काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज दुर्गा प्रसाईंसँग छलफल गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँग प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुख लगायतले संयुक्त रूपमा छलफल गरेका हुन्।
प्रसाईंले आन्दोलन गर्ने बताइरहेको सन्दर्भमा छलफलकेन्द्रित थियो। छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको हो।
‘आन्दोलन गर्ने विषयमा उहाँ (दुर्गा प्रसाईं) ले सामाजिक सञ्जालहरू र अन्तर्वार्ता दिनुभएको थियो, त्यो आन्दोलनको स्वरूप कस्तो हुने र माग के हो भन्ने विषयमा कुराकानी गरिएको हो,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भने, ‘उहाँले मागहरू मन्त्री तथा प्रधानमन्त्रीज्यूहरूलाई पेस गर्छौं भन्ने खालका कुरा राख्नुभएको छ।’
प्रसाईंले मागहरू उल्लेखित पत्र पनि प्रहरी, प्रशासनलाई उपलब्ध गराएका छन्।
‘अहिले आन्दोलन गर्ने अवस्था छैन, रोक्नुपर्यो। आन्दोलन गर्ने भए शान्तिपूर्ण तरिकाले गर्नुपर्यो भनेर छलफल गरिएको हो,’ उनले भने, ‘नियमित वार्ता र संवादकै प्रक्रियाबाट अगाडि जाने कुराकानी भएको छ।’
प्रसाईंले आज प्रधान सम्पादकहरूसँगको अन्तर्क्रियामा आफू सुध्रेर जाने कुरा पनि बताएका थिए।
त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले वार्तामा बोलाएको भए स्वागत गर्ने उल्लेख गरेका थिए।
‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौं। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ,’ उनले भनेका थिए, ‘वार्ता गर्न बोलाउँदैमा मात्रै होइन — राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।’