राजनीतिको रंग मिसिएपछि यसपालिको रमजान वीरगन्जमा रोचक बन्न पुगेको छ। विवादले यस प्रदेसको चुनाव सरे पनि स्थानीय निर्वाचनका प्रत्यासीहरुको आयोजनामा यहाँ दिनदिनैजसो भव्य भोज आयोजना गरिए र त्यसका तस्बिरहरु फेसबुकमा छरपस्ट देखिए।
सोमबार इद मनाउँदै मुस्लिमहरुको महान पर्व रमजान सम्पन्न हुँदैछ। यस बीचको अवधि अर्थात् रमजानभरि मुस्लिम धर्मावलम्बीहरु दैनिक रोजा बसे। उनीहरुले दैनिक बिहान सबेरै ३ बजेतिर ‘सेहरी’ खान्थे। त्यसपछि दिनभर रोजाको ब्रत चल्थ्यो। अनि बेलुकी सामूहिक खानपान हुन्थ्यो जसलाई इफ्तार भन्ने गरिन्छ।
परम्पराअनुसार यस्तो इफ्तार घरपरिवार, आफन्त, नातागोता वा साथीभाइ छरछिमेकमा बसेर खाने गरिन्छ। वीरगन्जमा पनि यही परम्परा चल्दै आएको थियो। यसपालि भने चुनावले भित्र्याएको नयाँ प्रवृत्तिले यो इफ्तारको रंगरुप मात्र बदलिदिएन, खर्चिलो बन्दै आएको चुनावमा नयाँ सूचीसमेत थपिँदा वीरगन्जमा राजनीति अब केवल ‘करोडपतिहरुको खेल’ का रुपमा स्थापित गर्न खोजेको छ।
रमजान पर्वको बेला टोल-टोलमा मुसलमान समुदायका निम्ति इफ्तार दावत (भोज) आयोजना गर्ने होडबाजीमा सबैभन्दा अग्रपंक्तिमा नगरप्रमुखका दुई उम्मेदवार विजय सरावगी र बसिरुद्दीन अंसारी देखिए। विजय संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार हुन् भने बसिरुद्दीनले आफूलाई नेकपा (एमाले) का उम्मेदवार घोषणा गरिसकेका छन्। राजनीतिमा उपस्थिति जनाउन खोजेका यी दुवै वीरगन्जका ठूला व्यापारी हुन्। विजय उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् भने वीरगन्जस्थित नेसनल मेडिकल कलेजका मालिक (एमडी) हुन् बसिरुद्दीन।
केही महिनाअघि मात्र संघीय समाजवादी फोरम प्रवेश गरेका विजयले एकसाथ दुईवटा कुरा पाएका थिए। एउटा, उक्त पार्टीको कोषाध्यक्ष पद र अर्को यो निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी। बसिरुद्दीन भने गएको संविधानसभा चुनावमा माओवादीका तर्फबाट सभासदका प्रत्यासी थिए। यसपाला नेकपा (एमाले) को स्थानीय कमिटीहरुले उसका पुराना र समर्पित कार्यकर्ताहरुको सूची तय गरेर पठाउँदा बसिरुद्दीनको नाम कतै उल्लेख पनि थिएन। तर, अचानक केन्द्रबाटै आफूले वीरगन्जको नगरप्रमुखमा उम्मेदवारीको टिकट पाएको भन्दै बसिरुद्दीनले हल्ला चलाएपछि यतिबेला यहाँका सिंगो एमाले जमात स्तब्ध छन्। उता बसिरुद्दीनको खर्चपर्चको पारो दिनप्रतिदिन बढ्दै गइरहेको छ।
[caption id="attachment_52781" align="alignnone" width="825"]
रमजान पर्व बेला वीरगन्जमा इफ्तार आयोजना गर्दै बसिरुद्दीन अंसारी। बसिरुद्दीन नेकपा एमालेबाट वीरगन्जका मेयर उम्मेदवार हुन्।[/caption]
यस्तो पैसा खर्च गर्ने हानथापको नांगो रुप भने यही रमजानको इफ्तार दावतमा देखिएको थियो। फेसबुकमा दिनदिनै जसो कुनै न कुनै टोलमा सात-आठ सयभन्दा बढी मानिस बसेर भोज खाइरहेको दृश्य देखिन्थ्यो। त्यसको बीचमा बसेर यी भोजका आयोजक अर्थात् नगरप्रमुखका दाबेदारहरु तिनका कार्यकर्ता र नेताहरुसहित मुसुक्क हाँस्दै फोटो खिचाइरहेका देखिन्थे। कतिपय ठाउँमा यस्तो इफ्तारको आयोजना उपप्रमुखका दावेदारहरुले पनि गरिरहेको देखिन्थ्यो। त्यस्ता इफ्तारमा भने थोरथोरै मानिसको सहभागिता देखिन्थ्यो। अर्थात् उम्मेदवारको हैसियत र पदको दाबेदारीअनुसार इफ्तारको भव्यता झल्किन्थ्यो।
जुमादिन शेष हवारी वीरगन्जको स्थानीय राजनीतिमा पुरानो नाम हो। उनले धेरै स्थानीय चुनाव जिते र हारे। अब भने उनी राजनीति मात्र होइन, दुनियाँदारीबाटै आफूलाई पूर्णतः अलग रहेको दाबी गर्छन्। लामो दाह्री पालेर श्रीपुरस्थित काश्मियाँ मस्जिदका पूर्णकालीन पुजारी बन्न पुगेका हाजी जुमादिन पनि यसपाला वीरगन्जमा इफ्तार आयोजनाका निम्ति चुनावका प्रत्यासीहरुको होडबाजी देखेर छक्क परेका छन्।
‘हामीले त्यत्रो वर्ष राजनीति गर्दा यस्तो प्रवृत्ति कहिल्यै देखिएको थिएन,’ जुमादिन भन्छन्, ‘हामीकहाँ राजनीतिले अनेक विकृति समातेसँगै अब यो नयाँ पैँतरा (दाउ) पनि देखिन थाल्यो।’
धार्मिक हिसाबले भोकै बसेका मानिसलाई मीठा मीठा खानेकुरा पस्केर रोजा तोड्न लगाउँदा आफ्नो पक्षमा सहानुभूति बटुल्न सकिन्छ भनेरै यसलाई राजनीतिकरण गरिएको हाजी जुमादिनले बताए।
जुमादिनका अनुसार यस्तो चलाखी यसअघि विमल श्रीवास्तवले अपनाउँदै आएका थिए। विमल धेरैपटक वीरगन्जमा प्रधानपञ्च र मेयर जितेका पुराना पञ्च हुन्। यतिबेला उनी तमलोपा पार्टी हुँदै राजपाबाट मेयरमा टिकटको दाबेदारी गर्दैछन्। जुमादिनका अनुसार विमलले पनि अहिलेका मेयर प्रत्यासीले जस्तो खुलेआम इफ्तारको आयोजना नगरेर रमजानका बेला सुटुक्क खानेपिउने सामग्री मस्जिदहरुमा पठाउने गर्थे। त्यो काम यसपाला पनि विमलले गरेको हुनुपर्ने दाबी जुमादिनको छ।
‘विमलले सुटुक्क यसो गरेर आफूप्रति भित्रभित्रै मुसलमानहरुको सहानुभूति बटुल्थे,’ जुमादिन भन्छन्, ‘अब त्यही काम अहिलेका उम्मेदवारले खुलेआम गरिदिएर होडबाजी नै चलाइदिए।’
यसरी राजनीतिक उद्देश्य पूर्तिको निम्ति यस्तो पवित्र ब्रतलाई प्रयोग हुनबाट धर्मले रोक्छ कि रोक्दैन?
जवाफमा हाजी जुमादिनले ‘रोक्दैन’ भने।
‘हदिस र कुरानअनुसार हाम्रो पैगम्बरले पनि इफ्तारको बेला अरुको भोज स्वीकार्नुभएको थियो,’ उनी भन्छन्, ‘पैगम्बरलाई उल्मा भनिने यहुदीहरुले दावत दिएका थिए। त्यसैले हाम्रो धर्मले कसैले श्रद्धाले खान दिन्छ भने त्यसलाई स्वीकार्नु नै भनेको छ।’
जुमादिनका अनुसार वीरगन्जको पुरानो सूचीका आधारमा यस सहरमा ४० प्रतिशत मतदाता संख्या मुसलमान छन्। अझ विशेष गरेर यस सहरमा २, ३, १५, १७, १९ जस्ता केही वडाहरुमा त ७५ प्रतिशत मतदाता मुस्लिम छन्। पछिल्लो समय महानगर बनाउन बेलवाजस्ता मुस्लिम बहुल गाउँहरु पनि यस सहरसँग जोडिन आइपुगेका छन्। धेरैले सामूहिक र एकोहोरो निर्णय लिने विशेषताका कारण यो समुदायको भोट कुनै पनि उम्मेदवारलाई जितहारको नजिक पुर्याउन महत्वपूर्ण भइदिन्छ।
यस्तो अवस्थामा ठीक चुनावकै मुखमा रमजान पर्व परिदिनु र इफ्तार आयोजना गर्न पाउनुले हातमा टन्न पैसा बोकेका उम्मेदवारहरुको निम्ति ठूलै अवसर सिर्जना गरिदिएको छ।
यस्ता इफ्तार प्रत्येकमा कति खर्च हुन्छ भन्ने कुराको टुंगो त्यसमा राखिने परिकार र उपस्थित खानेहरुको संख्याले निर्धारण गर्छ। विभिन्न मासु, महँगो चामलको पुलाउ, फलफूलदेखि लिएर सर्बत र जुसहरु प्रयोग हुन्छन्। जुमादिनका अनुसार यी मेयरका उम्मेदवारको इफ्तारमा जुन किसिमको भीड देखिएका छन् त्यसलाई हेर्दा कम्तीमा पनि हरेक भोजमा ६० देखि ७० हजार खर्च भएको अनुमान लगाउन सकिन्छ।
राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मीका अनुसार यसपालि वीरगन्जमा मेयरका उम्मेदवारहरुले आयोजना गरेको इफ्तार प्रत्येकको खर्च एक लाख रुपैयाँभन्दा कम्तीको देखिँदैन।
‘यसपाला रमजानभरि गजब भयो,’ उनी भन्छन्, ‘दिनहुँजसो कुनै नेता फुत्त पुग्थे, पूरै टोलवासी मुस्लिम समुदायलाई त्यस दिनको इफ्तारी आफ्नो तर्फबाट भनेर घोषणा गरिदिन्थे। यसरी सिंगो टोल बसाएर खानपिन गराउँदै आफू पनि त्यसमा सरिक भएर खाइदिन्थे। अनि त्यो दृश्यलाई खिचेर फेसबुकमा हालेपछि अर्को ठाउँको इफ्तारीको प्रबन्ध पनि आफसेआफ मिलिहाल्थ्यो।’
कुर्मीका अनुसार यसरी हरेक दिन एक लाख रुपैया भोजभतेरमै खर्च गरिरहेका मेयर उम्मेदवार तिनै थिए जसले टिकट पाउन पनि करोडौं रुपैयाँ सम्बन्धित पार्टीलाई बुझाएका थिए। ‘यसले दुईवटा प्रश्न उठाउँछ,’ कुर्मी भन्छन्, ‘एउटा अब करोडौं रुपैयाँ हातमा समातेर नबसेकाहरुले राजनीति कसरी गर्ने, अर्को चाहिँ यसरी पैसाको खोला बगाएर पदमा पुगेकाहरुले सहर र सहरवासीको चिन्ता कत्तिको लेलान्?’
यति धेरै पैसा खर्च गरेर पदमा पुगेका व्यापारीहरुले त्यत्रो लगानी त्यत्तिकै छाड्ने कुरा त कल्पना पनि गर्न नसकिने कुर्मी सुनाउँछन्। ‘यो फेरि कुनै एउटा दुईवटा दलको कुरा पनि होइन,’ कुर्मी भन्छन्, ‘यतिबेला यहाँका सबैजसो दलले राजनीति गर्ने होइन कि पैसा लगाउने मान्छेको खोजी गरिरहेका छन्।’
यो समस्याबाट आफ्नो दल पनि मुक्त नहोला भनेर कुर्मीले लख काटे। उनका अनुसार चुनावमा महत्वपूर्ण पार्टीमध्ये नेपाली कांग्रेसका तर्फबाट मात्र मेयरमा राजनीतिक चेहरा देखिएको थियो। उनी थिए अजय द्विवेदी। तर, अब चुनाव स्थगित भएपछि द्विवेदीले फेरि टिकट पाउनेमा पनि विभिन्न अड्कलबाजी चलिरहेको कुर्मी बताउँछन्।
‘कांग्रेसले पनि अब पैसा खर्च गर्ने उम्मेदवार नै खोजिरहेको चर्चा यहाँ व्यापक छ,’ उनले भने, ‘अब द्विवेदी नभई ओमप्रकाश शर्माको नाम फेरि अगाडि आउन थालेको छ।’ मारवाडी समुदायका ओमप्रकाश यतिबेला वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष छन्।
वीरगन्जको राजनीतिमा पढेलेखेका बौद्धिक व्यक्ति हुन् लालबाबु राउत। संघीय समाजवादी फोरमका उपाध्यक्ष उनी केन्द्रमा निकै लामो समयदेखि राज्यसँग चलिरहेको वार्तामा मधेसी दलका तर्फबाट चिनिएका नियमित अनुहार पनि हुन्।
[caption id="attachment_52783" align="alignnone" width="825"]
रमजान पर्व बेला वीरगन्जमा इफ्तार आयोजना गर्दै विजय सरावगी। विजय संघीय समाजवादी फोरमका तर्फबाट वीरगन्जका मेयर उम्मेदवार हुन्।[/caption]
आफू स्वयं मुसलमान रहेका लालबाबुलाई यसपाला इफ्तारको नयाँ दृश्य कस्तो लागिरहेको छ?
‘घिनलाग्दो,’ उनले भने, ‘मेरै पार्टीका मान्छेको यसमा संलग्नता देखिए पनि म यस्तो कुराको पक्षमा छैन।’
आफ्नो धर्मले यसरी दिन खोज्नेलाई बन्देज नलगाएको अवस्थामा त्यसलाई राजनीतिक रुपले प्रभाव पार्ने नियतका साथ यो सबै भइरहेको उनले बताए।
‘राजनीतिमा पैसाको जुन स्तरको चलखेल बढेर गएको छ त्यसले समर्पित भएर राजनीति गर्नेहरुमा असन्तुष्टि पैदा गर्छ,’ उनी भन्छन्, ‘भोलिको दिनमा हामीजस्तो मान्छेले राजनीति किन गर्ने भन्ने प्रश्न पनि आउन सक्छ।’
यस्तो विकृति सबै पार्टीहरुमा देखिएकाले सामूहिक प्रतिबद्धताका साथ यसलाई नियन्त्रण गरिनुपर्ने उनको विचार छ।
‘अरुको त कुरै छाडौं,’ लालबाबु भन्छन्, ‘त्यत्रो क्याडरबेस्ड एमालेमा समेत स्थानीय संगठनको निर्णयलाई लत्याएर केन्द्रबाटै बसिरुद्दीनजी लाई उम्मेदवार बनाइएको छ।’
यसले राजनीतिलाई मूल्य र मान्यताविहीन बनाउँदै लैजाने उनले सुनाए।
‘आजको मितिमा वीरगन्ज सहरले जे जस्तो चुनौति भोगिरहेको छ त्यसका हिसाबले त यस किसिमको विकृति झनै दुर्भाग्यपूर्ण हो,’ लालबाबु भन्छन्, ‘पैसा खर्च गरेर जित्ने मानिसले यो संकटबाट गुज्रिरहेको सहरलाई कसरी माथि उठाउला?’
यस्ता कुरा आफूले पार्टीभित्र उठाउँदै आएको र फरक मतका रुपमा ती कुरा अहिले पनि बहसको विषय रहेको उनले स्पष्ट पारे।