अभियानी बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर २६ वर्षीय मन्त्री गुप्ताले आइतबार अपराह्न कार्यभार पनि सम्हालिसकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले आइतबार गुप्तालाई मन्त्री नियुक्त गरेका थिए।
मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्री गुप्ताले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकहरू प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने निर्णय पनि गरेका छन्।
सिराहाको लाहान घर भएका गुप्ता परोपकारी संस्था ‘हन्ड्रेड्स ग्रुप’का संस्थापक हुन्।
उक्त संस्थाले प्रयोगमा आइसकेका कपडाहरू संकलन गर्ने र असहाय, दिन–दुःखीहरूलाई वितरण गर्दै आएको छ। गुप्ताले यो अवधारण २०७६ सालदेखि सुरू गरेका हुन्। सुरूमा उनले काठमाडौंको अनामनगरबाट सुरू गरेका थिए।
बाढी–पहिरोजन्य प्रकोप र विपत्तिमा परेकाहरूका लागि यो सेवा निकै प्रभावकारी बनेको थियो। पछि यो सेवा कर्णाली प्रदेश लगायत अन्यत्र पनि विस्तारित भएको थियो।
कपडा बैंकको अवधारणा सुरू गर्नुअघि गाउँघरबाट काठमाडौंमा उपचार गर्न आएका र रगत अभाव व्यहोरिरहेका बिरामीका लागि रगत खोजिदिएर सघाउ पुर् याउँथे।
त्यसो त गुप्ताले कोभिड–१९ को प्रकोपका बेला निःशुल्क भोजन गराउने कामसमेत गरेका थिए।
२०७६ चैतदेखि कोभिड–१९ संक्रमणका कारण लकडाउन (बन्दाबन्दी) सुरू भयो। त्यतिबेला उनले काठमाडौंको खुलामञ्चमा निःशुल्क भोजन सुरू गरेका थिए। कोराना कारण संकटका परेका समुदायहरूलाई त्यसले फाइदा पुर्याएको थियो।
त्यसो त उनले किताब बैंकको अवधारणा पनि ल्याएका थिए। पढिसकेका किताब एक ठाउँका संकलन गर्ने र पढ्ने अर्को व्यक्तिलाई उपयोगी हुने गरी उक्त अवधारणा अघि बढाइएको थियो। त्यो अहिले पनि सञ्चालनमै रहेको उनले बताएका छन्।
पछिल्लो समय गुप्ताको समूहले प्रोजेक्ट शिक्षा परियोजना सुरू गरेको छ।
गरिब, जेहेन्दार, असहाय बालबालिकाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने र उनीहरूको जीवनवृत्तिमा सघाउ पुर्याउने ध्येयले यो सेवा सुरू गरेको उनले बताएका छन्। अहिले यो कार्यक्रमअन्तर्गत सय बढी विद्यार्थी जोडिएका छन्।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ। तेस्रो पटक विस्तार गर्दा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।