बाराको पथलैयामा बसेको जेनजी समूह र स्थानीय प्रशासन बीचको वार्ता सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको माग पूरा गर्ने आश्वासन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय पथलैया बारामा बसेको वार्तामा जेनजीले ६ बुँदे माग राखेका थिए।
जाहेरी अनुसार कुनै पनि आग्रह पूर्वाग्रह नराखी कारबाही गर्नुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार अधिकारी एसपी, डिएसपी लगायत सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने, घटनामा संलग्न भएका नाम छुटेका व्यक्तिहरूलाई पुनःअभियुक्त बनाउनुपर्ने माग उनीहरूको थियो।
वार्तामा सहभागी अन्य जेनजीहरूले अरविन्दले घटना घटाउनुअघि टेलिफोनमा कुरा गरेको भिडिओमा देखिएको, पक्राउ परेका अभियुक्तहरू हिरासतभित्र मोबाइल चलाएर बसिरहेको, फरार अभियुक्त पनि अनलाइन देखिएको तर प्रहरीले पक्राउ नगरेको, अबका दिनमा यस्तो घटना दोहोरिन नदिन प्रशासनले सुरक्षाको ग्यारेन्टी गनुपर्ने लगायतका धारणा राखेका थिए।
प्रमुख जिल्ला अधिकारी मिश्रले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी युवाहरूको सुरक्षा, घाइतेको उपचार, घटनाको निष्पक्ष छानबिन र कारबाहीको विषयलाई समेटेर विज्ञप्ति निकाल्ने आश्वासन दिएका छन्।
जेनजीले बुधबारको घटनाका दोषीलाई कहिलेसम्म पक्राउ गरिसक्नुहुन्छ? भनेर पटक पटक सोधेका थिए।
प्रजिअ धर्मेन्द्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने तर दिन तोक्न नसकिने बताए।
‘सार्वजनिक रूपमा हिँडडुल गरिरहेकालाई तत्काल पक्राउ गर्न सकिन्छ, फरार अभियुक्त खुला सिमानाले गर्दा भारततर्फ भाग्न सक्छ, आरोपी लुकेको अवस्था छ, मोबाइल अफ गरेको छ भने खोज्दा खोज्दै पनि नभेटिन सक्छ। पक्रन समय लाग्छ। त्यसैले दिन नै तोकेर समाउन सकिँदैन।’ उनले भने, ‘प्रहरीको लापरबाहीले हो वा प्रयास गर्दा गर्दै नसमातिएको हो भन्ने बुझिदिनुपर्छ।’
व्यक्तिगत रूपमा कसैलाई थ्रेट आउँछ भने सामाजिक सञ्जाल वा फोनमार्फत धम्की आएको खण्डमा प्रशासनलाई जानकारी गराउन प्रजिअ धर्मेन्द्रले आग्रह गरे।
खोज्दाखोज्दै ३५ दिन लगाइदिनुभयो भने के गर्ने? भन्दै जेनजी अगुवाले प्रजिअलाई प्रश्न गरेका थिए।
वार्ताका क्रममा प्रहरीले पक्राउ गरेको भनिएका अरविन्द साहलाई सार्वजनिक गर्नुपर्ने माग पनि राखेका थिए।
उनीहरूले बुधबारको घटनामा कुटपिट गर्नेलाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्नुपर्ने भनेका थिए। प्रहरी उपरीक्षक सन्तोष तामाङले जाहेरी पठाएको खण्डमा दर्ता गर्ने बताएका थिए।
सुदन गुरूङले बिहीबारको झडपमा घाइते भएका जेनजी युवा र प्रहरीलाई भेट्ने कार्यक्रम छ। आफ्नै सरकार हुँदा पनि विपक्षमा बस्नुपरेको सुदनको भनाइ छ।
जेनजी युवालाई एमालेका नेताहरूले जिस्क्याइराख्ने काम भएकोले संयमता अपनाउन गाह्रो भइरहेको समेत उनले बताए।
‘हामी संयम हुन्छौं, जबसम्म हामीलाई संयम हुन दिइन्छ। त्यसपछि हामीले रोक्न सक्दैनौं। आन्दोलन सकिएको हैन, देशभरी गर्न सक्छौं, कमजोरी नसोचिदिनुहोला,’ सुदनले भने,‘सिमराको घटनाबाट अरूले पाठ सिकून्, प्रोभोक गर्नु हुँदैन भनेर बुझून्।’
वार्तापछि सुदन गुरूङ र सम्राट उपाध्यायले जेनजीहरूलाई सम्बोधन गरेका छन्।
सम्राट उपाध्यायले ३ दिनसम्म पर्खने बताएका छन्।
‘औपचारिक रूपमा त समय तोकिएको छैन, तर अनौपचारिक रूपमा उनीहरूलाई पक्राउ गर्न तीन दिन लाग्छ भनेका छन्,’ उनले भने, ‘३ दिनसम्म प्रहरी प्रशासनको गतिविधि हेर्छौं, कतिको स्पिडमा जान्छ मूल्यांकन गर्छौं, उनीहरूलाई कारबाही हुनुपर्छ, सिमरामा गुण्डागर्दी हुन भएन।’
वार्तामा जेनजीका नेता सुदन गुरूङ, शिव यादव, सम्राट उपाध्याय लगायत, जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल लगायत सहभागी भएका थिए।
बुधबार जेनजीले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनमा नेकपा एमालेको युवासंघका कार्यकर्ताहरू गएर कुटपिट गरेपछि तनाव उत्पन्न भएको थियो।
आक्रोशमा आएका जेनजीले विमानस्थलको गेटमा तोडफोड गरेका थिए। सुरक्षाकर्मीले युवा संघका नेता कार्यकर्ताहरूलाई विमानस्थल परिसरभित्र लुकाएर राखेको आरोप उनीहरूको छ।
विमानस्थल गेट अघि सुरक्षाकर्मी र जेनजी प्रदर्शनकारीहरूबीच झडप भएको थियो। त्यसको विरोधमा जेनजी युवाहरूले बिहीबार दिनभर सिमरामा प्रदर्शन गरे। बिहीबार प्रहरीसँग झडप भयो। प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो। झडपका क्रममा प्रहरीतर्फ ६ र जेनजी युवाहरूतर्फ ४ जना घाइते भएका थिए। स्थानीय प्रशासनले विमानस्थल र जीतपुरसिमराको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।