रामेछाप सैपु १ की १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विषयले निकै चर्चा पायो। घटना भएको ६ वर्षपछि बलात्कारपछि फरार भएका स्थानीय श्याम राउत भारतबाट पक्राउ परे।
राउत पक्राउ परेपछि सेलाएको यो मुद्दा प्रहरीको एसपी बढुवापछि फेरि तातेको छ। २०६८ सालमा रामेछापमा डिएसपी हुदाँ राउतलाई उन्मुक्ति दिएको घटनासँगै जोडेर प्रहरी प्रधान कार्यालयले संजिव शर्मा दासलाई निलम्वन गरेको छ।
निलम्वनपछि एसपी बढुवाका लागि सिफारिस परेका उनको बढुवा प्रक्रियासमेत रोकिएको छ। डिएसपी शर्मामाथि सुन्तलीका परिवारले किटान जाहेरी दिदाँ लिन नमानेको र पक्राउ गरेपछि पनि राउतलाई छाडेको आरोप छ।
यही घटनाले चर्को रुप लिएपछि मानवअधिकार आयोगको एक टोली त्यहाँ पुगेर निरीक्षण गरेको थियो। सिआईबीको टोली त्यहाँ पुगेर थप अनुसन्धान अघि बढाएको थियो।
सिआईबी त्यहाँ पुगेर अनुसन्धान गरेपछि डिएसपी शर्मालाई २४ घन्टाभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले पत्र काटेको थियो।
मानवअधिकार आयोगले पछि २०७१ सालमा शर्मालाई कारबाहीका लागि गृहमा पत्र पठाएको थियो। गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले शर्मालाई २०७३ साल फागुन ३ गते सचेत गराएको थियो।
यही घटनालाई लिएर मैले काम गरिरहेको जिल्लाबाट कारबाही स्वरुप तान्ने काम र मलाई सचेत गराउने काम भइसकेको छ, डिएसपी शर्माले भने फेरि यसै घटनालाई जोडेर मलाई निलम्वन गर्ने र बढुवा रोक्ने काम हुदाँ निकै दुखी छु ।
‘२०६८ माघ ५ गते हराएकी सुन्तलीको १५ दिनपछि शव भेटिएको थियो, मैले फागुन ३ गते मुद्दा दर्ता गरेको छु ।’, डिएसपी शर्माले भने, ‘किटानी जाहेरी लिन नमानेको पटक्कै होइन।’
पोष्टमार्टममा पनि बलात्कार भनेर रिपोर्ट नआएको र पक्राउ परेका राउतको पुष्टि नभेटिएपछि उनलाई छाडिएको डिएसपी शर्माले बताए। ‘न सुन्तली मेरा आफन्त हुन्, न श्याम राउत म कानूनमा विश्वास गर्ने मान्छे, मैले कसैलाई काखा र पाखा गर्ने गरेको छैन ।’, डिएसपी शर्माले भने।
‘मैले गरेका काममा त्रृटि भएको भन्दै सिआईबी र मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेपछि मैलै दुई दुई वटा कारबाही त भोगिसकेको छु नि’, डिएसपी शर्माले भने।
एउटै मुद्दामा ३ पटकसम्म कारबाही हुदाँ आफूलाई मानसिक तनाव भएको भन्दै डिएसपी शर्माले आफूमाथि अन्याय भएको र पुनर्विचार गरिदिन गृहमन्त्रीसँग आग्रह गरे।