मोरङको रंगेली नगरपालिकामा दीलिप अग्रवाल (बगडिया) ले माओवादी केन्द्रलाई ऐतिहासिक जित दिलाएका छन्। उनी नेपाली कांग्रेसको गढ मानिएको रंगेलीमा १८ सय ८२ मतले विजयी भएका छन्।
उनले ८ हजार ६८ मत प्राप्त गरेका छन्। कांग्रेसका मोदराज घिमिरे ६ हजार १ सय ८६ मत ल्याएर पराजित भएका छन्। विजेताको घोषणा हुन मात्र बाँकी छ।
उपमेयर पदमा देखिएको विवादका कारण घोषणामा ढिलाई भएको हो। उपमेयरमा माओवादी र कांग्रेसबीच विजेतालाई लिएर विवाद भएको हो। मतगणनाका क्रममा १२ मत तलमाथि परेको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले विवाद उठाएका छन्। कांग्रेसको दावी छ, ३ मतले आफू जित्ने। नेपाली काग्रेसकी राधादेवी मण्डल ५ हजार ७ सय ८ मतमा छिन भने उनलाई पछाडि छोडेकी माओवादी केन्द्रकी केशवकुमारी खरालको ५ हजार ७ सय २० मत छ। हाल माओवादीकी केशवकुमारी १२ मतले अगाडि छिन्। कांग्रेसले मत गणना पुनः गर्ने माग राखेको छ।
कांग्रेसको विरोधका कारण वडा नम्बर ६ मा पुनः मतगणना हुने सहमति बनेको छ। निर्वाचन कार्यालयले उपमेयरको टुँगो लागेपछि मात्र विजेताको नाम घोषणा गर्ने बताएको छ।