'यो पद त खुब भ्याइनभ्याइ हुने रैछ,' ललितपुरका मेयर चिरीबाबु महर्जन आफ्नो कार्यकक्षमा प्रवेश गरे।
बिहान १० बजे महानगरपालिकाको कार्यालय आइपुगेका उनी दिउँसो २ बजेसम्म एकपछि अर्को भेटघाटमा व्यस्त थिए। '१५ दिनभन्दा धेरै भइसक्यो, काम गर्ने समय नै पाएको छैन,' उनले भने, 'बधाई सगुन भन्छ, यता बोलाउँछ, उता बोलाउँछ। आफ्नो मतदाताले बोलाएको ठाउँमा जानु पनि पर्यो।'
यति भन्दै उनी कुर्सीमा बसे। अनि थपे, 'अबचाहिँ धेरै बधाई/सगुनमा नअल्मल्याउनु, तपाईंहरूको काम गर्नुपर्छ भनेको छु। कतिपय ठाउँमा चाहिँ सबै संघसंस्थालाई मिलेर एउटै कार्यक्रम राख्नु भनेको छु। कतिपयलाई अफिसमै बोलाउन थालेको छु।'
ललितपुर महानगरको मेयरमा निर्वाचित भएपछि जेठ १४ गतेदेखि अफिस आउन थालेका चिरीबाबुले अहिलेसम्म आफूले गरेका केही कामको जानकारी गराए।
उनले ढल फुट्ने, धारा बिग्रिनेजस्ता जनतालाई पर्ने स-साना समस्या चाँडो समाधान गर्ने उपाय खोजेका रहेछन्। यति कामका लागि पनि पत्र लेख्नुपर्ने र सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सर्वसाधारण गुनासो गर्न आएको १५ दिनमा पनि काम नहुने स्थिति छ। नागरिक गुनासो लिएर वडा कार्यालय पुग्छ। वडाले महानगरको सम्बन्धित महाशाखामा पत्र काट्छ। उसले प्राविधिक पठाएर हेर्छ र समस्या के हो भनेर निर्क्यौल गर्छ। यो विवरण फेरि कार्यकारी अधिकृत हुँदै मेयरसम्म आइपुग्नुपर्छ। अनि यस्तो गर्नु भनेर वडालाई भन्दा अर्को १५ दिन बितिसक्छ।
अब भने वडाले पत्र काट्नु नपर्ने र वडा सचिवले फोनमा भन्नेबित्तिकै तुरून्त काम गर्ने गरी प्राविधिक पठाउनू भनेर निर्देशन दिएको चिरीबाबुले बताए।
'मैले सबै विभागीय प्रमुखलाई यस्तो समस्या भएको ठाउँमा तत्कालै काम गर्नू भनेको छु,' उनले भने, 'विभागीय प्रमुखले गरेन भन्ने गुनासो मसम्म नआओस् भनेको छु।'
१५ वर्ष जनप्रतिनिधिविहीन रूपमा चलेका स्थानीय निकायमा कर्मचारी धेरै प्रक्रियामुखी भएको उनले महशुस गरेका छन्। भन्छन्, 'चुनावभन्दा पहिले पनि मान्छेहरू मेरोमा गुनासो गर्न आउँथ्यो। नगरपालिकाले यो गरेन, त्यो गर्दिएन भन्थ्यो। आएर बुझ्दा त्यो नगर्नुपर्ने कुनै कारण हुँदैनथ्यो। कतिपयको म आएर भनेपछि फटाफट काम हुन्थ्यो।'
अहिले ललितपुर महानगरपालिकासँग ४०० भन्दा धेरै कर्मचारी छन्। उनीहरूले आफ्नो काम गरिरहेका छन्, तर त्यो काम प्रभावकारी हुन नसकेको उनको ठम्याइ छ। 'प्रभावकारिता छैन,' उनले हाँस्दै भने, 'अहिले मार्कसिटमा एक्सिलेन्ट, भेरी गुड, गुड लेख्ने चलन छ, उहाँहरूको कामलाई गुड भन्न सक्दिनँ म।'
महानगरले काम गर्ने तरिका र संगठन संरचना बदलेर चाँडोभन्दा चाँडो प्रभावकारी काम गर्न सक्ने बनाउने प्रयास थालिसकेको उनले बताए। यसका लागि केही विज्ञ र विशेषज्ञहरूको समूह बनाएर योजना बनाउने निर्णय गरेको उनले जानकारी दिए। 'बोर्डको पहिलो बैठकमै हामीले विशेषज्ञहरूको समूह बनाउने भनेर निर्णय गरेका छौं,' उनले भने, 'अब केही दिनमै यस्तो समूह बनाउँछौं र उहाँहरुले हरेक क्षेत्रमा कसरी प्रभावकारी काम गर्ने भन्ने योजना बनाउनुहुन्छ।'
फरासिला चिरीबाबु यसपछि आफ्नो अर्को कामबारे चर्चा गर्न थाले। सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउनुलाई उनले आफ्नो अर्को चुनौतिका रुपमा लिएका छन्।
उनी मेयर भएर आउनुभन्दा अगाडि कर्मनाशा खोलाको किनारा अतिक्रमण तीब्र भइरहेको थियो। त्यहाँ केही ठाउँमा मानिसहरूले खोला मिचेर पर्खाल लगाएको उनले देखका रहेछन्। 'खोला मिचेर दुवैतिर पर्खाल लगाएको थियो,' उनले भने, 'मैले निर्देशन दिएपछि अहिले भत्काउन सुरु भइसकेको छ।'
'अनि नभत्काउनु भनेर दबाव आएन तपाईंलाई?' हामीले सोध्यौं।
उनले हाँस्दै सुनाए, 'पर्खाल लगाउने एक जना त नेपाली कांग्रेसकै साथी पर्नु भएछ, पार्टीबाट फोन त कति आयो कति?'
'अनि के भन्नुभयो त?'
उनले जवाफ दिए,'मेरो हस्ताक्षर गइसक्यो । मैले राम्रो कामका लागि गरेको हस्ताक्षर फिर्ता गर्न सक्दिनँ भनेको छु। अब त भत्काउने काम लगभग पूरा भइसक्यो।'
उनले अर्को उदाहरण दिए।
'यहाँ पुल्चोकमै अशोक स्तुप छ,' उनले भने, 'त्यहाँ वरिपरि घुम्ने ठाउँ साँघुरो हुने गरी एउटा सहकारीले आफ्नो घरबाहिर प्रिफेब सामग्री थप्दै छ। मैले हटाउनू भनेको छु।'
उनका अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो भवनबाहिर प्रिफेब सामग्री लगाइरहेको रहेछ। यसले स्तुप परिक्रमा गर्ने क्षेत्र साँघुरो भएको स्थानीयको गुनासो थियो। खासगरी कतिपय जात्रामा यो स्तुप परिक्रम गर्न ठूलै भीड आइपुग्छ। यस्तो बेला समस्या पर्ने भन्दै मेयर महर्जनले यसमा अग्रसरता लिएका छन्।
जनप्रतिनिधिको अभावमा महानगरपालिकाले यस किसिमका निर्णय गर्न नसकेको उनको भनाइ छ।
'पहिले यस्तो काम कसैले गरेन, नक्सा पासविपरित बनाएको संरचना भत्काउने एउटा पनि काम भएको छैन, सांस्कृतिक/प्राकृतिक सम्पदा मिच्ने काम भयो। हामीले भनेर पनि काम गर्ने मान्छे कोही भएन।'
भूकम्पपछि सम्पदाहरूको पुननिर्माण ठीकसँग अघि बढेको देखिए पनि त्यो महानगरको पहलमा नभएको उनी बताउँछन्।
'पुनर्निर्माण प्राधिकरण र स्थानीयवासीले यसका लागि एकदमै राम्रो काम गरेका छन्,' उनले भने, 'अब महानगरपालिकाले यसलाई चाँडो गर्न पहल गर्नुपर्छ। मैले पहल सुरु गरेको छु।'
सम्पदा जोगाउन मात्रै होइन, पूर्वाधार निर्माणमा पनि महानगरपालिकाले अग्रसरता लिन नसकेको उनले बताए। 'जनप्रतिनिधि नहुँदा विकास निर्माणका ठूला योजना बनेनन्, बनेका कतिपय योजना पनि कार्यान्वयन हुन सकेन,' उनले भने।
विकासका काममा अघि बढाउन चुनौति मोल्नुपर्ने र कर्मचारीहरू त्यस्तो चुनौति मोल्न तयार नभएको उनले बुझेका छन्। 'च्यालेन्ज हुन्छ, त्यो फेस गर्न तयार हुनुपर्यो,' उनले भने, 'सजिलो त केही पनि हुँदैन। कसै न कसैले विरोध वा असहयोग गरिरहेको हुन्छ। त्यसलाई फेस गरेन भने कसरी काम हुन्छ।'
'यहाँ यो नगरपालिका नै हेर्नु न,' उनले अचानक प्रसंग मोडे।
आफ्नो कुर्सीबाट जुरूक्क उठेर झ्यालमा गए। चारतला माथिबाट तल जमिनमा राखिएका पुराना सामग्री देखाए। त्यहाँ फर्निचर लगाय सामग्री थुपारिएको थियो। 'यी सामान यसरी राख्ने हो र?' उनले भने, 'मैले तुरून्त यो कुनै पुस्तकालय वा अरू यस्तै संघसंस्थालाई 'डोनेट' गर्दिनू भनेको छु। यहाँ फालेर हुन्छ?'
फेरि आफ्नो कुर्सीमा फर्कँदै भने, 'महानगरपालिकाको कार्यालय भएको ठाउँ त विशेष हुनुपर्यो। व्यवस्थित हुनुपर्यो। ग्रिनरी हुनुपर्यो। अब म बनाउँछु।'
'जनप्रतिनिधि नहुँदा १५ वर्ष कसरी चलेको रहेछ त उपमहानगरपालिका?'
'म एकैशब्दमा भन्छु, ज्युनत्युन चलेको थियो,' उनले आफ्नो मूल्यांकन सुनाए।
जेनतेन चलेको उपमहानगर उनी आउँदा महानगरपालिका भइसकेको छ। यसलाई गति दिने जिम्मेवारी उनको काँधमा छ। 'अब त स्थानीय निकायबाट स्थानीय सरकार भएको छ, धेरै काम गर्न सकिन्छ जस्तो लागेको छ,' उनले भने।
'अहिले त कमर्चारी पनि नराख्नु, एकपैसा पनि खर्च नगर्नु भनेको छ,' उनले अप्ठ्यारो पनि सुनाए, 'मन्त्रालयको निर्देशनले कुर्सीमा राखेर हातखुट्टा बाँधेजस्तो भएको छ। अब साउनदेखि फुलस्पिडमा काम गर्न सकिएला।'
कर्मचारी समायोजनको काम केन्द्र सरकारले छिटो गरिदिए हुने भन्ने उनको चाहना छ। यस्तै स्थानीय स्वायत्त शासन विधेयक पनि संसदले छिटो पारित गरिदिए हुने भन्ने उनलाई लागिरहेको छ।
'कानुन आयो, कर्मचारी समायोजन भयो र निर्देशनले बाँधेका कुरा खुला भयो भने पक्कै पनि स्पिड बढाउन सकिन्छ,' उनले भने।