जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहका युवाहरूले विज्ञप्ति निकालेर नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालय गएर भदौ २३ गते माइतीघरमा प्रदर्शनी आयोजना गर्न अनुमति लिने पुरूषोत्तम यादव र उनको समूहले आन्दोलनपछि उत्पन्न परिस्थिति, तत्कालीन सरकारको अदूरदर्शिता र केही घुसपैठ तत्वका कारण भएका धनजन क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'हामीले यो आन्दोलन महिनौं अघिदेखि तयारी गरी संयमित र संवैधानिक ढंगबाट सञ्चालनमा ल्याएका थियौं। त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,' यादवले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासन विरूद्ध जनचेतनाको लहर सिर्जना गर्यो। हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यही बाटोमा हिँडिरहेका छौं।'
आन्दोलनको सफलतापछि त्यसको संरक्षण र थप विस्तार गर्ने जिम्मेवारी केवल जेन–जी होइन, सम्पूर्ण पुस्तामा आएको विज्ञप्तिमा उल्लेख छ।
यसका लागि देशभरका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवाला स्थानसम्म पुर्याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा आफूहरू सक्रिय रहेको जनाइएको छ।
सामाजिक सञ्जालमा यही असोज २३ (अक्टोबर) गते जेन–जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भए पनि त्यस दिन आफूहरूले कुनै कार्यक्रम आयोजना नगरेको यादवले प्रस्ट पारेका छन्।
'हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थका लागि होइन। यो जनताका लागि, जनताको आवाजका लागि हो,' यादवले विज्ञप्तिमा भनेका छन्।
भ्रष्टाचार र कुशासन विरूद्धको संघर्ष निरन्तर जारी रहने पनि विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, इन्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स र हाउ टू देश विकास लगायतका समूहले पनि अवधारणापत्र सहितको विज्ञप्ति सार्वजनिक गरेका छन्।
उनीहरूले तेस्रो पुस्ताका नेताहरूलाई आ–आफ्ना दलभित्र हस्तक्षेप गरी रूपान्तरणमा भूमिका खेल्न आग्रह गरेका छन्।
युवाहरूले गरेको आन्दोलनले परिवर्तनको माग गरेको र त्यो मागलाई प्रत्येक राजनीतिक दलले आत्मसात् गरी आफूभित्र रूपान्तरणको लहर ल्याउनुपर्ने उनीहरूको भनाइ छ।
युवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानूपातिक, समावेशी र अर्थपूर्ण सहभागिताको अवधारणालाई आफूहरूले स्वीकार गरेको विज्ञप्तमा भनेका छन्।
'हामीले अहिलेको व्यवस्थाभन्दा पनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएका हौं। हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियकरण र दलतन्त्रप्रति हो। हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं,’ उनीहरूले भनेका छन्।
उनीहरूले पुराना राजनीतिक दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न आह्वान गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतलाई पक्राउ गरी छानबिन अघि बढाउन पनि उनीहरूले माग गरेका छन्।