गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) पक्षले गरेको निर्वाचन बहिस्कारको कुनै तुक नरहेको बताएका छन्। सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले विप्लवको निर्वाचन बहिस्कारलाई जनताले खिल्ली उडाइदिएको बताए। ‘निर्वाचन खारेजीको घोषणा गरिरहेको कुरा नैतिक रूपमा समाप्त भइसकेको छ।’ उनले थपे, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईँले पनि सुन्नु भएको होला, कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रूपमा मिल्दैन।’
उनले राष्ट्रिय जनता पार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बताए। सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको उनले बताए। उनले बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी समेत दिएका थिए।
निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउनका लागि नेपाली प्रहरीलाई प्रमुख जिम्मेवारी प्रदान गरिएको र त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाको लागि खटिने जानकारी गृहमन्त्री शर्माले गराए। यसैबीच असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न उनले सम्पूर्ण मतदातालाई आग्रह गरेका छन्।
गृहमन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाईएको हुदा ढुक्क रहेर मतदानमा सहभागी हुन मतदाताहरुलाई आह्वान गरेका हुन्। निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र दलहरुको स्वच्छ प्रतिस्प्रर्धा हुनुले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुने मन्त्री शर्माले विश्वास व्यक्त गरेका छन् ।
फरक प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए। ‘खोजी कार्य तीव्र बनेको छ र प्रहरी सफलता नजिक पुगेको सूचना मलाई दिइएको छ,’ मन्त्री शर्माले अगाडि भने ‘छिट्टै अपहरणकारी सार्वजनिक गरिनेछन्।’
उनले आफू गुन्डागर्दी र महिलामाथिका अत्याचार समाप्त गर्न इमान्दारीपूर्वक लागिपर्ने बताए । तर राजकुमार अपहरणका घटना घट्नुको पछाडि भने केही कारणहरु रहेको उनले बताए।
शर्माले चाँडै तत्थ्य बाहिर आउने विश्वास दिलाएका थिए।