बेइजिङ डायरी
यही सेप्टेम्बर १९ र २० मा चीनको राजधानी बेइजिङमा 'बेइजिङ संस्कृति मञ्च' (बेइजिङ कल्चर फोरम) आयोजना भयो। ७० देशका दुई सय जति विदेशी र एक सय जति चिनियाँ सहभागी भएको उक्त मञ्चमा जापानका पूर्व प्रधानमन्त्रीदेखि विभिन्न देशका उच्च पदाधिकारी सहभागी थिए।
बेइजिङ नगरपालिका र चिनियाँ कम्युनिस्ट पार्टीको प्रचारप्रसार विभागले आयोजना गरेको मञ्चमा युनेस्कोका लागि सुडान, अर्जेन्टिना, फ्रान्स लगायतका राजदूतहरू सहभागी थिए। विभिन्न विश्वविद्यालयमा सम्पदा विषयका प्राध्यापकहरूको पनि बाक्लै उपस्थिति थियो।
सांस्कृतिक सम्पदा सम्बन्धी खोज र अनुसन्धान गर्दै आएका व्यक्तिहरूदेखि विभिन्न संग्रहालयमा लामो समय बिताएका विज्ञहरूको अनुभव र कार्यपत्र प्रस्तुति देख्दा विश्वविद्यालयको कक्षा कोठाभित्र पुगे जस्तै लाग्यो। सांस्कृतिक सम्पदाका ख्यातिप्राप्त व्यक्तिहरू सहभागी भएको उक्त महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर पनि अलिक अनौठो थियो।
अरनिकोले बेइजिङमा बनाएको श्वेत चैत्यका बारेमा खोजी गर्दै यसबारे मैले लेखहरू लेख्दै आएको छु। श्वेत चैत्य व्यवस्थापन समितिले मेरो नाम सिफारिस गरेको रहेछ। तसर्थ, त्यो निकै उच्च स्तरको कार्यक्रममा मैले सहभागी हुने अवसर पाएको थिएँ।
कार्यशाला गोष्ठी, सांस्कृतिक सम्पदाको प्रत्यक्ष अवलोकनका लागि स्थलगत भ्रमण, अन्तर्क्रिया र साँझमा सांस्कृतिक कार्यक्रम समेत रहेकाले बेइजिङको क्यापिटल होटलमा सेप्टेम्बर १८ साँझदेखि २१ तारिख बिहानसम्म आवासीय सुविधा थियो। सेप्टेम्बर १८ मा साँझ कार्यस्थल पुगेपछि नेपालबाट कोही आएको छ कि भनेर सोधखोज गरेँ। आयोजकका अनुसार उनीहरूले काठमाडौं महानगरपालिकाका मेयरलाई आमन्त्रण गरेका थिए तर आउनुभएन। नेपालको प्रतिनिधित्व गर्ने म एक्लो व्यक्ति भएको थाहा भयो।
कार्यक्रममा अमेरिकाका डा. हुङ सी छाओसँग परिचय भयो। उनी चिनियाँ मूलका अमेरिकी नागरिक रहेछन्। विश्व स्मारक कोष (वर्ल्ड मोनुमेन्ट्स फन्ड) का प्रोग्राम म्यानेजर रहेका हुङले आफ्नो अंग्रेजी नाम रेक्स रहेको बताए। रोचक कुरा के भने, उनको संस्थाले काठमाडौं महानगरभित्रका ढुंगेधारा अर्थात् हिति संरक्षण कार्य गरिरहेको रहेछ।
चिया खाने र अन्य फुर्सदको समय मिलाएर मैले काठमाडौं उपत्यकाभित्रका हितिको अवस्था, यसको संरक्षणमा चुनौती, स्थानीय र संघीय सरकारको भूमिका आदिका बारेमा रेक्ससँग चासो राखेँ। उनले पनि आफ्नो अनुभव सुनाए।
उनको भनाइ अनुसार उपत्यकाका हितिले ६ सय वर्षभन्दा पुरानो मानव सभ्यता, संस्कृति, इतिहास, समाज, राजनीति, अर्थतन्त्र र विविध मूल्यमान्यता बोकेका छन्। ती हितिहरूको गहन अध्ययन र संरक्षण गर्नु सबैको दायित्व हो। नयाँ पुस्तालाई हितिका बारेमा खासै चासो नभएको र विभिन्न कालखण्डमा अतिक्रमण भएर मासिएको उनले सुनाए। आफ्नै सहरको सभ्यताको महत्व दर्शाउँदै एउटा विदेशीले व्याख्या गर्दा मलाई कुरीकुरी लाग्यो।
उक्त मञ्चमा विभिन्न देशका विज्ञले आफ्नो देशको सांस्कृतिक सम्पदा संरक्षणमा देखिएका चुनौती, पहिले र अहिलेको अवस्था आदिका बारेमा श्रव्यदृश्य सामग्री सहित प्रस्तुति दिएका थिए।
प्रस्तुतिकै सिलसिलामा बेइजिङको केन्द्रीय रेखा अर्थात् 'सेन्ट्रल एक्सिस' का बारेमा अलिक बढी व्याख्या र विश्लेषण भयो। विश्व सम्पदा सूचीमा दर्ज भएको चीनको सबभन्दा कान्छो सम्पदा हो बेइजिङको केन्द्रीय रेखा। साढे सात सय वर्षको इतिहास बोकेको यो रेखाले बेइजिङको इतिहास, सभ्यता, राजनीति, सामाजिक, आर्थिक, भूगोल, रहनसहन आदि कुरा बोकेको छ।
अनि सबभन्दा ठूलो कुरा, यो रेखाको सुरूआत महान् नेपाली कलाकार अरनिकोले गरेका हुन्।
बेइजिङको केन्द्रीय रेखा अर्थात् 'बेइजिङ सेन्ट्रल एक्सिस' लाई संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा अंकित गरेको छ। अब यो चीनको ५९ औं विश्व सम्पदा स्थल बनेको छ। गत जुलाई २७ मा भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व सम्पदा समितिको ४६ औं बैठकले उक्त घोषणा गरेको हो।
बेइजिङको केन्द्रीय रेखा अर्थात् अक्षमा ऐतिहासिक दरबार र पार्कहरू छन्। साढे सात सय वर्षदेखि बेइजिङको विकासको साक्षी बनेको यो रेखा चीनका विभिन्न शाही राजवंश प्रणाली र सहरी योजना परम्पराको प्रमाण पनि हो। युनेस्कोको विश्व सम्पदा महासन्धि अनुसार बेइजिङको केन्द्रीय अक्षले चिनियाँ परम्परा र बुद्धिमार्फत् विश्वभरको सहरी योजनाको इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
बेइजिङको केन्द्रीय रेखाले तेह्रौं शताब्दीदेखि चिनियाँ इतिहासमा सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय स्मारकहरू, औपचारिक भवनहरू र ऐतिहासिक भवनहरूलाई संयोजन गरेको छ। चिनियाँ सभ्यताको अद्वितीय साक्षी रहँदै आएको यो रेखा प्राचीन बेइजिङ सहरको मध्यभागमा उत्तर र दक्षिणमा फैलिएको छ। १३ औं शताब्दीको युआन राजवंशमा सुरू भएर मिङ राजवंश, छिङ राजवंश र आधुनिक समयसम्म यात्रा गर्दा यसले बेइजिङको सहरी योजनालाई जीवित बनाएको प्रत्यक्ष देख्न सकिन्छ।
दक्षिणमा योङतिङ गेटदेखि उत्तरमा बेल टावर र ड्रम टावरसम्म ७.८ किलोमिटर फैलिएको यो रेखा बेइजिङको समृद्ध वास्तुकला र सांस्कृतिक विरासतको एउटा उल्लेखनीय प्रमाण हो। यस रेखामा थिआनआनमन क्षेत्र, ६४४ वर्ष चीनमा शासन चलाएको दरबार (फरबिडन सिटी), चिङशान पार्क, ड्रम र बेल टावर, टेम्पल अफ हेभन, छिआनमन गल्लीसहित एक दर्जनभन्दा बढी प्रमुख सांस्कृतिक सम्पदा स्थलहरू छन्।
बेइजिङको केन्द्रीय रेखाको सुरूआत युआन राजवंशमा भएको हो। कुबलाई खानले १२६७ मा तातू (वर्तमान बेइजिङ) लाई पहिलोपटक राजधानी स्थापना गरेका थिए। बेइजिङलाई राजधानी बनाउने कुरामा योजनाको नेतृत्व अरनिकोले गरेका थिए।
चिनियाँ सामग्रीहरूमा केन्द्रीय रेखाको प्रारम्भिक डिजाइन अरनिकोले गरेको कतै उल्लेख छैन। तर उक्त समयमा चिनियाँ कला तथा सम्पदा निर्माणको नेतृत्व अरनिकोले गरेका थिए। तसर्थ, यो भन्न सकिन्छ कि‚ यति बेला युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको बेइजिङको केन्द्रीय रेखाको प्रारम्भिक खाका अरनिकोले गरेका थिए।
कुबलाई खाले अरनिकोलाई मन्त्री सरहको मानपदवी दिएका थिए र उनलाई सांस्कृतिक सम्पदा निर्माणको मुख्य व्यक्ति घोषित गरेका थिए। अरनिकोले खगोल विज्ञान अध्ययन गर्न विशाल दूरबिनदेखि बेइजिङमा विभिन्न सम्पदाहरू बनाएका थिए। चुयोक्वाङ ग्रेटवाल प्रवेश गर्ने मुख्य गेटको डिजाइन र निर्माण सुरूआत अरनिकोले गरेका थिए भन्ने कुरा उक्त गेटमा अंकित रञ्जना लिपि र संस्कृति मन्त्र तथा परम्परागत नेपाली शुभचिह्नहरूले पनि पुष्टि गर्छन्।
यो गेट अरनिकोको देहान्त भएको लगभग ३४ वर्षपछि मात्र निर्माण सम्पन्न भएको थियो।
अरनिकोले तत्कालीन अवस्थामा पाएको जिम्मेवारी र ख्यातिले पनि बेइजिङको केन्द्रीय रेखाको डिजाइन उनैले गरेका थिए भन्न सकिन्छ। किनभने सहरी विकासको अवधारणासँगै यो रेखामा दर्जनौं सांस्कृतिक सम्पदा र भवनहरू छन्। अरनिकोको डिजाइनमा थालनी भएको यो रेखा विस्तार हुँदै हाल झन्डै ८ किलोमिटर लामो बनेको छ।
कुबलाई खानले स्थापना गरेको युआन राजवंशपछि सन् १३६८ मा चीनको सत्ता मिङ मिङ राजवंशमा गयो। मिङ राजवंशका सम्राट योङ्गले आफ्नो दरबार वर्तमानको फरबिडन सिटीमा बनाएका हुन्। कुबलाई खानको दरबार फरबिडन सिटीभन्दा केही उत्तरतिर थियो। त्यसको भग्नावशेष भने प्राप्त छैन। पछि छिङ राजवंशले पनि फरबिडन सिटीबाट शासन चलाए। सन् १९१२ मा चीन गणतन्त्र भएपछि फरबिडन सिटीलाई दरबार संग्रहालय बनाइएको छ।
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता लिएपछि ५० र ७० को दशकमा थिआनआनमन क्षेत्रको मर्मतसम्भारले यसलाई सार्वजनिक उत्सव र राज्य समारोहहरूका लागि खुला केन्द्रमा परिणत गरेको छ। सन् २०११ मा युनेस्कोको मान्यता अनुसार बेइजिङ नगरपालिकाले एक सयभन्दा बढी नवीकरण परियोजनाहरू पूरा गरी यी ऐतिहासिक स्थलहरूलाई सावधानीपूर्वक पुनर्स्थापना र संरक्षण गरेको छ।
चीनले भौतिक सम्पदाका साथै गैरभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्ने कामलाई व्यापकता दिएको छ। विभिन्न अल्पसंख्यक जातिका चलनहरू संरक्षण गर्न र उत्तराधिकार उत्पादन गर्न अनेक तौरतरिका अपनाएको छ। परम्परागत कलाका लागि शैक्षिक विधि, रोजगारीको ग्यारेन्टी, पुस्तान्तरणमा सीप विकास, पर्यटन प्रवर्द्धनमा मुख्य चासो, आय आर्जनको स्रोत विकास, इतिहासप्रतिको गौरव, अन्तर्राष्ट्रिय मञ्चहरूमा अवसर प्रदान आदिले यस्ता कार्यमा लाग्न युवा पुस्तालाई प्रोत्साहन दिएको छ।
नेपालमा पनि कयौं गैरभौतिक सांस्कृतिक सम्पदा छन्। सरकारले चासो नदिँदा यस्ता गैरभौतिक सांस्कृतिक सम्पदा नासिँदै गएका छन्।
पूर्वतिर लिम्बू समुदायमा नाचिने धाननाच हिजोआज देख्न मुस्किल छ। दसैंमा नवरथा लागेपछि नगरा बजेको सुनिँदैन। राईको चण्डी नृत्य उधौली र उभौलीमा सीमित छ। गुरूङको घाटु नाच, थारूको कौडा नाच, नेवारको खाना, राउटेको संस्कृति संरक्षणमा सम्बन्धित निकायले कुनै चासो देखाएको छैन।
हामीले गाईजात्रा, इन्द्रजात्रा, रोपाइँजात्रा जस्ता केही सांस्कृतिक पर्व जीवित राखेका छौं। तर यो क्षेत्रमा न कुनै शैक्षिक संस्था छ, न कुनै उत्तराधिकार उत्पादन गर्ने औपचारिक संस्थालाई राज्यले भरणपोषण गरेको छ। साँखुको बज्रयोगिनी, खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा, चितवनको देवघाट, प्युठानको स्वर्गद्वारी लगायत सम्पदालाई राज्यले अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयास गरेको देखिँदैन।
कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न निकै ठूलो प्रयत्न गर्नुपर्छ। यसमा भूराजनीति र पूर्वाग्रहहरू पनि आउँछन्। चीनले बेइजिङको केन्द्रीय रेखालाई विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न गर्दा थुप्रै अवरोध आएका थिए। तर चीन अडिग रूपमा आफ्नो काममा निरन्तर लागिरह्यो। युनेस्कोले निर्धारण गरेको मापदण्ड पूरा गर्यो र अन्तर्राष्ट्रिय समाजमा वकालत पनि गरिरह्यो।
यसरी हाम्रै पुर्खाले विदेशमा डिजाइन गरेको सहरी सभ्यता र योजना यतिखेर विश्व सम्पदा सूचीमा अटेको छ।
हामीले पनि चीनबाट केही सिक्न पक्कै सक्छौं!
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)