नेपाली कांग्रेसलाई मंसिर ७ गतेअघि नै केन्द्रीय समितिबाट विवादहरू हल गर्नुपर्ने 'प्रेसर' छ।
असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित हुँदै आएको छ र भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
सहमतिसाथ केन्द्रीय समितिबाट निर्णयहरू लिन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक सार्दै आए पनि अब उनलाई यो छुट छैन, किनकि कांग्रेसलाई मंसिर ७ को प्रेसर छ।
त्यसका लागि मंसिर ५ कै केन्द्रीय समितिबाट आवश्यक निर्णय लिनुपर्ने दबाबमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का छन्।
त्यसैले उनीहरूले पार्टीभित्र विभिन्न विचार राख्दै आएका नेताहरूसँग अनौपचारिक संवादहरू गर्दै आएका छन्।
कांग्रेसलाई मंसिर ७ को प्रेसर हो- दल दर्ताको।
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेभित्र दल दर्ता गरिसक्न समय दिएको छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा), बहुजन शक्ति पार्टी, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एमाले) लगायत दलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन्, कांग्रेसले शुक्रबारसम्म दल दर्ता निवेदन दिएको छैन।
निर्वाचन आयोगले कात्तिक २८ गते नै सूचना निकालेर आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रिय सभा निर्वाचन प्रयोजन निम्ति मंसिर १ गतेदेखि ७ गतेसम्म कार्यालय समयभित्र दल दर्ता कागजात बुझाउन भनेको थियो।
राष्ट्रिय सभा निर्वाचन दल दर्ता प्रयोगनका लागि चाहिने कागजातमध्ये केन्द्रीय समितिको निर्णयको प्रतिलिपी पनि चाहिन्छ। असोज २८ गतेदेखि सुरू केन्द्रीय समिति अझै अनिर्णीत छ, शनिबार दिउँसो सानेपामा बस्दैछ।
केन्द्रीय समितिको निर्णय प्रतिलिपीबिना दल दर्ता हुँदैन, त्यसैले कांग्रेसलाई मंसिर ७ को प्रेसर रहेको नेताहरू बताउँछन्।
निर्वाचन प्रयोजन निम्ति विगतमा दल दर्ता निवेदन दिँदा कांग्रेसले मुख्य सचिवलाई जिम्मेवारी दिन्थ्यो। पदाधिकारीबाहेक अन्य व्यक्तिले दल दर्ता निवेदन दिने हो भने त्यो कुरा खुल्ने केन्द्रीय समिति निर्णय र पदाधिकारीबाट अधिकार प्राप्त पत्र पनि साथमा हुनुपर्छ।
यतिले मात्र पुग्दैन।
उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णय, पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूनासमेत आयोगमा पेस गर्नुपर्छ।
असोज २८ गते सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। त्यसपछि केन्द्रीय समिति बैठक कार्यवाहक सभापति खड्काकै अध्यक्षतामा बस्यो।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट घाइते सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार गरेर फर्केका छन्।
उम्मेदवारलाई दलको औपचारिक पत्र सभापति देउवाले कि कार्यवाहक सभापति खड्काले दिने भन्ने अहिले प्रष्ट छैन। दल दर्ता गर्ने अन्तिम दिन मंसिर ७ गतेअघि नै केन्द्रीय समितिले यस्ता विषयमा निर्णय लिनुपर्छ, त्यसैले कांग्रेस नेतृत्व प्रेसमा छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्ने समय छ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचन प्रयोजन निम्ति पनि दल दर्ता निवेदन दिएको छैन। राष्ट्रिय सभा दल दर्ता निवेदन दिँदा चाहिएकै जस्तै कागजात प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता निवेदन दिँदा पनि आवश्यक पर्छ।
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता निवेदन दिन कांग्रेसलाई दुई दिनको समय छ भने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दल दर्ता निवेदन दिन अब ५ दिनको समय छ।
भोलि मंसिर ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले मतभेदहरू अन्त्य गरी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका निम्ति दल दर्ता निवेदन दिन आवश्यक निर्णय पनि लिनुपर्ने छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिले आवश्यक निर्णय लिएपछि आयोगमा दल दर्ता निवेदन दिइने बताए।
‘केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ, त्यसपछि दल दर्ता निवेदन दिन्छौं, मंसिर ७ गते निर्वाचन आयोगमा दल दर्ता निवेदन दिने हाम्रो तयारी छ,’ मुख्यसचिव पौडेलले सेतोपाटीसँग भने।
कांग्रेसमा अहिले संवादहिनताजस्तो अवस्था देखिएको छ।
सभापति देउवा पुसभित्रै नियमित महाधिवेशन कार्यतालिका ल्याउने पक्षमा पुगेका छन् तर त्यो अवधिभित्र महाधिवेशन नगरी सार्ने नियत देखिएको भन्दै विशेष महाधिवेशन विकल्प नभएकोमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू पुगेको देखिन्छ।
विधानको धारा १७ को २ अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। विधानअनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन गर्न बाध्यकारी छ।
बाध्यकारी हुने विशेष महाधिवेशन समयावधि नै आउन लागेकोले त्यही अवधिमा १५ औं महाधिवेशन कार्यतालिका ल्याउन खोजेको र त्यो 'सार्ने नियतसहित ल्याउन लागेको' भन्दै विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन अब चर्चासमेत नगरिने बताउने गरेका छन्।
यस्तो अवस्थामा सभापति देउवा र कार्यवाहक सभापति खड्काले भोलिको केन्द्रीय समितिबाट कस्तो निर्णय लिन्छन् भन्ने चासो छ।
सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरू चुनावमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्ने अडानमा छन् र बहुमतबाट यो निर्णय गर्ने पक्षमा छन्।
तर सभापति देउवा र कार्यवाहक सभापति खड्का बहुमतबाट निर्णय लिने पक्षमा देखिएका छैनन्, पार्टी एकढिक्का रहने गरी सर्वसम्मत निर्णय लिनुपर्नेमा उनीहरू उभिँदा सहमति खोज्न केन्द्रीय समिति बैठक पटक पटक सारिएको थियो।