान गोलकिपरले विफल पारिदिए। तर त्यो प्रहार गर्नुअघि गोलकिपर अघि बढेकाले रेफ्रीले दोस्रो पटक प्रहार गर्ने मौका दिए। तर रोहितले सोहि स्थानमा पेनाल्टी हान्दा अफगान गोलकिपरले विफल पारिदिए। जसका कारण नेपाली टोली सेमिफाइनलबाटै लगातर दोस्रो पटक बाहिरियो।
अफगानिस्तानसँग पीडादायी हार ब्यहोरेको ११ वर्षपछि नेपालले जित मात्र निकाल्न सफल भएन रोहितले पेनाल्टीमा गोल गर्न नसकेको सो पीडामा महल लगाए।
रोहित हाल इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पेर्सिक केडिरीबाट खेल्छन्। दोस्रो सिजन यो क्लबबाट खेलिरहेका रोहित सन् २०१२ देखि इन्डोनेसियामा खेलिरहेका छन्। पेर्सिकमा आबद्ध हुनुअघि उनी पेर्सिजा जार्कातामा आबद्ध थिए। पेर्सिजाबाट उनले लिगको उपाधि जित्नुका साथै लिगकै सर्वोत्कृष्ट अवार्ड समेत हात पारेका थिए।
उनले पेर्सिजाबाट सन् २०१४-१५ मा पहिलोपटक खेल्दा दोस्रोपटक २०१७ देखि २०२२ सम्म आबद्ध भए। उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे।
सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए।