अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस-युक्रेनको युद्ध अन्त्य गर्न अघि सारेको शान्ति योजनामा नेटोको जस्तै सुरक्षा ग्यारेन्टी समावेश भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
सो योजनाले युक्रेनमा आक्रमण भए त्यसलाई एट्लान्टिक महासागर वारि-पारिका सबैमाथि भएको आक्रमणको रूपमा लिन अमेरिका र युरोपेली देशहरू प्रतिबद्ध गराउने छ।
ट्रम्पको सो योजनाले युक्रेनलाई पीडादायी त्याग गराए पनि त्यसमा भविष्यका लागि सुरक्षाको अभूतपूर्व वाचा पनि समावेश भएको एक्सियसले लेखेको छ।
शान्तिका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बलियो अमेरिकी र युरोपेली सुरक्षा ग्यारेन्टीको माग गर्दै आएका छन्। त्यस्तो ग्यारेन्टी दिन ट्रम्पले अहिलेसम्म आनाकानी गरे पनि पहिलो पटक सहमत भएका हुन्।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।
सो योजनाबारे बिहीबार युक्रेन पुगेर अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलले जेलेन्स्कीसँग छलफल गरे। सो छलफलमा ड्रिस्कोलले 'युक्रेनले भरपर्दो सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्नेछ' भनेको एक्सियसले खुलासा गरेको छ।
सो भेटपछि ट्रम्पको शान्ति योजनामा 'रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा' संलग्न हुने जेलेन्सकीले बताएका छन्।
पश्चिमा मिडियाका अनुसार २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका मागहरू छन्।
युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविरामपछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।
झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन।
लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ। लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशतभन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ।
त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुश्किल हुने मानिन्छ। सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनको सो सर्त अस्वीकार गर्दै आएको छ।
युक्रेनले ती सर्त माने भविष्यमा फेरि रूसले आक्रमण गर्दैन भनेर जेलेन्स्कीलाई आश्वस्त पार्न ट्रम्पले बलियो सुरक्षा ग्यारेन्टी दिने भनेका हुन सक्छन्। नेटोको जस्तो सुरक्षा ग्यारेन्टी दिने भए पनि सो योजनाले युक्रेनलाई भविष्यमा नेटोमा सहभागी हुनबाट भने सो योजनाले रोक्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)