अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन्।
विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।
नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन्।
राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन्।
'दुःखद घटना भयो। सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो। बच्चाहरूले पढ्ने कसरी? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं। उहाँहरूले मागेकै केही छैन। उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन। राज्यले फर्काएर त ल्याउन सक्दैन। राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो।'
प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए।
गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो। सयौं मानिस घाइते भएका छन्।
यस वर्ष सदाझैं पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिएनन्।
–नेपाल न्युज एजेन्सी