नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पाँच, छ वटा पार्टी बीच एकता हुन लागेको बताएका छन्।
आइतबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले भने, ‘पाँच, छ वटा पार्टीका बीचमा एकैचोटी एकता हुनेतिर छलफल भइराखेको छ। यो राम्रो र खुसीको कुरा हो।’
उनले यो एकता नहोस् भनेर एकथरी मानिसलाई छटपटी भएको पनि बताए।
‘यिनीहरू सबै मिलेर ठूलै शक्ति बन्ने भयो भनेर एकथरी मानिसलाई छटपटी भएको छ,’ प्रचण्डले भने, ‘एमाले नेतृत्व, खासगरी केपी ओलीजीलाई छटपटी भएको छ। उहाँले कहिले कसैलाई फोन गरेर, कहिले कसलाई फोन गरेर उल्टोपाल्टो भन्ने गर्नुभएको छ।’
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादीबीच एकता प्रक्रिया अघि बढेको हो।
विप्लवले अध्यक्ष मागे, त्यसपछि उनीसँग छलफल गर्नै छाडे माओवादी र एकीकृत समाजवादीले
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ।
यी दुई पार्टीबीच कात्तिक ३० गतेभित्रै पार्टी एकता गर्ने गरी छलफल भइरहेको छ। यो प्रक्रियामा समाजवादी मोर्चाको घटक दल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भने सामेल छैन।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारी अनुसार विप्लवले एकीकृत पार्टीको नेतृत्व नै दाबी गरेपछि नेकपा पनि एकता प्रक्रियामा सामेल हुने कुरा बिथोलिएको हो।
‘सुरूमा समाजवादी मोर्चामा आबद्ध सबै दलबीच एकता गर्ने तयारी थियो। त्यही अनुरूप छलफल पनि भएको हो। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिबाट एकताबारे निर्णय पनि गरेको थियो,’ ती पदाधिकारीले भने, ‘तर छलफल हुँदै जाँदा विप्लवजीले नेतृत्व नै दाबी गर्नुभयो। त्यसपछि उहाँसँग थप छलफल हुन सकेन।’
यद्यपि विप्लवसँग एकता नहुने निष्कर्षमा भने आफूहरू नपुगेको ती नेताले बताए। छलफल हुन सक्ने सम्भावना भने रहेको उनले बताए।
नेकपा शीर्ष तहकै एक नेताले पनि आफूहरूले प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अभिभावको भूमिकामा बस्न भनेको स्वीकारे।
‘सिनियर लिडरहरूलाई हामीले तपाईंहरू अभिभावकको भूमिकामा बस्नुस् भनेका हौं। नेतृत्व हामी गर्छौं भन्ने कुरा हाम्रो हो,’ ती नेताले भने।
उनले कम्युनिस्ट आन्दोलनको पुनःगठन आजको आवश्यकता रहेको औंल्याउँदै नयाँ वामपन्थी केन्द्र बन्नुपर्ने नेकपाको मत रहेको बताए।
‘हामीले त्यसबेला कुरा सबैसँग गरियो। कम्युनिस्ट आन्दोलनको पुनर्गठनको कुरा हो। त्यसका लागि नयाँ कम्युनिस्ट केन्द्रको विषय अगाडि सार्यौं। त्यसअन्तर्गत माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल लगायतका दलसँग कुरा गर्यौं। एमालेसँग पनि कुरा गरेका हौं। एकताका लागि छलफल चलिरहेका पनि छन्,’ उनले भने।
नेकपाले भन्दै आएको कम्युनिस्ट पार्टीको पुनर्गठन विचार र राजनीतिक विचारधारामा मात्र नभई संगठनात्मक ढाँचामा पनि रहेको बताए।
‘यी विभिन्न पाटोहरूमा वैचारिक विषयमा पनि छलफल गर्नुपर्ने बाँकी नै छ। एकीकृत समाजवादीसँग एकतामा जाँदा माओवाद नै छाड्ने भन्ने भनिएको भन्ने चर्चा छ त्यो भए वैचारिक मतभेद झन् हुने भयो,’ ती नेताले भने।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेतृत्व दाबी भन्दा पनि अबको कम्युनिस्ट आन्दोलनले विकसित विचार खोजेको बताए।
‘पार्टी एकताले अहिलेको सापेक्षताको राजनीतिक कार्यक्रम र लाइन खोजेको छ। फ्रेस लिडर खोजेको छ। क्लिन लिडर खोजेको छ। जनताले विश्वास र आशा गरेको लिडर खोजेको छ। कम्युनिस्ट आन्दोलनको पुनःगठन गर्दा यो विषयमा ध्यान दिनुपर्छ भन्ने हाम्रो कुरा हो। एकताका लागि छलफल जारी नै छ,’ उनले भने।
एकताका लागि तत्कालको छलफलबाट विप्लव बाहिरिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरणको प्रारूपमा प्रारम्भिक समझदारी जुटेको नेताहरूले दाबी गरेका छन्।
पार्टीको नाम, नीति र नेतृत्वबारे करिब करिब सहमति जुटेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।
‘नाम, नेतृत्व र नीतिबारे करिब सहमति जुटिसकेको छ,’ ती नेताले भने, ‘चुनाव चिह्न र संगठनात्मक ढाँचाबारे हामी छलफलमै छौं।’
ती नेताले जानकारी दिएअनुसार एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। त्यही बैठकले एकताको प्रारूप टुंग्याउने गरी पार्टीभित्र बहस भइरहेको छ।
विप्लव एकता प्रक्रियाबाट बाहिरिइसकेपछि अब माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने गरी छलफल निष्कर्ष उन्मुख रहेको एक पदाधिकारीले जानकारी दिए।
‘विप्लव एकता प्रक्रियामा नआउने भएपछि नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी) पार्टीबीच एकता गर्ने गरी छलफल अघि बढेको थियो। अहिले त्यो निष्कर्ष उन्मुख छ,’ ती पदाधिकारीले भने।
ती नेताले जानकारी दिएअनुसार कात्तिक मसान्तभित्रै एकताको टुंगो लागिसकेको छ।
सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ लाई तोकेको छ।
निर्वाचनको कार्यतालिका पनि आएको छ। त्यसअनुसार कात्तिक ३० गतेभित्र दर्ता भएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक प्रावधानले पनि दुई पार्टीलाई एकताको हतारो लगाएको हो।
एकता प्रक्रियामा सामेल रहेका पार्टीहरूले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने तयारी गरेका छन्। यसमा अप्ठ्यारो देखिएको एक नेताले बताए।
उनका अनुसार यो नाम दलका रूपमा पहिले नै निर्वाचन आयोगमा दर्ता छ। राजु कार्की त्यसका अध्यक्ष छन् भने चुनाव चिह्न चाहिँ कार रहेको छ। यो दल २०८२ कात्तिक २ गतेसम्म अद्यावधिककै अवस्थामा छ।
‘कार्की नेतृत्वको नेकपा (समाजवादी) सँग दर्ता गरेर त्यही नाम राख्नेबारे पनि छलफल भइरहेको छ। उनले एकता प्रक्रियामा सामेलन हुन नमाने विकल्पका नामहरू पनि आएका छन्। पहिलो प्राथमिकता त्यही नाममै रहेको छ,’ ती नेताले भने।
पार्टीको मूल नीति (तात्कालीक कार्यक्रम) नेपाली विशेषताको समाजवाद हुनेछ। र, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद रहने ती नेताले बताए।
‘एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मान्छ। शान्तिपूर्ण राजनीतिक संघर्षमा विश्वास गर्छ। तर यसमा जनविद्रोह हुन सक्ने कुरालाई कहीँ न कहीँ ठाउँ दिनुपर्ने कुरा पनि बहसमा छ। यो विचारलाई पनि एकीकृत पार्टीले वहन गर्ने छ। पार्टीको कार्यक्रम नेपाली विशेषताको समाजवाद हुनेछ र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु हुनेछ,’ ती नेताले भने।
एकीकृत पार्टीको नेतृत्व पनि टुंगो लागिसकेको छ। एकीकृत पार्टीको नेतृत्व माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। माधवकुमार नेपालको सहसंयोजकका रूपमा हुने कि, अरू विकल्पमा जाने भनेर पनि छलफल भइरहेको ती नेताले बताए। बाँकी पदाधिकारी भने रहने छैनन्।
‘सहसंयोजकभन्दा अरू नै भूमिका खोजौं भनेर छलफल भइरहेको छ। यसमा चाहिँ टुंगो लागिसकेको छैन,’ ती नेताले भने।
चुनाव चिह्नबारे पनि छलफल भइरहेको दुवै पार्टीका नेताहरूले बताएका छन्। अहिले माओवादी केन्द्रले गोलाकार भित्र हँसिया हथौडा प्रयोग गरिरहेको छ। एकीकृत समाजवादीले कलम चिह्न प्रयोग गर्दै आएको छ।
तर यी दुवै चिह्न नराख्ने पक्कापक्की भएको ती नेताले बताए।
‘दुई अक्षरको उच्चारण गर्न सजिलो हुने र छरितो चिह्न खोजिरहेका छौं,’ एकीकृत सामाजवादीको जोड कलम नै राखौं भन्ने छ। तर उहाँहरूले मानिराख्नुभएको छैन। गोलाकारभित्र हँसिया हथौडा नाम नै लामो भएकाले चुनाव चिह्नको विकल्प खोजौं भनेर छलफल भइरहेको हो।’
सांगठनिक संरचनाबारे पनि टुंगो लागिसकेको छैन। दुवै पार्टीका नेताहरूले बताएअनुसार केन्द्रीय कमिटीको आकार भीमकाय हुने देखिएको छ।
अहिलेसम्मको समझदारीअनुसार दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीको केन्द्रीय कमिटीमा स्थान दिने तयारी भएको छ। माओवादी केन्द्रको केन्द्रीय समिति ४०८ सदस्यीय छ।
एकीकृत समाजवादीको ३४१ सदस्य हाराहारी छ। सुरूआती केन्द्रीय कमिटी ३४१ सदस्यीय थियो। पछि केही सदस्यहरू थपिएका थिए। यसबीचमा केही नेताले पार्टी छाडेकाले उक्त संख्या बराबरजस्तै हुन पुगेको छ। महिन्द्र राय यादव समेतको पार्टी मिसिँदा केन्द्रीय कमिटीको आकार आठ सय पनि नाघ्ने देखिएको ती नेताले बताए।
‘एकीकृत प्रक्रियामा सामेल पार्टीको केन्द्रीय सदस्य कसैले पनि अपमानित महसुस गर्नु नपरोस् भनेर सबैलाई अटाउने तयारी गरेका छौं,’ ती नेताले भने, ‘पछि महाधिवेशनमा प्रतिस्पर्धा भयो भने त्यहाँबाट आकार घट्छ।’
माओवादी केन्द्रसँग एकता गर्ने भएपछि एकीकृत समाजवादीभित्र असन्तुष्टि चुलिएको छ।
एकीकृत समाजवादीभित्र समाजवादी मोर्चा घटक दलसँग एकता होइन पहिले पार्टी पुनःगठनको बहस पनि बाक्लिइरहेको छ। असोजको अन्तिम साता बसेको स्थायी कमिटी बैठकमा ७ जनाले माधवकुमार नेपालको राजीनामा नै माग गरेका थिए।
पत्नीको उपचारका लागि भारत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले बेला न कुबेला एकताको सहनाइँ नबजाउन चेतनावनी दिएका थिए।
उनले पार्टी भित्रका युवाहरूले उठाएको पुनःगठनको आवाजलाई सुन्न पनि भनेका थिए।
‘हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौं। एउटा बृहत् राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं। मेरो विचारमा आजको सही मार्ग यही हो। कुबेलाको सहनाई बजाउनतिर कोही पनि नलागौं। सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौं,’ उनले भनेका थिए।
पछिल्लो समय पार्टी एकता गर्नु हुँदैन भन्ने आवाज साँघुरिएको एकीकृत समाजवादीका माधवकुमार नेपालनिकट एक नेताले बताए।
‘सम्मानित नेतासँग कुरा भइसकेको छ। बृहत् वाम ध्रुवीकरणबिना आन्दोलन समृद्ध बनाउन सकिँदैन भन्ने उहाँहरूले पनि बुझ्नुभएको छ,’ ती नेताले भने।
सम्मानित खनालले पनि आफू बृहत् वाम एकताकै पक्षमा रहेको बताएका छन्। तर त्योभन्दा पहिले पार्टी पुनःगठन हुनुपर्ने उनको भनाइ छ।
एकता निष्कर्षउन्मुख रहेको खबर बाहिरिएपछि माओवादी केन्द्रले भने खण्डन गरेको छ। संयोजक प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेको बताएको हो।
‘माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनिभूत छलफल जारी छ। यद्दपि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन। विभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको पार्टीको ठहर छ। इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं,’ संयोजक प्रचण्डको सचिवालयले भनेको थियो।