राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी आन्दोलनमा देशले व्यहोर्नुपरेको अपूरणीय क्षतिबीच दसैं पर्वलाई निरन्तरता दिन अभिशप्त हुनुपरेको बताएको छ। दसैंको टीकाको सन्दर्भमा बिहीबार शुभकामना दिँदै रास्वपाले सन्निकट बितेको शोक, विध्वंश र त्रासबीच पनि नेपाली समाजले सदीयौंदेखिको परम्परा धानेको बताएको हो।
‘विजयादशमीले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ। यो पर्व हामी नेपालीका लागि धार्मिक उत्सव मात्र नभएर पारिवारिक मिलन, सामाजिक सदभाव र सांस्कृतिक एकताको प्रतीक पनि हो। हामी यस वर्षको दशैं जेन–जी आन्दोलनको अपूरणीय जनधनको क्षतिबीच उत्सवको उत्साहभन्दा धार्मिक–सांस्कृतिक परम्पराको निरन्तरताका लागि मात्रै मनाउन अभिसप्त भयौं। सन्निकट बितेको शोक, विध्वंश र त्रासबीच पनि हामीले सदीयौंदेखिको परम्परा धानेर नेपाली समाजको विविधतालाई फेरि एकपटक एकताको सुत्रमा बाँधेका छौं,’ कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्न तथा नयाँ नेपाल निर्माणको अभियानमा दृढ संकल्प र सार्थक सहकार्यका लागि विजयादशमीले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने पनि रास्वपाले कामना गरेको छ।