नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ।
तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमको घरमा गए राति बम फेला परेको थियो। त्यसैगरी तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमासमेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ।
मतदानको अघिल्लो दिन सर्वसाधारण मतदातालाई आतंकित पार्ने गतिविधि बढ्न थालेपछि दाङमा सेनालाई गस्ति गर्न आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ। यसअघि नै राष्ट्रपतिले समेत निर्वाचनको समयमा सेना परिचालन गर्न अनुमती दिइसकेकी छन्।
फेला परेका सबै बम ‘नक्कली’: एसपी सिंह
यसैबीच दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले दाङमा फेला परेका सबै बम नक्कली भएको बताएका छन्। उम्मेद्वारका घर र सार्वजनिक स्थलमा नक्कली वम राखेर मतदातालाई त्रसित पार्न खोजिएको उनले बताए। ‘नक्कली बम राखेर सर्वसाधारण मतदातालाई त्रसित पार्न खोजिएको देखियो, त्यसैले त्यसबाट कत्ति पनि विचलित नभइ निधक्क साथ मतदानमा सहभागि हुनुहोस् सुरक्षा प्रवन्ध भरपर्दो छ,’ एसपी सिंहले भने सेतोपाटीसँग भने।
उनले बाहिर ‘वम’ भन्ने लेखेर भित्र प्लास्टिक र कागज राखेको पाइएको जानकारी दिए। यद्यपी प्रत्यक्षदर्शीले भने नेपाली सेनाले सबै बमहरू मध्यराति डिस्पोज गरेको बताउँछन्। गेहेन्द्र गिरीको घरमा बम डिस्पोज गर्दा ठूलो आवाज निस्किएको एक जना स्थानीयले जानकारी दिए।