'हो, यहीँ हो गोली चलेको…विद्यार्थी ढलेको…' भन्दै साथीहरूलाई बयान गर्दै हिँडेको प्लस–टू पढ्ने उमेरको एक हुल मलाई उछिनेर अघि बढ्यो।
मेरा पाइला ढिला हुन थाले, जसै म नयाँ बानेश्वर चोक पुग्न लागेँ, उनीहरू इतिहासको त्यो अत्यासलाग्दो दिनको बेलिविस्तार गर्दै थिए।
साँझ ढल्किँदै थियो र पातलो भिडमा म बिरालोको छायाजस्तै सलबलाएका आफ्नै मनका तर्कनाहरूसँग जुध्दै सुस्तरी पाइला चाल्दै थिएँ।
काठमाडौं फर्किएपछि सोझै म संहार मच्चाइएको संसद भवन हेर्न जाँदै थिएँ।
देशमा एकाएक पत्यारै नलाग्ने परिवर्तन कहाँबाट सुरू भयो, बडो खुलदुली साँचेको थिएँ। संसद सधैं जीवन्त होओस् र देशको सही प्रतिनिधित्व गर्ने संवाद थलो बनोस् भन्ने म जस्ता नागरिकका लागि त्यहाँ जे भयो, त्यसले आफ्नै आस्थामाथि बज्रपात गराएको थियो।
संसदीय व्यवस्थाको हिमायतीका रूपमा धेरै वर्षदेखि लेखपढ गर्दै आएको मलाई संसद भवनकै सामुन्ने देश बदल्ने हुटहुटीले आन्दोलित नवयुवाहरूको हत्या कति कहालीलाग्दो लाग्यो।
म आफै पनि कैयौंपल्ट माइतीघरदेखि प्रदर्शन मार्च गर्दै, कहिले त माइकमा बोल्दै आन्दोलनमा सहभागी भएको छु। हामीले पाँच वर्षअघि संसदको असंवैधानिक विघटनविरूद्ध बृहत् नागरिक आन्दोलन सुरू गरेका थियौं, जुन अझै पनि अनेकौं मुद्दाहरू उठाउँदै जारी छ — जसको ध्येय लोकतन्त्र बलियो बनाउने नागरिक खबरदारी नै हो।
हामीले जहिल्यै संसदतिर मार्च गर्दा, सानो संख्यामा प्रदर्शनकारी हुँदा पनि, प्रहरीले बन्दोबस्त गर्दै हामीलाई दुई तिरबाट घेर्थ्यो। बानेश्वर चोक पुग्न नदिने गरी निकै वर अवरोध राखिन्थ्यो।
हामी रोकिन्थ्यौं, नमाने त्यही प्रहरीले सम्झाइबुझाइ गर्थ्यो। भिड नियन्त्रणका लागि सजग र सतर्क प्रहरी भ्यानहरू तैनाथ हुन्थे। हामी कहिल्यै चोक पुग्नै पाउँदैन थियौं।
यस पटक हाम्रा जेन–जी साथीहरू पनि बानेश्वर चोक वरिपरि, एभरेस्ट होटल अगाडिसम्म पुग्ने, अडिने र फर्किने मनस्थितिमा थिए।
ठीक हो, युवा शक्ति संख्या बढेपछि जोस र जाँगरले ज्वालामुखीझैं बिस्फोट हुन्छ। उनीहरू धेरै थिए। अझ थपिए। बानेश्वर पुग्न नपाउँदै ह्वार्रर बढे — कति शंखमूलतिरबाट, कति त तीनकुनेतिरबाट।
जेन–जीको तयारी थाहा पाएर, तिनको आन्दोलनलाई विद्रोहमा रूपान्तरण गर्न विभिन्न शक्तिका समूहहरू मिसिन आए। वर्षाको बेला खहरो खड्खडाएपछि भल र भेल कहाँबाट, कहिले मिसिन्छ थाहा हुँदैन।
बादल केही दिनदेखि भरिँदै, डुल्दै थियो। सामाजिक सञ्जालमा चलेका ह्यासट्याग गतिविधिहरू र त्यसको बढ्दो प्रभावले युवाहरूलाई सडकमा पोखिन उत्प्रेरित गरिरहेको थियो। आन्दोलनको वातावरण भित्रभित्रै भुसझैं सल्किँदै थियो।
सत्तालाई लाग्यो — आन्दोलनको याम त अस्ति नै सकियो!
त्यसो त सडक आन्दोलन फागुनदेखि मनसुन सुरू नहुँदासम्म मात्र हो भन्ने धारणा सबैमा थियो। आन्दोलन स्वाभाविक रूपमा उठ्न याम महत्त्वपूर्ण हुन सक्छ, तर विद्रोह बन्न कुनै नियम पालना हुँदैन रहेछ। विद्रोहको व्याकरण पनि हुँदैन।
सत्तासीनहरू सञ्जालदेखि सडकसम्म पूरै बेखबर थिए। उनीहरूलाई आफूप्रति युवाहरूको बदलिँदो मतको ख्यालै थिएन। तीन वर्षअगाडि निर्वाचनमा पाएको दुई–तिहाइ गठजोड सत्तामा अझै पनि कायम छ भन्ने भ्रम पालिरहेका थिए।
सत्तालाई जनसेवाको कर्तव्यभन्दा पनि आपसमा सुविधा बाँडचुँड गर्ने साधन बनाएका हुनाले उनीहरू चनाखो थिएनन्, समाजको कुरा नसुनिने भित्ताभित्र सीमित थिए। मोबाइलमा झुत्तिरहने भए पनि तिनको टाइमलाइनको अल्गोरिदमले तिनलाई भुलाइरहेको थियो।
त्यही भएर त उनीहरू सामाजिक सञ्जाल रोक्दै, मन्त्रीको सवारीले सडकमा बालिकालाई ठक्कर दिएर भागेको घटनालाई पनि मामुली ठान्दै र जेन–जीहरूलाई देशभक्त बन भन्ने उपदेश दिँदै थिए।
राजनीतिक नेतृत्व आफू त बेखबर रह्यो र बेपर्वाह भयो भयो, राज्ययन्त्रहरूलाई पनि बेफ्वाँकमा चल न हल बनाइदियो।
एउटै प्रश्न पर्याप्त छ — हजारौं हजार प्रदर्शनकारी बानेश्वर चोक कसरी पुग्न सके? राज्ययन्त्रहरू किन सतर्क भएनन्? किन केही सावधानी अपनाइएन? युवाहरूको उर्लिँदो आन्दोलन थेग्ने, बुझ्ने, साम्य पार्न चतुर उपायहरू लगाउने, उपयुक्त रणनीति, विकल्पहरू खोजी गर्ने तत्परता, जिम्मेवारीबोध किन भएन? आला आन्दोलनकारीको आलो रगत बग्यो भने हेलिकप्टरबाट भाग्न पनि नभ्याइएला भन्ने सोच्न समेत नसक्ने गरी केले लठ्ठ पारेको थियो?
संसदले चुनेको प्रधानमन्त्री कमजोर हुने रहेछ, त्यही भएर उसलाई बलियो बनाइदिऊँ भनेर होइन राज्य सुरक्षाका खबरदारी र सतर्कतामूलक निकायहरू सोझै प्रधानमन्त्रीमुनि पुर्याएको?
त्यसो गर्दा मन्त्रीहरू कमजोर हुन्छन्, मन्त्रिपरिषदमा सामूहिक जिम्मेवारीको भावना कमजोर हुन्छन्, प्रधानमन्त्रीलाई सर्वेसर्वा बनाउनुको परिणाम लोकतन्त्रमा अकल्पनीय हुनसक्छ भनेर विरोध भएको होइन र?
तर, आफूलाई आजीवन अध्यक्ष बनाउन विधान महाधिवेशनमा व्यस्त प्रधानमन्त्री कति शक्तिशाली भइदिए भने उनलाई कसैले पनि खरो सुझाव पुर्याउनै नसक्ने भयो। राज्य संयन्त्रहरू निष्प्रभावी भइदिए। सामूहिक जिम्मेवारीबोध हरायो। सुरक्षायन्त्रहरू जनताप्रति सेवा, निष्ठा, बफादारी, कर्तव्य र दक्षता देखाउनभन्दा राजनीतिक सत्ताप्रति सम्झौता र समर्पणमस्तक भइदिए।
बलियो प्रधानमन्त्री, अझ प्रत्यक्ष निर्वाचित कार्यकारीको तिर्खा मेटाउने गरी संसदीय व्यवस्था कमजोर पार्न गरिएको प्रबन्धको परिणाम थियो यो।
म आफै टाढा बसेर मोबाइलको पर्दामा सूचना पछ्याउँदा माइतीघरमा आन्दोलन सुरू भएको देखेर दंग परेको थिएँ।
कुनै पनि समाजमा सुधारका मागसहितका शान्तिपूर्ण आन्दोलनले लोकतान्त्रिक परिपाटी नै बलियो बनाउँछ भन्ने सोच राख्ने मलाई जब प्रदर्शन संसदतिर मोडिएको देखेँ — त्यसले रोमाञ्चित पारेको थियो।
तर जब प्रदर्शन रोकिएन, रोक्न खोजिएन वा रोक्न सकिएन — त्यसपछि म दिक्क हुँदै गएँ। गोली नै प्रहार भएको थाहा पाएपछि त छाँगाबाट खसेझैं भएँ।
नारायणहिटी संहारपछिको काठमाडौं भोगेका हाम्रा पुस्ताका लागि नयाँ बानेश्वरमा दिउँसै स्कुले विद्यार्थीहरूको टाउको र छातीमा दागिएको गोलीले उस्तै सन्नाटा, उस्तै असहाय भावना निम्त्यायो।
संसद भवन चारैतिर घुम्दा गोलीका पर्रा र छर्रा, विद्यार्थीहरूका आलो रगत बगेका ठाउँ टेक्दै पाइला सार्न हम्मे पर्दै गयो।
संसदको हामीले खोजेको प्रतिष्ठा कायम गर्न अब कसरी सकिएला, कस्तो प्रबन्धबाट मात्र नवयुवाहरूको रक्तपातबाट तंग्रेर भोलिको संसदले थिति बसाऊला, लोकतान्त्रिक स्थायित्व देला — यी सवालहरूसहित म त्यो साँझसँगै उराठ र उदेकलाग्दो गरी डढेको संसद भवनबाट ओझेल परेँ।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle