साइबरबाट हुने वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय हुने गरेको पाइएको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (फाइनान्सियल इन्टेलिजेन्स युनिट) ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनले इकाईमा रिपोर्ट हुन आएका शंकास्पद कारोबार र शंकास्पद गतिविधिको निरीक्षणको क्रममा यस्तो पाएको हो।
यस्ता 'साइबर इनेबल फ्रड' मा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएर गैरकानुनी रूपमा पैसा तान्नेमध्ये ७० प्रतिशत १९ देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।
२०८१ जेठसम्ममा शंकास्पद कारोबार र शंकास्पद गतिविधिका रिपोर्टिङको क्रममा आएका उजुरीमध्ये करिब १५ प्रतिशत उजुरी फ्रड सम्बन्धी थिए।
फ्रड सम्बन्धी उजुरीमध्ये साइबर मार्फत् हुने फ्रड ६३ प्रतिशत रहेको बताइएको छ। यसले साइबरमार्फत् हुने फ्रडका घटना बढिरहेको देखाउँछ।
यसअघि साइबर फ्रडहरू इमो च्याट, फेसबुक मार्फत् हुने गरेकोमा पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्स एप, टिकटक, इन्टाग्राम र अन्य नयाँ–नयाँ सामाजिक सञ्जाल प्रयोग गरेर भइरहेको प्रतिवेदनमा उल्लेख छ।
यसरी रिपोर्टिङ भएको साइबर फ्रडका घटनामा रकम पुग्ने बैंक खातामध्ये धेरैजसो बैंक खाता विद्यार्थीको नामबाट खोलिएका बैंक खाता रहेको पाइएको छ।
साइबरबाट यस्तो वित्तीय अपराधकै लागि बैंक खाता खोलिने गरेको पनि पाइएको छ। साइबार मार्फत् हुने वित्तीय अपराधमा मुछिएका बैंक खाताहरूमध्ये आधामा खाता खोलिएको तीन महिनामै त्यस्ता खातामा रकम जम्मा हुने गरेको पाइएको हो। नवौ महिना भित्रमा उजुरी पर्ने बैंक खाता तीन चौथाई रहेको छ।
विद्यार्थी बाहेक किसान, प्रोपाइटर, तरकारी र फलफूल पसल, गृहिणी र बेरोजगार भनेर पेशा उल्लेख भएका खाताबाट यस्ता वित्तीय अपराध हुने गरेको देखिन्छ।
यसरी वित्तीय अपराध गर्ने उद्देश्यले खोलिएका धेरै जसो खाता बागमती प्रदेशमा खोलिएका छन्। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा यस्ता खाता खोलिएको पाइएको छ।
उपहार, लट्री, पार्सल, आइफोन, फेक अनलाइन विजनेश प्लाटफर्म, रकम डबल स्किम, क्रिप्टोकसेन्सीमा लगानी लगायतका नाममा यस्ता वित्तीय अपराधमा लागेकाहरूले सर्वसाधारणको खातामा पहुँच पुर्याउँदै आएका छन्।
यस्ता वित्तीय अपराधमा लागेकाहरूले एकभन्दा बढी बैंक खाता, वालेट खाता खोल्ने गरेका छन्।
यस्ता खातामध्ये धेरैमा लगभग शून्य मौज्दात हुने गरेको र वित्तीय अपराधबाट आएको रकम भने अन्य वालेटहरूमा पठाइने गरेको पाइएको छ।
यस्ता घटना बढ्न नदिन बैंक तथा वित्तीय संस्थाहरूले खाता खोल्ने ग्राहकको बायोमेट्रिक विवरण सहितको जानकारी राख्ने प्रयाग गर्नुपर्ने, खातामा प्रयोग भएका मोबाइल नम्बर मोबाइल बैंकिङ लिन प्रयोग भए/नभएको, परिवारका अन्य सदस्यको नाममा वालेट खोलिए/नखोलिएको जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।
ग्राहकको आधिकारीकताको लागि मोबाइल, इमेल जस्ता एकभन्दा बढी स्रोतहरूको प्रयोग गर्ने, ग्राहकले नयाँ उपकरणको प्रयोग गर्दा सो ग्राहक भए/नभएको पुष्टि लगायतका काम हुनुपर्ने पनि उल्लेख छ।